• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मस्त केसी
२०७९ पौष २३ शनिबार ०८:२५:००
सम्झना

सुरेन्द्रबहादुर बस्नेत : इमानदार नेता सफल उद्यमी

२०७९ पौष २३ शनिबार ०८:२५:००
मस्त केसी

बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको पुस १० गते निधन भयो । भोजपुरको दिङ्लास्थित साल्मामा विसं १९८४ साउन २७ गते जन्मिएका बस्नेतले वनारस हिन्दू विश्वविद्यालय (बिएचयू) बाट बिएस्सी, एमए/एलएलबीको अध्ययन गरेका थिए । त्यसअघि बस्नेतले विराटनगरबाट हाइस्कुलसम्मको शिक्षा लिएका थिए ।देशैभर उच्च शिक्षा अध्ययन गरेका व्यक्ति निकै कम रहेका वेला उनले एमएसम्म अध्ययन गरेका थिए । उनको पारिवारिक पृष्ठभूमि पनि शिक्षित थियो । बस्नेतका भाइ–भतिजहरूले पनि वनारसबाट स्नातकसम्मको अध्ययन पूरा गरेका थिए ।


बस्नेतले संघसंस्थाको नेतृत्वदायी भूमिका लिन बिएचयू अध्ययन गर्दादेखि नै सुरु गरेका हुन् । विसं २००८ अघि निष्क्रिय रहेको ‘नेपाली छात्र संघ’लाई बस्नेतसमेत रहेको टोलीले ब्युँताएको थियो । २००८ सालमा पदेन सभापतिका रूपमा तोत्रराज शास्त्रीले संघको नेतृत्व लिए । जसमा सुरेन्द्रबहादुर बस्नेत उपसभापति, योगेन्द्रमान शेरचन महामन्त्री र रवीन्द्रनाथ शर्मा मन्त्री रहेको कमिटीले एक वर्ष काम गर्‍यो । 


संघले सम्मेलन, सेमिनारमार्फत राजनीतिक कार्यक्रम सञ्चालन गरेको थियो । संघले गरेका कार्यक्रममा भरतशमशेर राणादेखि बिपी कोइरालासम्मले छलफल र प्रशिक्षण चलाएका थिए । कार्यक्रमको विषय छनोटदेखि वक्ता बोलाउने जिम्मा बस्नेतले नै लिन्थे । उनका आफन्तसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा भन्छन्, ‘बिएचयू पढ्दाको त्यस्ता क्षण उहाँले धेरै पछिसम्म पनि हामीलाई सुनाउनुहुन्थ्यो ।’


बिएचयूबाट पढाइ सकेर मोरङ फर्किएको केही समयपछि बस्नेतको राजा महेन्द्रसँग भेटघाट भयो । त्यतिवेला राजालाई भेट्न बिन्ती चढाउनुपथ्र्यो । राजालाई एक झलक देख्न पाउनुलाई ठूलै उपलब्धि मानिन्थ्यो । तर, पढेलेखेका भएकै कारण २०१२ सालमा पूर्वाञ्चल भ्रमणमा रहेका वेला राजा महेन्द्रले बस्नेतसँग १० मिनेटजति कुराकानी गरेका थिए । 


बस्नेतको नेतृत्वमा निर्वाचन आयोगमा काम गरेका पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ राजाले सर्वसाधारणलाई १० मिनेट भेटघाटको समय दिनुलाई निकै अर्थपूर्ण मान्छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले आफ्नो आत्मकथा ‘मेरा नौ दशक’मा लेखेका छन्– ‘राजा महेन्द्रसँग दोस्रो व्यक्तिको क्षमता चिन्ने खुबी थियो । छोटो भेटघाट र कुराकानीमै उनी त्यो खुबी पहिचान गर्थे । कोही पढेलेखेको र कुनै क्षेत्रमा योग्य व्यक्ति छ भन्ने थाहा पाए भेट्न बोलाइहाल्थे र उपयुक्त जिम्मेवारी पनि दिन्थे ।’ 


जिल्ला पञ्चायतदेखि मन्त्रीसम्म


बुद्ध एयर स्थापना गरेका बस्नेतले त्यसअघि विभिन्न सरकारी निकायका उच्च पदमा बसेर काम गरेका थिए । बस्नेतले सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको पहिलो प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको अध्यक्ष हुने अवसर पाए । बस्नेतले २०२७ देखि २०२९ सम्म प्रेस काउन्सिल नेपालको पहिलो अध्यक्षको रूपमा काम गरेका थिए । प्रेस काउन्सिलमा रहँदा बस्नेतले ‘मिसन पत्रकारिता’ गरिरहेका पत्रिकाको अनुगमन गरी मर्यादित र जिम्मेवार बनाउन भूमिका खेलेका थिए । 


विभिन्न कालखण्डमा बस्नेतले अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कानुन, न्याय तथा शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए । त्यसका साथै राजाले गठन गर्ने विभिन्न शाही आयोगको नेतृत्व पनि बस्नेतले पाएका थिए । उनले चार दशक सरकारी सेवामा बिताए । त्यसपछि पुख्र्यौली थलो विरानटगरमा कृषि पेसालाई अगाडि बढाए र बुद्ध एयरको समेत सुरुवात गरे । 


बस्नेत राजा महेन्द्रको लालमोहर पाएर २०२१ सालमा तीन वर्षका लागि सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । तर, एक वर्ष ११ महिना मात्रै सर्वोच्चमा रहे । २०२१ सालअघि बस्नेत मोरङ जिल्ला पञ्चायतको सभापति थिए । स्थानीयवासी र मोरङका ६१ गाविसका प्रधानपञ्चले दोस्रोपटक जिल्ला पञ्चायतको सभापति बन्न आग्रह गरेकै वेला प्रधानमन्त्री सूर्यबहादुर थापाले बोलाएपछि उनी काठमाडौं आए । 


राजा महेन्द्रको विशेष चासोले गर्दा प्रधानमन्त्री थापाले बस्नेतलाई काठमाडौं बोलाएका थिए । थापाले नै राजा महेन्द्रसँग बस्नेतको भेटवार्ताको चाँजोपाँजो मिलाएका थिए । राजासँग भेट भएपछि बस्नेतले सर्वोच्च अदातलमा न्यायाधीश हुने अवसर पाए । 


त्यसअघि वनारसबाट कानुनमा ग्य्राजुएसन गरेर फर्किएलगत्तै बस्नेतले सर्वोच्च अदालतमा वकिलका रूपमा रजिस्ट्रेसन गरेका थिए । पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठ भन्छन्, ‘त्यतिवेला रजिस्ट्रेसन गर्ने वकिल मुस्किलले चार–पाँचजना थिए होलान् ।’ रजिस्ट्रेसनलगत्तै सर्वोच्चमा केही आफन्त र साथीभाइका मुद्दा बस्नेतले निःशुल्क हेरिदिएका पनि थिए । श्रेष्ठका अनुसार कानुन तथा राजनीतिशास्त्रको पढाइ र सर्वोच्चमा रजिस्ट्रेसन भएका काबिल वकिल भएकै कारण बस्नेतले न्यायाधीशजस्तो जिम्मेवार भूमिका पाएका थिए । 


२०२२ सालको चैत अन्त्यतिर नवलपरासीको परासी बजारमा गाउँले र बजारवासीबीच दोहोरो भिडन्त भएको थियो । केही घाइते र अंगभंग भएको उक्त हिंसात्मक घटनाले राष्ट्रिय रूपमै चर्चा पाएको थियो । सोही घटनाको छानबिन गर्न राजा महेन्द्रले ‘निष्पक्ष शाही छानबिन आयोग’ गठन गरे । नौजना अञ्चल र जिल्ला तहका न्यायाधीश सहभागी त्यो पहिलो शाही आयोग थियो । १५ दिन समय तोकिएको उक्त आयोगको अध्यक्षको जिम्मेवारी सुरेन्द्रबहादुर बस्नेतले पाएका थिए । स्थलगत अध्ययनसहित आयोगले १२ दिनमै राजासमक्ष प्रतिवेदन बुझाएको थियो । 


लगत्तै बस्नेतलाई राजा महेन्द्रले न्यायाधीशको जिम्मेवारीबाट निर्वाचन आयोगको प्रमुखको जिम्मेवारी दिए । २०२३ सालमा बस्नेत निर्वाचन आयोगको प्रमुख आयुक्त नियुक्त भए । उनी नेपालको पहिलो प्रमुख निर्वाचन आयुक्त हुन् । उनी प्रमुख आयुक्त भएकै वेला २०२४ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन भयो । निर्वाचन सकिएको एक महिनापछि बस्नेतले प्रमुख आयुक्तको पदबाट राजीनामा दिए । लगत्तै राजा महेन्द्रले उनलाई २०२४ जेठ १४ मा राष्ट्रिय पञ्चायतको सदस्यमा नियुक्त गरे र सोही दिन कानुन, न्याय तथा शिक्षामन्त्री बनाए । 


२०२५ सालमा शिक्षा तथा कानुनमन्त्रीको जिम्मवारीमा रहेकै वेला बस्नेतले अर्थमन्त्रीको पनि जिम्मेवारी पाएका थिए । सूर्यबहादुर थापा प्रधानमन्त्री एवं अर्थमन्त्री रहेकै वेला भारतले एकतर्फी रूपमा नेपाली र भारतीय रुपैयाँको सटही दर बराबर हुने घोषणा ग¥यो । यसले नेपालको आर्थिक अवस्था समस्याग्रस्त भयो । आयात–निर्यात असन्तुलित भयो । नेपाली सामानको निर्यात ठप्पजस्तै भयो । त्यसअघि धान, चामल आदि खाद्यान्नका साथै लत्ताकपडा, नैनसुत आदि नेपाली उत्पादन राम्रै अनुपातमा भारत निकासी हुन्थे । 


तर एकाएक अर्थतन्त्रमा असन्तुलन देखिएपछि व्यवस्थापनका लागि राजा महेन्द्रले आफू पश्चिम नेपालको भ्रमणमा रहेकै वेला सुरेन्द्रबहादुर बस्नेतलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिए । बिग्रिएको अर्थतन्त्रको जिम्मा राजाले प्रधानमन्त्री थापाबाट खोसेर बस्नेतलाई सुम्पिए । करिब सात महिना अर्थात् २०२५ साल असोजदेखि चैतसम्म बस्नेतले मुलुकको अर्थमन्त्री भएर थिलोथिलो अर्थतन्त्रलाई लयमा ल्याए । ‘नेपालका मन्त्री र सांसदहरू’ पुस्तकका लेखकसमेत रहेका वरिष्ठ पत्रकार भैरव रिसाल सुरेन्द्रबहादुर बस्नेतलाई अब्बल नेतृत्व क्षमता भएका इमानदार व्यवसायी र नेताको रूपमा चिन्छन् । रिसाल भन्छन्, ‘बजेट ल्याउने अवसर नपाउँदासमेत ६ महिनामै मुलुकको अर्थतन्त्र सही दिशामा हिँडाएको जस उहाँलाई जान्छ ।’


२०३६ सालमा राजाले गठन गरेको अर्को आयोगमा पनि बस्नेतलाई सहभागी गराइयो । त्यतिवेला मुलुकको बागडोर राजा वीरेन्द्र शाहको हातमा थियो । बुबा महेन्द्रले ल्याएका अब्बल व्यक्तिलाई वीरेन्द्रले पनि जिम्मेवारीमा राखेका थिए ।२०३५ साल चैतमा विद्यार्थी आन्दोलनले देशव्यापी रूप लिएको थियो । त्यही कारण २०३६ वैशाख १९ गते शिक्षामन्त्री पशुपतिशमशेर जबराले राजीनामा दिए । त्यसपछि राजा वीरेन्द्रले आन्दोलन जाँचबुझका लागि ‘उच्चस्तरीय शाही आयोग’ गठन गरे । जसको नेतृत्व सर्वोच्च अदालतका न्यायाधीश घनेन्द्रबहादुर सिंहले गरेका थिए । राष्ट्रिय पञ्चायतका उपाध्यक्ष लोकेन्द्रबहादुर चन्द, न्यायाधीश ईश्वरीराज मिश्र, त्रिविका पूर्वउपकुलपति सूर्यबहादुर शाक्य र सुरेन्द्रबहादुर बस्नेत सदस्य बनेका थिए । 


तोकिएकै समयमा समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहपञ्चायत मन्त्रालयले भोलिपल्टै विद्यार्थीका महत्वपूर्ण मागमध्ये पक्राउ परेका र मुद्दा चलाइएका विद्यार्थीको रिहाइ र राष्ट्रवादी विद्यार्थी मण्डलको खारेजी कार्यान्वयन गर्न अञ्चलाधीशलाई सूचित गर्‍यो । त्यसपछि विद्यार्थी आन्दोलन रोकियो । र, राजा वीरेन्द्रले जनताको राय बुझ्न सुधारिएको पञ्चायत रोज्ने कि बहुदल भन्ने विषयमा जनमत संग्रहको घोषणा गरे । 


कृषि फार्म र बुद्ध एयरको सुरुवात
राजनीतिमा सक्रिय रहेकै वेला बस्नेतले २०३४ सालमा कृषि विकास बैंकबाट ११ लाख रुपैयाँ ऋण लिएर विराटनगरमा कृषि फार्म सञ्चालन गरेका थिए । बस्नेतले मोरङको डाङिहाटमा बहुमुखी कृषि फार्म सुरु गरेका थिए । आफ्नो व्यवसाय सुरु गरेपछि बस्नेत राजनीति र सरकारी सेवाबाट बिस्तारै टाढिए । भारतको आसाम, गोहाटी र दक्षिण भारतको भुसाल गाउँबाट उन्नत बिउ ल्याएर झन्डै ११ सय रोपनी जमिनमा मालभोग, बसाराइ ड्वार्फ र हाइब्रिड रोबस्टा जातका केरा लगाएका थिए । माछा पनि पालेका थिए । 


अहिले सोही स्थानमा उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले आरजु राइस मिल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पु¥याएका छन् । जसले स्थानीय किसानले उत्पादन गरेको धान खरिद गरी गुणस्तरीय चामल बजार पठाउने तयारी गरिरहेको छ । 


राजनीति र कृषिमा मात्रै होइन, नेपाल र नेपालीलाई हवाई सेवाको सहज पहुँचमा पुर्‍याउन सुरेन्द्रबहादुर बस्नेतले ठूलो योगदान खेलेका छन् । ७० वर्षको उमेरमा बस्नेतले स्थापना गरेको बुद्ध एयरले सन् १९९७ अक्टोबर ११ मा पहिलो व्यावसायिक उडान गरेको थियो । त्यसअघि निजी क्षेत्रबाट खुलेका विमान कम्पनी छोटो समय चल्ने र बन्द हुने गरेका थिए । प्रतिस्पर्धा नभएका कारण हवाई यात्रामा धनीमानीको मात्रै पहुँच थियो । पैसा तिर्न सक्नेका लागि पनि टिकट पाउन हम्मेहम्मे पथ्र्यो । सरकारी निकायका उपल्लो ओहोदाका कर्मचारी र नेताको भनसुनका आधारमा हप्तौँ कुर्दा बल्ल टिकट मिल्थ्यो । 


बुद्ध एयरको आगमनसँगै हवाई यात्रामा प्रतिस्पर्धा बढ्यो । कम्पनीले सबैको पहुँच हुने गरी भाडादर निर्धारण गर्‍यो । सस्तो, सुविधायुक्त र सुरक्षित सेवा दिएकै कारण छोटो समयमै बुद्ध एयर पहिलो रोजाइको विमान कम्पनी बन्यो । अहिले बुद्धले वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको छ ।  अहिले आफ्नै ह्याङगरका साथै १६ वटा विमानसहितको निजी क्षेत्रकै ठूलो विमान कम्पनीको नेतृत्व उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार हाल आन्तरिक उडानमा बुद्धको मात्रै ५६ प्रतिशत हिस्सा छ । एउटा जहाज र ९९ कर्मचारीबाट हवाई उडान सुरु गरेको बुद्ध एयरसँग अहिले १५ सयजना कर्मचारी छन् ।


निजी क्षेत्रको ठूलो विमान कम्पनी र कृषिलाई अगाडि बढाएका सुरेन्द्रबहादुर बस्नेतलाई पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा काबिल क्षमता भएका उद्यमशील व्यक्तिको रूपमा चिन्छन् । उनी भन्छन्, ‘७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेबाटै थाहा पाउन सकिन्छ, उहाँको निष्क्रिय बस्ने स्वभाव नै थिएन ।’ पारिवारिक साइनो र लामो समय सहकार्य गरेका थापाले भनेजस्तै केही गरिरहनुपर्छ भन्ने सोच राख्ने एक सक्षम, इमानदार उद्यमी र असल नेतृत्व हामीले गुमाएका छौँ ।
अलबिदा...!