• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केदार श्रेष्ठ
२०७९ पौष ३० शनिबार ०७:५५:००
साहित्य

भगवान्

२०७९ पौष ३० शनिबार ०७:५५:००
केदार श्रेष्ठ

मेरो चोर औँला
समाउँदै–छोड्दै, छोड्दै–समाउँदै
हिँड्दै–रोकिँदै, रोकिँदै–हिँड्दै
उफ्रँदै–दगुर्दै, दगुर्दै–उफ्रँदै
खुड्किलाहरू
गन्दै–गुन्दै, गुन्दै–गन्दै
चढ्दै–ओर्लँदै, ओर्लँदै–चढ्दै­­­­­­­
स्वनामधन्य डाँडाको
मन्दिरको पटांगिनीमा पुगेपछि
मेरी छोरीले देखिन्–
लम्पसार परेको मूर्ति ।

 

टिपिन् फूल, मूर्ति छेवैको भुइँबाट
पत्र–पत्र पारेर फ्याँकिन् मूर्तितिर ।
फेरि टिपिन् फूल उसैगरी
एक थुँगा फूल फ्याँकिन् मूर्तितिर
र टक्क उभिइन् र टुलुटुलु हेरिन् ।
क्रमशः बटुलिन् फूलका थुँगाहरू
सँगालिन् आफ्नो जामामा
एक–एक गरी हानिन् उही मूर्तिलाई
र उदास आँखाले हेरिरहिन् ।


फरक्क फर्किन्,
खुरुर्र दौडिन् अलिपर
टप्प–टप्प टिपिन्
ससाना ढुंगाहरू
उही वेगले आइन्
र एक–एक गरी हानिन्
टक्क–टक्क ढुंगाहरूले
उही ढुंगाका लम्पसार मूर्तिलाई
र फेरि उदास आँखाले हेरिरहिन् ।

 

मैले सोधेँ,
‘छोरी किन ढुंगाले हानेको ?’
उनले उदासी स्वरमा भनिन्–
‘भगवान् भएर पनि सुत्ने हो ?’­.­