• वि.सं २०७९ माघ २२ आइतबार
  • Sunday, 05 February, 2023
अनिल यादव
२०७९ मङ्सिर २४ शनिबार १०:३०:००
इतिहास

जेलबाटै ‘जादु’

२०७९ मङ्सिर २४ शनिबार १०:३०:००
अनिल यादव

हालै सम्पन्न निर्वाचनमा केही रोचक परिणाम देखिए । जस्तो कि अघिपछि सुरक्षा दस्तासहित चिल्ला गाडीमा हुइँकिने पूर्वप्रधानमन्त्रीदेखि बहालवाला केही मन्त्रीहरूसमेत यसपटक पराजित भए । तर, जेलको चार दिवारभित्रका एकजना कैदीले जेलभित्रैबाट दल खोलेर अप्रत्याशित जित निकालेर देखाइदिए । अहिले उनलाई भेट्न जाने दलका शीर्ष नेताहरू नै भनिरहेका छन्, ‘तपाईंले  त अचम्मै गर्नुभो । जेलबाटै जादु गर्नुभो ।’


०७२ भदौ ७ मा भएको टीकापुर घटनाका मुख्य अभियुक्त बनाइएपछि रेशम चौधरी देश छाडेर भाग्न बाध्य भए । राज्यको नजरमा ‘फरार अभियुक्त’ हुँदाहुँदै ०७४ को निर्वाचनमा उनले तत्कालीन राजपाबाट चुनाव लडे । कैलालीको सीमावर्ती भारतीय गाउँ बेलापरसुवामा लुकेर चुनाव लडेका उनलाई कैलाली १ का मतदाताले ३४ हजार तीन सय ४१ मत दिएर चुनाव जिताए । तर, यति ठूलो जनमत पाउँदापाउँदै उनी संसद् छिर्न पाएनन्, डिल्लीबजारस्थित सदरखोरमा बन्दी बन्न बाध्य भए । 


त्यसपछि रेशम र थरूहट आन्दोलनसँग मुछिएका थारूहरूको रिहाइका लागि पटकपटक पहल र आश्वासनका आवाज नसुनिएका होइनन्, तर ती कहिल्यै कार्यान्वयनमा आएनन् । आफू र आफ्नो समुदायका लागि बोल्छ भन्ने पार्टी (हाल जसपाबाट फुटेर लोसपा) सत्तालिप्त भएर टुटफुटको चरणमा पुगेपछि रेशम एकदिन जेलभित्रै आफ्नो भविष्यबारे गम्दै थिए । त्यहीवेला उनलाई लाग्यो, ‘अब हाम्रो उन्मुक्तिको आवाज अरूले बोल्दैन, आफ्नै पार्टी चाहिन्छ ।’ 

 

पूर्वप्रधानमन्त्रीदेखि बहालवाला केही मन्त्रीसमेत यसपटकको निर्वाचनमा पराजित भए । तर, जेलको चार दिवारभित्र कैद एकजना कैदीले जेलभित्रैबाट दल खोलेर अप्रत्याशित जित निकालेर देखाइदिए । अहिले उनलाई भेट्न जाने शीर्ष नेताहरू नै भनिरहेका छन्, ‘तपाईंले त अचम्मै गर्नुभो । जेलबाटै जादु गर्नुभो ।’

 

त्यसपछि चौधरीले १९ पुस ०७८ मा श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी स्थापना गरे । स्थापनाको तीन महिनामै कैलालीमा चार पालिका जितेर उनको पार्टी पहिलो बन्यो । तर पनि राज्य, ठूला राजनीतिक दल र दलका शीर्ष नेताहरू चौधरीको माग र मुद्दाप्रति गम्भीर देखिएनन् ।


०४ मंसिरअघिसम्म उनको दलसँग चुनावी सहकार्यको प्रस्ताव राख्दै प्रचण्डले चौधरीलाई जेलभित्र सन्देश नपठाएका होइनन् । तर, त्यो सन्देश चौधरीका लागि चित्तबुझ्दो थिएन । ‘अरू हाम्रै गढ हुन्, हामीलाई छाड्दिनुस् । कैलाली १ चाहिँ तपाईंहरू नै लड्नुस्,’ यसरी प्रचण्डले रेशमको पार्टीलाई पत्याएकै थिएनन् । तर, अहिले परिणाम देखेर प्रचण्ड आफैँ आश्चर्यमा छन् ।

 

कैलालीका तीनवटा निर्वाचन क्षेत्रमा उन्मुक्ति पार्टी विजयी भयो । कैलाली १ मा रेशमकै श्रीमती रञ्जिता श्रेष्ठ, कैलाली २ मा अरुनकुमार चौधरी र कैलाली ३ मा गंगाराम चौधरी निर्वाचित भए । त्यस्तै, बर्दिया २ मा रेशमको उम्मेदवारी खारेज भएपछि त्यसको ‘ब्याकअप’मा स्वतन्त्र उम्मेदवारी दिएका उनका बुबा लालवीर चौधरी विजयी भए । यो परिणामपछि सत्तागठबन्धन दलका शीर्ष नेताहरू अहिले रेशमलाई फकाउन जेलभित्रै पुगिरहेका छन् । गठबन्धनको सुविधानजनक बहुमत पुर्‍याउन प्रत्यक्षमा चार र प्रदेश सभामा सात सिट जितेको उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने कसरत जारी छ । लुम्बिनी प्रदेश सरकार निर्माणमा त रेशमको पार्टी निर्णायक भूमिकामै छ । 


अघिल्लो साताको सोमबार प्रचण्डले जेलभित्रै पुगेर रेशमलाई भने, ‘तपाईंलाई बधाई छ । नसोचेको परिणाम ल्याउनुभयो । हामीले हाम्रो गढ सोचेको क्षेत्रमा तपाईंहरूले राम्रो मत ल्याउनुभयो । साँच्चै चमत्कार नै गर्नुभयो । अब मिलेर जाऔँ । गठबन्धनमा आउनुस् । तपाईंको माग हामी सम्बोधन गर्छौँ ।’


त्यसको भोलिपल्ट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि उनलाई भेट्न पुगे । तर, प्रचण्डजस्तो राजनीतिक गफ खासै गरेनन् । करिब दुई–तीन घन्टा लामो भेटमा उनीहरूबीच राजनीतिकभन्दा पनि बढी व्यक्तिगत कुरा भए । तर, उन्मुक्ति पार्टीमा आएको मतप्रति भने अध्यक्ष नेपाल पनि प्रचण्डजस्तै चकित सुनिए । ‘रौतहटको मेरो क्षेत्रमा तीन हजार मत ल्याउनुभयो । यो त मैले सोचेकै थिइनँ,’ उनले रेशमलाई भने, ‘हामीलाई थाहा छ, तपाईं निर्दोष हुनुहुन्छ, तपाईंमाथि अन्याय भएको छ । म आजै प्रधानमन्त्रीलाई भेट्दै छु ।तपाईंको मुद्दा चाँडो सम्बोधन गर्न म कुरा उठाउँछु ।’ त्यसपछि कुनै पहल भएको शुभ खबर रेशमले सुनेका छैनन् ।

 

त्यही दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि रेशमलाई भेट्न पुगेका थिए । भट्टराई निःस्वार्थी नेता लाग्छ उनलाई । यो पाँच वर्षको कारागार जीवनमा सबैभन्दा बढी उनलाई भेट्न जाने नेता भट्टराई नै हुन् । अहिलेसम्म करिब आधा दर्जनपटक रेशमलाई भेट्न कारागारमै पुगिसके भट्टराई । 


एमाले अध्यक्ष केपी ओली भने उनलाई भेट्न कारागार पुगेका छैनन् । तर, टेलिफोनमा भने दुईपटक कुराकानी गरिसके । पहिलोपटक पार्टीले राम्रो सफलता पाएको भन्दै बधाई दिन फोन गरेका थिए । ओली अलि ‘रिजर्भ’ खालको नेता लाग्छ रेशमलाई । खासै खुलेर नबोल्ने । ‘तपाईं निर्दोष हो भन्ने थाहा छ, हामीले तपाईंलाई छुटाउन खोजेका पनि हौँ, तर न्यायालयको आफ्नै प्रक्रियाका कारण सकिएन । अब सहकार्य गरेर अघि बढ्नुपर्छ,’ रेशमसँगको फोन कुराकानीमा ओलीले भनेका छन् । दोस्रो तहका त थुप्रै नेता रेशमलाई भेट्न कारागारमै पुगिरहेका छन् । परिणाम आएपछि नेपाली कांगेसबाट नेता पूर्णबहादुर खड्कादेखि एनपी साउदसम्मले उनलाई भेटिसकेका छन् । 


आधाउधी ढकिया : न खाली, न भरि 
चुनावअघि र पछिको डिल्लीबजार कारागारको दृश्यमा केही बदलाव आएको छ । ‘भिआइपी कैदी’ भेटघाट क्षेत्रमा अहिले पनि प्लास्टिकको एउटा राउन्डटेबुल, प्लास्टिककै चार–पाँचवटा कुर्सीसहित रेशमको भेटघाटस्थल छ । तर, त्यहाँ चुनावअघिसम्म टेबलमाथि देखिने ढकिया अहिले भेटिँदैन । चुनावअघि उनलाई भेट्न जाने अधिकांश आगन्तुक टेबलमाथि ढकिया देखेर जिज्ञासा राख्थे । त्यतिवेला चुनावी प्रचारकै शैलीमा उनको जवाफ हुन्थ्यो,‘यो ढकिया थारूहरूको पहिचान हो । यो हाम्रो मान र सान हो । र, अहिले हाम्रो पार्टीको चुनाव चिह्न पनि ।’चुनावपछि फेरि ‘बधाई दिन’ पुग्ने आगन्तुकहरू रेशमलाई सोध्छन्, ‘खोइ टेबलको ढकिया ?’ जवाफमा उनी हाँस्दै भन्छन्, ‘चुनावमा बाँडेर सकियो । अब नयाँ ल्याउनुपर्ला ।’


कारागारभित्रबाटै रेशमले दुई निर्वाचनका रणनीति बनाए, पार्टीका लागि चुनावी गीत लेखे, रातदिन खटेर दुवै निर्वाचनको घोषणापत्र लेखे । चुनावी रणनीति बनाउँदै गर्दा रेशमको आफ्नै हिसाब थियो– प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १५ सिट र समानुपातिकमा १४ । प्रदेशतर्फ प्रत्यक्षमा ४६ सिट र समानुपातिक २३ । करिब आधा दर्जन प्रदेश सभा क्षेत्रमा पाँच सयभन्दा कम मतान्तरले हार भयो । प्रत्यक्षमा पनि केही क्षेत्रमै थोरै मतान्तरले उन्मुक्ति पार्टीका उम्मेदवार पछाडि परे । यद्यपि, उनको पार्टी यतिखेर पश्चिम तराईको नयाँ शक्तिका रूपमा उदय भएको चर्चा छ । तर, रेशमका लागि भने यो परिणाम अपेक्षाभन्दा धेरै फरक हो ।

 

कारागारभित्रबाटै रेशमले दुई निर्वाचनका रणनीति बनाए, पार्टीका लागि चुनावी गीत लेखे, रातदिन खटेर दुवै निर्वाचनको घोषणापत्र लेखे । चुनावी रणनीति बनाउँदै गर्दा रेशमको आफ्नै हिसाब थियो– प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १५ सिट र समानुपातिकमा १४ । प्रदेशतर्फ प्रत्यक्षमा ४६ र समानुपातिक २३ सिट 

 

समानुपातिकतर्फ १४ सिटको अपेक्षा गरे पनि ढकियाले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन । दुई लाख ७१ हजार सात सय २२ मतमै पुगेर अड्कियो । राष्ट्रिय दल हुन नसकेकोमा रेशमको मन दुखेको छ । खासगरी दाङसँग उनको ठूलो अपेक्षा थियो । समानुपातिकमा करिब ५० हजार मत दाङबाटै आउँछ भन्ने उनको आशा थियो । तर, आठ हजार आठ सय ९२ मत मात्रै आयो । जेलभित्रै यो अपडेट थाहा पाए पनि एक रात उनी निकै बेर घोत्लिए । उनलाई दाङ पढेलेखेका र बौद्धिक थारूहरू बस्ने ठाउँ लाग्थ्यो । थरूहट आन्दोलन हुँदा सबैभन्दा पहिले विद्रोहको आवाज दाङबाटै उठेकाले यो चुनावमा पनि सबैभन्दा बढी विद्रोहको मत त्यहीँबाट खस्ने उनको अनुमान थियो । तर, त्यसो भएन । 


टिभीमा परिणाम हेर्थे कैदीहरू
निर्वाचनअघिसम्म कार्यकर्ता भेटघाट र चुनावी रणनीतिका कारण जेलभित्रै पनि निकै व्यस्त हुन्थे, रेशम । डिल्लीबजार कारागारमा सबैभन्दा बढी आगन्तुक रेशमलाई नै भेट्न जान्छन् । त्यसैले कारागारमा रेशमको बेग्लै रजिस्टर छ । कैदी भेट्न जाने चिटमा रेशमको नाम देख्नासाथ त्यहाँ बस्ने सुरक्षाकर्मीहरू ‘खोइ रेशमको खाता ल्याउनु त’ भनिहाल्छन् । अरू कैदी भेट्न जाँदा उनी कुन मुद्दामा आएका हुन्, त्यो भन्नुपर्छ । तर, रेशमलाल चौधरी भनेपछि आगन्तुकहरूले धेरै बोल्नुपर्दैन, फाराममा आवश्यक सबै जानकारी कर्मचारी आफैँले भरिहाल्छन् ।

तर, जब मत गन्न थालियो त्यसपछि परिणामबारे उत्सुकता त हुने नै भयो । कारागारको हलमा कैदीहरूलाई हेर्न टिभीको व्यवस्था गरिएको थियो । कारागारका धेरैजसो कैदीहरूले उनलाई ‘रेशम दाइ’ भन्छन् । मत गन्दैगर्दा रेशमलाई मात्रै होइन, त्यहाँका प्रायः सबै कैदीहरूलाई ढकियाको चासो थियो । जब टिभीमा कसैले नागरिक उन्मुक्ति पार्टी या ढकियाको नाम लिन्थ्यो, कारागार परिसरमा ताली र हर्षको आवाज गुन्जिन्थ्यो । भेट्न आउने आगन्तुकलाई रेशम भन्ने गर्छन्, ‘यहाँको माहोल त पूरै ढकियामय भएको थियो ।’


जबजब आफ्नो उम्मेदवारहरू विजयी भएको सुने, लगत्तै बधाई दिन उनी जेलको ल्यान्डलाइनबाट फोन गर्थे । तर, फोन उठ्दैनथ्यो । विजयी ¥यालीमै व्यस्त भएको अनुमान गर्थे । अनि टिभीमै खबर हेरेर खुसी मनाउँथे ।श्रीमती रञ्जिताले चुनाव जित्छिन् भन्नेमा त उनी ढुक्क नै थिए । जितेपछि पहिलोपल्ट कारागार भेट्न आउँदा रञ्जिताले मुस्कुराउँदै रेशमलाई भनिन्, ‘तिमीले त मलाई माननीय बनायौँ नि ।’ रञ्जिताले बाँडेको यो खुसी रेशमलाई भेट्न आउने आगन्तुकले सुनाउने गर्छन् । 


सरकारमा जाने त ?
रेशमलाई भेट्न जानेहरू धेरैले राख्ने एउटा समान जिज्ञासा छ, ‘अब सरकारमा जाने कि नाइ ?’ जवाफमा उनको एउटै मत छ, ‘हाम्रो माग सम्बोधन नभएसम्म जाँदैनौँ ।’ भेट्न आउने शीर्ष नेताहरूलाई पनि उनले यही सन्देश पठाएका छन् । सहमति या आश्वासनको भरमा सरकारमा सहभागी नहुने उनको अडान छ । टीकापुर घटनामा जेल कोचिएका र मुद्दा चलाइएकाहरूलाई नछाडेसम्म सरकारमा सहभागी नहुने उनको स्पष्ट जवाफ छ । 


यो चुनावी जनमतले थरूहट आन्दोलन र थारू राजनीतिलाई अनुमोदन गरेको प्रस्ट सन्देश दिएको छ । अब पनि राज्यले थारूहरूलाई अलग व्यवहार गर्न खोजे त्यसको परिणाम अनपेक्षित हुने आफूलाई भेट्न आउने नेताहरूलाई रेशमले भन्ने गरेका छन् । आफूहरूको माग पूरा नभए यसपटक माघी पर्व विद्रोह गरेर मनाउने चेतावनी उनले दिएका छन् । ‘माघी हाम्रो उत्सवको पर्व हो । हाम्रो नयाँ वर्ष हो । तर, त्यस दिन थारूहरूले रातो र सेतो कफन शिरमा बाँध्न बेर छैन । राज्य वेलैमा चेतोस्,’ आगन्तुकसँग जेलभित्रै आक्रोशित सुनिन्छन् उनी ।

 

भेट्न आउने आगन्तुकसँग रेशम भन्ने गर्छन्, ‘बिरामी भएर अस्पताल लैजाँदासमेत मेरो खुट्टामा नेल ठोकियो । त्यतिवेला पनि थारूहरू रिसाएर विद्रोह गर्ने तयारीमा थिए । मैले रोकेँ । यो पाँच वर्षको अवधिमा पटक–पटक झुटो आश्वासन दिइयो । आफ्नै पार्टी खोलेको डेढ महिनामै हामीले कैलालीमा चार पालिका जित्यौँ, तैपनि त्यो जनमतको सम्मान भएन । अहिले केन्द्रमै हस्तक्षेप गर्न सक्ने जनमत पाएका छौँ । अब पनि त्यसको सम्मान भएन भने कहिलेसम्म सहने ?’कहिलेकाहीँ आगन्तुकहरूसँग बोल्दाबोल्दै रेशमको गला अवरुद्ध हुन्छ । उनी भन्छन्, ‘मान्छे परिबन्दमा पर्ला, तर विचार कहिल्यै परिबन्दमा पर्दैन ।’