• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिपेन्द्र ढुंगाना
२०७९ माघ ७ शनिबार ०८:४७:००
समाज

सुख पर्खिरहेका फूलकुमारीहरू

२०७९ माघ ७ शनिबार ०८:४७:००
दिपेन्द्र ढुंगाना

हँसिलो अनुहार, सबैसँग बोलिरहने मिलनसार बानी फुलकुमारी श्रेष्ठको परिचय हो । उनी भक्तपुरस्थित जगातीमा रहेको चाइनिज इँटा भट्टामा काम गर्छिन् । उमेरले पाँच दशक पार गरेकी फुलकुमारीले २० वर्षदेखि इँटा भट्टामा काम गर्दै आएकी छिन् । पाँच छोरीकी आमा फुलकुमारीलाई परिवार धान्ने जिम्मेवारी छ । उनका श्रीमान् घर–व्यवहार हेर्दैनन् । जाँडरक्सी खाएर हिँड्ने हुँदा घरको सम्पूर्ण जिम्मेवारी फुलमाया एक्लैको काँधमा छ । छोरीहरू सानो हुँदा इँटा भट्टामा आमालाई सघाउन आउँथे । अहिले छोरीहरू आफैँ जागिर गर्ने भएका छन् । 


फुलकुमारीले इँटा भट्टामै काम गरेर छोरीहरूलाई हुर्काइन्, बढाइन् र पढाइन् । चार छोरीको विवाह नै भइसक्यो । एउटी छोरी अहिले पढिरहेकी छिन् । पढिरहेकी कान्छी छोरीको स्वास्थ्य अवस्था राम्रो छैन । छोरीको बिग्रँदो स्वास्थ्य अवस्थाले फुलकुमारीलाई सताउँछ । २२ वर्षे छोरीलाई मुटुको रोग छ । त्यसैले केही भइहाल्छ कि भनेर फुलकुमारीलाई चिन्ता लागिरहन्छ । स्वास्थ्य समस्या भए पनि कान्छी छोरी निजी विद्यालयमा पढाउँछिन् । उनी आफू भने ख्वप कलेजमा अध्ययनरत छिन् ।


काम गर्दै आएको इँटा भट्टा पनि बन्द हुने खबरले उनलाई झन् चिन्ता थपिदिएको छ । दुई दशकदेखि काम गरेको इँटा भट्टामा उनी तीन वर्षअघि मात्रै स्थायी भएकी थिइन् । चिन्तित हुँदै भन्छिन्, ‘अब अर्काे भट्टामा गएर काम गर्ने आँट पनि छैन, तागत पनि छैन ।’


हँसिलो अनुहारभित्र फुलकुमारीको पीडा लुकेको छ । त्यो पीडा सबैलाई पोख्दिनन् । पोखेर पनि केही नहुने देख्छिन् । त्यही भट्टामा काम गर्दा केही वर्षअघि फुलकुमारीको खुट्टा भाँचियो । खर्च नभएर पूर्ण उपचार गर्न पाइनन् । अहिले उनको खुट्टा दुखिरहन्छ । भन्छिन्, ‘चिसो सुरू भएदेखि गोडा दुख्न थाल्छ, उपचार गर्न पैसा छैन ।’ 


उनका श्रीमान् भने अहिले गाउँमा बस्दै आएका छन् । केही वर्ष पहिले उनका श्रीमान् पनि इँटा भट्टामै काम गर्थे । ‘कमाएको सबै पैसा रक्सी पिएर सकाउने, काममा पनि नआउने, जागिर छाड्यो उसले । छोरी मात्रै पाको भनेर घरपरिवारले धेरै हेला गर्‍यो,’ फुलकुमारी भन्छिन् । परिवारमा छोरा छैन, कसका लागि जोगाउने सम्पत्ति भन्दै उनका श्रीमान्ले कमाएको पैसाले रक्सी खाएर सकाएको फुलकुमारी बताउँछिन् । तर, फुलकुमारीलाई भने छोरा नभएकोमा गुनासो छैन । ‘कान्छी छोरीको उपचार गरेर बिहे गरिदिन पाए मेरो जिम्मेवारी सकिन्थ्यो,’ उनी भन्छिन् ।


उपत्यकामा सञ्चालित इँटा भट्टाहरूमा सयौँ, हजारौँ फुलकुमारीहरू छन् । उनीहरू विभिन्न जिल्लाबाट आएर पुसको ठिहीमा इँटा बनाइरहेका छन् । न्यून आय भएका फुलकुमारीहरूले बनाएको इँटाबाटै सहरले मुहार फेर्छ । तर, फुलकुमारीहरूको मुहारको दुःख दशकौँ बित्दा पनि फेरिएको छैन । उनीहरू आफ्नो जीवनकालमा सुखको सास फेर्ने दिन पर्खिरहेका छन्