महोदय,
यो राम्रो सहरको तस्बिरमा
तिम्ले कति नराम्रो निर्मम
पीडाहरूको रंग लगाएका छौ,
त्यो हिसाबकिताब हुनुपर्छ ।
यो सुन्दर सहर निर्माण गर्दा तिम्ले
लुछेको भोका गाँसहरूले
कतिको सास चुँडाएका छौ ?
यो सडक जुन टिलिक्क देखिन्छ,
ती चमकदार सडक टल्काउँदा तिम्ले
भत्काएको झुप्रोहरूमा
कतिको वास निमिट्यान्न परेका छौ ?
त्यो सब हिसाबकिताब हुनुपर्छ ।
यो हरियाली सडकपेटीहरू सजाउँदा
तिम्ले बीभत्स लुछेका भूमिले
कतिका निद्रा खलबल्याई उजाड बनाएका छौ ?
यो नमुना नगरी बनाउन तिम्ले
निर्मम खोसेको अस्तित्व,
इतिहासमा विलीन मानवताले
कतिका सपनाहरू तिलाञ्जली चढाएका छौ ?
त्यो सब हिसाबकिताब हुनुपर्छ ।
यो सुविधासम्पन्न सहर स्थापनार्थ
तिम्ले बिर्सेका दायित्वमा अनदेखा भई
अनुपस्थित उद्घोष गरिएका अधिकारहरूले
कतिको शरीर शक्ति
निरर्थक प्रमाणित गराएका छौ ?
तिम्रो ‘कु’मा आधारित
‘सु’शासन प्रचलनमा तिम्ले
अन्धाधुन्ध चलाएका निरंकुश कानुनले
मानहानिमा परेका
कतिका मुद्दाहरू लाचार साबित गराएका छौ ?
त्यो सब हिसाबकिताब हुनुपर्छ ।
यो समृद्ध तिम्रो मुलुक घोषणा गर्न तिम्ले
चलाएका दानवी पाइलाहरूले
घाइते परेको मनोबलहरूमा
कतिका भरोसाहरू विचलित तुल्याएका छौ ?
यो महल जुन पुँजीपतिको मात्र हो,
त्यो महललाई सानदार बनाउँदा तिम्ले
दलेको स्वर्ण लेपनले सोसेका रगतहरूमा
कतिका आशाहरू बगाएका छौ ?
त्यो सब हिसाबकिताब हुनुपर्छ ।
हो,
यो ‘तिम्रो’ राम्रो सहरको तस्बिरमा तिम्ले
कति नराम्रो पीडाहरूको रंग लगाएका छौ
त्यो सब सब हिसाबकिताब हुनुपर्छ