• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
राजु स्याङ्तान
२०७९ माघ ७ शनिबार ०९:१९:००
समाज

जंगल खोस्यो, जमिन खोस्यो : अहिले बस्ती खोस्दै छ

डाँडागाउँको इतिहास दुई सय वर्षभन्दा पुरानो देखिन्छ । त्यो गाउँले भोक लाग्दा अन्न पाएन, बरु उल्टै राज्यले अन्न फल्ने जमिन खोस्यो । यो त्यही गाउँको भोगाइको कथा हो ।

२०७९ माघ ७ शनिबार ०९:१९:००
राजु स्याङ्तान

 

काठमाडौंको बूढानीलकण्ठमाथि शिवपुरी जंगलको बीचमा हेर्दा सेतो गुलावका थुंगाहरूजस्ता केही घर देखिन्छन् । तर, यो कथा ती घरहरूको होइन, घरले विस्थापित गरेको एउटा गाउँको हो । निकुञ्जको ‘बफरजोन’भित्र त्यो गाउँका बाटाहरूमा कहिलेकाहीँ ताम्बाहरू डम्फू बोकेर उकालो लाग्दै गरेका देखिन्छन्, कहिलेकाहीँ बोन्बोहरू ढ्यांग्रो बोकेर ओरालो झर्दै गरेका देखिन्छन् । सहर बनाएर फर्किएका च्याङ्बाहरू आर्मीको चेकपोस्टमा जेब्रा झोलाबाट ज्याबल र हथौडा निकालेर देखाउँदै गरेको पनि हेर्न सकिन्छ । नारायणथानबाट फर्किएका डोल्माहरू बासस्थानतिर उक्लिँदै गरेको पनि देख्न सकिन्छ । यति मात्रै कहाँ हो र, कहिलेकाहीँ घर फर्किँदै गरेका गाउँलेहरू बाँकटे हान्दै जंगलको बाटो उक्लिँदै गरेको पनि यदाकदा देख्न सकिन्छ । 


जंगलको बीचमा रहेको त्यो गाउँलाई कहिले कुहिरोले ढाकेको देखिन्छ, कहिले घामले स्पर्श गरेको देखिन्छ । सप्ताहन्तमा मन बहलाउन त्यहाँ उक्लिनेहरू डबकामा जाँड, स्टिलको ग्लासमा रक्सी अनि तामाङ सेलोका केही मर्मस्पर्शी धुनहरू बोकेर फर्किन्छन् । यो त्यही गाउँको कथा हो, जसलाई मानिसहरू डाँडागाउँ भन्छन् । डाँडागाउँको इतिहास दुई सय वर्षभन्दा पुरानो देखिन्छ । त्यो गाउँले भोक लाग्दा अन्न पाएन, बरु उल्टै राज्यले अन्न फल्ने जमिन खोस्यो । यो त्यही गाउँको भोगाइको कथा हो । 


उहिलेको डाँडागाउँ
दुई वर्षअघिको चिसो याम । धुलो र कुहिरोले काठमाडौं झनै चिसिएको थियो । बूढानीलकण्ठ नगरपालिका–५ स्थित डाँडागाउँमा निकुञ्जको चेकचाँज सकाएर अपराह्नतिर पुग्दा चिसो स्याँठ बेस्सरी चलिरहेको थियो । आर्मी क्याम्पको कालोपत्रे सडक सकिएर गाउँको बिग्रिएको बाटो सुरु भयो । बिग्रिएको बाटोले देवकी तामाङको आँगनलाई छोएको थियो । घरको छतमा लेखिएको थियो, ‘तामाङ होम स्टे ।’

 

सोनाम ल्होछार नजिकिँदै थियो । बूढापाका र केही तन्तेरीहरू पिँढीमा गफिरहेका थिए । कतै कामबाट लखतरान भएर आएजस्ता देखिने तन्नेरीहरू आँखा रिमरिम पार्दै डबकामा जाँड पिइरहेका थिए । ८३ वर्षे वृद्ध कृष्णबहादुर लामाले युवाहरूलाई जाँड धेरै नखान सुझाइरहेका थिए । कुराकानीका क्रममा कृष्णबहादुरले भने, ‘हामी ता हजुरबाको पालादेखि डाँडागाउँ बस्दै आको । दुई सय वर्ष बित्यो नि !’ उनले फेरि भने, ‘हामी आउनुभन्दा अघि यहाँ तामाङ बज्युहरूको राजा बस्थ्यो रे !’

 

कृष्णबहादुर लामा

डाँडागाउँमा तामाङहरूको ‘राज्य’ रहेछ । राजनीतिक सिद्धान्तले भन्छ– राज्य बन्न सैनिक, कानुन, भूगोल, जनता इत्यादि चाहिन्छ । त्यो कस्तो राज्य थियो ? त्यो राजाले आफ्ना गाउँवासीलाई शासन गथ्र्यो कि आक्रमण गर्न आएका वैरीहरूको प्रतिकार गथ्र्यो ? तामाङ सभ्यताका एक नायक चोहोलाई नै राजा भनेका हुन् कि ? मानवशास्त्री डा. मुक्तसिं लामाले तामाङका १२ वटा स–साना राज्यहरूको पहिले अस्तित्व रहेको बताएका छन् । अन्वेषक रवीन्द्र तामाङले चाहिँ ‘प्राचीन तामाङ राज्यहरू’ पुस्तकमा २८ वटा तामाङका स–साना प्राचीन राज्यहरू रहेको लेखेका छन् । पृथ्वीनारायण शाहको जगजगी सुरु भइसकेको समयमा काठमाडौंको काखैमा कस्तो तामाङ राज्य थियो ?


तर दुःखद पक्ष राजा थिए रे ! भन्नेबाहेक डाँडागाउँवासीसँग केही पनि प्रणाम छैन । केवल एउटा किंवदन्तीजस्तो घटना मात्रै डाँडागाउँवासीले सम्झिने गरेका छन् । त्यो सम्झना यस्तो छ– उहिले–उहिले ‘राजा’ र ‘राजकुमार’हरू शिवपुरि जंगलतिर सिकार खेल्न जान्थे रे ! सिकार खेल्दै–खेल्दै तल बेसीसम्म पुग्थे रे ! बेसीमा नेवारहरू आफ्नो खाजा (रक्सीसहित) आलीमा राखेर काम गर्थे रे ! बज्यु ‘राजा’ र ‘राजकुमार’हरू लुक्दैलुक्दै खेतका आलीमा पुगी खाजा चिरिप्प खाइदिन्थे रे ! त्यसपछि मात्दै, हाँस्दै, लड्दै उकालो लाग्थे रे ! 

सर्पले काँचुली फेरेजसरी काठमाडौंले छिटोछिटो आफ्नो चोला फेरिरह्यो । असनको भित्री आत्मा ‘आधुनिक’ व्यापारीहरूले कब्जा गरे । नेवारको रैथाने ज्ञान बजारले खर्लप्पै निल्यो । चोकको नाम फेरिएन, तर चोकको हर्ताकर्ता फेरियो । अनि डाँडागाउँका तामाङहरूले लगेको दाउरा बिक्न छाड्यो, डोको बिक्न छाड्यो ।


किसान नेवारहरू बज्यु ‘राजा’ र ‘राजकुमार’हरूको हर्कतले हैरान भएछन् । नेवार किसानलाई थाहा थियो, डाँडागाउँमा खानेकुरा नभएर चोर्न आएका थिएनन्, हामीलाई सताउन मात्रै आएका थिए । त्यसपछि उनीहरूले जुक्ति निकालेछन्– रक्सीको भाँडामा पिसाब फेरेर राख्ने । त्यो जुक्तिको जालमा बज्यु ‘राजा’ र ‘राजकुमार’हरू फसे । त्यसपछि किसान नेवारहरूलाई तामाङले सताउन छाडे । यता बज्युहरूको ‘राज्य’मा हाँसोको फोहोरा छुट्यो । वेलावेलामा बज्युहरूलाई जिस्क्याउने घटना बन्यो । त्यसपछि ‘राजा’ र ‘राजकुमार’हरू आलीको खाजा चोर्न कहिल्यै गएनन् ।


भनिन्छ, इतिहास मेटिँदै गएपछि उखानटुक्काहरूमा, कहावतहरूमा, किस्सा र किंवदन्तीहरूमा कतै कतै अल्झी बस्छन् । डाँडागाउँमा सायद यस्तै भयो ।लामाबाजेसँग बिदा मागेर बज्युका सन्तान खोज्दै गाउँ पसियो । ६५ वर्षीय वीरबहादुर बज्यु बाख्रा चराएर फर्किएका थिए । उनले भने, ‘जिजुबाजेभन्दा आगाडि नै हाम्रो पुर्खा पच्छिउँ(पश्चिम) ‘रौताल’, ‘फेउताल’बाट आका रे ! यहाँ आउँदा जंगल थियो रे ! फाँडेर बसेको रे !’ पुर्खाहरू आएको पश्चिम ‘रौताल’, ‘फेउताल’ भन्ने मात्रै सुने । त्यो ठाउँ कहाँ पर्छ, आजसम्म उनलाई थाहा छैन । कुन पुस्ता ‘राजा’ भएका थिए, त्यो पनि उनलाई थाहा छैन । उनलाई यति थाहा छ–गाउँलेहरूले वेलावेलामा ‘यो त राजाको सन्तान हो है नजिस्काऊ’ भन्छन् । अनि आलीको खाजा चोरेर खाएको किस्सा सम्झिँदै मानिसहरू मुसुमुसु हाँस्छन् । 

 

साइँली तामाङ

उनकी ७२ वर्षीया श्रीमती साइँली तामाङ भन्दै थिइन्, ‘उहिलेको पुरानो घरमा आगलागी भयो । केही पनि सामान निकाल्न पाएन ।’ त्यसवेला कागजपत्रसहित भएभरका दसी प्रमाणहरू जलेर नष्ट भयो । साइँली भन्छिन्, ‘घरभित्र खाना पकाउँदै गर्दा आगो लाग्यो ।’ तर एउटा प्रमाण भने अझै छ, त्यो हो शिलालेख । कृष्णबहादुरले भने, ‘छ नु त छ, तर काम गर्नेले ह्वाइट सिमेन्ट लगाइदेछ । आक्षर नै पुरियो ।’

 

कहाँ गए बज्युहरू ? 
डाँडागाउँमा बज्युहरूको सन्तान मुस्किलले दुई–तीन घर रहेछन् । बाँकी कहाँ गए ? कपन, बूढानीलकण्ठ आसपास पनि बज्युहरू छन् । तर, उनीहरू डाँडागाउँबाट आएका होइनन् । ‘राजा’ नै थियो भनेपछि त्यहाँ पक्कै एउटा गाउँ थियो । हुन सक्छ, त्यहाँ तामाङको चोहो अर्थात् मुख्य मान्छे बस्थ्यो । मानवशास्त्री लामा तामाङ थरमध्ये बज्युहरूको संख्या पनि निकै धेरै रहेको बताउँछन् । संख्या धेरै भएको कारण बज्युहरूको पनि प्राचीन ‘राज्य’ कतै न कतै हुन सक्ने सम्भावनालाई उनी नकार्दैनन् । त्यो एउटा ऐतिहासिक तामाङ गाउँ कसरी विलुप्त भयो ? कहीँ कतै प्रमाण छैन ।

 

वीरबहादुर बज्यु

२०० वर्षअघि ससुरालीले दिएको जमिनमा बस्न पुगेका थिङ, मोक्तान, स्याङ्तानहरूले बिस्तारै त्यहाँ गाउँको स्वरूप दिए । अहिले तामाङको मात्रै करिब ८० घर छन् भने दुई–चार मगर र क्षेत्रीका घर छन् । कहाँ गए पहिलोपटक जंगल फाँडेर बस्ने बज्युहरू ? उत्तर दिने कोही छैन । बज्युहरू डाँडागाउँमा बसिरहेकै समयमा पृथ्वीनारायण शाह गोर्खाबाट राज्य विस्तार गर्दै पूर्व बढ्दै थिए । नुवाकोट कब्जा त्यही समय (१८०१) मा भएको थियो । इतिहास अध्येता राजकुमार दिक्पालले इतिहासकार महेशराज पन्तलाई उद्धृत गर्दै ‘आदिवासी विद्रोहको इतिहास’ पुस्तकमा वि.सं. १८५० मा नुवाकोट लच्याङमा विद्रोह गर्ने एक हजार मुर्मी भोट्या (तामाङ) काटिए भनेका छन् । पुस्तकमा दिक्पालले नुवाकोटको नालदुममा पनि एक हजार नै तामाङ काटिएको लेखेका छन् ।

 

वि.सं. १८३४ देखि १८५५ सम्म रणबहादुर शाहले शासन गरेका थिए । रणबहादुरबारे प्रा.माणिकलाल श्रेष्ठले पंक्तिकारसँग भनेका थिए, ‘रणबहादुर शाहले तामाङ जतिलाई मार्नु भनेको थियो । त्यसपछि तामाङहरू भागेर थाइल्यान्डसम्म पुग्यो ।’ रणबहादुर शाहको शासनकाल र डाँडागाउँमा बज्युहरूको अस्तित्व रहेको समय मिल्छ । कहाँ गए त बज्युहरूको पुर्खा ? के रणबहादुर शाहको हुकुममा डाँडागाउँका बज्युहरू शिवपुरी जंगलमा एकै चिहानमा गाडिए ? वा नुवाकोट र लच्याङको विद्रोहमा सघाउन जाँदा उतै काटिए ? हामीसँग प्रमाण छैन । इतिहासको गुमनाम कुइनेटोमा त्यो सत्य पूरै विलुप्त भइसक्यो । श्रुति परम्पराको धागो छिन्यो । 


राजधानीका अधिकांश पुराना राणाकालीन दरबारहरू तामाङ श्रमिकहरूले बनाएका हुन् । मल्लकाल र त्यसभन्दा अघिका इमारतहरूमा तामाङको हाडछाला कति मिसिएको छ, खोतल्नै बाँकी छ । डाँडागाउँका तामाङहरूले कतिवटा दरबार बनाए ? कसलाई थाहा छैन । ८० वर्षयता घटेका घटनाहरू मात्रै डाँडागाउँवासीले भन्न सक्छन् । बितेका ८० वर्षमा राजधानीलाई टुलुटुलु हेरिरहेझैँ लाग्ने डाँडागाउँमा के–के उथलपुथल भयो ? 


जंगल खोस्यो अनि बारी खोस्यो
बज्युहरू पछि दुई सय वर्षभित्र डाँडागाउँमा पुगेका तामाङहरूसँग मनग्य जमिन थियो । घरहरू थपिँदै गयो । बेसी नारायणथानमा खेत, डाँडागाउँमा घरबारी । सिकारी युगको अवशेषजस्तो शिवपुरी जंगलतिर माहुरीको घारा खोजेर खानु, बच्छिउँ काढेर खानु अनि कहिलेकाहीँ एकफन्को याम्बु (काठमाडाैं) घुमेर आउनु उनीहरूको दैनिकी भइरह्यो । तल काठमाडौंमा कस्तो–कस्तो शासन चल्यो, कतिजना राजा भए, कतिजना देश निकाला भए, कतिजना मन्त्री फेरिए, डाँडागाउँले हेक्कै राखेन । तामाङहरूको काम उही थियो, राजधानीलाई चाहिने वेला सस्तो श्रमिकको रूपमा हाजिर हुनु अनि आफ्नै सुरमा रमाइरहनु ।


राणाशासनको उत्तरार्धतिर प्रधानमन्त्री जुद्धशमशेरका नाति क्षयरोग लागेर डाँडागाउँनजिकै लुकेर बस्न पुगे । उनी त्यहाँ केही महिना बस्दा वैद्यको उपचारले निको भए । त्यसपछि त्यो ठाउँमा क्षयरोग अस्पताल खोलियो । अस्पताल खुलेपछि बाटो खुल्यो । अस्पताल भएको ठाउँमा पछि आर्मीको कलेज खोलियो । पञ्चायतकाल सुरु भएपछि वि.सं.२०३२ सालमा सो क्षेत्रलाई जलाधार संरक्षण क्षेत्र घोषित गरियो । वि.सं. २०४० सालमा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्षण घोषणा गरियो र २०५८ सालमा ‘शिवपुरी राष्ट्रिय निकुञ्ज’ बनाइयो । २०६५ मा नागार्जुन क्षेत्रलाई समेत गाभेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामकरण गरियो । राज्यले जंगलको सुरक्षाको लागि अनेक संरचनाहरू बनायो, नीति र ऐनहरू बनायो, तर छेउमै बसिरहेका तामाङहरूबारे केही नीति बनाएन ।

 


संरक्षण क्षेत्र घोषणा गर्नुअघि तामाङहरू असन बजारमा दाउरा बेच्न जान्थे । ६० वर्षीया पातली तामाङ भन्छिन्, ‘उब्जनी धेरै नहुने । असनमा दाउरा बेचेर पिठो किनेर ल्याउँथ्यौँ ।’ ७२ वर्षीया साइँली तामाङ दाउराको भारी बोकेर असन बजार जाँदाका दिनहरू सम्झिन्छिन्, ‘वनपाले, पुलिसबाट बचेर दाउराको भारी असन बजार पुर्‍यायो । अनि पिठो किनेर ल्यायो । पुलिसले समायो भने दाउरा बोकेर जाने पनि भोकै, घरमा बस्ने पनि भोकै ।’


राज्यले वन्यजन्तु र जलाधारको ‘संरक्षण’ गर्‍यो । तर मान्छेलाई वास्ता गरेन । डाँडागाउँवासी र राज्यको बीचमा क्रमशः द्वन्द्व बढ्दै गयो । तामाङलाई थाहा थियो, कहाँनेर पाइन्छ माहुरी, कहाँनेर पाइन्छ च्याउ । बन्चरो, डोको बोकेर जंगल जान खोज्दा वनपालेले समाएर थुन्न थाल्यो । पुलिसले बन्दुक तेस्र्याउँदै भन्न थाल्यो, ‘जंगल छिसिक्क छुने होइन ।’ तर, भित्रभित्रै राणा र शाह खलकको दरबारमा सिकारीमार्फत कालिज, मृग, बँदेलहरू पुगिरह्यो । राणातन्त्र त फेरियो, तर जिब्राकोे स्वादतन्त्र फेरिएन । च्याउ खोज्न नपाइने, दाउरा टिप्न नपाइने, घाँस काट्न पनि नपाइने । याम्बु पुगेर आउँदा खुइय गरेर थकाइ मार्न पनि नपाइने । पाँच किलोमिटरको बाटो फटाफट उक्लेर गाउँ पुग्नुपर्ने । याम्बु जाँदा र आउँदा नागरिकता बोकेर हिँड्नुपर्ने । अब खुला आकाशमुनि डाँडागाउँका तामाङहरू बन्दी हुन थाले ।


निकुञ्ज बनेपछि त्यहाँको जनजीवन झनै कष्टकर भयो । जंगलको खास रखवाली त डाँडागाउँका तामाङहरूले नै गरिरहेका थिए । बन्दुकधारी आर्मीहरू खटिएर तामाङबस्तीलाई एकाएक ‘बफरजोन’मा परिणत गरिदियो । ‘बफरजोन’को कडा नियमभित्र अब डाँडागाउँवासी निसासिएर बाँच्न थाल्यो । निकुञ्जको सामाजिक पक्षबारे अध्ययन गर्न राज्यकै तर्फबाट सन् २००५ तिर मानवशास्त्री डा. लामा खटिएका थिए । उनी भन्छन्, ‘शिवपुरीलाई पानीको स्रोत मान्दै निकुञ्ज बनाइयो र शिवपुरीआसपासका धेरै गाउँ खाली गरियो । अधिकांश तामाङ गाउँहरू थिए । त्यसपछि रसियाबाट केही जोर बँदेल ल्याएर जंगलमा छाडियो । केही वर्षमै बँदेलको संख्या बढ्यो र किसानको बाली खाएर हैरान पार्न थाल्यो ।’ निकुञ्जवरपरका किसानको डोकोनाम्लो खोस्ने, थुन्ने, घोक्य्राउने अनगिन्ती घटना भएको मानवशास्त्री लामा सम्झिन्छन् ।


जब तामाङहरूको जंगल खोसियो, उनीहरू भोकै पर्न थाले । बेसीमा खेत हुनेले त जसोतसो जीविका चलाए, नहुनेहरू राजधानीमा सस्तो श्रमिकको रूपमा काम गर्दै बाँच्न थाले । ‘यहाँ बँदेलले मान्छे मार्‍यो भने कानुन लाग्दैन । मान्छेले बँदेल मार्‍यो भने कानुन लाग्छ,’ डाँडागाउँ निवासी शिक्षक दोर्जे तामाङ भन्छन्, ‘आफ्नै घर जान पनि पैसा तिर्नुपर्ने, नागरिकता देखाउनुपर्ने भयो । आर्मीहरूसँग हाम्रो झगडा हुन थाल्यो । हामीलाई झगडिया भोटे भन्न थाले । प्रकृति संरक्षण गर्नुपर्छ भन्नेमा हामी पनि छौँ । तर, महेन्द्रको पालामा बनेको वन ऐनबाट निकुञ्ज चलाउनु भएन ।’ 


जंगलबाट विमुख गराएपछि तामाङहरूले खेतीपातीमा जोड दिन थाले । तर, बाली जम्मै बँदेलसहित जंगली जनावरले खाने । जति नै खेती गर्दा पनि डाँडागाउँको आर्थिक स्थिति सुध्रिएन, झन्–झन् बिग्रिँदै गयो । रुग्ण हुँदै गरिबीतिर धकेलिन बाध्य तामाङबस्तीलाई आर्मी क्याम्पबाट अफिसरहरूले नियालिरहेका थिए । अब उनीहरू पैसा बोकेर गाउँ पसे । सस्तोमै जमिन किन्न थाले । तामाङहरूले सोचे, ‘बाली लगाऊँ, खान पाउँदैन । जंगल जाऊँ, जान दिँदैन ।’ त्यसपछि तामाङहरूले आर्मीका हाकिमहरूलाई धमाधम जमिन बेचे । साइँली तामाङ भन्छिन्, ‘रोपनीको दुई लाखमा निकुञ्जको जार्नेल कार्नेलले जमिन किन्यो ।’ वीरबहादुर भन्छन्, ‘हाम्रो सात रोपनी बारी निकुञ्जमा पर्‍यो । आसी हाजार रुप्पे दियो । जम्मै पैसा काँ हात पर्नु, ३० हाजार निकुञ्जको हामिकहरूले खायो, हाम्रो हातमा ५० हजार पार्‍यो ।’

लालबहादुरकी छोरी भन्छिन्, ‘तामाङ जाति सोझो । लोकल मान्छेको जग्गा धेरै छैन यतातिर । बेचेर सकिन लाग्यो । अरूले लोभ देखाउँछ, अनि तामाङले जग्गा बेचिहाल्छ ।’ उनले थपिन्, ‘मैले सम्झिँदासम्म बुवाको पालामा आठ रोपनी बारी थियो, तीन रोपनी खेत । अहिले बुबाको नाममा ६ आना जमिन बाँकी छ ।’ लालबहादुर भन्छन्, ‘बँदेलले मकै उल्कै खाने, कुर्न साकेना । ५० सालतिर आठ रोपनी जग्गा चार लाखमा बेचेको ।’ 


त्यसपछि खेत पनि खोस्यो
समय बितिरह्यो । खुला आकाशमुनि तामाङहरू बन्दी भइरहे । उनीहरूको जीवन कष्टकर हुँदै गयो । कष्टबाट उन्मुक्ति पाउने आशामा पटक–पटक बूढानीलकण्ठ ओर्लिए, भोट हाले, डाँडा उक्लिए । तर, उन्मुक्ति पाएनन् । पाए त केवल आश्वासन । पञ्चायतको सुरुवातताका नारायणथानतिर धेरै तामाङका खेत थिए । उनीहरू त्यहीँको खेतमा उब्जनी भएको अन्नले जीविका चलाउँथे । जब भ्याकुता फुलेझैँ सहर फुल्दै गयो, नारायणथानको तामाङको खेत हराउँदै गयो । ८० वर्षीय लालबहादुर तामाङ भन्छन्, ‘पहिले–पहिले घरैपिच्छेको खेत थियो, नारायणथानमा । आहिले सबैले बेच्यो ।’

 

जंगल खोसियो, यो क्रम यतिमा मात्रै सीमित रहेन । अब बेसीको खेत पनि खोसिने क्रम सुरु भयो । पाँच किलोमिटर तल वि.सं. २०२८ सालमा बूढानीलकण्ठ स्कुल खोलियो । । सुरुमा त्यो स्कुल खोल्दा तामाङहरूलाई निकै ठुल्ठूलो सपना देखाइयो । खेतछेउमा ठूलो स्कुल खुल्ने भएपछि तामाङहरूको खेतको भाउ बढ्यो र कतिपयले बेचे । स्कुलसँगै सडक विस्तार भयो । सडकबाट भित्र ठकुरीको जमिन, रोडछेउमा तामाङको जमिन । तामाङलाई ठकुरीले फकाइफुल्याइ जमिन साट्यो । ठकुरी रोडछेउमा घर बनाएर बस्यो । तामाङ विस्थापित भयो ।

 


स्थानीयको सात सय रोपनी जमिन किनेर ब्रिटिस र नेपाल सरकारले स्कुल बनायो । दोर्जे भन्छन्, ‘सबै तामाङहरूको जमिन थियो । मालपोतमा पुरानो ढड्डाहरू पल्टाउँदा बूढानीलकण्ठ स्कुल भएको सबै जमिन तामाङहरूको नाममा देखाउँछ । शतप्रतिशत तामाङहरूको खेतमाथि स्कुल खुलेको भन्दा फरक पर्दैन ।’ स्कुलमा हजारौँ दीक्षित भएर कहाँ–कहाँ पुगे, तर आधा शताब्दी बितिसक्दा पनि स्कुल बन्दा जमिन गुमाएका तामाङहरू भने जहाँको त्यहीँ । ‘सुरुमा ठूलो आशा देखाइयो, तर हाम्रै जमिनमा स्कुल बनेपछि हामीलाई पर्खालमा समेत छुन दिएन,’ दोर्जे आक्रोशित हुँदै भन्छन्, ‘स्कुलछेउको हाम्रो मान्छेहरू डाक्टर, इन्जिनियर, पाइलट, साहित्यकार हुनुपर्ने होइन, खै त ? हाम्रो लागि त यो स्कुल कागलाई बेल पाक्यो हर्ष न विस्मात ।’ अघिल्लो स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बल्ल दुईजना स्थानीय बालबालिका स्कुलमा भर्ना भएका छन् । 


जंगल खोस्यो, बारी खोस्यो, खेत खोस्यो, सबथोक खोसेपछि राज्यले गरिबी भगाउने उपाय सुझायो, रासायनिक मल । रासायनिक मलका बोराहरू डाँडागाउँमा खन्याइयो । डाँडागाउँवासी सम्झिन्छन्, ‘देसी मल आएपछि यत्रो–यत्रो घोगा मकै फल्न थाल्यो ।’ घरबारीमा मकै लगाए । अनि बँदेलबाट बचेको अन्नबाट जसोतसो गुजारा चलाउन थाले । तर, त्यो मलले माटोको उर्वराशक्ति मार्दै लैजानेबारे कसैले चिन्ता गरेनन् । डाँडागाउँवासीका लागि गाँसको सवाल थियो, राज्यका लागि सत्ताको सवाल थियो ।


गणतन्त्रपछि डाँडागाउँ
यता डाँडागाउँवासीको एकपछि अर्को कष्ट र शासनाको ग्राफ बढिरहँदा उता याम्बुतिर चाहिँ गणतन्त्र आयो । रेडियो–टिभीमा हेर्दै डाँडागाउँवासीले सम्झिए, कैयन्पटक जुलुसमा हिँडेको, नेताको भाषण सुनेको । गणतन्त्र आएपछि डाँडागाउँवासीले आशा गरे । अब त पक्कै आर्मीहरूको शासनाबाट मुक्ति पाइन्छ, फेरि जंगल जान पाइन्छ, हाम्रो भूमि लुटिन रोकिन्छ । 


याम्बुमा गणतन्त्र आएको एकाध वर्षपछि ‘समाजसेवी’, ‘जनप्रतिनिधि’ भूमाफियाजस्ता देखिने छ्यासमिसे मान्छेहरूले डाँडागाउँमा अड्डा जमाएर बस्न थाले । उनीहरूले भने, ‘अब यो गाउँमा ठूलो विकास हुन्छ ।’ गाउँलेहरूले सोधे, ‘कस्तो विकास ?’ उनीहरूले भने, ‘अब यहाँ ठूलो रिसोर्ट बनाउनुपर्छ । काठमाडौंबाट मान्छेहरू यहाँ बस्न, घुम्न आउँछन् । अनि यहाँको आर्थिक अवस्थामा कायापलट हुन्छ ।’ डाँडागाउँवासीले फेरि सोधे, ‘तर रिसोर्ट बनाउनेचाहिँ कहाँ ?’ उनीहरूले भने, ‘गाउँको बीचमा । अब तपाईंहरूले जमिन बेच्नुपर्छ, अनि मात्रै गाउँमा विकास आउँछ ।’ 

 

 

राज्यले जंगल, बारी, खेत लुटी नै सकेको थियो, अब बाँकी रहेको घरबारी लुट्न फेरि भूमाफियाहरू पुगे । उनीहरूले आश्वासन दिएर गएका कैयौँ रात तामाङहरू अनिँदै बसेर सल्लाह गरे । अब के गर्ने ? कसैले भने, ‘बालीसमेत खान नपाइने डाँडाकाँडा बेचौँ, रिसोर्टबाट पैसा कमाएर फेरि जमिन किनौँ ।’ कसैले भने, ‘हुँदैन । कसले चलाउँछ रिसोर्ट ? को बन्छ त्यसको मालिक ? यो सबै हामीलाई उठिबास गराउने षड्यन्त्र हो ।’ अन्ततः तामाङहरूले बाध्य भएर रिसोर्टका लागि भकाभक जमिन बेचे । तामाङहरूले केही वर्षमै पाँचवटा रिसोर्टका लागि ८० रोपनीभन्दा धेरै जमिन बेचे । रिसोर्टसँगै गुम्बा पनि थपियो ।


रिसोर्ट खुलेपछि डाँडागाउँको दैनिकीमा एकाएक बदलाव आउन थाल्यो । त्यो बदलाव तामाङको पक्षमा थिएन । रिसोर्ट मालिक तामाङहरू भएनन् । बरु आफैले बेचेको जमिनमा ठडिएको रिसोर्टमा भाँडा माझ्न, पाले बस्न पनि भनसुन गर्नुपर्ने भयो । तामाङहरू वेटर, सेक्युरिटी गार्ड, भाँडा माझ्ने, हाउस किपिङ, कुक यस्तै यस्तै काममा सीमित भए । 


वीरबहादुर बज्युको घरबारीदेखि पश्चिमपट्टि गुम्बा बनाइयो । गुम्बा त बन्यो, बाटो छैन । वीरबहादुरलाई ‘धर्म हुन्छ गुम्बालाई बाटो दिनू’ भन्दै फकाइयो । धर्म हुने आशामा वीरबहादुरसहित अन्य तामाङले बाटोका लागि जमिन दिए । तर, अहिले गुम्बाको खबर सुनेर वीरबहादुरको परिवार चकित भएको छ । उनीहरूले बजारको दुनियाँमा अनेक थोक बिक्री हुन्छ भन्ने सुनेका थिए । तर, आजसम्म मठमन्दिर, देवालय, मदरसा बिक्री भएको कहीँ कतै सुनेका थिएनन् । तर डाँडागाउँमा अनौठो घटना भयो । एकदिन गुम्बामा पढ्ने बालकले साइँली तामाङलाई भने, ‘हामी त अब यहाँबाट अन्तै जाँदै छौँ माम्(हजुरआमा) ।’ साइँलीले थाहा पाए, गुम्बा होटेललाई बेचिएछ ।

 

 

धर्मको आशामा गुम्बालाई जमिन दिए, अब उनले दिएको बाटोमा भिक्षुहरू होइनन्, होटेलका आगन्तुकहरू हिँड्नेछन् । होटेलले अझै जमिन माग्ने पो हो कि ? साइँलीको परिवार चिन्तित छ । दोर्जे भन्छन्, ‘गुम्बा बनाउने भनेर तामाङबाट सस्तोमा जग्गा किन्ने अनि पछि बेच्ने । यो धर्मको नाममा भूमाफियाहरूले गरेको दलाली हो ।’

डाँडागाउँमा गणतन्त्र यस्तै–यस्तै स्वरूपमा आयो । कहिले रिसोर्ट मालिक बनेर आयो, कहिले गेरुवस्त्र पहिरिएर आयो ।

 

विकास कि विनाश ?


७२ वर्षीय हरिबहादुर तामाङ भन्दै थिए, ‘८० घर तामाङमध्ये मुस्किलले १५ घरजतिले डाँडाको जमिन बेचेर नारायणथानमा घर बनाएका छन् । अलि धेरै परिवार घरघरेडीमा खुम्चिएका छन् । बाँकी कोही हेटौँडातिर बसाइँ सरे, कोही धादिङतिर गए ।’ लालबहादुर तामाङ भन्दै थिए, ‘जमिन बेचेर मोटरसाइकल किन्ने पनि छन् । नकिनोस् पनि किन । पाँच किलोमिटरको उकालोओरालो दिनहुँ हिँड्नुपर्छ । जंगलको बीचमा आर्मीले बस चल्न दिँदैन । ट्याक्सीले ६ सय लिन्छ । ‘पठाओ’ले दुई सय लिन्छ ।’ 

हरिबहादुर तामाङ


डाँडागाउँवासी वेलावेला अन्योलमा पर्छन् । विकास नभएको भनौँ भने गाउँमा पाँचभन्दा धेरै रिसोर्ट खुलेका छन् । आफू चढ्न नपाए पनि थरी–थरीका गाडी आँगनमै आइपुग्छन् । सप्ताहान्तमा त गाडी राख्ने ठाउँ नै हुँँदैन । यस्तो पनि लाग्छ, सिंगै याम्बु उर्लिएर डाँडागाउँमा खनिएको छ । उहिले–उहिले याम्बुमा दरबारहरू बनाउन जानुपथ्र्यो । वीरबहादुरको जेठो दाइ र अरू गाउँले दैनिक पाँच सुकामा नारायणहिटी बनाउन गएको हिजै जस्तो लाग्छ । अहिले आँगनमै काम पाइन्छ । 


तर डाँडागाउँवासी वेलावेला फेरि सोचमग्न हुन्छन् । खै त हाम्रो खेत ? खै त हाम्रो बारी ? खै त हाम्रो जंगल ? खै त हाम्रो म्हाने ? खै त छ्योर्तेन ? खै त डम्फु ? त्यो विगत आँखामा केवल झझल्को बनेर उभिन आइपुग्छ, अनि रातभरि ऐंठन बनेर बसिरहन्छ । सिंगै पाखाभरि गाउँलेहरू छरिएर नाच्दै गाउँदै कस्तरी बिहे गरिन्थ्यो । बारीका कान्लाहरूमा गुन्द्री बिछ्याएर लहरै बसी कस्तरी चाडपर्व मनाइन्थ्यो । ताम्बाहरू डम्फु बचाउँदै कस्तरी भाका हालेर गीत गाउँथे । डाँडागाउँमा पसेको ‘राज्य’ले जंगल खोस्यो, माटो खोस्यो, संस्कृति, खोस्यो, राजनीति खोस्यो, एकएक गरी सबै खोस्यो । साइँली तामाङ भन्छिन्, ‘उहिले–उहिले जता हे¥यो, आफ्नै मात्तरै बारी । हेर्दाहेर्दै तामाङहरूले जमिन बेचेर साकायो । आइले त घेवा गर्न आँगनसमेत छैना ।’


छुट्यो नेवार–तामाङ सम्बन्ध
अध्येता राजनलाल जोशी ‘राष्ट्रिय तामाङ पुस्तकालय’को प्रकाशोन्मुख मुखपत्र ‘सेङ्तेन’मा लेख्छन्, ‘भाषिक धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं राजनीतिक रूपमा पनि नेवार र तामाङबीच एकआपसमा सहयोग र सहसम्बन्ध छ ।’ उनी दुई समुदायको २१० शब्दमध्ये ३८ वटा शब्दबीच निकटतम सम्बन्ध रहेको बताउँछन् । जस्तै– दाउरालाई नेपाल भाषामा सिँ भनिन्छ भने तामाङ भाषामा सिङ भनिन्छ । उनका अनुसार साँखुको वज्रयोगिनी जात्रापछि खटलाई पहिलेकै स्थानमा तामाङ समुदायले पुर्‍याउँछन् । यति मात्रै होइन, तामाङहरूले नेपाल खाल्डोमा कागज भित्र्याएपछि यहाँको इतिहास एवं वाङ्मय लेखनमा व्यापकता आएकोसमेत भनेका छन् । उनी लेख्छन्, ‘हालको नेपाली कागज बनाउने कार्य गर्दै आएका तामाङहरूले कागज भित्र्याउनुअघि काठमाडौंको नेवारहरूले रुखको पात वा बोक्रामा निकै यत्नसँग लेखन गरी आएका थिए ।’ 


सहरको अस्वाभाविक वृद्धिले दुई समुदायलाई नदीको किनारले अलग्याएजसरी अलग्याउँदै लग्यो । दक्षिणतिर हेर्दै पातली तामाङ भन्छिन्, ‘उहिलेको असन बजारको नेवारहरू अहिलेता काँ पुग्यो होला खोइ ?’ नोटभन्दा वस्तु विनियम गर्ने चलन चलेका वेला तामाङ र नेवारबीच मित्रता झाँगिएको थियो । जंगलमा पाइने सामान तामाङहरूले लिएर जाने, बजारमा पाइने सामान नेवारले दिएर पठाउने । तामाङले बजार नचिनेको, नेवारले जंगल नचिनेको । एकअर्कामा वस्तु साटासाट गरी जीविका चलाएका थिए, समाज चलाएका थिए । संस्कृति आदानप्रदान गरेका थिए । एउटा उदाहरण नेवारले खाने क्वाँटी डाँडागाउँमा पुग्दा कोक्टी भएछ । अस्ति माघे संक्रान्तिको दिन डाँडागाउँ पुग्दा देवकी तामाङ भन्दै थिइन्, ‘कोक्टी खाएर जानू है ।’


सर्पले काँचुली फेरेजसरी काठमाडौंले छिटो–छिटो आफ्नो चोला फेरिरह्यो । रूप र रंगमा उस्तै देखिए पनि असन, इन्द्रचोकको आत्मा फेरियो । असनको भित्री आत्मा कथित आधुनिक व्यापारीहरूले कब्जा गरे । नेवारको रैथाने ज्ञान बजारले खर्लप्पै निल्यो । चोकको नाम फेरिएन, तर चोकको हर्ताकर्ता फेरियो । अनि डाँडागाउँका तामाङहरूले लगेको दाउरा बिक्न छाड्यो, तामाङले बुनेको डोको बिक्न छाड्यो । समयको लामो अन्तरालमा नेवार र तामाङको बीचमा कथित आधुनिकता, उत्तरआधुनिकता, विकास, समृद्धि अरू पनि के–के हो के–के घुस्रियो । दुई समुदाय भेटघाट गर्ने थलोहरू हराए । बौंचा र च्याङ्बाहरू भेट्ने थलो मासिए । मैचा र मैच्याङहरू भेट्ने चौतारीहरू उखेलिए । नेवार असनबाट विस्थापित भई रिङरोडवरपर आइपुग्यो । रिङरोडवरवरका तामाङ काँठको फेदीमा पुगे । नेवार काँठको फेदीमा आइपुग्दा तामाङ याम्बुका डाँडाहरूमा पुगे । अब त्यहाँबाट पनि कहाँ हिँड्नुपर्ने हो, तामाङहरूको अगाडि न विकल्प छ, न गन्तव्य ।


सताउने नै सही, अब उहिले उहिलेका ‘राजा’ र ‘राजकुमार’हरूले नेवारको खेतबाट खाजा चोरेर खाने छैनन् । अब न नेवारसँग उहिलेकोजस्तो खेत छ, न तामाङलाई सिकार खेलिहिँड्ने जंगल नै छ । असनको नेवारका लागि असन नै बिरानो भइसक्यो । डाँडागाउँको तामाङका लागि आफ्नै थलो पराया भइसक्यो । सायद त्यसैको प्रभाव त होला, खोकनाको नेवार लड्दा नगरकोटको तामाङले उठाउन आउँदैन, शंखरापुरको तामाङ लड्दा बुङमतीको नेवारले हात दिँदैन ।

उठ्दै छ गाउँ
रेडियो, टिभीमा मेलम्चीको पानी काठमाडौंमा आयो रे भन्ने सुनेपछि डाँडागाउँका बुढापाका तल याम्बुतिर हेर्छन्, अनि भन्छन्, ‘पानीको सोरोत भानेर हामीलाई लेखेटेर जंगल जोगाको होइना, खोइ त पानी खाको । मेलम्चीबाट पो ल्याको छा रे ता ।’


हेर्दा शान्त देखिन्छ, डाँडागाउँ । तर, मनमा निकै ठूलो पीडा बोकेर याम्बुलाई हेरिरहेको छ । डाँडागाउँले अहिले पीडा पोखेको छैन । बाहिर हेर्दा शंखरापुरमा जस्तो आन्दोलित छैन, तर भित्रभित्रै अब नझुक्ने अठोट गर्दै छ डाँडागाउँ । त्यसैको उदाहरणस्वरूप अब जमिन नबेच्ने, बरु होम स्टे चलाउने भन्दै आमा समूह सक्रिय छ । हँसिलो चेहेरा बोकेर देवकी पाहुनालाई हरदम स्वागत गरिरहन्छिन् । मानिसहरू रिसोर्टहरूमा होइन, होम स्टेहरूमा बसाउन के उपाय लगाउने होला, सोचिरहिन्छन् ।

 

तस्बिरहरु : दर्शन लामा
​​

आमा समूहले आइन्दा डाँडागाउँलाई झुक्न नदिने अठोट गर्दै छ । महिलाहरू घरघरमै किराना पसल चलाएर आत्मनिर्भर हुने कोसिस गर्दै छन् । डाँडागाउँका छोरीहरू छोराहरूभन्दा उच्च शिक्षा पढ्ने धेरै छन् । 


जति झुकाए पनि, जति लखेटे पनि डाँडागाउँले याम्बुसँग पटक–पटक प्रतिरोध गरिरह्यो । त्यो प्रतिरोध आज पनि जारी छ । दोर्जे तामाङ अब यो डाँडाबाट कोही पनि उठिबास हुनुहुँदैन भन्दै कस्सिएका छन् । उनले कुनै पनि तामाङलाई उप्रान्त जमिन नबेच्न सल्लाह दिएका छन् । विस्थापित भएर बाँकी रहेका घरहरू मिलेर सामूहिकतामा केही नयाँ गर्ने योजनामा छन् । प्रतिरोध यतिमा मात्रै सीमित छैन, सांस्कृतिक कर्ममा पनि जारी छ । दोर्जे भन्छन्, ‘याम्बु देखेको कोम्हेन्दो (टोटोलाको फूल) पुर्खाका लागि अशुद्ध थियो, हाम्रा लागि पनि अझै अशुद्ध छ ।’