• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन गोले तामाङ
२०७९ मङ्सिर १७ शनिबार ०९:००:००
समाज

जो गाउँगाउँमा किताब बाँड्दै हिँड्छन्

पल्टनमा अक्षर चिने, पल्टनमै किताबको महत्व बुझे, अहिले गाउँगाउँमा किताब बाँड्दै हिँड्छन्

२०७९ मङ्सिर १७ शनिबार ०९:००:००
मोहन गोले तामाङ

 

हिउँद, वर्षा कहिले थोत्रो साइकलमा, कहिले घमरुको लौरो टेक्दै उमेरले ८० चुमेका एक वृद्ध विगत १७ वर्षदेखि झोलामा किताब र पत्रिका बोकेर घरघर पुग्छन् । तामाङको घर ठम्याउनेबित्तिकै टक्क रोकिन्छन् र झोलाबाट केही किताब निकाल्छन् । किताबको महत्वबारे कहिले उभिएर त कहिले बसेर नै आधा घन्टा बोल्छन् । बोलिसकेपछि केही किताब दिँदै ‘ल यो पढ्नू है’ भन्दै अर्को घरतिर लाग्छन् । 


कसैले किताबको पैसा दिइहाल्यो भने लिन्छन् पनि । यो दिनचर्या हो, सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–८ ट्यांग्रा टोल निवासी मनु मोक्तानको । भूपू ब्रिटिस लाहुरे मोक्तानको परिचय फेरिएर अहिले किताब आस्याङ भएको छ । धेरैले उनलाई अहिले किताब आस्याङ भनेर चिन्छन् । शीरमा दोर्जे अंकित मैलो तामाङ तागी कहिल्यै छुट्दैन । अन्य पहिरनमा घुर्माइलो भेस्ट, कालो हाफपेन्ट र फित्ते चप्पलमै प्रायः भेटिन्छन् किताब आस्याङलाई । उनी भन्छन्, ‘तामाङ तागी मेरो पहिचान हो, त्यसैले यो सबैलाई देखाउन लाएको हुँ ।’ 


बुढ्यौली पसेर गालाको छाला झोलिएर मुजैमुजा परेको छ । टाउकोमा ९० प्रतिशत केश सेता भइसकेका छन् । देब्रे आँखा राम्रोसँग देख्दैनन् । काठमाडौंको तिलगंगा आँखा अस्पतालमा दुईपटक अप्रेसन गरे पनि सफल भएन । तर, अर्को आँखाको तेज यति छ कि चस्माविनै पनि किताब पढ्न सक्छन् । उनको किताब मोह देखेर अहिलेका युवापुस्तासमेत छक्क पर्छन् । किन यति धेरै किताब मोह ? उनको जवाफ छ, ‘हाम्रो पालामा गाउँमा स्कुल थिएन र पढ्न पाइएन । दुःख पाइयो । जब पल्टनमा भर्ना भएँ, त्यहाँ गोरा सैनिकहरू सुत्दा, हिँड्दा, खाना खाने समयमा पनि किताब पढिरहेको देख्थेँ । किताब नभए उनीहरू पत्रिका भए पनि पढिरहन्थे । त्यसले मलाई किताबको महत्व बुझायो ।’ 

पल्टनमै हुँदा अलि–अलि अक्षर चिन्न सिकेका किताब आस्याङ काठमाडौं आउँदा तामाङ पुस्तक र पत्रिकाहरू किनेर लान्छन् र गाउँमा बाँड्छन् । आफू बिरामी भएको समयमा अरूलाई भए पनि पुर्‍याइदिन अनुरोध गर्छन् । तामाङसम्बन्धी कुनै नयाँ पुस्तक प्रकाशन भएको जानकारी पाउनासाथ एक–दुई सयप्रति मगाइहाल्छन् । आफूलाई महत्वपूर्ण लाग्यो र पुगेन भने कहिलेकाहीँ लेखकको अनुमति लिएर आफ्नै खर्चमा छाप्छन् पनि । नेपाल तामाङ घेदुङको प्रकाशन ‘तामाङ संस्कार संस्कृति निर्देशिका’ र भाषाविद् अमृत योञ्जनद्वारा लिखित पुस्तक ‘तामाङ नामकोश’ यसअघि नै उनले छापेर बाँडिसकेका छन् । उनले बाँडेका कतिपय पुस्तकहरू धरान, धनकुटा, तेह्रथुम र संखुवासभासम्म पुग्छन् । विशेषगरी तामाङ जातिको सभ्यता, इतिहास, भाषा, कला, धर्म–संस्कृतिसँग सम्बन्धित पुस्तकहरू बाँड्नु उनको पहिलो रोजाइ हो । सँगै आदिवासी जनजाति र अन्तर्राष्ट्रिय महासन्धिसँग सम्बन्धित बुकलेटहरू पनि उनको झोलामा टुट्दैन । केही वर्षअघि प्रकाशन बन्द भएको ‘छारगोङ्मा’ पत्रिका त उनी सय प्रति किन्ने नियमित ग्राहक नै बनेका थिए र ती सबै बाँड्नकै लागि किन्थे । उनको भनाइ छ, ‘सयजनामा पाँचजनाले मात्रै पनि पढिदियो भने समाजमा जागरण ल्याउँछ ।’ 


२०६२ मा घेदुङको इटहरी नगर समिति स्थापना भएपछि लगभग १७ वर्षदेखि उनी समाज रूपान्तरणका लागि हिँडिरहेका छन् । जुन वेला घेदुङ गठन भयो, त्यसवेला इटहरीमा तामाङ समाज विभाजित थियो । अर्को समूह आएर आक्रमण गर्ला भनेर कार्यक्रम स्थलमा प्रहरी राखेर गठन गर्नुपरेको स्मरण गर्छन् । उमेरको उत्तराद्र्धतिर पनि निरन्तर युवा जोस बोकेर अभियानमा लागिरहेका मनुलाई घरपरिवारबाट खासै अवरोध त छैन, तर पूर्ण समर्थन पनि छैन । तर, आफूले सोचेजस्तो समाज रूपान्तरण नभएकोमा दिक्क मान्छन् र पनि हार खाँदैनन् । उनी तामाङलाई कहिले रबर त कहिले सिस्नोसँग दाँज्दै भन्छन्– तामाङ त रबरजस्तै रैछ । रबरलाई तन्काइराख्यो भने तन्किन्छ, तन्काउनु छोडेपछि फेरि उहीँ ठाउँमा आइहाल्छ । भनिन्जेल ठिकैजस्तो हुन्छ तर फेरि भन्न छाडेपछि उस्ताको उस्तै । 


इटहरीको तामाङ समाजलाई अघि बढाउने भनेर उनकै अग्रसरतामा ‘म्हेन्दो सहकारी संस्था’ स्थापना भयो, तर पछि जातीय नामको सहकारी दर्ता हुँदैन भनेर कर्मचारीले दुःख दिएपछि त्यो प्रक्रिया रोकियो । त्यसको केही समयपछि उनकै अग्रसरतामा तामाङ अक्षयकोष स्थापना गर्ने अभियान चल्यो । सजिलै पैसा उठेन । उनले एउटा उपाय लगाए । घेदुङका टोली सबैलाई घरमा बोलाएर भने, ‘ल, अब एकैपटक ठूलो रकमको कुरामा नलागौँ ।

एक–एक लाख पुर्‍याउने गरी अभियान चलाऔँ । त्यसका लागि सबै मिलेर असी हजार संकलन गर्नू । म त्यसमा बीस हजार थपेर एक लाख पुर्‍याइदिन्छु ।’ सबैजना खुसीले गाउँमा पैसा उठाउन हिँडे । असी हजार उठेपछि उनले बीस थपेर एक लाख पुर्‍याइदिए । फेरि किताब आस्याङले भने, ‘ल फेरि सबै मिलेर असी हजार पुर्‍याउनू, म बीस थपिदिन्छु ।’ यसरी पटक–पटक उनले समुदायलाई परिचालन गरे र २० हजारको दरले थपिरहे । यसरी घेदुङको पदाधिकारीहरू दुई महिनाभन्दा बढी समय दिनरात खटे । अहिले इटहरी तामाङ समाजको अक्षयकोषमा १२ लाखभन्दा बढी रकमको मूलधन छ । यसैको ब्याजबाट तामाङलाई परेको दुःखमा समाजले सहयोग पुर्‍याउँदै आएको छ । 

पढाइ कम भएकाले पल्टनमा उनको प्रमोसन भएन । सन् १९६२ को मलेसिया–इन्डोनेसियाको लडाइँमा बेलायतको तर्फबाट भाग लिए । त्यही लडाइँमा रामबहादुर लिम्बूले भिसी प्राप्त गरे । उनी भन्छन्, ‘अगाडि दोहोरो गोली हानाहान भयो । धेरैजनाको मृत्यु भयो ।’

त्यसो त अक्षयकोष मात्र होइन, इटहरी आसपासमा बनेका दुई–तीनवटा गुम्बा, सेलो घर र घेदुङ भवन निर्माण सबैमा उनको उच्च आर्थिक सहयोग छ । ठ्याक्कै रेकर्ड नभए पनि अहिलेसम्म विभिन्न संस्था स्थापनामा २५ लाखभन्दा बढी सहयोग गरेको उनी सम्झन्छन् । यसरी सहयोग गरेकै कारण उनलाई दर्जनौँ संघसंस्थाले सम्मान पनि गरेको छ र प्रायः ती सबै संस्थाले सल्लाहकार राखेका छन् । तामाङबाहेक थारू समाज र भूपू सैनिक संघमा पनि उत्तिकै समय दिइरहेकै हुन्छन् । घरको बैठककोठा सम्मानपत्र र दिवंगत परिवारको सदस्यको तस्बिरले भरिएको छ । बाँड्न बाँकी किताबको थुप्रो पनि कोठामै छ । एक्लै हुँदा तिनै सम्मानपत्र र आफन्तको तस्बिरमा लागेको धुलो पुछेर दिन कटाउँछन् उनी । 


नेपाल तामाङ घेदुङको संरक्षक सदस्यसमेत रहेका मोक्तानको घरमा २०६८ सालदेखि प्रदेश घेदुङको कार्यालय पनि छ । घेदुङको बैठक र कार्यक्रम गर्नुप¥यो भने चिया, खाना, नास्ता सबै खर्च उनैले व्यहोर्छन् । सोनाम ल्होछारको अवसरमा प्रत्येक साल घेदुङको नगर तथा सबै वडा समिति र गुम्बा समितिसमेतका सदस्यलाई आफ्नै खर्चमा ल्होछार भोजको आयोजना गर्छन् । भोजमा आउनेलाई तामाङ ड्रेस अनिवार्य गरिएको छ । ड्रेस नलगाउनेलाई प्रवेश दिइँदैन । ल्होछारमा धनकुटा र धरानबाट ताम्बा टोली बोलाएर सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिन्छ । त्यसैको प्रभावले होला, अहिले इटहरीका प्रायः सबै तामाङले घरघरमा धुमधामसँग ल्होछार मनाउँछन् । 


२०३० सालमा उनी पल्टनबाट फर्किए । त्यसवेला उनले चार बिघा जमिन जोडेका थिए । साढे तीन बिघा अझै बाँकी छ । केही वर्षअघि एक बिघा जग्गामा प्लटिङ गरे । निजी बाटो खोले । त्यो जग्गामा सानो तामाङ बस्ती बसाउने र तामाङ भाषा, धर्म, संस्कृतिको एउटा नमुना गाउँ बनाउने उनको योजना थियो । तर, जग्गा किन्ने तामाङहरूले केही वर्षमै जग्गा बेच्दै हिँड्न लागेपछि केही जग्गा आफैँले फिर्ता गरे । जग्गा बेच्दै फेरि आफैँले किन्दै गरेको देखेर गाउँलेले हँसीमजाक पनि गरे । 


घरमा काम गर्ने मान्छे खासै नभए पनि उनले गाईगोरु, खसी–बोका, सुँगुर, लोकल कुखुरा र हाँस प्रशस्तै पालेका छन् । तर, ती कहिल्यै बिक्री गर्दैनन् । दुइटा गोरु तीन वर्षअघि मरे । एउटा २७ वर्ष बाँच्यो, अर्को २५ वर्ष बाँच्यो । खोरमा भएका आधा दर्जन खसीमध्ये दुईवटा खसी १२ वर्षको भयो । एउटा बूढो कुखुरा भाले गतसाल आठ वर्षपछि मर्‍यो । उनी भन्छन्, ‘पशुको पनि बाँच्ने अधिकार छ । कति बाँच्छ ? बाँचोस् भनेर पालिराखेको छु । मलाई खान, लाउन दुःख छैन । किन बेच्नु र ?’ घर भए पनि पशुपक्षी भएन भने शून्य लाग्ने हुनाले पालेको उनी सुनाउँछन् । 


१७ वर्षको कलिलो उमेरमै लाहुर हिँडेका मोक्तानले तीन विवाह गरे तर अहिले बुढेसकालमा एकजना पनि उनका साथमा छैनन् । ‘१५ वर्षको उमेरमै एकादशी मेलाबाट एकजनालाई तानेर ल्याए,’ उनी सम्झन्छन्, ‘त्योवेला सानैमा बिहे गर्ने चलन थियो, उनलाई मैले पहिलेदेखि नै आँखा लगाइरहेको थिएँ, फर्किंदा उनी एक्लै परेको भेटेँ र तानेर घरपट्टि ल्याएँ ।’ उनी त्यही साल लाहुर गए । तीन वर्षपछि लाहुरबाट फर्किंदा श्रीमती अन्तै बाटो लागिसकेकी थिइन् । ‘त्योवेला चिठीपत्र थिएन । सायद म बेपत्ता भयो भनेर पोइल गएकी होला,’ उनले अनुमान गरे । पल्टनबाट फर्केपछि जेठी श्रीमतीकै बहिनी पर्नेसँग विवाह गरे । तीन छोराहरूको जायजन्म भयो । ‘पेन्सनमा निस्केपछि धरान–इटहरी गर्ने क्रममा फेरि अर्को विवाह भयो । उनी पनि पाँच–सात महिना मात्रै बसेर अन्तै गइन् । हाँस्दै सुनाउँछन्, ‘म त केटी फकाउन नजान्ने मान्छे । बिहे त भयो तर घरबार भएन ।’ 


पढाइ कम भएकाले उनको पल्टनमा प्रमोसन भएन । मुस्किलले दुई तह बढुवा भएर नायकसम्म पुगे । सन् १९६२ को मलेसिया–इन्डोनेसियाको लडाइँमा बेलायतको तर्फबाट भाग लिए । त्यही लडाइँमा रामबहादुर लिम्बूले भिसी प्राप्त गरे । उनी भन्छन्, ‘त्यो लडाइँमा रामबहादुर लिम्बू अगाडि नै गइसकेका थिए । तर, म धेरै पछाडि थिएँ । अगाडि दोहोरो गोली हानाहान भयो । धेरैजनाको मृत्यु भयो । युद्धमा घाइते पनि त्यत्तिकै संख्यामा भयो । दुई पक्षको गोली हानाहान हुँदा पनि रामबहादुरले गोलीको कुनै पर्वाह नगरी घाइते साथीहरूको उद्धार गर्नुभयो । उहाँले उद्धार गर्ने वेलामा कम्पनी कमान्डरले फोटो खिचेका रहेछन् । त्यो फोटो पछि हेर्डक्वाटरमा पठाउँदा यस्तो साहसी काम गर्ने भनेर उहाँलाई भिसी प्राप्त भयो ।’ 


पछिल्लो समय उनी स्वास्थ्य समस्याका कारण त्यति गाउँ डुल्न सक्दैनन् । जीवन सँगिनीले छाडेको पनि पाँच वर्ष बितिसक्यो । दमको बिमारले जेठा छोरा मरेको पनि धेरै भइसक्यो । दुई भाइ छोरामा माइला टीकाराम कोरिया र कान्छा तीर्थराम हङकङमा बस्छन् । विदेश पसेका छोराहरूले खासै फोन नगर्दा कहिलेकाहीँ उनको मन विरक्तिन्छ । बुढेसकालमा सहयोगीको रूपमा साइली दिदीपट्टिको छोरी ज्वाइँ र माइला छोरापट्टिको एउटा नाति आफूसँगै छन् । घरमा बस्दा आफ्नो कुरा सुनिदिने कोही मान्छे आउँला कि भन्दै गेटतिर हेरिरहन्छन् ।