• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ ७ शनिबार ०६:२३:००
समाज

भाइरल घरको अन्तर्कथा

२०७९ माघ ७ शनिबार ०६:२३:००

इन्जिनियरले समेत नक्सा कोर्न सकेन
राजेन्द्रप्रसाद उप्रेती

दुबईको बुर्ज खलिफा, पेरिसको आइफल टावरजस्तै अनौठो संरचना नेपालमा बनाउन चाहन्थेँ । त्यसैले चारैतिर बाटो भएको कालिका नगरपालिको पदमपुरमा सात कट्ठा जमिन किनेँ । आफूले कल्पना गरेको कुरा धेरै इन्जिनियरलाई सुनाएँ । कल्पनाअनुसारको नक्सा कोर्न लगाएँ । तर, सोचेजस्तो नक्सा बनेन । मैले बुझाउन सकिनँजस्तो पनि लाग्यो । त्यसपछि आफैँ अघि सरेँ । ०७६ पुस ८ बाट यो घर बनाउन थालेँ ।


केही समयमै कोरोना महामारीले काम बन्द गराइहाल्यो । मसँग घरको नक्सासम्म थिएन । इँटा जोडेर घर बनाउन जान्ने मिस्त्री, लेबरहरू खोजेर कल्पनाअनुसारको घर बनाउन सुरु गरेँ । दिनभरि दर्जनौँ कामदारले बनाएको संरचना साँझ मन नपरेपछि धेरैपटक भत्काउन लगाएँ ।

यो भवन नेपाली मजदुरको मात्र श्रमबाट बनेको हो । नेपालीको दिमाग र नेपालीको श्रमले नेपालमा केही बन्दैन भन्नेहरूका लागि यो गतिलो उत्तर पनि हो । 


नेपालमा सानो स्कुल, पसल, पार्क बने पनि विदेशी नाम राख्ने चलन छ । काम अन्तर्राष्ट्रिय, नाम नेपाली राख्ने सोचमा थिएँ, त्यसैले यो भवनको नाम कृष्ण भवन राखेँ । भगवान्सँग पनि जोडिने, आफ्नो बुबाको नामसँग पनि मिल्ने । यो भवनमा कतै दरबारको, कतै हबेलीको, कतै मन्दिरको, कतै ताजमहल, मस्जिद, र चर्चको झल्को आउँछ । यो भवन नेपाली मजदुरको मात्र श्रमबाट बनेको हो । नेपालीको दिमाग र नेपालीको श्रमले नेपालमा केही बन्दैन भन्नेहरूका लागि यो गतिलो उत्तर पनि हो ।निमार्णकै क्रममा हजारौँ मान्छे गाडी रिजर्भ गरेर विभिन्न जिल्लाबाट आएका छन् । विदेशबाट पनि धेरैको चासो छ । अब यहाँ होटेल, हस्पिटल, रिसोर्ट, फिल्म सुटिङस्थल, म्युजियम आदि जे गरे पनि हुन्छ । यो भवनलाई कुनै व्यावसायिक प्रयोजनमा जोड्ने योजनामा छु । ५४ हजार स्क्वायर फिटमा बनेको नौतले भवन जुनसुकै प्रयोजनमा आउन सक्छ । हामी फिनिसिङ गर्दै छौँ ।

०२८ सालमा चितवनमा जन्मिएँ । १९ वर्ष अमेरिका बसेँ । बुबा कृष्णप्रसाद उप्रेतीले हामीलाई २०१२ सालमा नुवाकोटबाट पूर्वी चितवनको शान्ति बजार ल्याउनुभयो । २०३८ सालमा चितवनबाट बसाइँ सरेर काठमाडौं गएका थियौँ । अमेरिकाबाट सात वर्षअघि मात्र नेपाल फर्किएको हुँ । मेरो परिवार व्यापारिक घरानाको भन्दा पनि हुन्छ । पढ्न अमेरिका पुगे पनि मेरो जोड काममा बढी थियो ।


अमेरिकामा पनि मेरो पेट्रोलपम्प, डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट थिए । पछिल्लो समय घाटा लाग्यो र नेपाल फर्किएँ । विदेशमा घर जोडे पनि, गाडी चढे पनि त्यो हाम्रो होइन, विदेशीकै हो । त्यो कुरा नेपाल आएपछि अनुभूति भयो । हामी उनीहरूकै देशमा गएर काम गर्छौँ । नेपाल फर्किएपछि विचार गरेँ, ‘म आफैँ त देश बनाउँन सक्दिनँ । यद्यपि, सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गरे भने देश पक्कै बन्छ । त्यसैले मैले यो भवन बनाएँ ।

 

हेर्नेको भिडले घरमा बस्न पाइनँ
डा. प्रमोद लामिछाने

भरतपुरमा एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर छ । म आफू चिकित्सक भएकाले मेरो पहिलो प्राथमिकता अस्पताल नै हो । ट्रमा सेन्टर चलाउने क्रममा अपांग बालबालिका तथा शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि अस्पताल निर्माण गर्न भरतपुर महानगरपालिका– १ ठिमुरामा जमिन भेट्यौँ । त्यसपछि सबैको सुझाव आयो– यहाँ अस्पतालभन्दा पर्यटनसँग सम्बन्धित व्यवसाय ठीक हुन्छ भन्ने सुझावले मेरो सोच बदलियो । 


श्रीमती बिएम खरेलको सल्लाहमा यहाँ रिसोर्ट नै बनाउने काम अघि बढ्यो । तर, रिसोर्ट निर्माण गर्ने योजना बनाएकी मेरी जीवन संगिनी रहिनन् । क्यान्सरका कारण उनलाई गुमाउनुप¥यो । त्यसपछि उनको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा आयो । रिसोर्टबाट साढे सात किलो मिटरको दूरीमा भरतपुर बजार क्षेत्र छ । जानआउन पनि सजिलो हुन्छ भनेर आफैँ बस्नको लागि यो घर बनाएँ । एककान दुईकान मैदान हुँदै सबैको ध्यान यो घरले तान्यो ।

अहिले म अस्पतालकै क्वार्टरमा बस्छु । मान्छेहरू हेर्न आउन  छाडेपछि यही घरमा बस्छु । सबैले एकपटक हेरेपछि पक्कै भिड  नहोला । अहिले त बिहानदेखि साँझसम्म मानिसको भिड हुन्छ । टाढाबाट आएकालाई हेर्न मिल्दैन भनेर फर्काउन पनि मनले मानेन ।

सामाजिक सञ्जालमा यो घरको फोटो छाउन थाल्यो । घर हेर्न आउनेको संख्या दिनदिनै बढ्दै गयो । रिसोर्टमा आउनेहरू पनि यो घर हेर्न आउन थाले । मानिसको चाप बढ्न थालेपछि हामी तीन हप्ता पनि यो घरमा बस्न पाएनौँ । अहिले म अस्पतालकै क्वार्टरमा बस्छु । मान्छेहरू हेर्न आउन छाडेपछि यही घरमा बस्छु । सबैले एकपटक हेरेपछि पक्कै भिड नहोला । अहिले त बिहानदेखि साँझसम्म मानिसको भिड हुन्छ । टाढाबाट आएकालाई हेर्न मिल्दैन भनेर फर्काउन पनि मनले मानेन । 

बिदाको दिनमा अहिले पनि पाँच सयजनाभन्दा बढी मानिस आउँछन् । कुनै दिन ६ हजारजनासम्म मानिस आएको रेकर्ड छ । आँगन, पिँढी, बार्दली सबैतिर मानिस भिडियो र फोटोमा रमाउँछन् । भिड बढेसँगै यसको व्यवस्थापन र सरसफाइका लागि ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । नेपाली पहिचान झल्काउने भएकाले यसलाई हामीले नेपाली घरको नाम दिएका छौँ ।

हाम्रो पुख्र्यौली घर लमजुङ हो । भूकम्पले लमजुङको राइनास नगरपालिकामा रहेको हजुरबाको पालादेखिको घर भत्कायो । अनि, त्यही शैलीमा ठिमुरामा दुई वर्षअघि नयाँ घर बनाइयो । गाउँको घर बिर्सन नसकेकाले इन्जिनियरलाई गाउँमै लगेर पुरानो शैलीका घरहरू देखाएर त्यस्तै घर डिजाइन गर्न लगाएँ । भावी पुस्तालाई यस्ता घर नेपालमा थिए भनेर देखाउन पनि यो घर बनाएको हुँ । अहिले यो घर देख्दा आमाबुबा पनि खुसी हुनुहुन्छ ।


नेपालका मौलिक वस्तुहरू ढिकी, जाँतो, खुर्पेटो, मादल, सारंगी, दराज आदि गाउँबाटै ल्याएँ । केही यहीँ बनाएँ । घरकै छेउमा पँधेरो पनि छ । पुरानो शैलीको छानो, बार्दली, पुराना शैलीका झ्याल र ढोका छन् । ठाउँ–ठाउँमा लाल्टिन तथा थुन्छे राखिएका छन् । यो भूकम्प प्रतिरोधात्मक घर हो । यो घर बनाउन ३० लाख रुपैयाँ खर्च भयो । गाउँमा भए यो घर निकै सस्तोमा बन्थ्यो ।


मलाई अस्पतालले डाक्टरको रूपमा चिनाएको छ भने यो घरको आफ्नै पहिचान छ, कसको घर भन्दा मेरो नाम आउँछ । यहाँ महानायक राजेश हमालदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसम्म आउनुभएको छ । तर, मलाई भाइरल घरको कारणभन्दा बिरामीको सेवा गर्ने चिकित्सकको रूपमा चिनिन पाउँदा खुसी लाग्छ ।