कविता
तिमी जो
चिल्लो टाउको हल्लाएर
घुर्दै,डकार्दै बसेका छौ
आराम कुर्सीमा
तिमी हौ धूर्त
तिमी हौ जाली
होइनौ योग्य
तिमीले कहाँ बनाएका छौ
कुलो नहर
कहाँ उब्जाएका छौ
कोदो फापर
तिम्रो मन्त्रले
कहाँ गलेको छ फलाम
तिम्रा तन्त्रले
कहाँ उब्जिएको छ कपास
तिमी जरुर हौ चलाख
तिमी होइनौ योग्य
तिम्रा चिल्ला टाउकाभित्र
फगत छ
जाल, झेल र कपट
तिम्रा छातीमा
कहीँ भेटिन्न
श्रमका मोती
तिम्रा रक्तवाहिनीमा
कहीँ बग्दैनन्
पसिनाका जल
तिम्रा आँखामा कहीँ छैन
समताका दृष्टि
तिमी हौ धूर्त
तिमी होइनौ योग्य
तिमी रच्न जान्छौ
मुनाफाका जालहरू
तिमी जान्छौ
मजदुरका पसिनालाई
टनिक बनाएर
हड्डीका धुलोलाई
क्याल्सियम बनाएर
बजारमा बेच्न
तिमी जान्छौ
नाफाखोरीका गणित रचेर
संसारलाई गुमराहमा राख्न
तिमी माहिर छौ
संसारमा लुटको पिरामिड
खडा गर्न
तिमीले जानेका छौ
मनुस्मृति रचेर
मानिसको कानमा
सिसाको झोल हाल्न
एकलव्यको औँला कटाउन
तिमी नै हौ
सत्य ओकल्दा
ब्रुनोलाई ज्युँदै जलाउने
ग्यालिलियोलाई अँध्यारो कोठीमा
बन्दी बनाउने
तिम्रो सुखको स्वर्गलाई बचाउन
लेनिनको शरीरलाई काटेर
चील कौवालाई बाँड्ने
ओ मध्ययुगीन हात्ती
तिमीले कहाँ जानेको छौ
ससाना कमिलाले झैँ
श्रमको व्याकरण रच्न
पृथ्वीमा मिठास लुकाउन
तिमी हौ धूर्त
तिमी हौ जाली
तिमी होइनौ योग्य ।