• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मारिया चेङ
२०७९ माघ १४ शनिबार ०९:०५:००
अनुवाद

क्यानडामा इच्छामृत्यु : विपक्षमा मानव अधिकारवादी, पक्षमा राज्य र अस्पताल

बहस

२०७९ माघ १४ शनिबार ०९:०५:००
मारिया चेङ

 

गत वर्ष क्यानडामा दश हजारले इच्छामृत्युबाट मृत्यु रोजे, यो क्रम बढ्दो छ 

 

एलन निकोल्सलाई विगतमा डिप्रेसन र अन्य चिकित्सा समस्या थिए, तर तीमध्ये कुनै पनि प्राणघातक थिएन । ६१ वर्षीय निकोल्सले आत्महत्या गर्न सक्ने डरले परिवारजनले उनलाई सन् २०१९ जुनमा अस्पताल भर्ना गरिदिए । त्यसवेला निकोल्सले भाइको हात समाएर आफूलाई ‘त्यहाँबाट सकेसम्म चाँडै बाहिर निकाल्न’ अनुरोध गरेका थिए । एक महिनापछि अस्पतालले निकोल्सले इच्छामृत्युको आवेदन दिएको जानकारी दियो । निकोल्सको परिवार र उनलाई हेरिरहेका नर्सको विरोधका बाबजुद उनले दिएको इच्छामृत्यु कार्यान्वयन गरियो । इच्छामृत्युका लागि दिइएको आवेदनमा निकोल्सले जिउन नसक्ने कारणमा केवल एउटा स्वास्थ्य समस्या पेस गरेका थिए : श्रवणशक्तिमा ह्रास । 

 

निकोल्सको परिवारले यस प्रकरणविरुद्ध प्रहरी र स्वास्थ्य नियमन निकायमा मुद्दा दायर गरेका छन् । तिनको तर्क छ, इच्छामृत्युका लागि उपयुक्त हुनुपर्ने दुई मापदण्डहरू स्वास्थ्य समस्या असहनीय हुनुपर्ने र उनमा इच्छामृत्यु के हो त्यसको प्रक्रिया बुझ्ने क्षमता हुनुपर्ने हुन्छ, तर निकोल्समा यस्तो अवस्था थिएन । निकोल्सको कानको समस्या प्राणघातक नभएको र ‘कोक्लियर प्रत्यारोपण’ गरेपछि श्रवणशक्ति पुनस्र्थापित हुने परिवारको दाबी छ । परिवारका सदस्यले अस्पतालका कर्मचारीले अनुचित रूपमा उनलाई इच्छामृत्यु गर्न प्रेरित गरेको पनि आरोप लगाएका छन् । ‘एलन निकोल्सलाई जे गरियो, त्यो मृत्युदण्ड हो,’ उनका भाइ ग्यारी निकोल्सले भने । 

 

शारिरिक अशक्ततासम्बन्धी विज्ञहरू निकोल्सको घटना एक्लो नभएको बताउँछन् । यस्तो प्रवृत्ति बढ्दै गएकोमा उनीहरू चिन्तित छन् । क्यानडामा संसारमै खुकुलोमध्ये एक इच्छामृत्यु कानुन अवलम्बन छ । कुनै चिकित्सकीय समस्या नभए पनि गम्भीर शारीरिक अपांगता भएका व्यक्तिलाई मारिने छनोट राखिदिएको छ ।

 

धेरै क्यानडालीहरू इच्छामृत्युलाई समर्थन गर्छन् । अधिकारवादी समूह ‘डाइङ विद डिग्निटी’का अनुसार इच्छामृत्युको प्रक्रिया ‘करुणा, पीडा तथा भेदभावको अन्त्य र व्यक्तिगत स्वायत्तताको चाहनाद्वारा प्रेरित भएको’ बताउँछ । तर, कैयौँ मानवअधिकारकर्मी भने क्यानडाको इच्छामृत्यु कानुनले आवश्यक सुरक्षा व्यवस्थालाई बेवास्ता गरेको, अपांग व्यक्तिहरूको जीवनलाई अवमूल्यन गरेको आरोप लगाउँछन् । साथै कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीले यस प्रक्रियाबाट अनभिज्ञ वा सोचै नभएका बिरामीलाई समेत यसलाई अवलम्बन गर्न प्रेरित गर्ने गरेको अधिकारकर्मीहरूको आरोप छ । 

 

पर्याप्त सरकारी सहयोग पाउन नसक्ने आर्थिक रूपमा कमजोर मानिसले समेत यस प्रक्रियामा निवेदन दिनु यसको अर्को गम्भीर पक्ष रहेको पनि अधिकारकर्मीले बताएका छन् । इच्छामृत्यु प्रणालीमाथि छानबिन तथा पुनः मूल्याकंन गर्नुपर्नेमा उल्टो अर्को वर्ष क्यानडाले इच्छामृत्युको पहुँच थप विस्तार गर्ने तयारी गरेकोमा यसमाथि प्रश्न उठाउने अधिकारकर्मीले विरोध जनाएका छन् ।

 

‘क्यानडाले आफ्नो मानवअधिकार दायित्व पूरा गर्न नसकेको स्थितिमा विकल्पमा इच्छामृत्युलाई राख्न कदापि सक्दैन,’ क्यानडाको मानवअधिकार आयोगकी प्रमुख म्यारी–क्लाउड ल्यान्ड्रीले भनिन् । गत वर्ष संयुक्त राष्ट्रसंघका तीन मानवअधिकारवादी विज्ञले यस विषयमा पत्र लेख्दै क्यानडाको इच्छामृत्यु कानुनले मानवअधिकारको विश्वव्यापी घोषणाको उल्लंघन गरेको आशंका व्यक्त गरेका थिए । उनीहरूले इच्छामृत्युसम्बन्धी कानुनले अपांग व्यक्तिप्रति ‘विभेदपूर्ण प्रभाव’ गरेको दाबी गरेका छन् । साथै अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डहरू कायम राख्ने क्यानडाको दायित्वसँग असंगत रहेको तिनको भनाइ छ । मानवअधिकार आयोगकी प्रमुख ल्यान्ड्रीले संयुक्त राष्ट्रसंघका अधिकारीको जस्तै ‘गम्भीर चिन्ता’ आफूमा पनि उठेको बताइन् । 

 

‘युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया’अन्तर्गतको ‘क्यानेडियन इन्स्टिच्युट फर इन्क्लुजन एन्ड सिटिजनसिप’का निर्देशक टिम स्टेनटनले क्यानडाको इच्छामृत्यु कानुनलाई ‘सन् १९३० को दशकमा जर्मनीमा नाजीहरूले लागू गरेको कार्यक्रमपछि अपांग व्यक्तिहरूका लागि सबैभन्दा ठूलो अस्तित्वको खतरा’का रूपमा वर्णन गरे । क्यानडाको पछिल्लो भ्रमणका क्रममा, पोप फ्रान्सिसले वृद्ध र अशक्तहरूलाई त्याज्य मान्ने संस्कृतिलाई व्यर्थ बताए । ‘गरिब र सबैभन्दा सीमान्तकृतहरूको पीडालाई कसरी सुन्ने भनेर सिक्न आवश्यक छ’ भन्दै फ्रान्सिसले बिरामीलाई स्नेहको साटो मृत्यु दिने कार्यप्रति दुःख व्यक्त गरे । ‘क्यानडाले आफूलाई उदारवादी र सहिष्णु भनेर गर्व गर्ने भए पनि इच्छामृत्युसँग जे भइरहेको छ, त्यसले यस मुलुकको अँध्यारो पक्ष हुने संकेत गरेको छ,’ बेलायतको एन्सकोम्बे बायोएथिक्स सेन्टरका निर्देशक डेभिड जोन्सले भने । 

 

इच्छामृत्यु भएका सात मुलुकमध्ये क्यानडा सबैभन्दा कमजोर
चिकित्सकले रसायन प्रयोग गरेर बिरामीको ज्यान लिने कार्य बेल्जियम, क्यानडा, कोलम्बिया, लक्जेमबर्ग, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, स्पेन गरी सात मुलुकमा वैध छ । साथै अस्ट्रेलियाका विभिन्न राज्यले पनि यसलाई अनुमति दिन थालेका छन् । अमेरिकाका केही राज्यमा भने बिरामी आफैँले घातक रसायन पिएर ज्यान लिन सक्छन् । ती रसायनको मात्रा भने डाक्टरले तोक्छन् । बाँकी मुलुकको तुलनामा उदार इच्छामृत्युको कानुन भएको क्यानडामा गत वर्ष(सन् २०२१) भर इच्छामृत्युबाट १० हजारभन्दा बढीले मृत्यु रोजे । जुन संख्या अघिल्लो वर्षको तुलनामा करिब एकतिहाइले बढी हो ।

 

क्यानडामा सन् २०१५ देखि इच्छामृत्युको वैधताको प्रक्रिया सुरु भएको थियो । देशको सर्वोच्च अदालतले चिकित्सकीय रूपमा मृत्युमा सघाउने कार्य रोक्दा व्यक्तिको सम्मानपूर्व मर्न पाउने स्वतन्त्रता कुण्ठित हुने फैसला गर्दै विधायकलाई एक वर्षभित्र यससम्बन्धी कानुन बनाउन निर्देशन दियो । परिणामस्वरूप सन् २०१६ मा यससम्बन्धी एक कानुन बन्यो, जसले १८ वर्ष वा माथिका मानिसका लागि इच्छामृत्यु र अरूले सघाएर गरिने आत्महत्या दुवैलाई वैधानिक बनाइदियो । तर, सुरुमा इच्छामृत्युका लागि कडा सर्त पूरा गर्नुपथ्र्यो । ‘यो प्रक्रियामा समावेश हुने व्यक्ति उपचार नहुने गम्भीर रोग वा अशक्तताबाट पीडित हुनुपर्छ र उसको स्थिति दिनप्रतिदिन खराब बन्दै गएको हुनुपर्छ । उसलाई सो समस्याका कारण ‘असहनीय शारीरिक वा मानसिक’ पीडाबाट गुज्रिरहनुपरेको हुनुपर्छ,’ कानुनमा इच्छामृत्युका लागि राखिएको सर्तमा भनिएको थियो । ती व्यक्ति सोही समस्याका कारण मर्ने निश्चित भएको कुरा कम्तीमा दुईजना चिकित्सकले अनुमोदन गर्नुपर्ने पनि पहिलेको कानुनले सर्त तोकेको थियो ।

 

यो कानुन पछि परिमार्जन गरियो र त्यसमार्फत गम्भीर रूपमा बिरामी नभएका व्यक्तिलाई पनि मृत्युको छनोट गर्न अनुमति दिइयो । संशोधनले उल्लेखनीय रूपमा धेरै मानिस अब इच्छामृत्युका लागि अनुरोध गर्न योग्य भए । आलोचकहरू यही परिवर्तनको विरोध गरिरहेका छन् । उनीहरूका अनुसार अब वर्षौं वा दशकौँ बाँच्ने सम्भावना रहेका मानिसले पनि इच्छामृत्यु रोज्ने बाटो खुल्यो । कुनै प्रकारको गम्भीर बिरामी वा अशक्तता भएको वयस्कले चिकित्सकको सहयोगमा मर्ने अनुरोध गर्न सक्ने भए । क्यानडाका स्वास्थ्यमन्त्री जिन–यभेस डुक्लोसले देशको इच्छामृत्यु कानुनले ‘सबै व्यक्तिको अधिकार ...र प्रत्येक जीवनको अन्तर्निहित र समान मूल्यलाई स्विकारेको’ बताए । 

 

इच्छामृत्यु र चिकित्सकीय सहयोगमा गरिने आत्महत्यालाई अनुमति दिने देशहरूले यस अभ्यासलाई भिन्न–भिन्न तरिकाले व्यवस्थापन र नियमन गरिरहेका छन् । यस मामिलामा क्यानडाका कैयौँ नीति बाँकी मुलुकको भन्दा खुकुलो छ । उदाहरणका लागि :

- सबैभन्दा पहिलेदेखि इच्छामृत्युको कानुन लागू गर्ने बेल्जियम र नेदरल्यान्ड्सले इच्छामृत्युका अभ्यासमा आइपरेका समस्याग्रस्त घटनाहरूको समीक्षा गर्न मासिक आयोग गठन गरेको छ । जबकि क्यानडामा त्यस्तो कुनै आयोग नै छैन । यद्यपि यसले इच्छामृत्युमा देखिएको प्रवृत्तिबारे वार्षिक रिपोर्ट भने प्रकाशित गर्दछ ।

 

- क्यानडा इच्छामृत्यु कानुन भएको एक मात्र त्यस्तो मुलुक हो, जसले नर्सलाई समेत यसलाई कार्यान्वयन गर्ने अनुमति दिएको छ । अरू देशमा यो कार्य डाक्टरको रेखदेखमा मात्र गर्न पाइने प्रावधान छ । 

 

- क्यानडाका दुई ठूला प्रान्त ओन्टारियो र क्युबेकका मेडिकल निकायले डाक्टरहरूलाई इच्छामृत्युबाट मृत्यु भएका बिरामीको मृत्युको कारण नखुलाउन स्पष्ट सुझाब दिन्छन् ।

 

- बेल्जियमका डाक्टरहरूलाई बिरामीसँग इच्छामृत्युको उल्लेख नगर्न सल्लाह दिइन्छ । यसपछाडिको तर्क छ, केही बिरामीले चिकित्सकले भनेका कुरालाई सुझाबको रूपमा लिन सक्ने डर हुने भनिएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यले पनि डाक्टरहरूलाई यस्तै नियम तोकेको छ । तर, क्यानडामा त्यस्तो प्रतिबन्ध छैन । इच्छामृत्यु प्रदान गर्ने क्यानडाली स्वास्थ्यकर्मीको संघले चिकित्सक र नर्सलाई बिरामीहरूलाई उनीहरूको सम्भावित ‘चिकित्सकीय सेवा विकल्प’मध्ये एकको रूपमा उनीहरू ‘मारिन योग्य हुन सक्ने’ भनेर सूचित गर्न सुझाब दिन्छ । 

 

- बेल्जियम र नेदरल्यान्ड्समा जस्तो क्यानडाका बिरामीहरूले इच्छामृत्युको विकल्प खोज्नुअघि तिनका रोगका सम्पूर्ण उपचार विकल्पहरू समाप्त भएको देखाउन आवश्यक छैन ।

 

जोखिममा अपांगताबाट पीडित मानिस

 

विभिन्न पक्षका चासोका बाबजुद क्यानडाका स्वास्थ्यमन्त्री डुक्लोस कुनै पनि अपांगता भएका व्यक्तिहरूलाई जीवन समाप्त गर्न प्रोत्साहन वा जबर्जस्ती नगरिएको सुनिश्चित गर्न ‘कडा मापदण्ड’सहित पर्याप्त सुरक्षा उपाय अवलम्बन गरिएको बताउँछन् । सरकारी तथ्यांकले इच्छामृत्यु रोज्नेमध्ये ६५ प्रतिशतभन्दा बढी मानिसहरू क्यान्सरबाट पीडित रहेको, त्यसपछि क्रमशः मुटुको समस्या, श्वासप्रश्वाससम्बन्धी र न्युरोलोजिकल समस्याबाट पीडित बिरामी रहेको देखाउँछ ।

 

उत्तरपश्चिमी जर्मनीको प्रोटेस्टेन्ट युनिभर्सिटी फर एप्लाइड साइन्सेजका कानुन र अपांगता अध्ययनका प्राध्यापक थेरेसिया डिजेनरले अपांगतामा आधारित इच्छामृत्युलाई अनुमति दिनु मानवअधिकारको स्पष्ट उल्लंघन भएको बताउँछिन् । ‘क्यानडाको इच्छामृत्यु कानुनले अपांगता भएको जीवन स्वतः हेयकर भएको र त्यसैले ती मर्नयोग्य भएको संकेत गरेको छ,’ डेगेनरले भने । केही अपांगता भएका क्यानेडियनहरूले हेरचाहको अभाव वा खर्च धान्न नसक्दा मर्ने निर्णय गरेको पाइएको छ । सन् २०१९ अगस्टमा इच्छामरणअघि ४१ वर्षीय सिन टेगर्टले उनको २४ घन्टे हेरचाहका लागि आवश्यक खर्च जुटाउन संघर्ष गरिरहेका थिए । 

 

‘लु गेहरिग्स डिजिज’बाट पीडित टेगार्टको दिनको १६ घन्टाको हेरचाह गर्नेको(उनकै घरमा गएर) खर्च सरकारले व्यहोरिदिएको थियो । तर, रातको समयको आठ घन्टाको हेरचाह गर्न उनी आफैँले दैनिक २६४ क्यानेडियन डलर(२०६ अमेरिकी डलर) खर्च गरिरहेका थिए । स्वास्थ्य अधिकारीले टेगार्टलाई कुनै संस्थामा स्थानान्तरण गर्ने प्रस्ताव गरेका थिए, तर उनले अस्वीकार गरे । उनी आफ्नो सानो छोराबाट टाढा हुन चाहँदैनथे । आफ्नो इच्छामरण अघि, टेगार्टले घरमै स्यहारकर्ताले हेर्न सजिलो हुने विशेष चिकित्सा उपकरण किन्न १६ हजार क्यानेडियन डलर(१२,४०० अमेरिकी डलर) भन्दा बढी उठाएका थिए । तर, त्यति रकम पनि उपकरण किन्न पर्याप्त भएन । ‘युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया’का प्रोफेसर स्टेनटनका अनुसार क्यानडाका कुनै पनि प्रान्त वा क्षेत्रले गरिबी रेखाभन्दा माथि जाने गरी अनुदान प्रदान गर्दैन । स्टेनटनका अनुसार केही क्षेत्रमा अशक्तलाई ८५० क्यानेडियन डलर(६६२ अमेरिकी डलर) भन्दा कम सहायता प्रदान गर्छ, जुन सरकारले कोभिड–१९ महामारीको समयमा बेरोजगारलाई उपलब्ध गराएको रकमको आधाभन्दा कम हो । युनिभर्सिटी अफ अल्बर्टाका डिसएबिलिटी इथिक्स(अक्षमता नीतिशास्त्र)का सहप्रध्यापक हेइडी जान्जका अनुसार क्यानडामा अपांगता भएका व्यक्तिले आर्थिक सहयोग जुटाउन धेरै अवरोध पार गर्नुपर्ने भएकाले पनि केही इच्छामृत्यु रोज्न पुगेको हुन सक्ने बताए । 

 

राष्ट्रिय स्वास्थ्यमन्त्री डुक्लोसले आफू विशेष घटनाबारे टिप्पणी गर्न नसक्ने तर अक्षम व्यक्तिहरूलाई सघाउन विस्तृत नीति भएको बताए । तथापि उनले ‘देशभर सेवा तथा सहयोगको पहुँचमा असमानता’ रहेको स्विकारे । केही अपांगता भएका व्यक्तिले इच्छामृत्युको सहज उपलब्धताले कहिलेकाहीँ डरलाग्दो बहस निम्त्याएको बताउँछन् । फैलिँदै जाने मस्तिष्कको समस्याबाट पीडित रोजर फोली ओन्टारियो राज्यको उनी भर्ना भएको अस्पतालका स्वास्थ्यकर्मीले इच्छामृत्युको उल्लेख गर्दा यति चिन्तित भए कि उनले ती संवादलाई गोप्य रूपमा रेकर्ड गर्न थाले ।

 

एसोसियट प्रेसले प्राप्त गरेको उनको एउटा रेकर्डिङमा अस्पतालका इथिक्स(नीति–आदर्श) निर्देशकले फोलीसँग ‘अस्पतालको बसाइका क्रममा प्रतिदिन ४१ हजार ५०० डलरभन्दा बढी’ खर्च हुने बताउँछन् । फोलीले शुल्कबारे उल्लेख गरेर आफूलाई धम्क्याएको महसुस भएको जवाफ फर्काउँदै उनको दीर्घकालीन हेरचाहका के–कस्तो विकल्प रहेको प्रश्न गर्छन् । जवाफमा रोजर इथिक्स निर्देशक भन्छन्, ‘यसबारे सम्पूर्ण कुरा म जान्दिनँ । मेरो जिम्मामा तपार्इं एसिस्टेड डाइङ(चिकित्सकको सहयोगमा दिइने मृत्यु)मा रुचि दिनुहुन्छ कि भन्ने मात्रै छ ।’ फोलीले आफूले पहिले कहिल्यै इच्छामृत्युका बारेमा उल्लेख नगरेको बताए । अस्पतालले भने स्वास्थ्यकर्मी आफँैले यो मुद्दा उठाउन प्रतिबन्ध नरहेको प्रतिक्रिया दियो । 

 

टोरन्टोस्थित रायरसन युनिभर्सिटीका प्राध्यापक इमेरिटा क्याथरिन फ्रेजीले फोलीको घटना सम्भवतः आइवर्गको बाहिर देखिएको सानो हिस्सा मात्र हुन सक्ने बताइन् । ‘यसको यकिन संख्या भन्न कठिन छ, किनकि यी केसहरू पहिल्याउन सजिलो छैन । तर, म र अन्य अभियन्ताहरू हरेक हप्ता इच्छामृत्युबारे विचार गरिरहेका अपांगता भएका व्यक्तिलाई भेट्ने गर्छौं,’ उनले भनिन् । फ्रेजीले सेरेब्रल पाल्सी र स्पाइना बिफिडाबाट पीडित २५ वर्षीया क्यान्डिस लेइसको घटना सुनाइन् । लुइसकी आमा शिला एल्सनले उनलाई पाँच वर्षअघि न्युफाउन्डल्यान्डको एक अस्पतालको आपत्कालीन कक्षमा लगेकी थिइन् । अस्पताल बसाइको क्रममा, एक डाक्टरले लेइस इच्छामृत्युका लागि योग्य रहेको र यदि शिला(आमा)ले त्यस प्रक्रियालाई अघि बढाइनन् भने उनी ‘स्वार्थीमा गणना हुने’ बताए । यो कुरा एल्सन आफैँले क्यानेडियन ब्रोडकास्टिङ कर्पाेरेसनलाई बताएकी थिइन् । 

 

क्यानडाले इच्छामृत्युसम्बन्धी कानुनलाई थप पहुँच विस्तार गर्ने गरी संशोधन गरेको अवस्थामा आलोचकहरूले सुरक्षा बढाउन दबाब दिइरहेका छन् । अर्को वर्ष, कानुनमा मानसिक स्वास्थ्यबाट मात्र पीडितले पनि इच्छामृत्युका लागि आवेदन दिन पाउने गरी थप संशोधन गरिने लागिएको छ । साथै वयस्कको जस्तै मापदण्ड पूरा गर्ने १८ वर्षमुनिका ‘परिपक्व’ नाबालिगहरूका लागि समेत इच्छामृत्युका लागि योग्य बनाउने विषयमा बहस भइरहेको छ । क्यानडाका न्यायमन्त्री डेभिड लामेट्टीका प्रवक्ता चान्टेले ओबर्टिनले गत वर्ष सरकारले अक्षम समुदायले उठाएका चासोलाई ध्यानमा राखेर इच्छामृत्युको कानुनमा अतिरिक्त सुरक्षा थपेको बताइन् । नयाँ परिवर्तनमा व्यक्तिलाई इच्छामृत्युको व्यवस्थाबारे बताउनुअघि मानसिक स्वास्थ्य सहायता र पेलियाटिभ केयरजस्ता सबै सेवाबारे जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । ओबर्टिनले यी र यस्तै अन्य सुरक्षात्मक व्यवस्थाले ‘कमजोरहरूलाई महत्वपूर्ण सुरक्षा दिँदै आफ्नै सर्तमा जीवनका पीडा अन्त्य गर्ने केही क्यानडेलीहरूको कठिन र व्यक्तिगत निर्णयलाई सम्मान गर्न मद्दत गर्ने’ बताइन् । 

 

ओन्टारियोमा इच्छामृत्यु सेवा प्रदान गर्ने पारिवारिक चिकित्सक डा. जिन मारमोरियोले कठिन अवस्थाका लागि दोस्रो राय प्रदान गर्न विशेष प्यानल आवश्यक रहेको बताइन् । ‘मेरो विचारमा यो हतारमा गरिने कुरा होइन । तर, फेरि कुनै व्यक्तिले सोचविचार गरेर इच्छामृत्युको अनुरोध गरेको छ र तिनले तोकिएको मापदण्ड पूरा गरेका छन् भने तिनलाई ससम्मान मृत्युको अधिकारबाट वञ्चित गर्नु हुँदैन,’ उनले भनिन् । क्यानडाका मानवअधिकार आयुक्त मारी क्लाउड ल्यान्ड्री भने राजनीतिक नेतृत्वले ती व्यक्तिका चिन्ता तथा चासोलाई सुन्नुपर्ने बताइन्, जसले इच्छामृत्युलाई एक मात्र विकल्प मानिरहेका छन् । ल्यान्ड्रीले मानिसहरूलाई पर्याप्त आवास, स्वास्थ्य हेरचाह र अन्य सहायता सुनिश्चित गर्न क्यानडाको कानुनमा सामाजिक र आर्थिक अधिकारहरू समावेश गर्न आह्वान गरिन् । ‘सम्मानका साथ मर्न पाउने अधिकारलाई मान्यता दिएको यस युगमा सम्मानका साथ बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न सम्पूर्ण बल लगाउनुपर्छ,’ उनले भनिन् ।

 

(‘एपिन्युज’मा प्रकाशित चेङको यो आलेख श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)