• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
किशोर नेपाल
२०७९ पौष १६ शनिबार ०७:३९:००
इतिहास

बस्तीपुरमा बन्नुपर्छ समाजवादी अन्तर्राष्ट्रिय केन्द्र

समाजवादी केन्द्रका लागि प्रदीप गिरिले निजी सम्पत्तिबाट दुई बिघा जमिन छुट्याउनुभएको थियो

२०७९ पौष १६ शनिबार ०७:३९:००
किशोर नेपाल

 

मानिसको अस्तित्वसँग समानान्तर हिँड्ने गर्छन् जन्म र मृत्यु । त्यसैले होला, विद्वान् र दार्शनिकहरूले मानिसको अस्तित्वका दुई महत्वपूर्ण बिन्दु मानेका छन्, जन्म र मृत्युलाई । मानिसको जन्म र मृत्युको बीचमा ठूलो अन्तर छ । मृत्यु यस्तो तत्व हो, जो कहिल्यै अपेक्षित हुँदैन र पनि अनिवार्य हुन्छ । यो वर्ष नेपालका समाजवादी चिन्तक तथा अग्रणी बुद्धिजीवी प्रदीप गिरिको देहावसान भयो । अगस्ट २० का दिन उहाँको मृत्युको घोषणा गरियो । आपत्कालीन उपचारको आवश्यकता पर्ला भनेर मेडिसिटी अस्पतालमा राखिनुभएका प्रदीप दाइको जीवनको अन्तिम समयमा उहाँको वरपर रहेका व्यक्तिहरूको कुरामा विश्वास गर्ने हो भने उहाँको देहले अघिल्लो राति नै विश्राम लिइसकेको थियो । 


मृत्युलाई जित्ने सामथ्र्य विद्या र बुद्धिसँग छैन । मृत्युपथमा मानिस एक्लै हिँड्छ । हिँडेर कहिल्यै थाक्दैन होला । ऊ थाक्यो भने उसका सम्झना पनि सुस्ताउँछन् होला । अहिले हामी प्रदीप गिरिले पढ्नुभएका पुस्तकहरू, लेख्नुभएका लेखहरू, सुन्नुभएका संगीतहरू र हेर्नुभएका र देखाउनुभएका सपनाहरूमा रुमल्लिइरहेका छौँ । उहाँ आफू भने जीवनका जञ्जाल छाडेर महाप्रस्थानको बाटोमा लाग्नुभएको छ । उहाँले आफ्ना लागि साँचेर राख्नुभएका ती सबै विषय र वस्तुलाई फर्किएर पनि हेर्नुभएको छैन । उहाँले आफ्नो विरासतका रूपमा एउटा आश्रम, केही दर्जन वृक्षहरू र आफूप्रति अनुरक्त असंख्य अनुयायीहरूको मनहरू छाडेर जानुभएको छ । ती मन कति सरल छन् भने ती रुन चाहन्छन् । तर, आँसुले प्रदीप दाइ भिजाउला भनेर आँसु नझारीकनै रुन्छन् ।


अनुयायीहरूले आशा गरेका थिए, प्रदीप दाइको देहको विसर्जन बस्तीपुर आश्रममा, ठिक त्यही वृक्षको छहारीमा हुनेछ, जहाँ जल्ने वा गाडिने इच्छा राख्नुभएको थियो प्रदीप दाइले । तर, अन्ततः जे नहोस् भन्ने चाहना थियो, प्रदीप गिरिको त्यही भयो । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले, प्रदीप गिरिको चाहनाविपरीत, प्रहरीहरूको व्यापक परिचालन गरेर पशुपति आर्यघाटको ‘रजगजपूर्ण’ वातावरणमा सरकारी शोकधुनबीच उहाँको अन्तिम संस्कार गरायो । 


आफ्नो मृत्युपछिको परिकल्पना उहाँ आफैँले गर्नुभएको थियो । उहाँले आफ्ना सहयोगीहरूलाई आफ्ना इच्छाका बारेमा बताएर त्यसैअनुरूपको निर्देशन पनि दिनुभएको थियो । तर, त्यो निर्देशनको पालना नयाँ मालिक र मलकाइनले गरेनन् । आपूलाई नेताको परिवारका रूपमा दाबी गर्नेहरूले नै नेताको निर्देशनको पालना नगरेपछि प्रदीप दाइका अनन्य अनुयायी गम्भीर लामा एक्लैले त्यो काम गर्न सक्ने कुरा त थिएन नै ।

 

मृत्युपछि प्रदीप दाइको बजारभाउ आकासिएको थियो । नयाँ मालिक–मलकाइनका आँखा प्रदीप गिरिको नाउँमा उछालिएको सेयरको भाउको चमकमा लट्ठ थिए । सरकारको नेतृत्व नेपाली कांग्रेसका निर्वाचित सभापति शेरबहादुर देउवाले गरेका थिए । प्रदीप गिरि देशमा लोकतान्त्रिक समाजवाद ल्याउन चाहने व्यक्ति हुनुहुन्थ्यो । शेरबहादुर देउवालाई समाजवादी चिन्तक प्रदीप गिरिको आवश्यकता थिएन । उनलाई सांसद प्रदीप गिरिको महत्वपूर्ण ‘भोट’को आवश्यकता थियो । त्यसैले उनको नेतृत्वको सरकारले त्यतातिर ध्यान दिएन । चुनावको मौसममा मधेसका हजारौँ मतदाता रिझाउन प्रदीप गिरिको पार्थिव शरीर त्यहाँ पुर्‍याउनु आवश्यक हुने राजनीतिक ज्ञान प्रधानमन्त्री देउवा र उनका सहयोगीमा उदाएन ।


शेरबहादुर देउवाका लागि प्रदीप गिरि ‘अराजक व्यक्तित्व’ हुनुहुन्थ्यो । गठबन्धनको घोडा कुदाउन व्यस्त रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसतर्फ विचार पुर्‍याउन सकेनन् । केन्द्रीय सरकारलाई यो कुराको जानकारी हुनुपर्छ, सिराहाका हजारौँ जनता प्रदीप गिरिको अन्तिम दर्शनको आशामा बसेका थिए । प्रदीप गिरिको पार्थिव शरीरको दर्शन नपाएका सिराहावासीले कांग्रेसलाई यसको प्रतिफल हालै सम्पन्न चुनावमार्फत दिए । पदमनारायण चौधरी र चित्रलेखा यादवको पराजय प्रदीप दाइप्रति साधारण जनताको सम्मान हो । 


किन यस्तो भयो त ? सम्बन्धित पक्षको जवाफ थियो, अन्त्येष्टिमा भाग लिन संघीय राजधानीमा रहेका कूटनीतिक नियोगका सदस्यहरू, अति महत्वपूर्ण व्यक्तित्वहरू र भारतबाट प्रदीपजीका मित्रहरूको ठूलो समूह काठमाडौं आउने भएपछि उहाँको अन्त्येष्टि पशुपति आर्यघाटमा नै गर्ने निर्णय लिइएको हो । संघीय राजधानीमा अन्त्येष्टिको आयोजना गरेपछि आफ्ना प्रिय नेताको अन्तिम दर्शन गर्न चाहने मेचीदेखि महाकालीसम्मका सामान्य जनताको सुविधालाई ध्यान दिएर पनि यस्तो निर्णय लिइएको हो । मानौँ कि, प्रदीप गिरिका अनुयायीहरू हवाईजहाजको महँगो टिकट काटेर, स्कर्पियो जिप ‘रिजर्भ’ गरेर अथवा डिलक्स बस चढेर काठमाडौं आउने हैसियत राख्थे ।

समाजवादी केन्द्रका लागि प्रदीप गिरिले निजी सम्पत्तिबाट दुई बिघा जमिन छुट्याउनुभएको थियो


जसले जे भने पनि र जे तर्क दिए पनि, प्रदीप गिरिको इच्छाका विरुद्ध पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गर्नु उचित निर्णय थिएन । आर्यघाटमा गिरिको अन्तिम दर्शनका लागि जति जनता आएका थिए, तीभन्दा बढी सुरक्षाकर्मी परिचालित थिए । यस्तो लाग्थ्यो, पशुपति आर्यघाट कुनै युद्धक्षेत्र हो र केही बेरमा नै त्यो क्षेत्रमा आक्रमण हुँदै छ । आर्यघाटमा सुरक्षाको नेतृत्व तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण आफँैले गरेका थिए । अति विशिष्ट व्यक्तिका नाममा प्रधानमन्त्री देउवा, रामचन्द्र पौडेल, रामशरण महत, अर्जुननरसिंह केसी, विजय गच्छदार, माधव नेपाल, रघुपन्त तथा अन्य केही स्थानीय राजनीतिक नेताहरू उपस्थित थिए । कूटनीतिक क्षेत्रका त एकजना मानिस पनि देखिएनन् । 


नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झन्डा ओढाएर सम्मान प्रकट गरे । तर, उनीलगायत कांग्रेसका नेताले प्रदीप गिरिप्रति न त हार्दिकता प्रकट गर्न सके, न खुला रूपमा अपनत्व नै प्रदर्शन गर्न सके । नेपाली कांग्रेस पार्टीको सत्ता र सरकार दुवैले प्रदीप गिरिलाई सधैँ ‘अराजक’का रूपमा नै हेर्‍यो । सम्भवतः सन्तनेता कृष्णप्रसाद भट्टराईको उपस्थिति नभएको भए के हुने थियो ? भन्न सकिँदैन । कांग्रेसका कुनै पनि गुटमा प्रदीप गिरिको संलग्नता थिएन । तर पनि उहाँलाई निमेसिसका रूपमा हेर्नेहरूको अहिले पनि कांग्रेसमा कमी छैन । खास गरेर शैलजा आचार्यसँग प्रदीप दाइको प्रेम सम्बन्ध कोइराला परिवारको एउटा पक्षले कहिल्यै रुचाएन ।

 

मातृकाप्रसाद कोइरालाकी भान्जी भएको नाताले शैलजा बिपीकी पनि भान्जी हुनुहुन्थ्यो । शैलजा र प्रदीपको प्रेमको एउटा कारण ती दुवैमा बौद्धिक तीक्ष्णता थियो । दुवैमा एकअर्काप्रति आकर्षण थियो । प्रदीप र शैलजाको यो प्रेम कोइराला परिवारको एक पक्षका लागि स्वीकार्य थिएन । यी दुवैको प्रेमिल जोडीले बिपी कोइरालाको वैचारिक विरासतको उत्तराधिकार पाउलान् भन्ने आशंका थियो, परिवारको त्यो पक्षमा । बिपी कोइराला वनारसमा निर्वासित रहनुभएको अवस्थामा प्रदीप दाइ पनि वनारसमा हुनुहुन्थ्यो । उहाँ नेपालबाट वनारसमा अध्ययनका लागि आएका युवा विद्यार्थीमाझ अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । 


त्यही वेला प्रदीप दाइमाथि कोइराला परिवारको प्रदीप–शैलजाको प्रेम सम्बन्धको विरोधी पक्षले अनेकन् झुटा लाञ्छना लगाएर सांघातिक हमला गरायो । हमला गर्ने बाहुबलीहरू प्रदीप गिरिको निधन भएको सोचेर आ–आफनो डेरामा फर्किए । तर, प्रदीप दाइ त्यति सजिलै मर्ने व्यक्ति हुनुहुन्थेन । उहाँ बाँच्नु मात्र भएन, उहाँकै जीवनकालमा नेपालमा ठूलो परिवर्तन भयो ।  


तर, बाँचेका प्रदीप गिरिले यसको कहिल्यै मतलव राख्नुभएन भने अब पार्थिव शरीर त्याग गरिसकेपछि त कुनै कुराको अर्थ र मतलव नै रहेन । यो सत्य हो, अहिले प्रदीप गिरिको नश्वर शरीर हाम्रो बीच छैन । तर, उहाँको बौद्धिक, निर्भीक, स्पष्टवादी र सत्यवादी चरित्रले समाजलाई निर्देशित गरिरहनेछ । प्रदीप गिरिले आफ्नो निजी स्वार्थ र हितका लागि कहिल्यै कुनै काम गर्नुभएन । उहाँले आफ्नो निजी स्वार्थका लागि राज्यकोषबाट कहिल्यै एक पैसा पनि लिनुभएन । उहाँले सधँै आफूप्रति जनताले गरेको स्नेह र विश्वासको मर्यादा राख्नुभयो ।


प्रदीप गिरि बहुमुखी प्रतिभा सम्पन्न व्यक्ति हुनुहुन्थ्यो । उहाँ साहित्यका अनुरागी मात्रै होइन, रचनाधर्मिताप्रति पनि त्यत्तिकै सजग र संवेदनशील हुनुहुन्थ्यो । मेरो उहाँप्रतिको आसक्तिको एउटा कारण यही थियो । म चौध वर्षको उमेरमा प्रदीप दाइसँग जोडिएको थिएँ । मेरो कलिलो मस्तिष्कमा उहाँले अध्ययन, अनुसन्धान र लेखनको लय बसालिदिनुभयो । मेरो क्षमताको प्रचूर उपयोग पत्रकारितामा नै हुन सक्छ भनेर मलाई यतातिर निर्देशित गराउनुभयो । यसका लागि म कृतज्ञ हुने नै भएँ ।

बस्तीपुरमा प्रदीप गिरिसँग लेखक नेपाल


अध्ययनका क्रममा वनारस बस्दा प्रदीप गिरि र चक्र बास्तोला मिलेर ‘रहर’ नामको साहित्यिक पत्रिकाको प्रकाशन थाल्नुभएको थियो । त्यो पत्रिका धेरै अंक त निस्किएन, जति अंक निस्कियो, त्यो बेजोड निस्कियो । त्यतिवेलाका क्रान्तिकारी तथा अहिलेका वरिष्ठ अधिवक्ता, मेरा मित्र डिल्लीराज पन्त ‘रहर’को प्रकाशन टिमसँग जोडिनुभएको थियो । प्रदीप गिरिले पन्तलाई आफ्नो पारिवारिक मित्रको पंक्तिमा राख्नुभएको थियो । 


प्रदीप गिरिसँगको मेरो सम्बन्धमा उतार–चढाव कहिल्यै आएन । उहाँले मलाई सधैँ लेख्न प्रेरित गर्नुहुन्थ्यो । नेपालजस्तो शिक्षा, स्वास्थ्य, व्यवसायलगायत सम्पूर्ण क्षेत्रमा पछाडि परेको देशमा जागृति ल्याउन पत्रकारिता कति महत्वपूर्ण छ भन्ने कुराप्रति उहाँ सजग हुनुहुन्थ्यो । बौद्धिक र राजनीतिक हिसाबले पनि पत्रकारितामा उहाँको रुचि निकै गहिरो थियो । कतिपय नेपाली तथा भारतीय पत्रकारसँग उहाँको निकट सम्बन्ध थियो । 


व्यक्तिगत रूपमा पनि उहाँले तीनवटा पत्रिकाको प्रकाशनलाई प्रोत्साहित गर्नुभएको थियो । पहिलो थियो ‘गार्गी’, जो प्रदीपजीकी बहिनी मन्जुला गिरिको सम्पादनमा प्रकाशित हुन्थ्यो । दोस्रो, साप्ताहिक ‘अक्षर’का सम्पादक प्रकाशक हुनुहुन्थ्यो उहाँका भाइ शेखर गिरि । तेस्रो, ‘समता’ मासिकको सम्पादक प्रकाशक प्रदीप दाइ आफैँ हुनुहुन्थ्यो । यी प्रकाशनहरू त्यसवेला सुरु भएका थिए, जब देशमा निर्दलीय पञ्चायत व्यवस्थाको जगजगी थियो । सुधारिएको पञ्चायतको नाममा देशमा जनद्रोही काम हुने गर्थे । नेपाली कांग्रेसको आयोजनामा २०४२ मा भएको सत्याग्रह काठमाडौं सहरमा बम पड्किएपछि रोकिएको थियो । तर पनि, प्रदीप गिरिले हार मान्नुभएको थिएन । उहाँ त वास्तवमा हार्न जान्ने मानिस नै हुनुहुन्नथ्यो । 


त्यतिवेला बजारमा पत्रपत्रिकाको खपत राम्रै भए पनि पत्रिकाको उत्पादन खर्च धान्न मुस्किल थियो । पत्रपत्रिका प्रकाशनका लागि प्रदीप गिरिले समता प्रेसको स्थापना गर्नुभएको थियो । तर, प्रेस चलाउनु पनि सजिलो काम थिएन । विज्ञापनको बजार साह्रै सीमित र साह्रै साँघुरो थियो । तैपनि, प्रदीप गिरिका कार्यकर्ता उत्साहका साथ काममा जुटेका हुन्थे । प्रेस सञ्चालनको जिम्मा गम्भीर लामाको थियो । उनी कसरी प्रेसको सञ्चालन गर्थे, त्यो अर्कै कथा हो । तत्कालीन अवस्थामा प्रदीप गिरिले लगातार आइपर्ने आर्थिक समस्याका कारण लगातार तनावको सामना गर्नुपथ्र्याे । दूरदराजबाट पढ्न काठमाडौं आएका विद्यार्थीहरूको खर्च जुटाउने काम कठिन थियो । समय अहिलेकोजस्तो खुला थिएन । पञ्चायत व्यवस्थाको त्रासका कारण साहू–महाजनहरू कांग्रेस र कम्युनिस्टहरूसँग तर्सिने गर्थे । 


प्रदीप गिरिका कतिपय मानवीय गुण उहाँको जीवनकालमा नै उजागर भइसकेका छन् । उहाँको अपरिग्रही स्वभाव, निर्भीक चरित्र, स्पष्ट बोल्ने बानी र सत्यप्रतिको निष्ठा जगजाहेर छ । यसबाहेक उहाँको अध्ययनशील स्वभावबारे धेरैलाई थाहा भएकै कुरा हो । प्रदीप गिरिको रातभरि पढ्ने र मध्याह्नसम्म सुत्ने आदत त नेपाली राजनीतिको सबभन्दा रोचक कहावत बनिसकेको छ ।


अब अन्त्यमा एउटा महत्वपूर्ण प्रसंग । प्रदीप दाइको निधनको लगत्तै ग्लोबल टेलिभिजनका प्रकाश गिरिले प्रदीप दाइसँगको मेरो संगत र सान्निध्यबारे प्रश्न सोध्ने क्रममा भारती सिलवालको प्रसंग कोट्याएका थिए । यसमा मेरो स्पष्ट जवाफ थियो– एउटा सञ्चारकर्मीको नाताले भारती सिलवालप्रति मेरो सम्मान र सद्भाव छ । तर, प्रदीप गिरिको श्रीमतीका रूपमा म भारती सिलवाललाई चिन्दिनँ । मेरो यो जवाफ धेरैलाई अस्वाभाविक लाग्ला । तर, वास्तविकता यही नै हो । प्रदीप दाइले आफ्ना अनुयायी र कार्यकर्ता कसैलाई पनि भारती सिलवालसँग आफूले बिहे गरेको सार्वजनिक जानकारी दिनुभएको थिएन । हामी धेरै साथीहरूको विचारमा उहाँहरूको सम्बन्धमा स्वाभाविकता थिएन । त्यसो त, प्रदीप दाइको पूरै जीवनशैली ‘बोहेमियन’ थियो । 


मेरो यो संस्मरणमा भारती सिलवालको प्रसंग किन आयो भने उहाँले भर्खरै मात्र बस्तीपुर, सिराहा पुगेर प्रदीप दाइको सम्पत्तिमा हकदाबी गर्नुभएको छ । प्रदीप दाइका पिता मित्रलाल गिरिले आर्जन गर्नुभएको र विरासतमा पाउनुभएको जग्गाको अहिलेसम्म विधिवत् भागबन्डा भएको छैन । प्रदीप दाइले त्यहाँको दुई बिघा जग्गामा आश्रम स्थापना गरेर त्यहाँका गरिब र असहाय बनाइएका जनताका नाममा समर्पित गर्नुभएको थियो । प्रदीप गिरिको सम्पत्तिको प्रसंगमा उहाँसँग नाताले जोडिएका वा नजोडिएका मानिसको हकदाबी जायज नै होला । तर, प्रदीप गिरिको आश्रममा अरू कसैको हकदाबी हुनुहुँदैन । उहाँको अरू कुनै जात छैन । नेपालमा समाजवादको सपना देख्ने प्रदीप गिरिको जात नै समाजवादी हो ।


गएको मंगलबार मित्रलाल गिरिका जेठा सुपुत्र तथा प्रदीप दाइका दाजु प्रकाश गिरिसँग आश्रमको भविष्यबारे मैले लामै कुरा गरेको थिएँ । उहाँले आफ्नो परिवारका सम्पूर्ण सदस्य प्रदीप गिरिको कीर्तिका रूपमा बस्तीपुर आश्रमको विकास र विस्तारमा लाग्ने कुरा स्पष्ट शब्दमा बताउनुभयो । 


अहिले भर्खर माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदीप गिरिबीचको सम्बन्ध सुमधुर थियो । उहाँहरूबीच हुने वैचारिक विमर्शमा वेलाबखत मेरो पनि सहभागिता रहने गथ्र्याे । अहिले प्रदीप गिरिको निधन भएको अवस्थाले उहाँको सम्पत्तिको अपचलन हुने भय बढेको छ । यस्तो हुनुभन्दा पहिले नै प्रधानमन्त्री प्रचण्डले प्रदीप गिरिको आश्रमको सामाजिक उपयोगितालाई स्वीकार गर्नुपर्छ र आश्रमको स्थायित्वका लागि सरकारले त्यसको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिनुपर्छ । प्रदीप गिरिले स्थापना गर्नुभएको आश्रममा समाजवादी अध्ययन केन्द्र वा प्रतिष्ठानको स्थापना गरेर त्यसको सुसञ्चालन गराउनुपर्छ । सिराहाको बस्तीपुर गाउँ लोकतान्त्रिक समाजवादको अन्तर्राष्ट्रिय केन्द्र बन्नुपर्छ ।


नेपालमा समाजवादी केन्द्रको अत्यन्त ठूलो आवश्यकता छ । त्यस्तो केन्द्रको निर्माणको परिकल्पना गरेर नै प्रदीप दाइले आफ्नो निजी सम्पत्तिबाट दुई बिघा जमिन छुट्याउनुभएको जानकारी राख्नुहुने धेरै भद्रजन र ज्ञानी महानुभाव अझै जीवित हुनुहुन्छ । यस्तो नहोस्, मेची–महाकालीका गरिब जनताले मानोमुठी उठाएर बस्तीपुरमा समाजवादी केन्द्र बनाउनुपरोस् । सरकारको ध्यान यतातिर गम्भीरतापूर्वक तानियोस् । गरिबी त अवस्था मात्रै हो । मानिसको मनमा दरिद्रताले प्रवेश गर्‍यो भने देश नराम्रोसँग बिग्रिन्छ ।