• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
युगीन विवेक
२०७९ माघ १४ शनिबार १०:५९:००
समाज

एक क्वाटर मागिदेऊ गोसाइँ

२०७९ माघ १४ शनिबार १०:५९:००
युगीन विवेक

त्यस दिन दिन हामी बझाङको सडिल, सेरालागाउँ, भाटगाउँ, देवस्थली, आठबीस हुँदै घोडादाउना पुग्यौँ । साथमा थियो साथी प्रेम । घोडादाउना खप्तडको फेदीमा अवस्थित एक सुन्दर गाउँ हो । घरबाट निस्किनासाथ थलारी गाडको छेउछाउ भएर उकालै उकालो बाटो तय गर्नु थियो । खप्तड राष्ट्रिय निकुञ्जबाट बहने चिसो मन्द वायु र तलतिर देखिने बिस्खेतको जिउलोलगायत थलारातिरका खेतका फाँटहरूले बडो मोहित बनाइरहेका थिए ।

 

थलारा बाइसे–चौबीसे राज्यकालमा बाइसे राज्यमध्येको एक राज्य थियो । यसै थलारा खोली बजारको एउटा सानो होटेलमा नास्ता अर्डर गरेर पछाडिपट्टि ढुसी गनाउने क्याबिनमा बसेर थकाइ मेटाउँदै थियौँ । प्रेम चुरोटको धुवाँ उडाउँदै थियो । म एउटा बेन्चमा थकाइ बिसाउँदै थिएँ । चन्द्रकला (नाम परिवर्तन) त्यहीँ टुप्लुक्क आइपुगिन् । उनको अनुहार बडो टिठलाग्दो देखिन्थ्यो । उनले बिन्ती बिसाइन्, ‘मुलाई एक क्वाटर मागिदिहेल हजुर ।’ 

 

त्यसो भन्नुअघि उनले हामीलाई टाउको थोरै झुकाएर ‘जदौ’ गरेकी थिइन् । उनी हाम्री दिदी भन्न सुहाउने उमेरकी थिइन् । नास्ता खान गरेको अनुरोधलाई इन्कार गर्दै उनले दोहर्‍याइन्, ‘मु नास्ता केई खान्न । साउजीबाट मेरा लागि एक क्वाटर मागी देऊ गोसाँई ।’ यतिसम्म त मलाई केही लागेको थिएन, तर जब उनले यो पनि भनिन्, ‘मेरी चेली ऐल बाह्र वर्षकी भई । ऊ छाउ (रजस्वला) भयाकी आछिन (छैन) । तमी जेई भन्ना छौ मु तेई अरुँला । नहुन्या मेरा बाकी जोई हुन्या ।’ उनले अरूको हैन, आफ्नै छोरीको कुमारीत्वको कुरा गरेकी थिइन्, जो बाह्र वर्षकी मात्र थिइन् । महिनावारी नभएकी एक बालिका । उनको यो अनुरोध अनौठो मात्रै थिएन । यो त एक भयंकर डरलाग्दो याचना पनि थियो ! उनका यी शब्दहरूले मेरो मानसपटलमा अझै घोचिरहन्छन् ।

 

त्यसपछि हो मलाई हजार भोल्टको करेन्ट प्रवाह भएर गिदी हल्लिएजस्तो भएको । उनले यसरी भनिनभ्याउँदै मलाई झननन भयो । निधार र आँखा एकैपटक खुम्चिए । अचानक गला अवरुद्ध भयो । केही निमेषलाई मस्तिष्क शून्य भयो । उनी के–के बोल्दै थिइन्, मलाई त्यति ध्यान हुन छोड्यो । मलाई उनले बोलेका ती शब्दहरूले यति सोचमग्न बनायो कि म के गरौँ ? के भनौँ ? के जवाफ दिऊँ भयो । उनी त्यहाँ आउनुअघि नै थोरै दारु पिएर आएकी थिइन् ।

 

०००                                         ०००                                

 

माथिको घटना आजभन्दा सात वर्षअघिको हो । म दश–बाह्र वर्षको हुँदा गाउँघरतिर दाइ, काका उमेरकाहरूबाट चन्द्रकलाको सुन्दरताको बखान सुन्थेँ । थलाराभरि उनको खुब चर्चा हुन्थ्यो । उनलाई मैले पहिलोपटक कहिले देखेँ याद छैन । सायद जन्त, मेला या यस्तै अन्य कुनै पर्वमा देखेँ हुँला । अहिले अभावले गाँजेको उनको जीवन सडकमा असरल्ल भेट्छु । कहिले झोता बजारतिर भोकले चाउरिएको अनुहार वेदनाको चंगुलमा राखेर हिँडेको देख्छु । कहिले चैनपुरका भोका गल्लीहरू सन्ध्याकालमा उनकै देह चपाउन कुरेझैँ देख्छु । जब उनलाई सम्झिन्छु, निकै गम खान्छु । यस्तो पनि हुँदो रहेछ ? मनमा प्रश्नहरूको हुन्डरी मच्चिन्छ । उनलाई यो अवस्थामा पुर्‍यायो कसले ? दोषी को हो समाज कि राज्य ? कि हिन्दू वर्ण तथा जात व्यवस्था ? केही अंश मेरो पनि दोष छ कि ? पितृसत्तात्मक समाजको हुर्काइबाट आएको मैले पनि कहीँकतै पुरुष अहंकारको ढुंगा उनीतिर हिर्काएँ कि ? आफूलाई मानवता, सामाजिक न्याय र लैंगिक समानताको कठघरामा उभ्याएर प्रश्न सोध्छु । अलि–अलि दोष आफ्नो पनि भेट्छु ।

 

मान्छेहरू बाघलाई हिंस्रक जनावर ठान्छन्, जब कि बाघ मांसाहारी जनावर नै हो । तर, बाघभन्दा हिंस्रक त मान्छेहरू नै भइरहेका छन् । होइन भने मान्छेले मान्छेकै सिकार किन गरिरहेको छ ?

 

हिन्दू वर्ण व्यवस्थाको मार 
हिन्दू वर्ण व्यवस्थाको चरम मारमा कोही परेको छ भने त्यो दलित समुदाय हो । यो अकाट्य सत्य कथित उपल्लो तप्काले सहजै स्विकार्दैन । देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि सबैभन्दा ठूलो बलिदानी दिने समुदायमध्ये एक दलित पनि थियो । त्यो परिवर्तनले निश्चित जाति÷नश्लको वर्गीय तथा सामाजिक उन्नयन, आर्थिक उत्थान र राजनीतिक हैसियत उकास्ने काम गर्‍यो, तर दलित समुदायको जीवनमा भने आशातीत परिवर्तन आउन सकेन । दोस्र्रो जनआन्दोलनले एउटा उभार भने ल्यायो । त्यो थियो, चेतनाको जागरण । त्यस परिवर्तनले थोरै भए पनि सामाजिक, सांस्कृतिक र संकुचित जातीय सोचलाई केही हदसम्म फराकिलो बनाउने कोसिस भने गर्‍यो । आरक्षण प्रणालीले दलित समुदायमाथि सदियौँदेखि राज्यले गर्दै आएको दमन, अत्याचार, थिचोमिचो र राज्यबाट पाउनुपर्ने सेवा–सुविधाबाट वञ्चित जो गराइएको थियो । जुन घाटालाई दलित, अल्पसंख्यक तथा पिछडा वर्गले व्यहोरेको थियो । उक्त घाटालाई आरक्षण प्रणालीमार्फत क्षतिपूर्ति भर्ने कोसिस गर्‍यो । यो लोकतान्त्रिक गणतन्त्रको अर्काे उपलब्धि थियो । 

 

लामो कालखण्डसम्म शासकवर्गले धर्मलाई हतियारको रूपमा प्रयोग गर्‍यो । धार्मिक कानुनमा टेकेर बादी समुदायलाई ‘मागीखाने जात’ भनेर टाढा राख्यो । त्यसबखत अर्थाेपार्जनका दुईवटा मुख्य स्रोत थिए, कृषि र पशुपालन । खेतमा अन्न उब्जाई अर्थ उपार्जन गरौँ भन्दा जमिन छैन । पशुपालन गरी दूध, दही, घिउ, चिया बेचौँ भने कसले किन्ने ? अधिकांश उपभोक्ता गैरदलित समुदायको बाहुल्य भएको ठाउँ थियो । सम्भावनाको दोस्रो ढोका पनि थुनियो । गैरदलित समुदायले मह, घिउ कन्टरका कन्टर झुलाघाट, टनकपुर पुर्‍याएर अर्थ उपार्जन गर्‍यो, तर बादी समुदायले त्यो गर्न सक्ने वातावरण नै भएन । 

 

सामाजिक सोपानमा तल राखिएको बादी समुदायभित्र पनि महिलाको अवस्था झन् दयनीय छ । यसै जात व्यवस्थाको दलनमा जन्मिएकी चन्द्रकलाको यौवन कथित माथिल्लो जातका भनाउँदाहरूले जीवनभरि कसरी चुस्यो सजिलै थाहा लाग्छ । उनी गरिब परिवारमा जन्मेर होइन, बल्की उनी कथित दलित (बादी) परिवारमा जन्मेकीले उनीमाथि मनचाइँदो ढंगले खेल्छ पित्तृसत्ता, पुरुष अहंकार र जात व्यवस्था । 

 

भारतको केरला राज्यकी नाङ्गेली नामक महिलाले आफ्ना दुवै स्तन काटेर हिन्दू धार्मिक पाखण्ड, र यसै धर्मको जगमा उभिएको पितृसत्ताविरुद्ध विद्रोह गर्ने आँट त्यसै गरेकी थिइनन् । समानता र जातीय विभेदविरुद्ध डा.भीमराव अम्बेडकरले बुलन्द गरेको आवाज र योगदान कम थिएन । बझांगी राजा जयपृथ्वीबहादुर सिंहको मानवतावाद पनि समाजमा विद्यमान जातीय विभेदविरुद्धकै एउटा कदम थियो भन्न सकिन्छ । लामो कालखण्ड जातीय विभेदको आफरमा आफूलाई जोत्दै आएको यो समुदाय हिजोआज अशिक्षा, बेरोजगारी, गरिबी, भूमिहीनताजस्ता जटिलतासँग जुध्दै छ । अझ त्योभन्दा भीषण समस्या त जातीय विभेदबाट हुने कठोर मानसिक यातनाबाट गुज्रिएर सकसपूर्ण जीवन बाँचिरहेका छन् । 

 

पितृसत्ताको उन्माद
हिन्दू वर्ण व्यवस्थाले कुल्चेको चन्द्रकलाको जीवनलाई पित्तृसत्ताले थिलथिलो बनायो र नराम्रो गरी गिजोल्यो । पितृसत्ताको पुरुष उन्मादले उनलाई कहाँ–कहाँ निचोरेन ? कहाँ–कहाँ चिथोरेन ? पितृसत्ताले घरभित्रैबाट तान्यो । बिहेभोजमा नाच्दानाच्दै श्रीमान्कै अगाडि उनलाई आफ्नो बाहुपासमा खैंचियो । उसैपनि उनलाई चपाएर घायल बनाएकै छ, एकतवरले । ऐंजेरुले त्यति पोल्दैन होला, जति रक्स्याहाका नंग्राहरूले पोल्छ । यस्तै तिता, टर्रा भोगाइका असंख्य पहाड उनले बोकेर हिँडेकी छिन् । 

 

०००                                       ०००

 

बादी समुदाय फागुन, चैत लाग्यो कि आफ्नो थातथलो खोली बजारबाट मौसमी बसाइँ सथ्र्याे, लामातालको ओडारमा । जुन ठाउँ मेरो घरनजिकै पथ्र्याे । यस ओडारमा करिब आठ–दश परिवार बस्नेजति ठाउँ थियो । त्यही ओडारकै छेउ हुँदै लाहुर्‍याहरू आउने–जाने गर्थे । चैनपुर, साइपालसम्म पुग्थे । बादी समुदायले भेडा, खच्चर लिएर हिँड्ने÷वास बस्ने व्यापारीहरूलाई नाचगान गरेर मनोरञ्जन दिन्थे । स्याउली हालेर, भारी बोकेर, सेती नदी वा गाडतिर गएर बल्छी थाप्दै माछा मारेर गुजारा चलाउँथे । 

 

घरका छोरी, बुहारी, श्रीमतीलाई भोकको आयतन घटाउने ‘साधन’का रूपमा अगाडि सार्नुपर्ने कठोर बाध्यता आइलाग्यो । पुरुषहरूसँग निरीह बनी टुलुटुलु हेरिरहनुसिवाय अर्काे विकल्प रहेन । कतिपय पुरुष त्यो बाध्यात्मक यथार्थ हेर्न नसकेर देहरादुनको कालापहाडतिर हराए ।

 

त्यहाँ तीन–चारवटा होटेल तथा पसल थिए । एक दिन इन्द्रकला खोली बजारबाट लामाताल जाँदै थिइन् । एकजना दाइ यताबाट बेतोडले दगुर्दै गए, इन्द्रकला र आफ्नो भेट एउटा सानो खोल्सोमा हुने गरी । तर, बीच बाटोमा पुगेपछि चन्द्रकलाको श्रीमान् देखापरे र ती दाइ खिस्रिक्क परेर फर्किए । त्यतिवेला उनी त्यहाँ किन जान खोजेका थिए ? गइसकेपछि के गर्थे, के हुनेवाला थियो ? अलिअलि बुझ्ने भएको थिएँ । यो दृश्य पितृसत्ताको निचतम नमुना रहेछ भन्ने धेरैपछि बुझेँ । यो एउटा प्रतिनिधि घटना मात्रै थियो । यस्ता हजारौँ घटनाको सामना गरेका छन्, बादी महिलाहरूले । 

 

यस्ता दृश्य सम्झिरहँदा कहिलेकाहीँ त लाग्छ, मानिसजस्तो हिंस्रक यो सृष्टिमा अरू कोही छैन । मान्छेहरू बाघलाई हिंस्रक जनावर ठान्छन्, जबकि बाघ मांसहारी जनावर नै हो । तर, बाघभन्दा हिंस्रक त मान्छेहरू नै भइरहेका छन् । होइन भने मान्छेले मान्छेकै सिकार किन गरिरहेको छ ? 

 

हिजोसम्म सिंगो बादी समुदायको कुनै पनि व्यक्तिको नाममा एक टुक्रा जमिन पनि थिएन । न त पुँजी विकासको कुनै स्रोत थियो । थियो त केवल उनीहरूसँग नाच्ने, गाउने कला । मादल तथा माटोका भाँडा बनाउने सीप । यत्ति थिए भोक मार्ने माध्यम र जिउने आधार । लामो कालखण्डदेखि सुन्दर कला र संस्कृतिको धनी रहँदै आएको यो समुदायलाई आजभोलिको दलाल पुँजी बजारमा बाँच्न र टिक्नै धौधौ परिरहेको छ । परदेश भास्सिऊँ बाटो खर्च छैन । रिन मागौँ, हुनेखानेले पत्याउँदैन । परदेश गइहाले पनि लेखपढ छैन । परदेशको मागबमोजिम आफूमा सीप छैन । परम्परागत सीपमाथि अहिलेको नयाँ प्रविधि र बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका सामग्री हाबी भएपछि उनीहरूको पेसा संकटमा छ । 

 

भूमिसँग स्वामित्व हुन्थ्यो भने सम्भावनाका ढोका खुल्थे । यसरी धनआर्जनका सबै ढोका बन्द भइसकेपछि बादी महिला बाध्यात्मक यौनकर्ममा धकेलिएका छन् । उनीहरूलाई धकेलिन बाध्य पारियो । त्यसपछि घरका महिलाहरू ‘आयस्रोत’को माध्यम बने । घरको छोरी, बुहारी, श्रीमतीलाई भोकको आयतन घटाउने ‘साधन’का रूपमा अगाडि सार्नुपर्ने कठोर बाध्यता आइलाग्यो । पुरुषहरूसँग निरीह बनी टुलुटुलु हेरिरहनुसिवाय अर्काे विकल्प रहेन । कतिपय पुरुषहरू त्यो बाध्यात्मक यथार्थ हेर्न नसकेर देहरादुनको कालापहाडतिर हराए ।

 

अब उनीहरू क्रूर जात–व्यवस्थाको चंगुलबाट फुत्किन चाहन्छन् । पछिल्लो पुस्तालाई जात व्यवस्थाबाट टाढै राख्न चाहन्छन् । आमाहरू आफूले भोगेको नारकीय जीवन भोग्न नपरोस् भन्ने प्रयत्न गरिरहेका छन् । अब आत्मसम्मानसहित जिउन चाहन्छन् उनीहरू । छोराछोरीलाई पढाएर शिक्षित र चेतनशील बनाउन चाहन्छन् । अब महिलाहरू पितृसत्ताको साङ्लो, धार्मिक जडता, जातीय विभेदका जन्जिरहरू तोडेर बाहिर निस्कन खोजिरहेका छन् । एउटी आमालाई एक क्वाटर सराबमा छोरीको कुमारीत्व साट्ने हालतमा कसले पुर्‍यायो ? यो प्रश्न उनीहरू काठमाडौंलाई सोधिरहेका छन् । संसारका सबै प्रताडित महिला एकै स्वरमा चिच्याउने हो भने त्यो चीत्कारले यो धर्ती हल्लिन्छ । सदियौँदेखि नओभाएका ती आँखाबाट अब आक्रोशको आगो ओकल्नुपर्छ ।