• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
स्केच सौजन्य : भीम रसाइली विश्वकर्मा
धनकुमारी सुनार
२०७९ मङ्सिर १७ शनिबार ०८:५२:००
सम्झना

असमयमै निभेको एउटा फिलिंगो

२०७९ मङ्सिर १७ शनिबार ०८:५२:००
धनकुमारी सुनार

म यस्तो समाजमा बाँच्न चाहन्छु, जहाँ व्यक्तिको मूल्यांकन उसको जात, धर्म, पैसा, पेसा, लिंग, क्षेत्र, वर्णका आधारमा होइन, उसको विचार र व्यवहारको आधारमा होस् । र, त्यस्तो समाज निर्माणका लागि म आफ्नो जीवन लगाउन तयार छु ।’


माथि उल्लेखित विचार महावीर विश्वकर्माका हुन्, जसले समाजका सबैखाले विभेद र उत्पीडनविरुद्ध आफ्नो सम्पूर्ण जीवन लगाउने संकल्प गरेका थिए । आज उही महावीर जीवनको चौथाई उमेर पनि नबाँची बीभत्स दुर्घटनामा परेर बिते । मृत्यु प्रिय हुँदैन । औसत उमेर बाँचेर मृत्यु हुँदा सहज रूपमा लिन सकिएला । तर, जो नेपाली समाजमा विद्यमान तमाम विकृति र विभेदलाई आफ्नै उमेरकालमा डढेलो लगाउँछु भनेर विद्रोहको मसाल लिएर हिँडेको थियो, उसैको भर्भराउँदो उमेरमै मृत्यु हुँदा आज सारा मुक्तिकामीहरू शोकाकुल छन् ।


सात–आठ वर्षजति भयो होला, महावीरसँग देखभेट भएको । सुरुसुरुमा देख्दा उनमा सकारात्मक भावना धेरै पाएँ । अलिक लजालु पनि थिए । आन्दोलन सेलाइरहेको थकित समयमा महावीरलाई भेट्दा मभित्र आशा जागेको थियो । महावीरसँगको सामीप्यताचाहिँ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको अभियान सुरु गर्ने समय (०७४)देखि भएको थियो । 


महावीर र म पछिल्लो समय धेरै नजिक भएका थियौँ । उनीसँगको मेरो सम्बन्ध असल मित्रको त छँदै थियो, त्यसबाहेक म उनका लागि एकजना अभिभावक पनि थिएँ । त्यसैले एकआपसमा संगठन र पार्टीमा आइपर्ने दैनन्दिनका समस्या बिसाउन खुकुलो पनि भएको थियो । पछिल्लो समय यति निकट थियौँ कि महावीरको मायाप्रेमका मिलन–विछोड, खुसी–तनावसमेतको साक्षी बसेँ । मलाई डर थियो, यस्तो बहुप्रतिभावान् युवा साथी पार्टीमा पूर्णकालीन बनेको थियो, जो दैनन्दिन आर्थिक अभावसँग पनि जुधिरहेको थियो । विचलित पो होला कि ? गलत रोजाइको प्रेम सम्बन्ध वा बिहेका कारण आन्दोलनबाट विमुख पो हुने हो कि ? उपभोक्तावादी समाजमा बिक्न सक्ने भरपुर क्षमता भएको युवा कतै अवसरका लागि बहकिने हो कि ? यस्तै–यस्तै कुराले वेलावेला चिन्ता लाग्थ्यो । तर, प्रत्येकपटक भेटघाट हुँदा जात–व्यवस्थाविरुद्धको लडाइँमा किञ्चित सम्झौता नगर्ने दृढता पाउँथेँ । अनि फेरि ढुक्क हुन्थेँ । 


महावीर स्वभावैले अलिक भावुक प्रकृतिका थिए । चित्त नबुझेको कुरा छ भने आफ्नो कुराबाट टसमस नहुने स्वभाव पनि थियो । र, पछिल्लो समय आफ्नो अध्ययनलाई फराकिलो बनाउँदै वर्गीय र जात–व्यवस्थासम्बन्धी विचारमा खारिने क्रम जारी नै थियो । कहिलेकाहीँ अलिक एकसुरेजस्तो पनि लाग्ने । म उनलाई विचारमा प्रस्ट र वैचारिक रूपमा इस्पातजस्तै भएको हेर्न चाहन्थेँ । मैले गर्न नसकेका र मेरा सीमितताभन्दा धेरै माथि उठेर मुक्तिका अभिभारा बोक्न तयार भइरहेको योद्धाका रूपमा उनलाई कल्पना गर्थेँ । उत्पीडित समुदायको अगुवा रमेरै पनि अगुवाको रूपमा हेर्न चाहन्थे । 

महावीर समाजका असमानता, विभेद र उत्पीडनविरुद्ध सुधारात्मक आन्दोलन होइन, क्रान्ति नै गर्न होमिएका थिए । राज्यसँग आँखा जुधाएर प्रश्न गर्ने आँट भएका जुझारु र ऊर्जाशील प्रतिरोधी युवा नेताका रूपमा स्थापित हुँदै थिए । उनी रंगकर्मी थिए, कवि थिए र थिए असल सञ्चारकर्मी पनि ।


नेपाली समाजमा अमानवको रूपमा रहेका दलित समुदाय जो पानी छोएको निहुमा, प्रेम गरेको कारण अझै कुटीकुटी मारिन्छन्, सामाजिक विभेद, आर्थिक बहिष्करणले पुछारमा छन् । दलित समुदायको मुक्तिका लागि अझै थुप्रै राजनीतिक र सामाजिक लडाइँ लड्न बाँकी छ भन्ने कुरामा महावीर प्रस्ट थिए । त्यसैले, उत्पीडित समुदाय र वर्गका समग्र मुक्तिका लागि आफ्नो निजी लाभ र सुखलाई तिलाञ्जली दिन तयार थिए । यस्तो एक योद्धाको अल्पायुमा भएको निधनले उत्पीडित समुदायलाई ठूलो क्षति भएको छ ।


लामो समयको पत्रकारिता र लोकप्रिय मुक्तककारको छविले महावीरलाई लाखौँको हृदयमा बस्ने मान्छे बनाएको थियो । ‘बहकिने मन’ रेडियो कार्यक्रमका लाखौँ स्रोताहरू महावीरका प्रशंसक थिए । यो समयले धेरैभन्दा धेरै युवालाई आफ्नो व्यक्तिगत जीवनका लागि मात्रै सोच्न र बिक्न बाध्य बनाउँछ । तर, समाजको रूपान्तरण र आन्दोलनले बलिदान खोज्छ, त्याग खोज्छ र खोज्छ योद्धाहरू । जातीय रूपमा विभेद भोग्न नपरेका, वर्गीय उत्पीडन खेप्न नपरेका युवालाई आफ्नो निजी जीवन समृद्ध गर्न, व्यक्तिगत लाभको जोडघटाउमा लिप्त हुने छुट छ । तर, महावीरजस्ता उत्पीडित युवाहरूलाई सम्पूर्ण उत्पीडितहरूमाथिको शोषण, विभेदको साङ्लो चुँडाउने, मुक्तिको यात्राको नेतृत्व गर्ने गहन जिम्मेवारी छ ।

महावीर वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य एवं जात–व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय सचिव थिए । समाजका असमानता, विभेद र उत्पीडनविरुद्ध सुधारात्मक आन्दोलन होइन, क्रान्ति नै गर्न होमिएका थिए । राज्यसँग आँखा जुधाएर प्रश्न गर्ने आँट भएका जुझारु र ऊर्जाशील प्रतिरोधी युवा नेताका रूपमा स्थापित हँुदै थिए । उनी रंगकर्मी थिए, कवि थिए र थिए असल सञ्चारकर्मी पनि । 


नेपाली समाजमा रहेको लैंगिक, वर्र्गीय, जातीय विभेद, अन्यायविरुद्ध आगो ओकल्दै माइतीघर, नयाँबानेश्वर र रत्नपार्कमा मन्त्रमुग्ध पार्ने गरी भाषण गर्ने कला उनीसँग थियो । आफ्नै उमेरकालमा वर्ण–व्यवस्थामा आधारित जात–व्यवस्था निर्मूल पार्नुपर्छ भन्ने प्रतिबद्धता थियो । रूपान्तरण, क्रान्तिका लागि आफूलाई सम्पूर्ण रूपमा समर्पित गर्दै महावीर सत्तासीनहरूलाई हजारौँ प्रश्न गर्न उडान भर्दै थिए । अन्तर्जातीय प्रेम गरेको अपराधमा नवराज विश्वकर्मासहित ६ जना युवाहरूको रुकुम पश्चिमको चौरजहारी सोतीमा नरसंहारपछि उनमा वर्णवादी राज्यसत्ताविरुद्ध लड्ने ऊर्जा भरिएको थियो । यस्तो वर्गीय र वर्णवादी आन्दोलनविरुद्ध सतिसाल महावीरको माइक्रोबसचालकको चरम लापरबाहीका कारण दुर्घटनामा मृत्यु हुन पुग्यो । मकवानपुरमा जन्मी, चितवनमा हुर्के–बढेका महावीर भर्खरै ३५ वर्ष टेकेका थिए । असमयमै निभेको एउटा फिलिंगोको अभाव हामीलाई निकै खड्किनेछ ।


आज महावीरको भौतिक शरीर हामीबीच नभए पनि उनले देखेका सपना, अठोट र मुद्दा हामीसँग छन् । महावीर हामीसँगै छन् । सधैँभरि मनमा बाँच्नु पो बाँच्नु । निरर्थक जीवन त के बाँच्नु !जसरी एउटी आमाको आफ्नो सन्तानका लागि केही मीठा सपना हुन्छन् त्यस्तै मेरा पनि केही थान मुक्तिका सपना थिए, महावीरसँग । ती अधुरै रहे । तर, थाती रहेका मुक्तिका सुनौलो सपना यथार्थमा बदल्न लाखौँ महावीरहरू लामबद्ध हुनेछन् । 
०००