• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रञ्जना लिम्बू
२०७९ पौष २३ शनिबार ०९:०७:००
साहित्य

फुपू

२०७९ पौष २३ शनिबार ०९:०७:००
रञ्जना लिम्बू

फुपूू बितिन् रे !
यो खबरले सधैँ हाँसिरहने पुजारी गाउँ 
आज शोकमा डुबेको छ ।

 

फुपूू बित्नु भनेको पुजारी गाउँका लागि
शीतल ताप्ने एक्लो पीपल ढल्नु हो ।
जिन्दगी भरी एक्लै उभिएको 
त्यो एक्लो पीपल
कसैले बिर्सिगए जस्तो...
कसैलाई पर्खिरहेजस्तो...

 

साँच्चै फुपू
किन उभिइरहिन् होला आजीवन एक्लै एक्लै ?
के ले बल दियो होला उनलाई ?
पहाडजस्तै जिन्दगी एक्लै छिचोल्न

म नियालिरहेछु जीवनको एक कुनाबाट...

हरेक साँझबिहान गरुँगो जाँतो घुमाउन
सघाउने हातहरू खोज्दा खोज्दै 
तिनै हातोको चोटहरूले रातो भएका
आफ्नी भाउजूको जीउभरिका डामहरूले 
तर्सायो होला सायद उनलाई ।

 


गोठमा दूध चुसिरहेको बाच्छोलाई
स्नेहले चाटिरहेको गाईलाई देख्दा
उर्लिएर आउने मातृत्वको भेल
परदेशी सन्तानहरू फर्किने बाटोमा 
आशाका आँखाहरू ओछ्याउँदा ओछ्याउँदै 
बूढी भएकी आमा देखेपछि
सुकिगयो होला सायद...
जीवनको बैँसालुयामहरूमा
धनेसजोडीको प्रेम देख्दा
मुटु छुने गरी चलेको प्रेमको बतास
उतै लाहुरमा घर बसाएर
गाउँ फर्किने बाटो भुलेको 
भिनाजुको यादमा बितिगएको
लाहुरेनी दिदीको उराठलाग्दो जिन्दगी देखेर
बिलाइगयो होला सायद ।

 

र नै
पञ्चमीको मेलामा
एक बोतल रक्सी बैना मारिजाने
तरेबाको लागि भनी 
बुनेको जाले रुमालको 
जाली बुट्टाको चक्रव्यूहरू छिचोलेर
कहिल्यै बाहिर निस्किन सकिनन् होला फुपू
र बनिन् होला
आफ्नो जीवनको
आफैँ धागो, आफैँ काम्रो !
यसरी एक्लैएक्लै बग्दै गर्दा
आफूजस्तै एक्लै बगिरहेको रिखुवा खोलालाई
सुनाइन् की सुनाइनन् होला विरहको गीत ?
बैँसमा सुनाखरी फुल्दा
दाँजिन् कि दाँजिनन् होला आफूलाई सुनाखरीसँग ?
यौवनले लाजको ढोका खोल्दा
लजाइन् कि लजाइनन् होला फुपू
ऐनाअगाडि उभिएर
आफ्नै प्रतिबिम्बसँग ?

 

म नियालिरहेछु
विचारहरूको नेपथ्यबाट...

उनको एक्लो जीवन समाजले देखेजस्तो
विवसता मात्र नभएर 
विद्रोह हुन सक्छ,
सदियौँदेखि उभ्याइएको मानकविरुद्धको !
उनको एक्लो जीवन
निर्लज्ज बिच्छी औँला पनि त हुन सक्छ
या हुन सक्छ
इन्कलाबको झन्डा
बेमेल सामाजिक व्यवस्थाविरुद्धको ।

 

आज
फुपूूको शोकको शंखधून
बजिरहेछ एकनास


...
शोकभेलाको एक कुनामा
गाउँका सानी छोरीहरू
गरिरहेछन् गन्थन–मन्थन
भनिरहेछन् उनीहरु–
फुपूले जस्तै बिहे नै नगरे
हामीमाथि पनि कसैले 
उठाउनेछैनन् हात
आमाहरूमाथि बाबाहरूले
हात उठाए जसरी
०००