
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान–२०५८ को दफा दुई (क) मा ‘आदिवासी पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय सम्झनुपर्छ,’ भनिएको छ । यसरी हेर्दा कुलुङ जाति पनि आदिवासी जनजाति सूचीमा सूचीकृत हुनुपर्ने देखिन्छ । किनभने, प्रष्ठिानको ऐनले तोकेभन्दा पनि बढी आधारहरू छन् । अर्थात् कुलुङ जातिको ऐतिहासिक ‘महाकुलुङ’ भूमि पनि छ । अरू जातिको भन्दा छुट्टै मातृभाषा छ, फरक वेशभूषा पनि छ । कुलुङ जातिको वंश वा पुर्खाहरू कहाँबाट आए ? सोको इतिहास पनि छ । हामी भन्ने भावना, आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परागत कानुन, रहनसहन, चाडपर्व आदि अरू जातिको भन्दा फरक छ ।
बाहुन नेपालको एउटा जात हो । बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम, दाहाल आदि थरहरू हुन्छन् । त्यस्तै क्षेत्रीको थापा, कार्की, बस्नेत, कटुवाल, बुढाथोकी, डाँगी, राउत आदि थर हुन्छन् । मगरको पनि आले, पुन, सिञ्जाली, खपाङ्गी, तिलिजा, मास्की, राम्जाली आदि थरहरू हुन्छन् । कुलुङ जातिको पनि आ–आफ्नो थर (थरलाई कुलुङ जातिले ‘पाछा’ भन्छन्), उप–थर हुन्छ ।
कुलुङ जातिका पुर्खाहरू चारजना थिए– छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु । छेम्सीले ‘महाकुलुङ भूमि’को छेम्सीमा, ताम्सीले छेस्खाममा, खप्दुलुले पेल्माङ–पिल्मोमा र राताप्खुले सत्तो–सोत्तो (हाल सोताङ) मा बसोवास गर्न सुरु गरे । कालान्तरमा जो–जो आफ्नो मूल थलो छाडेर अन्यत्र गए, उनीहरूले आफूलाई छेम्सिङे राई, छेस्खामे राई, पिल्मोङे–पिल्माङे राई, सोताङे राई, बुङेली राई, गुदेली राई आदि भनेर चिनाउन थाले । तर, उनीहरू सबै कुलुङहरू हुन् । स्मरण रहोस्, बुङ र गुदेल गाउँ पनि महाकुलुङभित्रकै गाउँ हुन् । ती सबै गाउँ अहिले महाकुलुङ र सोताङ गाउँपालिकाभित्र पर्छन् ।
भाषाविद्हरू अमृत योञ्जन तामाङ र डा. माधवप्रसाद पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो । त्यसअनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण छन् ।
माथि उल्लेख चार प्रमुख पुर्खाहरूभन्दा पहिले २३ वटा पुर्खा थिए भन्ने कुलुङ जातिका पुर्खाले बताउँदै आएका छन् । ती २३ पुर्खाहरू हुन्– हुतिलिप, खावपुम्मा, वाइरिप्चो, होहोरेम, निनामरिदुम–पारुहाङ, तुम्नो, होलेन्दा, दिवुरी, खार, खोक्चिलिप, रनु, छुनी । छाङोक्पा, तुनिलु, मुथिती, रोदु, खम्बुहो, छाक, कुलु, खप, खप्दुछेम, ताम्सी र छेम्सी ।
कुलुङ जातिको मूल थलो सोलुखुम्बुको उत्तरपूर्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि विभिन्न स्थान हुन् । यी ठाउँलाई कुलुङहरू आफ्नो मातृभाषामा ‘मा कुलु’ भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरू र नेपालका अन्य जातजातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्छन् । सोलुखुम्बुको महाकुलुङबाहेक संखुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, कास्की, सिराहा, मुस्ताङ, भक्तपुरलगायत २३–२४ जिल्ला र भारतको दार्जिलिङ, सिक्किम, आसामलगायत ठाउँमा पनि कुलुङहरूको बसोवास छ ।
वि.सं २०६८ को जनगणनादेखि मात्रै कुलुङ जातिको अलग्गै जातिगत तथ्यांक आउन थालेको हो । त्यसअघि कुलुङ जातिको अलग्गै जातीय तथ्यांक आएको थिएन, भाषिक तथ्यांक मात्रै आउने गरेको थियो । वि.सं २०६८ को जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने कुलुङ मातृभाषीचाहिँ ३३ हजार एक सय ७० छन् । कुलुङ जातिले आफ्नो मातृभाषालाई ‘कुलु रिङ’ भन्छन् ।
विं सं.२०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरू, प्रकाश लोवात्ती कुलुङ, पत्तिबहादुर सोम्फोरू, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्तीलगायतको सक्रियतामा भाषाविद्हरू अमृत योञ्जन तामाङ र डा. माधवप्रसाद पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो । त्यसअनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण छन् । कुलुङ भाषामा दीर्घ मात्रै भएकाले लिपिबद्ध गरिँदा दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (:) दिने वा : चिह्न प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
जहाँसुकैका कुलुङहरूले मृत्यु संस्कार गर्दा मृतकको आत्मालाई महाकुलुङको ‘पोम्लालुङ’ भन्ने ठाउँमा पठाउनुपर्छ । कुलुङ जातिमा चलेको विश्वास र मान्यताअनुसार पोम्लालुङ नै कुलुङ जातिका लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ पठाउँदा पानी पिउन दिने ठाउँ छ । यो ठाउँलाई ‘पोम्ला काउ’ भनिन्छ । ‘पोम्ला काउ’ भन्ने ठाउँ सोलुखुम्बु जिल्लाको तत्कालीन बुङ र छेस्खाम गाविसको पेल्माङ/पिल्मो गाउँमा पर्छ । ‘पोम्लालुङ’ सोलुखुम्बुको ‘गुदेल’मा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्रस्थल मान्ने गर्छन् । सामान्यतया कुलुङहरू दुईपटक विवाह गर्छन् । पहिलो बिहेसम्म चेलीको मृत्यु भइहालेमा माइती पक्षले नै काजकिरिया गर्नुपर्छ । दोस्रो विवाह छिन्ती विवाह हो, जसलाई ‘दाप्लो कुइम’ भनिन्छ ।
कुलुङ जातिको आफ्नै जातीय पहिरन, गरगहना र मौलिक बाजागाजा पनि छन् । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्मदिने आमा (सुत्केरी) आफैँले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांंग्राकै कपडाले बेरेर राख्ने, स्थान र समयअनुसार पाँच–सात दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाइदिने गरिन्छ । यसरी नुहाएपछि चोखो भएको मानिन्छ । मृत्यु संस्कारमा भने अकालमा मरेकाहरूलाई खाडल खनेर घरभन्दा टाढा जंगल–ओढार आदिमा काँडा बिछ्याएर लासलाई नांगै घोप्टो पारेर राखिन्छ र फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्युलाई कुलुङहरू ‘हिल्सी’ भन्छन् । स्वाभाविक रूपमा मृत्यु भएकालाई घुर्यान वा घरनजिकैको बारीमा गाड्ने गरिन्छ ।
कुलुङ जातिको चाडपर्वमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम/साइपोको आदि प्रमुख हुन् । ‘देदाम’चाहिँ साह्रै अनिकाल पर्यो, दुःख, बिमार भयो भने मात्रै मान्ने प्रचलन छ । साथै ‘देदाम’ गर्नु साह्रै खर्चिलो पनि हुन्छ । देदाम गर्नलाई जोडी सुंँगुर, कुखुरा, वादी (अन्डा), दि र हाङ्मुवा (जाँडरक्सी) इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरबारले हानेर मार्नुपर्छ । तोस गर्दा ‘योंङकुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दि छारी’मा लिप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दि’ ले ‘सुक्तुलु’ (चुलो) ‘दाम्फे’ पुजिन्छ । यस्तो कार्य ठाउँअनुसार फापर, जौ र कोदोको जाँडले सम्पन्न गरिन्छ ।