• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शिवहरि घिमिरे
२०७९ पौष २ शनिबार ०७:३४:००
यात्रा

मान्छे मुस्कुराइरहने सहर

२०७९ पौष २ शनिबार ०७:३४:००
शिवहरि घिमिरे

गएको १४ मंसिरमा हामी इन्डोनेसियाको बाली पुगेका थियौँ, बालीस्थित सुनुरमा हुने एक सम्मेलनमा सहभागी हुन । स्वास्थ्य र विकासका लागि एसिया प्यासिफिक क्षेत्रको नगरको दबाब समूह (एपिक्याट)को सातौंँ शिखर सम्मेलनमा नेपालको तर्फबाट भरतपुर महानगरपालिकाका कर्मचारी र केही पत्रकार गरी ६ जनाको समूह बाली पुगेको थियो । 


बालिको नजिक आइपुग्दा जहाजबाट देखिएको दृश्यले मनै लोभ्यायो । नीलो समुद्रको बीच भागमा रहेको सुन्दर टापु बाली । एयरपोर्टनजिक जहाज पुग्दै गर्दा झ्यालबाट चियाउँदा नीलो समुद्र देखियो । हाम्रो गन्तव्य पनि त्यही समुद्रबीचको टापु थियो । त्यो टापुलाई जहाजबाट हेर्दा लाग्थ्यो– यति सानो ठाउँमा एयरपोर्ट कत्रो होला ? 


जहाजबाट ओर्लिँदासाथ देनपसारमा चहकिलो तातो घामले हामीलाई बेजोड स्वागत गर्‍यो । हामी पुग्दा त्यहाँको तापक्रम २४ डिग्री सेल्सियस थियो । अहिले बर्खाको सिजन भएकाले त्यहाँ कम गर्मी हुँदोरहेछ । जहाजबाट ओर्लिएर इमिग्रेसनभित्र छिर्दा हामीले नेपालको जस्तै कलाकृति देख्यौँ । एयरपोर्टभित्र विभिन्न देवी­–देवताका विचित्र मूर्तिहरू सजाइएका छन् । त्यो देख्दा बाली पौराणिक सहर रहेछ भन्ने लाग्यो । एयरपोर्टबाट बाहिर निस्किएपछि हामी कार्यक्रमस्थल सुनुर जान माइक्रोबसमा चढ्यौँ । आयोजक संस्थाले व्यवस्था गरेको माइक्रोबसमा सिंगापुर, थाइल्यान्ड, भारतलगायतका आगन्तुकहरू थिए । सम्मेलनमा सहभागी हुन जाँदा इन्डोनेसियालाई केही हदसम्म भए पनि नजिकबाट बुझ्ने अवसर मिल्यो । करिब ६ दिन बालीको बसाइमा त्यो ठाउँको अवलोकन र भम्रण गरियो । 

 

बाली पुगेको भोलिपल्टदेखि तीन दिन लगातार एपिक्याट शिखर सम्मेलनमा सहभागी भयौँ । पहिलो दिन– १५ मंसिरमा सम्मेलनको उद्घाटन समारोह थियो । द युनियनको सहयोगका आयोजित उक्त सम्मेलनको मुख्य उद्देश्य सुर्तीजन्य पर्दाथ नियन्त्रणबारे छलफल बहस र घोषणामा प्रतिबद्धता जनाउनु थियो । सम्मेलनको पहिलो दिन एसिया प्रान्तका १२ देशका १८२ वटा सहरमा मेयर तथा स्वास्थ्य पदाधिकारीहरू सहभागी थिए ।

 

उद्घाटन समारोहका क्रममा त्यहाँको प्रसिद्ध नाच आगन्तुकहरूलाई देखाइयो । त्यसपछि सहभागी मेयर तथा स्वास्थ्य प्रतिनिधिहरूले आ–आफ्ना अनुभव साटासाट गरे । पहिलो दिन मेयरहरूले सुर्तीजन्य पदार्थको विज्ञापन र प्रचारप्रसार बन्द गर्ने, ई–सिगे्रट सेवन र बिक्रीमा रोक लगाउने, चेतावनीमूलक सन्देशसहितको प्याकिजिङ कार्यान्वयन गर्नेसहित पाँचबुँदे घोषणापत्र पनि जारी गरे । त्यस्तै, सो दिन एपिक्याट अवार्ड २०२२ पनि वितरण गरियो । नेपालका तर्फबाट स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सो अवार्ड वितरण गरियो । 

बालीका हरेक मानिस मिजासिला । नचिनेका मानिससँग पनि मुस्कुराउने । एकले अर्कालाई वास्ता गर्ने । बाटो हिँड्दा पनि हाई–हेल्लो गर्ने । त्यो संस्कार सायद संसारका अन्य सहरमा विरलै देख्न पाइन्छ होला ।


दोस्रो दिन– १६ मंसिरमा सहभागीहरूले सुर्तीजन्य पदार्थको बिक्री–वितरण रोकथाममा कसरी सहकार्य गर्ने भन्नेबारे छलफल गरे । मेयर तथा स्वास्थ्य अधिकारीहरूले महानगर, नगर तथा विभिन्न सहरहरूका कार्यालय, विद्यालय तथा सार्वजनिकस्थलहरूमा सुर्तीजन्य प्रयोग निषेध गर्नेबारेका योजना सुनाए । सो दिन विभिन्न देशमा प्रतिनिधिहरूले आफ्नो धारणा राखे । भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुुख दीपक सुवेदीले भरतपुर महानगरपालिका सुर्तीजन्य पदार्थ रोकथाममा गरेको अभ्यास र योजना सुनाए । 


तेस्रो दिन– १७ मंसिरमा हामीलाई फिल्ड भिजिटमा लगियो । सर्वप्रथम हामीले ऐतिहासिक क्षेत्र क्लुङ कुङ पुग्यौँ । त्यहाँ हामीलाई सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूमाथि भएको कारबाही प्रत्यक्ष हरूमा देखाइयो । लोकल सिटी पुलिसले धूम्रपान सेवन गर्नेलाई चार लाख २० हजार नेपाली रुपैयाँ चिट काटेको थियो । एक सर्को चुरोट तान्दा चार लाख फाइन तिर्नुपरेको घट्ना हामीले त्यहाँ देख्यौँ । सो दिन हामीले क्लुङ कुङमा रहेको हिन्दू धर्मसँग सम्बन्धित मन्दिर, पाटीपौवा, संग्रहालयलगायतका ऐतिहासिकस्थलको अवलोकन गर्‍यौँ । 


सम्मेलन अवधिभर हामी बिहान र बेलुकीको समय मिलाएर त्यहाँका केही महत्वपूर्ण स्थानमाहरूमा पुग्याैँ । तनालट बिच, देनपसार एयरपोर्ट, कुटा बिच, गरुणा–विष्णु–कञ्चनालगायत ठाउँ पुग्यौँ । सुनुरका गल्लीगल्ली पनि हिड्यौँ । त्यहाँ हिँड्दा कतै पोखराको झल्को आइरह्यो, कतै काठमाडौंको । त्यहाँका सडक, आइल्र्यान्ड र पर्यटकीय होटेलहरू त्यस्तै थिए । यहाँको भित्री बस्तीहरू राति ९ बजे नै सुनसान हुनेरहेछन् । सीमित पर्यटकीय क्षेत्र भने रातभरि जाग्राम हुँदारहेछन् । 


ठाउँठाउँमा सडकपेटी भत्किएका दृश्य देख्दा काठमाडौंको झल्को आयो । साँघुरा सडक भए पनि त्यहाँ ट्राफिक व्यवस्थापन भने चुस्त थियो । गाडीको जाम भइरहेको ठाउँमा ट्राफिक प्रहरी देख्न मुस्किल हुन्थ्यो । 


मोटरसाइकल र कारैकारको सहर 
बाली समुद्र बिचको एउटा सुन्दर टापु हो । यहाँ हरेक सामान पानी र हवाईजहाजबाट ल्याइन्छ । क्षेत्रफलको हिसाबले साँघुरो मानिने बालीमा बस्नेहरू भने सवारीसाधनका सौखिन रहेछन् । त्यहाँ सार्वजनिक यातायात निकै कम प्रयोग हुनेरहेछ । सस्तोमा सवारीसाधन किन्न पाइने हुँदा यहाँ हरेक व्यक्ति कार र मोटसाइकलमा यात्रा गर्दारहेछन् । यात्रु नपाउने भएपछि सार्वजनिक यातायात पनि नियमित नगुड्दा रहेछन् । 


नरिवलको रूखभन्दा होचा भवन
बाली सहरमा घर तथा सरकारी भवन होचा र मौलिक शैलीका छन् । यहाँ कुनै पनि भवन बनाउँदा नरिवल र विष्णुको मूर्तिभन्दा अग्लो बनाउन नपाइँदोरहेछ । यो भवन निर्माण मापदण्ड नै रहेछ । नरिवलको रूखको टुप्पोमा भगवान् बसेको मान्यताअनुसार यहाँ भगवान् बसेको ठाउँभन्दा अग्ला भवन बनाउन नपाइँदोरहेछ । एकनासे घर तथा भवनका कारण बाली सुन्दर र शान्त देखिन्थ्यो । सहरको बीचबीचमा अग्ला रूख थिए । समुद्री तट भएकाले पनि त्यहाँ धेरै नरिवलका रूख हुने रहेछन् । 

घरैपिच्छे मन्दिर बालीमा हिन्दूहरूको
बाहुल्य छ । तर, त्यहाँका हिन्दू सांस्कृतिक तौरतरिका भने नेपालको भन्दा फरक रहेछ । काठमाडौं उपत्यकालाई मन्दिरैमन्दिरको सहर भनेझैँ बालीलाई पनि मन्दिरैमन्दिरको सहर भनिँदोरहेछ । तर, त्यहाँका हिन्दू मन्दिरभित्र भिडभाड नहुनेरहेछ । यहाँ विषेश पर्वमा मात्रै सार्वजनिक मन्दिर खुला गरिन्छ । बालीमा हरेक घरमा मन्दिर बनाउने परम्परा रहेछ । घरैपिच्छे ससाना र अग्ला मन्दिर बनाउने परम्परा रहेछ । यहाँ ब्रह्मा, विष्णु, महेश्वर र गणेशलाई मानिँदो रहेछ । 


अन्तमा : बाली घुम्दा मनमा बसेको अर्को एउटा कुरा हो– यहाँका हरेक मानिस मिजासिला । नचिनेका मानिससँग पनि मुस्कुराउने । एकले अर्कालाई वास्ता गर्ने । बाटो हिँड्दा पनि हाई हेल्लो गर्ने । त्यो संस्कार सायद संसारका अन्य सहरमा विरलै देख्न पाइन्छ होला । 
०००