• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
निर्मल अर्याल
२०७९ पौष ३० शनिबार ०६:३९:००
सम्झना

प्रेमिल कहानी नारायणगोपाल–पेमलाको

पेमलासँगको वैवाहिक सम्बन्ध अस्वीकार भएपछि नारायणगोपालले बुबालाई चिठी लेख्दै भने, ‘जात नमिलेकोसित मैले विवाह गरेँ त के भयो र हाम्रो बाबुछोराको नाता त टुटेको छैन ।’

२०७९ पौष ३० शनिबार ०६:३९:००
निर्मल अर्याल

 

‘यति चोखो यति मीठो दिउँला तिमीलाई माया,
बिर्सनेछन् साराले पुराना प्रेमका कथा....’


विशिष्ठ संगीत साधक गोपाल योञ्जनका कालजयी शब्द तथा संगीतमा स्वरसम्राट नारायणगोपालको अभूतपूर्व स्वरमा सजिएको यो गीत प्रेमगीतहरूको सूचीमा निःसन्देह सर्वश्रेष्ठ मानिन्छ । गोपाल योञ्जनले रिन्छिन्सँग वैवाहिक बन्धनमा बाँधिएपछि ७० को दशकमा उनैप्रति समर्पित गर्दै यो कालजयी गीत तयार गरेका हुन् । मितज्यू गोपाल योञ्जनको यो गीत कालान्तरमा नारायणगोपालको दाम्पत्य जीवनमा ठ्याक्कै मेल खान पुग्यो । प्रेमको सुरुवातदेखि अन्तिम बिन्दुसम्म एकअर्काप्रति नारायणगोपाल र पेमलाको समर्पण हेर्दा वास्तवमै यो जोडीले नयाँ शिराबाट प्रेमको अनुपम अध्याय कोरेको भन्न पनि सकिन्छ ।


नारायणगोपालदम्पतीसँग लामो समय संगत गरेका कवि गीतकारहरू नगेन्द्र थापा, चेतन कार्की, कालीप्रसाद रिजाल, प्राध्यापक डाक्टर विश्वम्भर प्याकु¥याल, दिनेश अधिकारी, दीपक जंगम, डाक्टर बानिरा गिरी, पत्रकार विजयकुमारलगायतका स्रष्टाहरू यो जोडीलाई अत्यन्त ‘प्रेमिल’को संज्ञा दिन्छन् । चेतन कार्कीकै शब्दमा नारायणगोपालजस्ता अव्यावहारिक आनीबानी तथा ‘मुडी’ स्वभावका स्रष्टाले पेमलाजस्तो हरेक दृष्टिकोणबाट गुणवती जीवनसाथी पाउनु केही हदसम्म अचम्मको संयोग नै हो । कार्कीका अनुसार सामान्य मानिसलाई त कहिलेकाहीँ ‘असनको साँढे’को जस्तो व्यवहार देखाउने नारायणगोपाल र शालीन पेमलाको जोडी विलकुल अमिल्दो नै थियो । पेमलालाई नभेटेको भए नारायणगोपालको सांगीतिक यात्रा बेजोड रफ्तारमा अघि बढ्थ्यो होला त भनी धेरैले जिज्ञासा राखेको पनि पाइन्छ । 


०७६ साल असार ६ गते प्रसारित रेडियो नेपालको चर्चित कार्यक्रम ‘मधुवन’मा कवि, गीतकार नवराज लम्सालले यही आशयको जिज्ञासा राख्दा नारायणगोपालको जीवनको सबैभन्दा नजिकका साथी नगेन्द्र थापा भन्छन्, ‘पेमलाको फुल सपोर्ट (पूर्ण सहयोग) नारायणगोपाललाई थियो, नारायणगोपालको सांगीतिक इच्छा, विचारलाई ऊर्जा दिएर उनलाई अगाडि बढाउन पेमलाको नै प्रमुख हात छ ।’ थापा अगाडि भन्छन्, ‘नेपालको हकमा एउटा ‘सेलेब्रिटी’लाई श्रीमतीको यस्तो साथ सहयोग अरूका लागि नभए पनि मेरा लागि एक नम्बरकै उदाहरण हो ।’ नारायणगोपालदम्पती निःसन्तान रह्यो, तर यो दम्पतीको अमर प्रेमगाथा विश्लेषण गर्दा नारायणगोपाल–पेमलालाई आदर्श अभिभावक मान्ने सन्तानहरूको कुनै कमी छैन । 


विसं ०१७—१८ सालमा गीतकार रत्नशमशेर थापाका शब्दमा नारायणगोपालले गाएका ‘स्वर्गकी रानी मायाकी खानी...’, ‘आँखाको भाका आँखैले...’लगायतका गीतहरू नेपालसहित दार्जिलिङ, सिक्किममा निकै लोकप्रिय भए । दार्जिलिङ सुखियापोखरीकी पेमला लामा पनि नारायणगोपालको स्वरबाट अत्यन्त मोहित भइन् । साहित्यकार डाक्टर बानिरा गिरीकै शब्दमा दार्जिलिङको साहित्यिक तथा सांगीतिक वातावरणमा जन्मेर हुर्केकी पेमला नारायणगोपालको स्वरको जादुमा सम्मोहित हुनु स्वाभाविक नै हो । किशोरी मनमा नारायणगोपालको काल्पनीक तस्बिर लिएर पेमलाले अनेकौँ दिन र रात बिताएकी थिइन् ।

 

नेपालमा रहेका आफन्तहरूले पेमलालाई सोधे,‘काठमाडौंबाट तिमीलाई के कोसेली ल्याइदिऊँ ?,’ पेमलाले भनिन्,‘मलाई कोसेली, सोसेली केही चाहिन्न । सक्नुहुन्छ भने नारायणगोपालको ठेगाना ल्याइदिनू ।’ सोहीबमोजिम उनका एक आफन्तले नारायणगोपालको ठेगाना उपलब्ध गराइदिएपछि नारायणगोपाल पेमलाको पत्रमित्रताको सिलसिला आरम्भ भयो । आत्मीय मित्रहरू नगेन्द्र थापा, कर्म योञ्जन र गोपाल योञ्जनको साथ सहयोगसहित दार्जिलिङमै नारायणगोपाल र पेमलाको भेटघाटको तारतम्य पनि मिलाइयो । नारायणगोपाललाई फोटोमा समेत नदेखेकी पेमलाले सुरुमा नगेन्द्र थापालाई नै ‘नारायणगोपाल’ ठानेकी थिइन् । थापाले सबैकुरा प्रस्ट पारिदिएपछि पेमला छर्लंग भइन् । पत्रमित्रतामार्फत असल साथी भइसकेका नारायणगोपाल–पेमला औपचारिक रूपमा प्रेमबन्धनमा बाँधिए र जीवनसाथी हुने प्रण गरे । यस सुखद माहोलसँग मेल खाने गरी नारायणगोपालले पेमलालाई सुनाएको गीत थियो, ‘चिनारी हाम्रो धेरै पुरानो रहेझैँ लाग्दछ...।’ 


काठमाडौंको घराना नेवार परिवारमा जन्मिएका नारायणगोपाल र दार्जिलिङकी पेमला लामाबीचको प्रेम दुवै परिवारलाई किमार्थ स्वीकार थिएन । पुरातनवादी सोच हाबी भएको त्यसबखत यस किसिमको जोडीले परिवारविरुद्ध उभिनु एक किसिमको ठूलो क्रान्ति नै थियो । अन्ततः मन–वचनले एकअर्कालाई समर्पण गरिसकेका उनीहरू तीव्र पारिवारिक विरोध छिचोल्दै विसं ०२७ साल फागुनमा विवाह बन्धनमा बाँधिए । पेमलालाई लिन दार्जिलिङ जाने निधो गरे पनि नारायणगोपाल आर्थिक अभावका कारण छट्पटाहट्मा थिए । नारायणगोपालले आफ्ना घनिष्ट मित्र नगेन्द्र थापालाई सबै रामकहानी सुनाए ।

 

नारायणगोपाल–गोपाल योञ्जनको भव्य कार्यक्रम ‘मितज्यू नाइट’बाट उठेर नारायणगोपालको भागमा परेको रकममा थप गरी थापाले २५ हजार रुपैयाँ थमाइदिए । त्यस समयमा २५ हजार निकै ठूलो रकम मानिन्थ्यो । व्यापक अर्थ दिने गरी नारायणगोपाल साथीभाइलाई आफ्नो विवाहको कहानी संक्षिप्तमा भने यसरी सुनाउँथे, ‘न त मैले एउटा सारी किनेँ, न त उसले मलाई औँठी नै लगाई, तर पनि हाम्रो विवाह त भयो ।’ नारायणगोपालले पेमलालाई दार्जिलिङबाट ल्याए पनि पारिवारिक विमतिले गर्दा काठमाडौंमा राख्न सक्ने अवस्था थिएन । त्यसैले नारायणगोपालदम्पती पोखरा लागे । पोखरामा केही समयमा उनीहरू प्रख्यात कवि भूपी शेरचनको घरमा बसे । शेरचनबाट राम्रै साथ सहयोग पाएका उनीहरूले पोखराकै अलग–अलग विद्यालयमा अध्यापन गराएर दिनचर्या बिताउन थाले । बाबुआमाको चित्त दुखाएर पोखरा आएकोमा नारायणगोपाल दुःखी देखिन्थे । उनले ०२७ साल जेठ ६ गते पोखराबाट बुबाआमाको नाममा प्रेषित गरेको चिठीको व्यहोरा यस किसिमको थियो । 


पूज्य बुबा, आमा यतिका दिनसम्म एक अक्ष्।र पनि नलेख्दा हजुरहरूलाई अवश्यै चिन्ता लाग्दो हो । चिठी नलेख्नाको कारण अहिलेसम्ममा थाहा पाइसक्नु भइसक्यो होला । बा ! म के गरुँ परिस्थितिवश मैले यस्तो काम गरेँ जुन हजुरहरूलाई मन पर्दैन । यतिमात्र कहाँ हो र हजुरहरूको त मैले गर्दा इज्जत नै गएजस्तो लाग्छ । जिन्दगीमा मैले हजुरहरूलाई कहिल्यै सुख दिइनँ, अहिले आएर झन् दुःख थपिदिएको छु । यसका लागि मलाई कस्तो किन सजाय नबक्सियोस् म सहर्ष स्वीकार गर्नेछु । तर, आमाबुबाको मायाबाट मलाई वञ्चित नगरिबक्सियोस् । म दुई हात जोडी प्रार्थना गर्दछु । म जहाँ गए पनि मेरा आमाबुबालाई सम्झिरहेको छु र अन्तिम साससम्म पनि सम्झिनै रहुँला । हजुरहरूको माया, स्नेह, प्यार पाएर म यत्रो भएको, म कति भाग्यमानी छु । तर, हजुरहरूदेखि आज टाढाबस्नु पर्दा मलाई कति दुःख लागेको छ । घर सम्झँदा हृदय चिरेर आउँछ । आमा ! मैले जस्तै अपराध गरे पनि हजुरहरूको ममता पाइनँ भने मलाई साहै्र चोट लाग्नेछ । बासित मलाई डर लाग्छ । बा मलाई क्षमा गरिदिनुस्, मूर्ख बालक सम्झेर । म हजुरको पाउ पर्छु । जात नमिलेकोसित मैले विवाह गरेँ त म के भयो र हाम्रो बाबुछोराको नाता त टुटेको छैन । आमा जात नमिलेको बुहारीलाई बुहारी नमाने पनि केही छैन, तर म त तिम्रो छोरा हुँ । 


केही महिनापछि राजधानी फर्के पनि उनीहरूको दैनिकी कठिन नै थियो । पिता आशागोपाल गुरुवाचार्यको निर्देशनअनुसार रोजगारीका लागि नारायणगोपाल हेटौँडा जान तम्तयार भए । तर नगेन्द्र थापाले हेटौँडा गए नारायणगोपालको क्यारियर नै ‘चौपट’ हुने बताएपछि उनीहरू दुःखजिलो गरेर भए पनि राजधानीमै बस्न थाले । मितज्यू गोपाल योञ्जनसँगको सांगीतिक बिछोड तथा रेडियो नेपालसँगको मनमुटावका कारण नारायणगोपाल वर्षौँसम्म बेरोजगार रहे । संगीत अभ्यासबाहेक घरमा बसेर इतिहास तथा भूगोलका जर्नलहरू पढ्नु उनको दैनिकी थियो । आफू जागिरे, तर श्रीमान् बेरोजगार रहँदा पनि पेमलाको कुनै पनि किसिमको गुनासो हुँदैनथ्यो । पेमला कान्तिपथस्थित राष्ट्रिय जीवन बिमा कम्पनीमा कार्यरत भएकाले आफूलाई रोजीरोटीको समस्या नपरेको नारायणगोपाल गर्वसहित आफ्ना शुभचिन्तकहरूमाझ बताउँथे । यसबाहेक घरमा भेला हुने संगीतप्रेमीहरूलाई मिष्ठान्न भोजन गराउने जिम्मेवारी पनि पेमलाकै काँधमा थियो । यद्यपि, पाककलामा विशेष रुचि राख्ने नारायणगोपाल स्वयं भान्छाकोठामा पेमलालाई राम्रै साथ दिन्थे । 


नारायणगोपालका कर्णप्रिय गीतहरू सुनेकै आधारमा उनको जीवनसाथी हुन पुगेकी पेमलाले आजीवन आफ्नो पतिको सांगीतिक यात्रामा साथ सहयोग दिइन् । स्वाभाविक रूपमा नारायणगोपालका कतिपय पहिलो सिर्जनाकी श्रोता पेमला नै हुन्थिन् । नारायणगोपालले फोनमार्फत भूपी शेरचनजस्ता विशेष साथीलाई घन्टौँसम्म संगीतका नयाँनयाँ धुन सुनाउँदा रिसिभर समात्ने पेमला नै हुन्थिन् । कतिपय गीतहरू छनोट गर्ने सिलसिलामा पेमलासमेत संलग्न हुने गरे तापनि त्यसमा अन्तिम निर्णय भने स्वरसम्राट आफैँ गर्थे । पेमलाले कर गरेपछि नारायणगोपाल हम्मेसी त्यसलाई इन्कार गर्दैनथे । त्यसैले नारायणगोपालको यो स्वभाव थाहा पाएका केही संगीत साधक अति अप्ठ्यारो अवस्था आउँदा पेमलाकै सहारा लिन्थे ।

दरबारबाट प्राप्त चाँदनी शाहको गीत (एउटा मान्छेको मायाले कति...)मा संगीतकार दीपक जंगमले अलग–अलग २८ वटा ट्युन भरे पनि त्यसमा नारायणगोपालले कुनै दिलचस्पी देखाएनन् । यो गीत दरबारबाट आएको र कुनै पनि हालतमा गाउनैपर्ने बाध्यात्मक अवस्था संगीतकार जंगमले अन्तिमसम्म गोप्य नै राखेका थिए । नारायणगोपालले गीत नगाउने छनक पाएपछि अन्ततः आफूले पेमला भाउजूलाई नै गुहारेको संगीतकार जंगम बताउँछन् । पेमलाको करपछि नारायणगोपालले गाएको यो गीत यति चर्चित भयो कि गीतकार चाँदनी शाह स्वयंले पछि गायक नारायणगोपाल र संगीतकार दीपक जंगमप्रति विशेष आभार व्यक्त गरेकी थिइन् । सन् २००२ मा बिबिसी नेपाली सेवाले नेपाली श्रोतामाझ पाँच सर्वाधिक लोकप्रिय गीतको सर्वेक्षण गर्दा यो गीत पहिलो नम्बरमा परेको सञ्चारकर्मी (विगतमा बिबिसी नेपाली सेवामा कार्यरत) सुमन खरेलले उल्लेख गरेका छन् । 


स्वदेशकै केही स्टुडियोमा पेमलालाई आफ्नो रेकर्डिङ देखाएका नारायणगोपालले केही विशेष गीतहरूको रेकर्डिङ देखाउन मुम्बई पनि लगेका थिए । सांगीतिक कार्यक्रमका लागि नारायणगोपाल एक्लै उपत्यकाबाहिर वा मुलुकबाहिर जाँदा पेमला अत्यधिक चिन्ता गर्थिन् । साथीभाइमाझ नारायणगोपाल प्रायः भनिरहन्थे, ‘म घरमा छैन भने भाउजूले आफ्नै लागि पनि भात पकाउदिनँ ।’ यता श्रीमान्को अनुपस्थितिमा कसैले मदिरा सेवनको प्रसंग निकालेर नारायणगोपालको खिल्ली उडाएमा पेमला त्यसको कडा प्रतिवाद गर्दै भन्थिन्, ‘उहाँले रक्सी नै खाएर जीवन बिताएकोचाहिँ होइन है ।’ 


लामो समयसम्म सन्तान नभएकोमा नारायणगोपालदम्पती स्वाभाविक रूपमै निराश थिए । पेमला अझ बढी चिन्नित थिइन्, घरीघरी रुन्थिन् पनि । एकपटक उनलाई असाध्य पेट दुख्यो । एपेन्डिक्सको आशंकामा डाक्टर दिनेशनाथ डंगोलको टिमले वीर अस्पतालमा आकस्मिक शल्यक्रिया गर्दा ‘ट्युबल पे्रगनेन्सी’ भन्दै चिकित्सकले पेमला भविष्यमा गर्भवती हुन नसक्ने जानकारी गराएको उपचारको चाँजोपाँजो मिलाउन सक्रिय नगेन्द्र थापा स्मरण गर्छन् । नारायणगोपालको परिवारसँग अति आत्मीय सम्बन्धमा रहेका प्राध्यापक डाक्टर तथा गीतकार विश्वम्भर प्याकुर्‍यालका अनुसार सन्तानकै लागि पेमलाले नारायणगोपाललाई दोस्रो विवाह गर्नसमेत भनेकी थिइन् । तर, नारायणगोपालले पेमलाको यो प्रस्ताव कहिल्यै स्वीकार गरेनन् । केही समय नारायणगोपालदम्पतीले दाइकी छोरीलाई आफ्नै छोरीको हैसियतमा राखे । नारायणगोपालले पछिसम्म पनि गायिका लोचन भट्टराईलाई ‘ठूलछोरी’ भनी सम्बोधन गर्थे । 


नारायणगोपालदम्पतीसँग पत्रकार विजय कुमारको पनि आत्मीय सम्बन्ध रह्यो । मदन पुरस्कार विजेता आफ्नो कृति ‘खुसी’ (पिउँदा पिउँदै जिन्दगी यो...पृष्ठ ११४÷११९) मा भावुक बनाउने गरी विजय कुमार लेख्छन्, ‘नारनदाइ बितेको केही वर्षभित्रै पेमला भाउजू पनि रहिनन् । उनीहरूले महाराजगन्ज चोकबाट पाँच मिनेट हिँडेर पुगिने ठाउँमा घर बनाएका थिए । आजभोलि त्यो चोकलाई मानिसहरू नारायणगोपाल चोक भन्छन् । कालजयी गायक नारायणगोपालको सालिक त्यहाँ स्थापित छ । तपाईं अफिस जानेवेला वा किनमेल गर्न आउँदा नारनदाइको सालिकछेउबाटै हिँड्नुहुन्छ । कस्तो लाग्छ, त्यसबखत ?’ नारनदाइको सालिक बनेको एक वर्षपछि मैले भाउजूलाई सोधेँ । प्रश्न सुनेर पेमला भाउजू सुनसान भइन् । सम्झनाका लहरले भाउजूको मुहारलाई छपक्कै छोप्यो । लामो मौनतापछि फिक्का मुस्कानसाथ उत्तर दिइन् : विजय भाइ ।

 

मलाई थाहा छ, त्यो ढुंगाले बनेको एउटा सालिक मात्र हो, उहाँ होइन । तर, पनि पुस–माघको जाडोमा जब म कामबाट घर फर्कन्छु, उसको सालिकनेर पुग्दा टक्क रोकिन्छु । मनमनै सोच्छु, कति जाडो भइरहेको होला बिचरालाई । उसलाई एउटा ओभरकोट लगाइदिन पाए हुन्थ्योजस्तो लाग्छ । मलाई थाहा छ त्यो ढुंगाको एउटा निर्जीव सालिक मात्र हो, ऊ होइन तर पानी परेको दिन जब म त्यो बाटो हिँड्छु, उसलाई गएर छाता ओढाइदिन मन लाग्छ । जब पेमला भाउजू बोल्दै थिइन्, ‘मैले थाहा नै पाइनँ कुन बखत मेरा आँखाबाट आँसु बग्न थालिसकेछन् । म रोएको देखेर भाउजू पनि भावुक भइन् । तर, एकैछिनमा उनले आफूलाई सम्हालिन र मलाई सान्त्वना दिँदै आँसु पुछ्न भनिन् । मैले आँसु पुछेँ र सम्झन थालेँ, नारनदाइसँग त्यस घरमा बिताएका अजम्बरी क्षणहरूलाई ।’


पेमलाको अर्को भावुक भनाइलाई पनि विजय कुमार यसरी स्मरण गर्छन्, ‘उहाँ गएपछि म निकै एक्लो महसुस गर्छु । तर, जब म उहाँको गीत बजाउँछु, लाग्छ पल्लो कोठामा साधना गर्दै हुनुहुन्छ । लाग्छ यहीँ हुनुहुन्छ । विजयभाइ तिमी उहाँले खाना पकाएको सम्झन्छौ ? कति मीठो पकाउने है, याद छ ती शनिवारहरू, जब तिमी यहाँ आउने गथ्र्यौ । दाइसँग बेकारका बेतुकका फाल्तु कुरा गरेर तिमीहरू कति जोडबलले हाँस्थ्यौ । हो पेमला भाउजू । मलाई ती सबै क्षण याद छन् । आई विल अलवेज मिस यु, नारनदाइ । आइ मिस यु पेमला भाउजू ।’ 


महाराजगन्जस्थित नारायणगोपाल चोकमा स्वरसम्राटको सालिक ठडिएको प्रसंग कोट्याउँदा विशिष्ट संगीतकार रञ्जित गजमेरलाई नारायणगोपालदम्पतीसँग मुम्बईमा बिताएका यादगार पलको प्रसंग पनि निकै अर्थपूर्ण लाग्छ । हालै बजारमा आएको कृति ‘मोहनी मादल’ (बम्बईमा प्रेमध्वज र नारायणगोपाल (पृष्ठ १८३÷१८४)मा गजमेर नारायणगोपाल दम्पतीसँगको भेटलाई यसरी स्मरण गर्छन्, ‘नारायणगोपाल र उहाँकी पत्नी पेमलासँग बितेका क्षण म कहिल्यै भुल्न सक्दिनँ । नारायाणगोपालको सेन्स अफ ह्युमर अचम्मकै थियो । उहाँको स्वास्थ्य बिग्रँदो थियो, तर उहाँले आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता गरेको मैले पाइनँ । खानपिनको उहाँलाई औधी सोख थियो भने हँसीमजाकमा उहाँ रमाउनुहुन्थ्यो । ट्याक्सीबाट बान्द्राको एउटा बाटो हुँदै खार आउजाउ गर्नुपर्ने हुन्थ्यो । त्यो बाटाको नाम ‘मोहमद रफी रोड’ थियो । त्यसै बाटो भएर जाँदै गर्दा एक दिन ‘म मरेपछि नेपालमा पनि मेरो नाममा यसैगरी बाटोको नाम राख्लान् हगि’ भनेर परिहास गर्नुभएको थियो । संयोग कस्तो भने, त्यो ठट्टा गरेको केही समयभित्रै उहाँको देहावसान भयो । अहिले काठमाडौंको महराजगन्ज चोकमा उहाँको सालिक राखेर त्यस ठाउँको नाम दिइएको छ–नारायणगोपाल चोक ।’ 


नारायाणगोपालदम्पतीका अर्का घनिष्ट मित्र थिए, गीतकारसमेत रहेका प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्‍याल । महाराजगन्जस्थित नारायणगोपालनिवासमा केही दिन अनुपस्थित हुनेबित्तिकै प्याकुर्‍यालको व्यापक खोजी हुन्थ्यो । आफ्नो कृति ‘आफैँलाई खोज्दा’मा प्याकुर्‍यालले नारायणगोपालदम्पतीसँगको विविध किस्सा अत्यन्त रोचक तथा मार्मिक ढंगले प्रस्तुत गरेका छन् । ‘सम्मोहनको एउटा नाउँ नारायाणगोपाल, पृष्ठ १४४/१४५’ शीर्षकको लेखमा उनी उल्लेख गर्छन्, ‘मलाई नारायणगोपालको घर कहिल्यै पराई लागेन । त्यहाँ जाने र बस्ने समयको टुंगो थिएन । मलाई मीठो लाग्ने कुनै खानेकुरा नारायणगोपालको घरमा पाकेको छ भने दुवैजना सम्झिन्थे । म कुनै कारणले अबेर पुगे पनि उनीहरू मलाई कुरिरहन्थे ।’

 

नारायणगोपालको ऐतिहासिक कार्यक्रम ‘स्वर्णिम सन्ध्या’लाई सफल पार्न अहोरात्र खटिएका प्याकुर्‍याल नारायणगोपाल अस्वस्थ हुँदा उनको उपचारको व्यवस्था पनि मिलाउँथे । प्याकुर्‍यालका अनुसार ‘स्वर्णिम सन्ध्या’ अत्यधिक सफल भएपछि पेमला भाउजूको आँखाबाट हर्षाश्रु टप्किन थालेका थिए । नारायणगोपालले आफ्नो जीवनकालमा दिएका कार्यक्रममध्ये ‘स्वर्णिम सन्ध्या’ सबैभन्दा उच्चकोटीको भएकाले पेमला सबैभन्दा खुसी भएकी थिइन् । मिर्गौला बिग्रिएर वीर अस्पतालमा भर्ना भएको वेला पेमलाको पनि स्वास्थ्य स्थिति खस्किएपछि नारायणगोपाल अझ चिन्तित भएको प्याकुर्‍याल स्मरण गर्छन् ।

 

प्याकुर्‍यालसँग नारायणगोपाल भन्थे, ‘पेमलाको पनि दायाँबायाँ कोही छैन । एउटा धेरै सोझो लाटो भाइ छ, ऊ नेपालमा छैन । ऊ वास्तवमा एक्लै हुन्छे ।’ जवाफमा प्याकुर्‍याल नारायणगोपाललाई चिन्ता नलिन आग्रह गर्दै पेमलाका लागि आफूहरूले सक्दो सहयोग गर्ने वचन दिन्थे । प्याकुर्‍याल आफनो संस्मरणमा लेख्छन््,‘नारायणगोपाल कुनै पनि मूल्यमा जीवनप्रति आफ्नो विश्वास टुटेको आभास हामीलाई दिँदैनथे । पेमला भने उनले नखाएको, नसुतेको र नबोलेको देखेर अत्तालिन्थिन् । नारायणगोपाल भने भाउजूले पिर गर्नुहुन्छ भनेर धेरै कुरा लुकाउँथे ।’


डाक्टर बानिरा गिरीका अनुसार लोग्ने–स्वास्नीको नितान्त वैयक्तिक क्षणमा अरू दम्पतीझैँ पेमला र नारायणगोपालबीच मृत्युको चर्चा हुन्थ्यो । ‘पहिला को मर्ने’ भन्ने शाश्वत प्रश्नमा खिन्न हुँदै नारायणगोपाल भन्थे, ‘छि ः म त पहिला नमरूँ । तिमीले सेतो लगाएको कल्पनासम्म पनि दुःखद लाग्छ मलाई’ (पेमलाः नारायणगोापलकी जीवनसङ्गिनी– बागीना स्मृति अंक, पृष्ठ ३१५) । तर, अपसोच, मृत्युको साइतमा नारायणगोपालले नै पेमलालाई उछिने । ०४७ साल मंसिर १९ गते नारायणगोपालको ५१ वर्षको अल्पायुमै निधन भयो । उनको अन्त्येष्टिमा उर्लेको जनसागर अविश्वसनीय तथा अद्वितीय थियो । 


नारायणगोपालको निधनबाट उनलाई रुचाउले लाखौँ गायकले ‘स्वरसम्राट’ मात्र गुमाए, तर पेमलाले सबथोक गुमाइन् । यस्तो अवस्थामा पनि पेमलाले हार खाइनन् । नारायणगोपालको सपना साकार बनाउन लागिरहिन् । नारायणगोपाल संगीत कोषको स्थापना यसैको उदाहरण हो । पेमला बागीनामा ‘नारायाणगोपालसँगका मेरा बीस वर्ष’ पृष्ठ–१७८ लेख्छिन्, कसैलाई धर्मपुत्र पाल्नुभन्दा एउटा संगीत विद्यालय खोलेर आर्थिक रूपमा विपन्न, असहायहरूलाई संगीत सिकाउने नारायणगोपालको ठूलो मनोकांक्षा थियो ।

 

पेमला लेख्छिन्, ‘नारायणगोपालको जीवनभरिको सिंगो अनुभवको उपलब्धि हो– नारायणगोपाल संगीत कोष, उहाँको अन्तिम इच्छाको प्रतिरूप हो– नारायणगोपाल संगीत कोष र उहाँका सम्पूर्ण साथीहरूको परिणति हो– नारायणगोपाल संगीत कोष ।’बाहिरी आवरणमा जे भने पनि नारायणगोपालविनाको जीवन पेमलाका लागि कहालीलाग्दो नै थियो । ०६१ असार १६ गते पेमला पनि ब्रह्मलीन भइन् । सायद नारायणगोपालको आत्मालाई सम्बोधन गर्दै पेमलाको आत्माले स्वरसम्राटकै यी शक्तिशाली आवाजझैँ अहिले पनि गुनगुनाइरहेको भान हुन्छ :
‘श्रद्धाको फूल चढाइदिनू आएर लासमा ...

 

मरे र के भो देह यो मेरो 
आत्मा त मर्दैन 
पिरती चोखो लाएको भए
बन्धन पर्दैन ...
श्रद्धाको फूल चढाइदिनू आएर लासमा’