• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रिता बरामु
२०७९ माघ १४ शनिबार १०:४५:००
यात्रा

यात्रा : कसैलाई हर्ष कसैलाई बिस्मात

२०७९ माघ १४ शनिबार १०:४५:००
रिता बरामु

 

घर छोडेर हप्तौँसम्मको शतप्रतिशत सुखद यात्रा त कस्तो हुन्छ मैले सायदै थाहा पाएको छु 

 

अघिल्लो वर्ष (सन् २०२२) मा साथीहरूसँग जंगल सफारीमा जाने मौका मिलेको थियो । कस्तो होला भन्ने कुतूहलसहित सहभागी भएँ । सायद धेरै नै रमाइलो र अनौठो अनुभवको अपेक्षा गरेछु कि, सफारीका दौरान सोचेभन्दा अलग अनुभूति भयो । त्यो मेरा लागि अनुमानित रमाइलो या नौलो अनुभव थिएन । फरक खालि गाडी र पैदलको मात्र थियो । सफारी भन्दै गाडीमा बसी जंगल छिचोलिरहँदा मलाई आफ्नो गाउँकै रनवन चहारेर घाँसदाउरा बटुलेका दिनहरूको मात्र झझल्को आइरह्यो । मानिसहरू त्यो ‘थ्रिल’का लागि यस्तरी पैसा तिरेर जाँदा रहेछन् भन्ने कुरा मनमनै सोचिरहेँ । त्यो वन, बाटो, रुखहरू, बाघ या भालु आएर झम्टिने पो हो कि भन्ने भित्रको डर सबै उस्तै नै थियो । साँच्चै भन्नुपर्दा म सफारीभर बाघ देख्न नपरे हुुन्थ्यो भन्ने कामना गर्दै रहेँ । अर्को मेरो जस्तै पृष्ठभूमि भएको साथीलाई भने धेरै रमाइलो लागेछ । सुनेर मन आनन्दित भयो । 

 

कसैले ‘हाइकिङ जाम न’ भनेर चन्द्रागिरी या सुन्दरीजलको उकालो चढ्न निम्तो दिइरहँदा मलाई प्लस् टु पढ्दाताका घरदेखि सदरमुकामसम्म किताब र कपडाको भारी बोकेर परीक्षा दिन दश घन्टा उकालो–ओरालो पार गरेर गएको कष्टकर दिनहरू याद आउँछ । त्यसैले पनि मलाई हाइकिङमा त्यति रुचि हुँदैन । जिन्दगीमा धेरै उकालो–ओरालो किशोरावस्थामै पार गरिसकेको भएर हिँडाइको कोटा यो जीवनमा पूरा भइसक्यो जस्तो लाग्छ । अनि म हाइकिङ पनि जान मन पराउँदिनँ । 

 

मेरो वरपर घुमफिर गर्न या साहसिक काम मनपराउने मानिसहरू धेरै देख्छु । सोसल मिडियामा उनीहरूको घुमेको, रमाइलो या साहसिक काम गरेको अपडेटहरू पनि हेर्छु । त्यस्ता मनमोहक दृश्य, हाइकिङ, बन्जी जम्पिङ र क्याम्पिङ गरिरहेका भिडियोहरू हेर्न रमाइलो हुन्छ । अर्कोतर्फ जोकसैलाई पनि जाऊँ–जाऊँ लाग्ने गरी उत्साहित बनाइदिने खालको हुन्छ । अझ विभिन्न ‘मोटिभेसनल स्पिकर’, ‘ट्राभल भ्लगर’ र ‘इन्फ्युल्न्सर’हरूको कुरा सुन्ने या हेर्ने हो भने त घुमफिर गर्नु नै मानिसको जिन्दगीको लक्ष्य र ठूलो उपलब्धि हुनुपर्ने जस्तो हुन्छ । या घुमफिर नगर्ने मान्छेले त केही देखेकै गरेकै हुँदैन भन्ने लाग्छ । जीवनमा देख्ने, सुन्ने र सिक्ने भनेकै नयाँ ठाउँ घुमेर र नयाँ संस्कृति अनि मान्छेसँग घुलमिल भएर हो भन्ने उनीहरूको प्रायः भनाई हुन्छ । जुन साँचो पनि हो । कतिपयको उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु पनि होला । तर, यात्रासम्बन्धी भाष्य त्यतिले मात्र समेट्दैन । 

 

यात्रा र साहसिक काम मन नपर्नेहरू पनि दुनियाँमा छन्, जसमा म पनि एक पर्थं । अथवा मन परेर पनि अपनाउन नसक्नेहरू । मलाई लाग्थ्यो, मेरो अन्तर्मुखी स्वभावका कारण मलाई यात्रा मन पर्दैन । मजस्ता स्वभाव भएकालाई बाहिर गएर नयाँ मान्छे भेटेर, साथी बनाएर, हाइकिङ र पार्टी गरेर रमाइलो गर्नुभन्दा घरको एउटा कोठाको कुनामा कुनै फिल्म हेरेर या किताब पढेर नै आनन्द मिल्छ । रमाइलो र आनन्दको परिभाषाहरू मान्छेको स्वभाव, परिवेश, पृष्ठभूमि इत्यादिको आधारमा अलग हुने रहेछन् । झन् नवउदारवादी र उपभोक्तावादी संस्कृतिमा कुनै क्लब गएर रक्सी पिउँदै होहल्ला गरेर त्यसैलाई रमाइलोको परिभाषामा समेट्नु त कतिपयका लागि अर्थहीन विषय हो । ल क्लबमै गएर रमाइलो गरौँ न त भने पनि एकातिर पैसा, समय र निद्राको सत्यानास अर्कोतिर मैमत्त केटाहरूको अनिश्चित हेराइ र त्यो झुण्डले दिने या दिनसक्ने हैरानी । त्यतिबाट पनि जोगिएर रमाइलो किन्न जाँदा गीतहरूको स्त्रीद्वेषी र अनेक समस्याग्रस्त शब्दहरूले विरक्त भएर फर्किनुको विकल्प हुँदैन ।

 

यात्राको रमाइलोको कुरा गर्दा यो वर्ष अफिसियल र व्यक्तिगत कामले कति ठाउँमा यात्रा गर्ने मौका जुर्‍यो । अनि यात्राकै दौरान मैले फरक खालको अनुभूति गरेँ । म त्यति यात्रा मन नपराउने मान्छे पनि होइन रहेछु । मलाई मन नपर्ने त यात्रासँग आउने ‘एंग्साइटी’, अनेक झन्झट, असजिलो वातावरण पो रहेछ, जुन मेरो लैंगिक, जातीय, वर्गीय, शारीरिक अवस्था इत्यादि अनेक परिचय र पृष्ठभूमिले सिर्जित गर्ने रहेछ । 

 

पहिले–पहिले मलाई यात्रा गर्न मन नपुर्नका कारण अहिले बिस्तारै सोच्दै गर्दा विभिन्न परिवेश, घटना, दुर्घटना, मान्छेका अनुहार र व्यवहार इत्यादिको याद आउँछ । गाडी चढ्नासाथ बान्ता गरिहाल्ने मलाई काठमाडौंमा पढाइको सिलसिलामा बस्न थालेपछि गाडी लाग्न छाड्यो । नयाँ ठाउँ, मानिस र बाटोहरूसँग एड्जस्ट हुन सिक्दै गएँ । यात्रा गर्दा ध्यान पुर्‍याउनुपर्ने र लानुपर्ने सामानहरू र अन्य ससाना टिप्सहरू सिक्दै छु । आफ्नै रुमको कम्फर्टबाट बाहिर निस्किएँ । नयाँ ठाउँको ‘थ्रिल’मा रमाउन सिकेँ । लामो होस् या छोटो नै, हरेकचोटीको यात्रापछि फर्केर आउँदा मसँग साथीहरूलाई सुनाउने रमाइला, रोमाञ्चक र नयाँ–नयाँ कथा हुन्छन्, यद्यपि यात्रामा जानुअघि र त्यो अवधिभर हुने ‘एन्क्साइटी’ भने सधैँ रहन्छ नै । 

 

गहिरिएर सोच्ने हो भने आफूलाई मन लागेको ठाउँमा घुम्न निस्कन पाउनु एउटा प्रिभिलेजको कुरा हो । पढाइ, काम, रिसर्च, व्यक्तिगत रुचिको सिलसिलामा मानिसहरू घुम्न निस्कन पाउनुले पनि उसले पाएको प्रिभिलेज र अवसर देखाउँछ । नत्र भने कति मानिस छन्, जसलाई रुचि हुँदाहुँदै पैसाको अभावले छेक्छ । कतिलाई उसको सामाजिक सांस्कृतिक परिवेशले छेक्छ । कति किशोरी र महिलाहरूलाई आफ्नो घरको पर्खाल नाघेर निस्फिक्री भई घुम्न निस्कने छुट छ ? साँझ ७ नबज्दै घर फर्कन हतार गर्नुपर्ने सिर्जित परिस्थितिलाई जितेर कतिले आफ्नै गाउँ–सहरमा पनि रातमा निस्फिक्री घुम्न सक्लान् ? त्यस्तै कतिलाई शारीरिक अवस्थाले छेक्छ किनकि गाडी, बाटा र वासस्थान अपांगमैत्री छैनन् । सौभाग्यवश त्यो मौका जुरिहाले पनि यात्राभर पार गर्नुपर्ने अप्ठ्यारा र चुनौती त झन् कति छन् कति !

 

चुनौतीहरूको कुरा गर्दा मलाई एउटा घटनाको प्रायः याद आउँछ । पोहोर दसैँमा म घरदेखि काठमाडौं आउँदै थिएँ । अरू वेला यात्रा गर्नुपर्दा म पानी नै नखाई हिँड्थेँ । त्यतिवेला भने मजाले पानी पिएर आएको थिएँ । मैले चालकलाई बाटोमा कतै शौचालयनजिक रोकिदिन बारबार अनुरोध गरेँ । कति समयको अनुरोधपछि बल्ल उसले गाडी रोकिदियो । मैले हल्का हुने मौका पाएँ । तर, कुरा त्यत्तिमै खतम भएन । किनकि मलाई लाग्छ, त्यति अनुरोध गर्दा मैले आफैँ अग्रसर भएर उसलाई बोलाएको थिएँ र उसलाई मसँग जिस्किनका लागि निम्तो दिएको थिएँ । त्यसपछि खाजा खाने ठाउँमा उसले मलाई सताउन थाल्यो । मेरै टेबलमा बस्न आयो । मेरो फोन नम्बर माग्यो । कलंकी पुगेर कतै चियाखाजा खानका लागि अफर गर्‍यो । मैले सबै कुरा इन्कार गर्दा मसँग रिसायो । मानौँ, मैले उसको केही गुण तिर्न बाँकी छ । मैले उसबाट छुटकारा पाउँन अनेक उपाय अपनाउनुपर्‍यो, जुन आवश्यक नै थिएन । विनासित्तीको तनाव ममाथि थोपरियो । मलाई लाग्दैन, कोही केटा मान्छेले यात्राका वेला यस्तो प्रकारको झमेला भोग्नुपर्छ । 

 

यसका अलावा उनीहरूले कस्तो ठाउँमा कसरी गाडी रोक्छन्, त्यो पनि भनिराख्नु पर्दैन । महिनावारी हुने व्यक्तिहरूका लागि सहज हुनेखालको बसयात्रा कल्पना पनि गर्न सकिँदैन । गाडीहरू प्रायः खुला सडक या झाडी जंगलनजिकतिर रोकिइन्छन् । सँगै सिटमा बस्ने यात्रीहरूमा यौनपीडकहरू परे भने त आफू सहज भएर यात्रा गर्ने कल्पना पनि गर्न सकिँदैन । सके झगडा गर्‍यो, झपार्‍यो, साथ दिने फेरि बिरलै हुन्छन् । ‘त्यस्तो कसैले नछोए हुन्थ्यो भन्नेले त आफ्नै गाडीमा हिँड्नु नि !’ भन्दी हाल्छन् । नसकेपछि अमिलो मन लगाएर आफ्नो शरीरलाई बचाउन सिटको एकचौथाइमा सीमित हुनुको विकल्प हुँदैन । यो मैले किशोरावास्थामा बढी भोगेको भोगाइ हो । आफ्नो खुट्टा जबर्जस्ती फिँजाएर पूरा सिट नै मेरो संसार हो भन्ने बेसोमतिला पुरुष सहयात्रीहरू पनि अक्सर भेटिन्छन् र जो एक खालका परपीडकभन्दा कम हुँदैनन् । त्यसैगरी खाना–खाजाका लागि रोकिँदा पनि खाए खा, नखाए घिच्को शैलीमा अस्वस्थकर र महँगो खानामा जाकिनु त राजमार्गतिरका यात्रुहरूको नियति नै हो । 

 

यात्राकै कुरा गर्दा यही वर्ष मैले सर्लाही हुँदै बोर्डर पार गरी भारत घुम्न जान खोज्दा म महिला र विशेषगरी जनजाति महिला भएको कारण नेपालको प्रतिष्ठित महिला अधिकारमा काम गर्ने संस्थाका प्रतिनिधिहरूबाट अनेक प्रश्नको सामना गर्नुपर्‍यो । त्यस्तो हुन्छ भन्ने सुनेको मात्र थिएँ, यसपालि भोगेँ पनि । कहाँ, कोसँग, केको लागि यावत् प्रश्नहरू जुन सायदै पुरुषहरूलाई सोधिन्छ । यहाँनेर मेरो सुरक्षा र भलाइका लागि हो भनेर ती प्रश्नहरू जायज ठहर्‍याउने प्रयास कसैले मसँग नगरून् । पैदल र गाडीको मात्र कुरा होइन । हवाई यात्राका क्रममा पनि इमिग्रेसनमा महिला भएकै कारण मेरो पासपोर्ट र सबै कागजात हेरेर पनि मलाई लामो केरकार गरिन्छ । निकै समय कुर्न लगाएर मात्र पास दिइन्छ । त्यति केरकार त सायदै कुनै तस्कर या अपराधीलाई गरिन्छ । अहिले पनि मलाई विदेश जानुपर्‍यो भने इमिग्रेसनअगाडि एक खालको ‘एंग्साइटी’ सधैँ हुन्छ । बोर्डर होस् या इमिग्रेसनमा मेरो भलाइ र सुरक्षाका लागि मैलाई केरकार गर्नमा मेरो देशको कानुन र त्यसलाई बनाउने सत्ताधारीहरूको दोष छ । जहाँ कहिले ४० कटेपछि त कहिले अनावश्यक अरू मापदण्ड पूरा गरेपछि मात्र महिलाले विदेश रोजगारी या भ्रमणमा जान पाउने सर्तसहितको कानुनहरू बनाइन्छ । 

 

घर छाडेर विदेशयात्राको के कुरा । म घरदेखि आधा घण्टाको बाटो दिनदिनै अफिस हिँडेर जाँदा कसैले मलाई सुसेली हालेर, मेरो कपडा, कपाल, हिँडाइ इत्यादिमा प्रत्यक्ष–अप्रत्यक्ष घिनलाग्दो र मलाई अरुचिकर लाग्ने टिप्पणी मात्र नगरिदिए मेरा लागि त्यही आधा घण्टाको यात्रा नै ट्रमाविहीन र मजेदार हुने थियो । तर, जति गरेर पनि म यो आधा घण्टाको यात्रालाई सधैँ सफल बनाउनै सक्दिनँ । घर छाडेर हप्तौँसम्मको शतप्रतिशत सुखद यात्रा त कस्तो हुन्छ, मैले सायदै थाहा पाएको छु । यस्तो यात्रामा अलि–अलि तलमाथि त भइहाल्छ नि ! कति किचकिच गरेको होला भन्ने अरूलाई लाग्दो हो । तर, त्यो असहजता भिन्दाभिन्दै मान्छेका लागि फरक–फरक हुन्छ र त्यसलाई ग्रहण गर्ने तरिका पनि ।

 

त्यसैले सोलो ट्राभलमा निस्कने विविध पृष्ठभूमि र पहिचानका महिलादेखि मलाई अजिब तर रमाइलो अनुभूति हुन्छ । किनकि तिमी छोरी मान्छे हौ, तिमीले सक्दैनौ या तिम्रो ज्यान र ‘अस्मिता’ माथि खतरा होला भन्ने प्रत्यक्ष–अप्रत्यक्ष हामीलाई सधैँ सुनाइन्छ । र, यी यावत् नमिठा र विरक्तलाग्दा अनुभवहरूलाई झेलेर या झेल्न तयार भई कहीँ कतै यात्रामा निस्किनु हाम्रा लागि ठूलै साहसिक काम गर्नु नै हो । भलै बन्जी जम्पिङ या प्याराग्लाइडिङजस्ता एड्भेन्चरस या साहसिक काम गर्न भने मलाई अझै आँट आउँदैन । कतै न कतै मलाई त्यस्तो खालको साहसिक हुनु छैन जस्तो पनि लाग्छ । किनकि छोरीमान्छे भएकै कारण ममा सामाजिकीकरणको प्रक्रियाले यति धेरै डर र ट्रमाहरू भरिदिएको छ कि त्यो सबैलाई जीवनमा सायदै जित्न सकुँला । 

 

समग्रमा घुमघामको सतही कुराले या आन्तरिक या बाह्य पर्यटन प्रवद्र्धन गर्ने भनेर मात्र हुँदैन, महिला र अपांगमैत्री संरचना र संस्कारको पनि उत्तिकै खाँचो हुन्छ । र, यात्रा एक प्रिभिलेजको कुरा हो, जुन कति मानिसहरूलाई असहज हुन्छ या मनपर्दैन अथवा मन परेर पनि अवसर मिल्दैन, तर उनीहरूले पनि अर्थपूर्ण जीवन बाँच्न सक्छन् भन्ने मान्नुचाहिँ जरुरी छ ।