• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमल मादेन
२०७९ मङ्सिर १० शनिबार ०९:२४:००
रिपाेर्ट

काली धनेसको संसार

२०७९ मङ्सिर १० शनिबार ०९:२४:००
कमल मादेन

चन्द ठकुरी सुनसरी रामधुनी नगरपालिका–७ स्थित आफन्त टोलका बासिन्दा हुन् । उनको घर चारकोसे जंगलनजिक छ । उनी अक्सर जंगल जाने–आउने गर्छन् । अढाई वर्षअघि जंगलमा धनेस चराको एउटा बचेरा भुइँमा भेटे । त्यो बचेराको शरीरमा भुत्ला तथा पखेटामा प्वाँख थिए । तर, उड्न सक्ने मात्रामा थिएन । यसो उँभो हेरे । सामुन्ने ठूलो सालको रुख थियो । रुखमा धनेसको गुँड भएको प्वाल थियो । बचेरा त्यहीँबाट झरेको उनले थाहा पाए । 


धनेसको गुँड र बचेरा काढ्ने शैली बडो गज्जबको हुन्छ । धनेस जोडीले अन्डा पार्नुअघि तिनको शरीर छिर्न सक्ने प्वाल र प्वालको १, २ फिटनजिक गुँड रहने ठाउँको खोजी गर्छ । यस्तो उपयुक्त प्वाल फेला परे पोथी अन्डा पार्नु केही दिनअघि त्यसमा प्रवेश गर्छ । भालेले हिलो माटो बाहिरबाट ओसार्छ । पोथीले उसको बिस्टालगायत वस्तु मुछेर प्वालमा चुच्चो मात्र छिर्ने गरी टाल्छ । त्यो टालेको यति बलियो हुन्छ कि बाहिरका अन्य जनावर फोरेर भित्र पस्न सक्दैनन् । पोथीले प्वालबाट छिर्न सक्नेजत्रो जन्तु कतै छिरे आहारा बनाइदिन्छ । यसरी पोथी गुँडभित्र ६६ देखि १०० दिनसम्म रहन्छ । बचेरा हुर्केपछि पोथीले चुच्चोले ठुँगेर प्वाल ठूलो पारी बाहिर निस्कन्छ । भुइँमा झरेको बचेराको माउ र ठूला दाइ, दिदीहरू निस्केर गएको हुनुपर्छ । सबैभन्दा सानो पनि गुँडबाट बाहिर जाने क्रममा प्वाँख पर्याप्त नपलाएका कारण भुइँमा झर्‍यो । 


भुइँमा झरेको त्यो बचेरा भोकले मर्न लागेको थियो । ठकुरीले घरमा ल्याए । सुरुमा भात मुखमा कोचिदिए । बल्लतल्ल केही निल्यो । स्याउको टुक्रा मुखमा लगाइदिए । सल्र्लक्कै निल्यो । आधाजति स्याउ खाएपछि ऊ तंग्रियो । छिमेकमा पहिले सुगा पालेको देखेका थिए । कतै, मैना पालेको पनि देखेका थिए । तर, धनेस पालेको देखेका, सुनेका थिएनन् । घरमा ल्याएपछि मार्न पनि सकेनन् । हुर्किएको बचेरा देखेर केटाकेही खुशी भए । उनलाई त्यसैमा सन्तोष भयो । त्यसपछि जंगलबाट फलफुल ल्याइदिन थाले । स्याउ र केरा त्यही बचेरोका निम्ति किन्न पठाए । बचेरो ठूलो हुँदै गयो । करिब एक महिनामा थोरै उड्न सक्ने भयो । उनकी श्रीमतीले यसको नाम काली राखिदिइन् । एक दिन काली घरछेउको रुद्राक्षको रुखमा निकैबेर बसी । त्यसवेला, लागेको थियो, अब काली उडेर जान्छे र कहिल्यै फर्केर आउँदिन । 


बथानमा मिसियो
कालीले रुद्राक्षको रुखको टुप्पोनेर बसेर निकैबेर जंगलतिर हेरी । त्यहाँबाट जंगल ५० मिटरजति दूरीमा छ । कालीले केही आवाज निकालेर कराई । केहीबेरमा जंगलबाट ४, ५ वटा धनेस त्यही रुद्राक्षको रुखमा आए । रुद्राक्षको फल पाक्न लागेको थियो । कालीले साथीहरूसँग मिसिएर रुद्राक्षका दाना सिंगै निली ।

 

साथीहरू केहीबेरमा उडेर जंगलतिर गए । काली पनि अलि पछि उडेर उत्तै गई । घरमा काली गई भनेर निकै कुराकानी भयो । छिमेकको थापाको घरमा पनि हल्लाखल्ला भयो । तर, एक घन्टा नबित्दै काली फर्केर आई । त्यसपछि केही दिन लगातार बिहानको समय एक हुल धनेस जंगलबाट आउँथे । काली पनि बगालमा मिसिन्थी । उनीहरू निश्चित समयावधिमा रुद्राक्षको फल खाएर जंगल फर्किन्थे । काली पनि गइटोपल्थी । तर, एकाध घन्टामा फर्किन्थी । केही दिनमा रुद्राक्षको फल सकियो । जंगलका धनेस पनि आउन छाडे । काली खिन्नजस्तो देखिन्थी । एक्लै रुद्राक्षको रुखमा घन्टौँ बसिरहन्थी । 

 

काली साथी खोज्दै उड्न थाली । तर, उसलाई जंगलतिर जान मन लाग्यो कि लागेन, थाहा भएन । तर, जंगलको सट्टा छिमेकका घरतिर जान थाली । केटाकेटीले काली, काली भनेर बोलाउँदा काली मानिससँग नजिकिन थाली । हिजोआज काली भन्दै ऊतिर केटाकेटीले केराको टुक्रा फालिदिन्छन् । ठुँडोले टाढैबाट समाउँछे । अम्बाको टुक्रा खान्छे । कसैले मासुका टुक्रा फालिदिन्छ, त्यो पनि खान्छे । ससानो भ्यागुतो, छेपारो मारेर ऊतिर फालिदिँदा ठुँडोले समाएर सर्लक्कै निल्छे ।

 

गएको बर्खामा कसैले बोडीको टुक्रा खान दिएछ । बोडीमा बिसादी छर्केको थियो होला । काली बासस्थानसम्म त पुगी, तर झोक्राएर बसिरही । स्थानीय भेटनरी डाक्टर बोलाइयो । डाक्टरले दबाई र भिटामिनको जम्मा सात सय रुपैयाँ लिएर गयो । गाउँबाहिरका मानिसले भेटे भने मार्लान् भनेर यसको प्वाख र ठुँडोमा रंग लगाइएको छ । रंगबाट घरपालुवा हो भनेर चिन्लान् भन्ने बुझाइ छ । यसले घरमा रहँदा भोक लागेको आवाज निकाल्दो रहेछ । ठुँडा ठ्याक–ठ्याक बजाउँदो रहेछ । खानेकुरा दिएपछि त्यसरी बजाउँदैन । 

आवाज पहिचान
पंक्तिकार दसैँमा आफन्त टोल पुगेको थियो । कालीको दिनचर्या सुनेका कारण मित्र चन्द्र ठकुरीको घर पुगियो । चन्द्रकी श्रीमतीले घरवरपर कतै छ कि भनेर काली, ...काली... भनेर कराइन् । काली नजिक थिएनछे । निकैबेर कराउँदा पनि आइन । बिहानखेर प्रायः घरमा बस्छ, त्यतिखेर त्यहाँ पुगे मात्रै भेट्न सकिने थाहा पाएँ । यसलाई नजिकबाट नियालेर आनीबानी हेर्न चाहना थियो । भोलिपल्ट बिहान पुगेँ । काली थिइन । अघि निस्केर गइसकेकी थिई । त्यो घरभन्दा करिब चार सय मिटर तल आफन्त टोलको चोक छ । त्यहाँ स्थानीय एक शिक्षिकाको घरमा पुगेँ । चिया पिउँदै काली खोजेको, नभेटेको कुरा गर्दै थिएँ । छोरा सुयेन हस्याङ–फस्याङ गर्दै भित्र आएर ‘बडा काली आइपुग्यो’ भन्यो । 

धनेसलाई जंगलको किसान पनि भनिन्छ । यसले फल खाएर त्यसको बिउ विभिन्न ठाउँमा पुर्‍याउँछ । यसले सयौँ किलोमिटर टाढासम्म बिउ फैलाउँछ । दक्षिणपूर्वी एसियाका वनस्पति मध्य तथा पूर्वी नेपालसम्म पाइनु यसैको उपज हो ।


शिक्षिका पुष्पा लिम्बू स्याउको टुक्रा बोकेर बाहिर निस्किइन् । बरन्डामा काली आएर घरभित्र चियाउँदै रहिछे । टाढैबाट सानो टुक्रो फालिन् । ठुँडोले टाढैबाट समाएर निली । ३, ४ वटा टुक्रा यसरी नै खाई । बडो अचम्म लाग्यो । बडेमानको ठुँडो यताउता फर्काउँदै हेरी । सायद नयाँ मानिस भन्ने थाहा पायो कि ? पुष्पाले ऊ नजिक गएर अनुहार तल पारिन् । यसो गर्दा कालीले उनको कपालमा ठुँडोले बिस्तारै २, ३ चोटि छोइदिई । ठुँडोको दुई चुच्चोले कपाल समाएर यसो तानेजसो गरी । सायद फकाएकी होला । भनिन्, ‘सधैँ यसै गर्छ ।’ 


यो निकै स्वस्थ र हृष्टपुष्ट थिई । कतै नजिक हुँदा काली भनेर करायो भने यो तुरुन्तै छेउमा आउँदी रहिछ । यसलाई खान दिने वेलामा सधँै ए काली,...ए काली.. भनेर बोलाइँदो रहेछ । नजिक भए तुरुन्तै आइपुग्छे । यसको अर्थ कालीले आफ्नो नाम थाहा पाएकी छ । यसले काली भनेर बोलाएको बुझ्छे । यसको ठुँडोमाथि पलाएको हेल्मेटजस्तो आकृति निकै ठूलो थियो । यस्तो आकृतिलाई ‘क्यास्क’ भनिन्छ । 


काली भनिए पनि यो भाले हो । पोथीको ‘क्यास्क’ भालेको तुलनामा अलि सानो र केही भागमा कालो हुन्छ । ‘क्यास्क’ नियालेर हेर्दा भाले, पोथी के हो भन्ने थाहा पाइन्छ । यसलाई ‘ओरिएन्टल पाइड हर्नविल’ भनिन्छ । यो नेपाल, भारत, बंगलादेश, भुटान, टिबेत, कम्बोडिया, म्यान्मार, भियतनाम, लावोस, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, बु्रनाईसहित सुन्डा द्वीपमा पाइन्छ । 


घरपालुवा पक्षी
धनेस बुसेरोटिडी परिवारको पक्षी हो । ‘मलेकुलर फाइलोजेनेटिक्स एन्ड इभोलुसन’ भोलम ६७ अंक २ (मे २०१३) मा प्रकाशित जानकारीअनुसार माइटोकोन्ड्रियल डिएनए जिन अनुक्रम (जिन सिक्वेन्स) अनुसार संसारभर बुसेरोटिडी परिवारमा १५ जातिअन्तर्गत ६१ प्रजाति छन् । तीमध्ये नेपालमा चार प्रजाति छन् । ओरिएन्टल पाइड हर्नविलको वैज्ञानिक नाम भने ‘एन्थ्राकोसेरस एल्बिरोस्ट्रिज’ हो । अन्य तीन प्रजाति फरक–फरक तीन जातिका हुन् । 


नेपालमा ‘एन्थ्राकोसेरस एल्बिरोस्ट्रिज’को नजिकको आफन्त अर्थात् दाजुभाइ छैन । यसको नजिकको आफन्त र स्वरूप पनि उस्तै देखिने श्रीलंका र दक्षिण तथा मध्यभारतमा पाइन्छ । यसलाई ‘मलबार पाइड हर्नविल’ तथा ‘लेसर पाइड हर्नविल’ भनिन्छ । यसको ‘क्यास्क’मा प्रायः कालो रंगको हुन्छ । वैज्ञानिक नाम भने ‘एन्थ्राकोसेरस् कोरोनाटस्’ हो । यस्तै, ‘एन्थ्राकोसेरस एल्बिरोस्ट्रिज’जस्तै तर पेटमा पनि कालो रंग हुने आफन्त फिलिपिन्समा मात्र पाइन्छ । यसलाई ‘पलवन हर्नविल’ भनिन्छ र यसको वैज्ञानिक नाम ‘एन्थ्राकोसेरस् मर्चेई’ हो । योभन्दा थोरै भिन्न स्वरूपको अर्को आफन्त ‘सुलु हर्नविल’ हो । यसको वैज्ञानिक नाम ‘एन्थ्राकोसेरस् मोनाटानी’ हो । यो पनि फिलिपिन्समा मात्र पाइन्छ । चौथो आफन्त ‘एन्थ्राकोसेरस् मलयानस्’ हो । यसको रंग पूरै कालो हुन्छ । यसको भालेको ठुँडो मात्र नौनी रंगको हुन्छ । ठुँडोपछाडि थोरै सेतो धर्सो हुन्छ । यो ब्रुनाई, इन्डोनेसिया, सिंगापुर र थाइल्यान्डमा पाइन्छ ।


नेपालको पुस्तकहरूमा ‘ओरिएन्टल पाइड हर्नविल’लाई कालो धनेस भनेर लेखिएको छ । तर, यसलाई नेपालबाहेकका देशबाट प्रकाशित सामाग्रीमा ‘ब्ल्याक हर्नविल’ भनेर लेखेको पाइन्न । यसको नाम ‘ओरिएन्टल पाइड हर्नविल’ भन्नु ठिक हो । एन्थ्राकोसेरस् जातिअन्तर्गतका प्रजातिहरू व्यापक रूपमा घरपालुवाकरण भइसकेको पक्षी होइन । कतैकतै पालेको देखिन्छ । भविष्यमा पाल्ने चलन व्यापक हुन पनि सक्ला । तर, यो पक्षी सुन्दर छ । 


धनेसलाई जंगलको किसान पनि भनिन्छ । यसले फल खाएर यसको बिउ विभिन्न ठाउँमा पुर्‍याउँछ । यसले सयौँ किलोमिटर टाढासम्म बिउ फैलाउँछ । दक्षिणपूर्वी एसियाका वनस्पति मध्य तथा पूर्वी नेपालसम्म पाइनु यसैको उपज हो । नेपाललगायत केही देशमा धनेसको ठुँडो केही धामीझाँक्रीले विशेष किसिमको पूजाआजा गर्दा लगाउने गर्छन् । भारतको नागाल्यान्डमा डिसेम्बर १ देखि १० तारिखसम्म हर्नविल फेस्टिवल सबै इथ्निक गु्रप्सले मनाउँछन् । भुटानमा चरा महोत्सव नोभेम्बर ११–१३ मा मनाइन्छ । त्यसवेला धनेस विशेष प्राथमिकतामा पर्छ । यता नेपालमा कोसीटप्पुमा हिउँदमा चरा महोत्सव सप्ताह मनाइन्छ । त्यहाँ धनेस प्राथमिकतामा पर्दैन । महोत्सवमा साइबेरियातर्फबाट आउने चराले महत्व पाउँछ । 


अब पूर्वी नेपालकै चर्चातर्फ लागौँ । २, ३ दशकअघि चारकोसे जंगलमा ओरिएन्टल पाइड हर्नविलको संख्या निकै कम थियो । उसवेलाको तुलनामा हिजोआज गाउँघरका मानिस जंगलमा भर पर्नुपर्ने अवस्था एकदमै कम भएको छ । जंगल जाने र वन्यजन्तुलाई क्षति गर्ने उमेर समूहका मानिसहरू खाडी तथा दक्षिणपूर्व एसियामा रोजगारमा गएका छन् । त्यहाँबाट पठाइएका पैसाबाट जंगलनजिकका बासिन्दा सहर नजिकतर्फ बसाइँ सरेका छन् । तिनका परिवारको दिनचर्या फेरिएको छ । हिजोआज धेरैका बालबच्चा बोर्डिङ पढ्छन् ।

 

परिवारका सदस्यहरू बच्चाबच्चीलाई ट्युसन पढाउने, स्कुल पठाउने र बाँकी समय सामाजिक सञ्जालमा समय खर्चिन्छन् । यसकारण जंगलमा पक्षीलगायत अन्य जनावरको संख्या बढेको हो । पहिले जंगलनजिकका गरिब मानिसको निम्ति मासु खान पनि जंगली जनावरको भर पर्नुपर्ने अवस्था थियो । हिजोआज गाउँगाउँमा जताततै बोइलर कुखुरा पालिएका छन् । सुँगुरका फर्म छन् । गाउँमै काम गर्ने श्रमिकले दैनिक कम्तीमा पाँच सय रुपैयाँ कमाउँछन् । यसैले हप्तामा एक छाक मासु खान खासै गाह्रो हुँदैन । गुलेली लिएर पक्षी मार्न निस्कने, पक्षीका गुँड खोज्दै बचेरा निकाल्ने उमेर समूहकाहरूमाथि भनिएझैँ सामाजिक सञ्जालको लतमा छन् । यसकारण, उनीहरूलाई जंगली पक्षी मारी मासु खाने र मनोरञ्जन गर्ने फुर्सदै कहाँ छ र ? उहिलेको जस्तो अवस्था भए आफन्त टोलमा काली यसरी गाउँमा चाहार्दै जान नै कहाँ पाउँथी । कसैले मारेर खाइसक्थे । तर, नेपालको मौजुदा कानुनले जंगली पक्षी मार्नु र अनधिकृत रूपमा पाल्न मनाही गरेको छ ।