• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
पवन बराइली
२०७९ मङ्सिर १० शनिबार ०९:३५:००
रिपाेर्ट

रंगमञ्चको उत्सव

२०७९ मङ्सिर १० शनिबार ०९:३५:००
पवन बराइली

काठमाडाै‌ंमा दोस्रो संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ आयोजना भइरहँदा रंगकर्मीमा बेग्लै उत्साह छ । मण्डला थिएटर आयोजित महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन् । महोत्सवका दौरान नाटक मञ्चन मात्रै होइन, नाटकसम्बन्धी अन्तक्र्रिया र बहस पनि हुँदै छ । 


कोरोना महामारीले नेपाली रंगकर्ममा छाएको शून्यतामा महोत्सवले उत्साह थपेको रंगकर्मी एवं महोत्सवकी संयोजक विजया कार्की बताउँछिन् । उनी भन्छिन्, ‘एसियाबाट मात्रै होइन, अमेरिका र युरोपसम्मका नाटक तथा नाट्यकर्मीको सहभागिता छ । यसले नेपाली रंगमञ्चमा थप रौनकता छाएको छ ।’ कार्कीका अनुसार महोत्सवमा राजनीति, द्वन्द्व, बालबालिका, महिला, नागरिक पहिचान अनेक विषयका नाटक समावेश छन् । उनी भन्छिन्, ‘यहाँ विभिन्न विषय, विधा र शैलीका नाटक मञ्चन भइरहेका छन् ।’


शुक्रबार महोत्सव उद्घाटनकै दिन ‘एक्टर्स स्टुडियो’ ‘कथा कस्तुरी’ र ‘मण्डला नाटकघर’ले ‘बुद्ध र भिखारी’ नाटक प्रस्तुत गरेको थियो । महोत्सवमा रंगकर्मी एवं अभिनेत्री सबाना आजमीले विश्व रंगमञ्चको अवस्थाबारे नेपाली रंगकर्मीका लागि विशेष कक्षा पनि सञ्चालन गर्नेछिन् । ‘प्राज्ञिक हिसाबले उहाँ भारतीय रंगमञ्च र उद्योगकै हस्ती हुनुहुन्छ,’ रंगकर्मी एवं महोत्सवका सदस्य केदार श्रेष्ठ भन्छन्, ‘काठमाडौं आएका वेला उहाँबाट नेपाली रंगकर्मीले सिक्ने कुरा धेरै छन् ।’ नाटक महोत्सवले नेपाली रंगमञ्चको स्तरोन्नतिका लागि थप भूमिका खेल्ने श्रेष्ठ बताउँछन् । ‘रंगमञ्च कला–साहित्यको माध्यम हो । त्यस हिसाबले महोत्सव अत्यावश्यक छ, उनी भन्छन्, ‘यस्ता महोत्सवहरूले नेपाली रंगमञ्चलाई ठूलो सहयोग पुग्छ ।’


एक दशकअघिसम्म नाटकघमा दर्शक खासै हुँदैन थिए । फिल्म हलतिर दर्शक धेरै हुन्थे । वेला–बखत यस्ता महोत्सव आयोजना गरेर रंगकर्मीमा ऊर्जा भर्ने काम भइरहेको देखिन्छ । यस्ता गतिविधिबाट नाटक हेर्ने दर्शक पनि बढ्दै गएको देखिन्छ । महोत्सवकी निर्देशक सिर्जना सुब्बा भन्छिन्, ‘पहिले–पहिले थोरै दर्शक हुन्थे । कहिलेकाहीँ त सिंगो हल रित्तो हुन्थ्यो ।’ 


‘फिल्ममा जस्तो नाटकमा पटक–पटक टेक लिने छुट हुँदैन । लाइभ हुने भएकाले हामी कलाकारले एउटै दृश्य मञ्चन गर्न वा संवाद बोल्नका लागि पनि महिनौँ रिहर्सल गरेका हुन्छौँ,’ सुब्बा भन्छिन्, ‘नाटकमा हामीलाई कतिले हेर्दै छन् भन्ने कुरा त्यति मतलब हुँदैन, हामीले कस्तो अभिनय गर्‍यौँ, त्यसको अर्थ रहन्छ ।’कोरोना महामारीबाट नाटकघरहरू ठप्प भए । झन्डै दुई वर्षसम्म यो क्षेत्र थिल्थियो भयो । धेरै कलाकार लाखापाखा लागे । तर, अहिले अवस्था बदलिएको छ । झन्डै शून्यको बिन्दुमा झरिसकेको नेपाली रंगमञ्चलाई यहाँसम्म ल्याउन कलाकारले राम्रै मिहिनेत गरेको देखिन्छ । 


फरक पृष्ठभूमिबाट हुर्किएका नाट्यकर्मीको नाटक एकै थलोमा हेर्न पाउनु नेपाली दर्शक र नाट्यकर्मीका दुवैका लागि सुखद अवसर हो । मण्डलाले यो उत्सव सन् २०१९ देखि सुरु गरेको हो । यो अवधिमा उत्सवले नाटक र नाट्यकर्मीलाई मञ्च र हौसला उपलब्ध गराउने मात्रै होइन, नाट्य क्षेत्रमा नयाँ पुस्ताको उपस्थिति हुन पनि सघायो ।

 

यो महोत्सवलाई ‘मेगा–इभेन्ट’ भन्न रुचाउँछन् रंगकर्मी विमल सुवेदी । ‘नाट्यकर्मीको जमघट मात्रै होइन, आत्मीयता साट्ने र हार्दिकता बढाउने गज्जबको अवसर पनि हो यो । महोत्सव एकअर्काको नाटकका शैलीहरू सिक्ने–सिकाउने माध्यम पनि हो,’ उनी भन्छन् ।सुवेदीको बुझाइमा नाटक कथा भन्ने माध्यम मात्र होइन, कला–संस्कृति जोगाउने र प्रवद्र्धन गर्ने माध्यम पनि हो । ‘महोत्सवले विश्वका रंगकर्मीबीच ‘कनेक्टिभिटी’ बढाउँछ,’ सुवेदी भन्छन्, ‘अझ हाम्रो नाटकघरको व्यवस्थापन बलियो हुन सकेको छैन । यस्ता महोत्सवमा अझै धेरै विदेशी नाटक र कलाकार नेपाल ल्याउन सकियो भने रंगमञ्च क्षेत्र अझै राम्रो हुन सक्छ ।’