• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दानबहादुर बुढा अध्यक्ष, गुठीचौर गाउँपालिका
कमलराज भट्ट
२०७९ माघ १४ शनिबार १०:२३:००
सम्झना

‘जहाँबाट भाग्नुपर्‍यो, अहिले त्यही गाउँको नेतृत्वमा छु’

२०७९ माघ १४ शनिबार १०:२३:००
कमलराज भट्ट

 

जनप्रतिनिधिको कथा

 

गरिबी र अभावमा हुर्किए, जुम्ला गुठीचौर–३ का दानबहादुर बुढा । बाल्यकालमै पिता गुमाएर टुहुरो बनेका बुढामा पढ्ने हुटहुटी बिछट्टै थियो । विद्यालय शिक्षामा उत्कृष्ट नतिजा ल्याउने उनी वक्तृत्वकला, हाजिरीजवाफ, निबन्ध लेखन, खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा पनि प्रथम नै हुन्थे । उनले विद्यार्थी जीवनकालमा प्राप्त गरेका तीन सयभन्दा बढी प्रमाणपत्र र मेडल यसका साक्षी हुन् । तीक्ष्ण दिमाग र मेधावी छात्रको परिचय बनाएर अघि बढेका दानबहादुरको शैक्षिक यात्रामा एकपछि अर्काे तगारो आइरहे । अभिभावक गुमाउनु, कमजोर आर्थिक अवस्था र तत्कालीन सशस्त्र द्वन्द्वलाई छिचोल्दै उनले आफन्तको आर्थिक सहयोगमा २०६१ सालमा विद्यालय तह पार गरे । 

 

अपहरणमा परे
अन्तर विद्यालय तहमा हुने अतिरिक्त क्रियाकलापमा आफ्नो बेजोड प्रतिभाले दानबहादुर जिल्लामै परिचित भइसकेका थिए । एसएलसीपछि उनी थप पढ्न खेत बेचेर आइकममा भर्ना भए । राज्य पक्ष र विद्रोही माओवादी द्वन्द्व उत्कर्षमा थियो । कुनै पनि वेला माओवादी कार्यकर्ता आएर जुनसुकै व्यक्तिलाई उठाएर माओवादी आन्दोलनमा समावेश गराउने अभियानको सिकार दानबहादुर पनि भए । ‘मैले धेरैपटक बच्ने प्रयास गरे,’ उनी सम्झिन्छन्, ‘त्यसपछि मैले नचाहेरै एक वर्ष माओवादी आन्दोलनमा बिताएँ ।’ उनी माओवादी अपहरणमा पर्दा जुम्लाका युवामाझ डर, चिन्ता र निराशाको अवस्था सिर्जना भयो । उनको गाउँमा रुवाबासी नै चल्यो । तर, दानबहादुर हतोत्साहित भएनन् । पढाइ छुटेकोमा चिन्तित दानबहादुरलाई भेट भएका केहीले उच्च शिक्षा हासिल गर्नुपर्छ, यो अभियान छोड्नुपर्छ भनेर हिम्मत दिए । उनको मनस्थिति त्यही रूपमा विकसित भयो । 

 

छक्याएर आत्मसमर्पण
माओवादी कार्यकर्ताको घेरामा भएकाले दानबहादुरलाई उम्किन सहज थिएन । अभियानका क्रममा विभिन्न गाउँमा पुगिराख्नुपथ्र्याे । एक दिन माओवादी कार्यकर्ता दानबहादुरलाई लिएर उनकै गाउँ पुगे । खानपानको जिम्मेवारी उनकै काँधमा थियो । माओवादी समूहलाई गुप्त ठाउँमा छाडेर खानपानका लागि भनेर साँझपख उनी निस्किए । ‘त्यतिवेलै म त्यो ग्रुप छाडेर भागेँ । मूल बाटोमा हिँड्दा आर्मी र माओवादीका अन्य लडाकुको जोखिम थियो । मान्छे नहिँड्ने तिला नदीको किनारै हिँड्दा बिचको भिरमा लडेँ । म कसरी बाँचेँ, अहिले सम्झिँदा अचम्म लाग्छ । झिसमिसेमै सदरमुकाम पुगेँ’ उनले सुनाए । 

 

उनी माओवादीको अभियानमा भएको सूचना सदरमुकाममा सुरक्षा निकायलाई थियो । उनी जुम्ला विमानस्थलमा जोगिएर बसे । ‘मलाई केही मान्छेले चिन्थे । सेना, प्रहरी र सशस्त्रले मार्न सक्ने अवस्था थियो,’ उनले भने, ‘त्यसैले म आत्मसमर्पण गर्न एयरपोर्टको सशस्त्र प्रहरीको क्याम्पमा गएँ । आतंककारी आयो भनेर प्रहरी अलर्ट भए । मलाई एयरपोर्टको टावरमा लगेर केरकार गरियो । तुरुन्तै जिल्ला प्रहरी कार्यालय पुर्‍याइयो । लामो केरकार भयो । अनि आर्मीको क्याम्पमा लगियो । त्यहाँ पनि सोधपुछ भयो । १० दिनजति मेरो बारेमा सबै सोधियो ।’ यति हुँदा पनि उनलाई छोड्ने वातावरण बनेको थिएन । उनलाई चिन्ने एकजना पूर्वमाओवादी लडाकु, जसको सेनासँग नजिकको सम्बन्ध थियो, जो आत्समर्पण गरेर सदरमुकाममा बसिरहेका थिए, उनले कुरा गरेपछि दानबहादुरलाई सेनाले छोड्यो । जहाज चढेर उनी काठमाडौं प्रस्थान गरे । 

 

माओवादीको कब्जामा रहँदा उनलाई विद्यार्थी मोर्चाको जिल्ला सदस्यको जिम्मेवारी दिइएको थियो । उनले विद्यालयमा जाने र प्रशिक्षण दिने काम गरे । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि संविधानसभा सदस्य तथा कर्णाली प्रदेशको गृहमन्त्री भएका तत्कालीन कमान्डर नरेश भण्डारीको निजी सचिवको पदमा पनि काम गरेका थिए । ‘चिठीपत्र तयार पार्ने काम गरेर तीन महिना बिताएँ । द्वन्द्वकालमा मेरो नाम दीक्षित राखिएको थियो । पढ्ने, एक्लै भाषणको अभ्यास गर्ने भएकाले दीक्षित नाम दिइयो । कालान्तरमा मलाई थप दीक्षित पार्ने काम दीक्षित (डा. सुन्दरमणि) ले नै गरे,’ उनले सम्झिए । पूर्वकमान्डर भण्डारीले आफ्नो पुस्तक ‘चाँदीको घेरा’मा घट्ट(मिल)मा भाषण शीर्षकमा दानबहादुरको प्रतिभाबारे लेखेका छन् । 

 

काठमाडौंमा टिक्ने पिरलो
माओवादी आन्दोलन र सेनाको केरकारको सामना गर्दै दानबहादुर काठमाडौं आइपुगे । परिवारको आम्दानीको स्रोत खेती किसानी नै थियो । तर, आफ्नो पढ्ने धोका पूरा गर्न उनी सपनाको सहर काठमाडौं हानिए । सुरुवाती दिनमा काठमाडौंमा टिक्न उनलाई मुस्किल परेको थियो । सहयोगी हात खोज्दै भौँतारिरहेका थिए । जुम्लाकै पूर्वजिविस सभापति तीर्थबहादुर बुढालगायत केही व्यक्तिले सहयोग गरेका थिए । छुटेको पढाइलाई निरन्तरता दिन उनी पाटन क्याम्पसमा आइएमा भर्ना भए, पढ्दै गर्दा क्याम्पसस्तरीय वक्तृत्वकलामा भाग लिएर प्रथम भए । आफ्नो प्रतिभाबाट अरूजस्तै स्ववियु सभापति लाओसकुमार राईको पनि मन जिते । राईले पाटनढोकाको एलमाया केन्द्रमा गगन थापा, योगेश भट्टराई, झलक सुवेदी, डा. सुन्दरमणि दीक्षित र अन्य विदेशी पाहुना उपस्थित कार्यक्रममा दानबहादुरलाई सिफारिस गरे, कर्णालीको प्रतिनिधित्व गर्दै उनी सहभागी भए । नागरिक अगुवा सुन्दरमणिबारे पहिलेदेखि सुनिआएका दानबहादुरले आफ्नो परिचय दिँदै बोल्नका लागि दीक्षितसँग समय मागे । 

 

सुन्दरमणिको अभिभावकत्व 
काठमाडौंमा कसरी टिक्ने पिरलोमा रहेका दानबहादुरको एलमाया केन्द्रबाटै डाक्टर दीक्षितप्रति आशा बढ्यो । मनमनै दीक्षित आफ्नो सपना साकार पार्ने अभिभावक बन्न सक्ने उनले ठाने । कार्यक्रमबाट बिदा हुने वेला डा. दीक्षितबाट फोन नम्बर लिए । फोनबाटै केही दिनपछि भेट्ने समय पाए । ‘भेटिसकेपछि उहाँलाई म धेरै टाढाबाट आएको, मेरो बुबा पनि हुनुहुन्न, पढाइप्रति अत्यन्तै रुचि छ । तर, काठमाडौंमा बस्न, खान धेरै गाह्रो भएको छ । कलेजको फी तिर्न गाह्रो भएको छ । मलाई पढाइदिन सक्नुहुन्छ भनेर आग्रह गरेँ,’ दानबहादुरले सम्झिए, ‘डाक्टरसापले पहिलो भेटमा मलाई विश्वास गर्नुभएन । म उहाँको क्लिनिकबाट निराश भएर फर्कें ।’ एक सातापछि उनले पुनः दीक्षितलाई भेटेर आफ्नो समस्या विस्तृतमा सुनाउँदै सहयोग मागे । ‘दोस्रोपटक पनि उहाँलाई कन्भिन्स गर्न सकिनँ । मेरो कपाल लामो थियो, पातलो थिएँ । उहाँले कुनै ड्रग्स खान्छौ कि भनेर सोध्नुभयो । यसपटक पनि निराश भएँ,’ उनले सम्झिए । यद्यपि दानबहादुरले हार मानेनन् । १० दिनपछि तेस्रोपटक फोन गरेर अन्तिमपटक भेट्न अनुरोध गरे । विद्यालय तहमा पढ्दै गर्दा अतिरिक्त गतिविधिबाट सफलता प्राप्त गरेका प्रमाणपत्र र मेडल बोकेर दीक्षितलाई भेट्न गए । ‘मेरो असली परिचय यही हो, काठमाडौंमा उच्च शिक्षा हासिल गर्ने र जन्मेको ठाउँमा गएर सेवा गर्ने लक्ष्य छ । हजुरले मलाई नपत्याए पनि यो डकुमेन्टले मेरो धेरै कुरा बोल्छ भनेर समस्या सुनाएँ,’ उनी सम्झिन्छन्, ‘मेरो दृढ इच्छाशक्ति र लगावले डाक्टरसाप धेरै खुसी हुनुभयो । उच्च शिक्षा मात्र होइन, पिएचडी पढ्न चाहे पनि पढाउने वचन दिनुभयो । पढाइ, खानबस्न र यातायातमा लाग्ने मासिक खर्च व्यहोर्ने प्रतिबद्धता गर्नुभयो । त्यो दिनदेखि मेरो उच्च शिक्षाको ढोका खुल्यो ।’ दीक्षित परिवारको सहयोगमा शैक्षिक यात्रा अघि बढाएका दानबहादुरले कादम्बरी मेमोरियल कलेजबाट सोसल वर्कमा ग्य्राजुएसन सकाए, समाजशास्त्रमा त्रिचन्द्रबाट मास्टर्स गरे । 

 

माओवादी आन्दोलन र सेनाको केरकारको सामना गर्दै दानबहादुर काठमाडौं आइपुगे । परिवारको आम्दानीको स्रोत खेती–किसानी नै थियो । तर, आफ्नो पढ्ने धोको पूरा गर्न उनी सपनाको सहर काठमाडौं हानिए । सुरुवाती दिनमा काठमाडौंमा टिक्न उनलाई मुस्किल परेको थियो ।

 

जन्मगाउँको सेवा 
स्नातकोत्तर तहको अध्ययन सकिएपछि उनलाई जुम्लामा सेवा गर्न दीक्षित परिवारले प्रोजेक्टसहित पठायो, उनले करिब तीन वर्ष ‘दीक्षित कम्प्युटर स्कुलिङ सेन्टर’ चलाएर गाउँका बच्चाहरूलाई आधारभूत कम्प्युटर शिक्षा दिए । पर्यटक तथा बटुवाले आराम गर्ने ‘दीक्षित रेस्ट रुम’ पनि चलाए । बालबालिकालाई संगठित र परिचालन गर्न, अतिरिक्त क्रियाकलापमा सहभागी गराउन बाल क्लबहरू पनि स्थापना गरे । ‘यो खालको सेवा गर्दा समुदायमा अट्याचमेन्ट बढ्दै गयो । समाजलाई सशक्तीकरणका साथै च्यारिटी बेस कार्यक्रम अगाडि बढायौँ । अशक्त, एकल महिला, विद्यार्थीलाई विभिन्न सहयोग गर्दै अगाडि बढेँ,’ उनले भने । 

 

समाजको सेवकका रूपमा उनले व्यक्तिगत तथा संस्थागत सेवा गर्दै जाँदा संरचनागत रूपमै सेवा गर्ने भावना जागृत भयो । राज्यको संरचनाभित्र रहेर सेवा गर्न उनले राजनीतिमा प्रवेश गर्ने निर्णय गरे । पाटन क्याम्पसमा पढ्दा उनी एमाले पाटन क्याम्पस समिति सचिवालय सदस्य भएर सक्रिय थिए । योगेश भट्टराई, घनश्याम भुसाल, माधव ढुंगेललगायत नेतासँग नजिक भए । पछि देशमा संविधान निर्माणपछि देश संघीयतामा जाँदै स्थानीय तहको निर्वाचन हुने भयो । एमाले जुम्लाका नेता तीर्थबहादुर बुढालाई गुठीचौर गाउँपालिकाको अध्यक्षमा चुनाव लड्ने चाहना राखे । बुढाले टिकट दिन सकिने आश्वासन दिएपछि दानबहादुर चुनाव लड्ने मनस्थितिलाई दरिलो बनाउँदै तयारीमा लागे । तर, एमालेमा टिकट पाउने परिस्थिति बनेन । त्यतिवेला गुठीचौर कम्युनिस्टको गढ थियो । माओवादी र एमालेको जगजगी भएको ठाउँमा कांग्रेसको संगठन शून्यजस्तै थियो । पहिलोपटक चुनाव लड्ने सोच बनाएका दानबहादुरलाई कम्युनिस्ट संगठनबाहिर गएर चुनाव जित्नु असम्भवजस्तै थियो । तर, कांग्रेसमै रहेका एकजना आफन्तले दीर्घकालीन राजनीति गर्ने हो भने कांग्रेसबाट अगाडि बढ भनेर सुझाएपछि उनी सभापति शेरबहादुर देउवा निवासमै पुगी कांग्रेस प्रवेश गरे । टिकट लिएर अघिल्लो स्थानीय तहको चुनावमा होमिए । कांग्रेसको संगठन नभएको कम्युनिस्टको गढमा उनले सात सय मत प्राप्त गरे । 

 

चुनाव हारेपछि केही समय हाइड्रोमा काम गरेर खर्च जुटाउने र गाउँमा सहयोग गर्ने तथा संगठन विस्तारमा लागे । उनको राजनीतिमा लाग्ने निर्णयलाई सुन्दरमणिले सम्मान नै गरे । तर, आधारभूत नैतिकतामा बस्न सुझाइरहे । ‘आज पनि मेरो पूजनीय बुबाले मलाई धर्मपुत्रकै रूपमा लिनुहुन्छ । कुनै पनि इभेन्टमा छुटाउनुहुन्न,’ उनले भने, ‘राजनीतिमा जाँदा, चुनाव जित्दा उहाँले तिम्रो स्वतन्त्रता हो भनेर हौसला दिनुभयो । तर, नैतिकताको सीमा क्रस नगर्न सचेत गराइरहनुभयो ।’  

 

दोस्रो प्रयासमा सफलता
पहिलो प्रयासमा असफल भएका दानबहादुरले पाँच वर्षमा गुठीचौरमा कांग्रेसको संगठन बलियो बनाए । ‘चुनाव हारेको दिनबाट अर्काेपल्ट सत्ता पल्टाएर छाड्छु भन्ने दृढताका साथ रातदिन खटिए । पार्टी प्रवेशको बृहत् अभियान चलाए । एमालेका ठूला नेतालाई पार्टीमा प्रवेश गराए । माओवादीका जिम्मेवार पदाधिकारीलाई भित्र्याएर मैले चुनाव जितेँ । पछि त्यो संगठन विस्तारको अभियान जिल्लाभर लागू गरियो,’ उनले भने । माओवादीको गढमा पुँजी, राजनीतिक पहुँच र सक्रियताको हिसाबले बलियो प्रतिस्पर्धीलाई हराएर उनी निर्वाचित भए । उनले कर्णाली प्रदेशका पूर्वगृहमन्त्री नरेश भण्डारीका पिता एवं गाउँपालिकाका पूर्वअध्यक्ष हरिबहादुर भण्डारीलाई हराएका हुन् । अघिल्लोपटक संगठनबिनै सात सय मत पाएका दानबहादुरले पाँच वर्षमा सांगठनिक उपस्थिति मात्रै बलियो बनाएनन् एक हजार ७७५ मत पाएर परिणाम नै उल्ट्याए । पूर्वअध्यक्ष भण्डारी ३७५ मतान्तरले पराजित भए । 

 

प्राथमिकतामा शिक्षा
गाउँपालिका अध्यक्ष भएपछि उनले सार्वजनिक शिक्षा सुधारलाई प्राथमिकता दिएका छन् । आफूजस्तै आर्थिक अवस्था कमजोर भएर पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर निःशुल्क शिक्षा दिने, शिक्षाको गुणस्तर वृद्धि गर्ने, करारमै स्वयंसेवक शिक्षक राख्ने, प्राविधिक र किसानमुखी शिक्षामा जोड दिएका छन् । गुठीचौरमा विद्यार्थीको अनुपातमा शिक्षक नभएकाले स्वयंसेवक शिक्षक खटाउन ५० लाख विनियोजन गरेका छन् । आइटी ज्ञान र अंग्रेजी भाषाको शिक्षा दिन निमावि र माविमा एकजना कम्युटर शिक्षक राख्ने निर्णय गरेका छन् । खेत बाँझो हुन नदिन गाउँपालिकाबाटै चौकीदार खटाएका छन् । पर्यटकीय क्षेत्र गुठीचौर उपत्यकामा होमस्टे निर्माण, पदमार्ग, मेडिटेसन सेन्टर निर्माण गर्ने योजना अध्यक्ष बुढाको छ । खेलकुदलाई विद्यार्थी जीवनसँग जोड्ने गरी बजेटमा प्राथमिकता दिएका छन् । ‘सुशासनको प्रत्याभूति गराउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य छ,’ उनले भने ।