• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
चार्ल्स शोभराजलाई अध्यागमनको गेटबाहिर कुरिरहेकी निहिता (तस्बिर: अमुल थापा) । उनलाई नभेटी फ्रान्स उडेका शोभराज । (तस्बिर : एएफपी)
नवराज मैनाली
२०७९ पौष ९ शनिबार ०९:३१:००
समाज

चार्ल्स शोभराज जेल र प्रेमबाट एकसाथ ‘रिहा’

‘प्रेमिका’ निहिता दिनभरि गेटमा कुरिरहिन्, शोभराज नभेटी फ्रान्स उडे

२०७९ पौष ९ शनिबार ०९:३१:००
नवराज मैनाली

 

सिरियल किलर चार्ल्स शोभराजको अपराध यात्रा जति सनसनीपूर्ण छ, उनका प्रेम कहानी पनि त्यत्तिकै रोचक छ । नेपालको जेलमा रहँदा आफूभन्दा ४६ वर्ष कम उमेरकी निहिता विश्वाससँगको प्रेम र विवाह शोभराजको जीवनको एउटा महत्वपूर्ण चर्चाको पाटो हो । 


शुक्रबार जेलमुक्त भएपछि शोभराज–निहिताको सम्बन्ध के हुन्छ भन्नेमा धेरैको चासो थियो । तर, जेलमुक्त भएपछि शोभराज निहितासँग नभेटी फ्रान्स उडेका छन् । निहिता शुक्रबार बिहानैदेखि कालिकास्थानस्थित अध्यागमन विभागको परिसर पुगेकी थिइन्, तर उनलाई शोभराजसँग भेट्न दिइएन । अध्यागमनका कर्मचारी भने शोभराजले नै निहितालाई भेट्न नचाहएको बताउँछन् । शोभराजको व्यवहार जेल र प्रेमबाट एकसाथ ‘रिहा’ भएजस्तो देखियो । 


कानुन व्यवसायीका रूपमा पनि निहिता र उनकी आमा शकुन्तला थापाले नभई अरूले नै शोभराजलाई सघाएका थिए । शोभराजलाई रिहाइको माग गरी सर्वाेच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको पछिल्लो रिटमा निहिता र शकुन्तलाले नै बहस गरेका थिए । तर, उनलाई निष्कासनको प्रक्रियामा अधिवक्ता गोपाल सिवाकोटी ‘चिन्तन’ले उनलाई सघाएका थिए ।


शकुन्तला र निहिताले अध्यागमन विभागभित्र प्रवेश गर्नसमेत पाएनन् । विभागभित्रैबाट शोभराजलाई उच्च सुरक्षाका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएकोमा उनी साढे ६ बजेको कतार एयरलाइन्सको उडानमार्फत फ्रान्सका लागि उडेका थिए । ‘उनकै आग्रहमा हामीले अधिवक्ता सिवाकोटीलाई सहयोगको अनुमति दिएका हौँ,’ अध्यागमन विभागका एक अधिकारीले भने, ‘निहिता र शकुन्तलाको सहयोग उनले लिन नखोजेजस्तो देखियो ।’ 


अधिवक्ता सिवाकोटीले शोभराजको मुद्दामा बहस गरेका थिएनन्, तर केन्द्रीय कारागारमै उनीहरूबीच निकटता भएको थियो । सिवाकोटी ठगीसम्बन्धी मुद्दामा करिब तीन वर्ष जेल बसेका थिए । त्यही वेला सिवाकोटी र शोभराजबीच जेलभित्रै चिनजान भएको थियो । करिब चार महिनाअघि छुटेका सिवाकोटीले नै उनलाई अहिले निष्कासनको प्रक्रियामा सघाएका हुन् । आफूहरूले दुःख गरेर शोभराजलाई छुटाएको, तर त्यसको क्रेडिट सिवाकोटीले लिएको भन्दै शकुन्तलाले शुक्रबार मिडियामार्फत असन्तुष्टि जनाइन् ।


सर्वाेच्च अदालतको आदेशमा छुटेपछि शोभराजलाई शुक्रबार रिहा गरी उनलाई निष्कासन गरिएको हो । १० वर्ष नेपाल आउन नपाउने गरी उनलाई निष्कासन गरिएको छ । अध्यागमनसम्बन्धी कसुरमा उनलाई ५० हजार रुपैयाँ जरिवानासमेत तिराइएको छ । अध्यागमनसम्बन्धी कार्यविधि, २०६५ को दफा ६.३ (२) अनुसार निष्कासन गरिएको हो । सामान्यतया निष्कासनको प्रक्रिया दुई–तीन दिन लाग्ने भए पनि उनको सुरक्षा चुनौतीपूर्ण बनेपछि एकै दिनमा निष्कासन गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । अध्यागमन विभागमा शुक्रबार मिडिया तथा सर्वसाधारणलाई समेत प्रवेश दिइएको थिएन । 


उच्च सुरक्षाबीच केन्द्रीय कारागारबाट अध्यागमन विभाग तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो । उनले आफ्नो फोटो खिच्न नदिनसमेत कारागार र अध्यागमन अधिकारीलाई आग्रह गरेका थिए । सोही कारण कारागारबाट अध्यागमन लैजाँदा पहिलो गाडीमा शोभराजको हुलियामा एक प्रहरीलाई राखेर दोस्रो गाडीमा उनलाई राखी मिडियालाई झुक्याइएको थियो । 


शुक्रबार अध्यागमन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै निहिताले आफूले कानुन व्यवसायीका रूपमा शोभराजलाई सहयोग गरेको बताइन् । तर, आफूहरूको व्यक्तिगत सम्बन्धबारे उनी खुल्न चाहिनन् । ‘पहिला कानुनी प्रक्रिया पूरा होस्, त्यसपछि त्यो विषयमा कुरा गरौँला,’ शोभराजसँगको भावी सम्बन्धबारे उनको जवाफ थियो । 


करिब १६ वर्षअघि शोभराज र निहिताको भेट भएको थियो । आफू प्लस टु उत्तीर्ण गरेपछि ‘पार्टटाइम’ जागिरको खोजीमा रहेका वेला शोभराजको दोभासेको काम थालेको र उनीसँग प्रभावित भएर प्रेममा परेको उनले अन्तर्वार्तामा बताएकी थिइन् । नयाँ पत्रिकासँगको एक अन्तर्वार्तामा उनले शोभराजले दिएको औँठीसमेत देखाएकी थिइन् । 


उनीहरूले ०६५ को दसैँको टीकाको दिन जेलभित्रै बिहे गरेको तस्बिरसमेत सार्वजनिक भएको थियो । शोभराजलाई सर्वाेच्च अदालतले जन्मकैद फैसला सुनाएपछि न्यायाधीशमाथिको टिप्पणीलाई लिएर अदालतको अपहेलना मुद्दामा उनीमाथि ६ दिन कैद सजायसमेत भएको थियो । जसमा एक दिन थुनामा बसेर उनी छुटेकी थिइन् । 


पछि कानुन पढेर निहिता अधिवक्ता भइन् र शोभराजलाई छुटाउन पहल गरिन् । ६ वर्षअघि शोभराजको मुटुको अप्रेसन हुँदासमेत निहिताले नै रक्तदान गरेकी थिइन् । तैपनि जेलमुक्त भएपछि शोभराजलाई भेट्ने अवसर उनले पाइनन् । 


शोभराज ०३२ मा पहिलोपटक थाइल्यान्डबाट नेपाल आएका थिए । त्यतिवेला उनले एक अमेरिकी र एक क्यानेडियन नागरिकको हत्या गरेका थिए । त्यतिवेला नै प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएकोमा उनी प्रहरीलाई छक्याएर भारत भागेका थिए । ०६० मा दोस्रोपटक नेपाल आउँदा पक्राउ परेकोमा हत्याका दुवै मुद्दामा दोषी ठहर भए । 


केन्द्रीय कारागारमै रहँदा ०६७ मा केन्द्रीय कारागारभित्र रहेका युनुस अन्सारीमाथि गोली प्रहारको घटनामा सहयोग गरेको आरोपमा ज्यान मार्ने उद्योग मुद्दा दायर भयो । त्यसमा पनि उनलाई पाँच वर्ष कैद सजाय भएको थियो । तीनवटै मुद्दामा उनी २० वर्ष जेल बस्नुपर्ने फैसला थियो । 


सर्वाेच्चले उनी वृद्ध भएको र स्वास्थ्य अवस्था पनि राम्रो नभएकाले तत्काल छाड्न बुधबार आदेश दिएको थियो । सोहीअनुसार १९ वर्ष तीन महिना जेल बसी तोकिएको सजाय अवधिभन्दा नौ महिनाअघि नै जेलमुक्त भएका हुन् । उनीविरुद्ध थाइल्यान्डलगायत देशमा अहिले पनि मुद्दा छ ।