• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
राजकुमार बानियाँ
२०७९ माघ २१ शनिबार ०७:००:००
साहित्य

भोकका तीन घुम्ती : समभोक

२०७९ माघ २१ शनिबार ०७:००:००
राजकुमार बानियाँ

‘डिभी परेर अमेरिका गएपछि दाम्पत्य जीवन ब्लुटुथजस्तो नभएर वाईफाईजस्तो किन हुन्छ ?’ शिव प्रकाशकृत नवीनतम आख्यान ‘समभोक’को विमोचन–विमर्शमा पत्रकार विराट अनुपमले समाजशास्त्रीय सवाल गरेका थिए । समाजशास्त्री सुजना घिमिरेले घच्चीको जवाफ दिएकी थिइन्, ‘डिभाइसमै समस्या भएको हुन सक्छ । आईफोनको हार्डवेयर २००६ को छ र सफ्टवेयर २०१४ को छ भने अपडेट नभएर ह्याङ हुने नै भयो नि ।’


साँच्चै भनूँ भने आप्रवासनका क्रममा विवाहेत्तर सम्बन्धमाथि लेखिएको आख्यान हो, ‘समभोक’ । यसमा ‘भोकाहोलिक’ पात्रहरूको अपूर्व जमघट छ । नारी हुन् कि पुरुष, प्रायः पात्र बहुगामी देखिन्छन् । जस्तोः ईशू सुवीसँग बरालिएको छ, सुवीको लोग्ने सुन्दास रेशमीतिर लहसिएको छ । मुग्धा ईशूतिर आकर्षित छे । फूलकुमार किस्नमायातिर सल्किएको छ । त्यसमा प्रीतिमय आनन्द नपाएर मेक्सिकन मामासिताको अँगालोमा नारिएको छ । किस्नमाया कैयौँ फूलकुमारहरूलाई छक्याइरहेकी छ । मुग्धाको लोग्ने गोपालजीको ‘एक्स्ट्रा–अफेयर’ कोसित छ, आख्यान त्यति बोल्दैन । 


त्यसो त नैतिक–अनैतिक, वैध–अवैध, कानुनी–गैरकानुनी, इमानी–बेइमानी आदिका प्रचलित पर्खालहरू यसमा ठडिएका छैनन् । किनभने यसको कार्यपीठिका नेपाल होइन, ‘सेक्स फ्री अमेरिका’ हो । अमेरिकी महानगर बोस्टन हो ।आख्यानमा नेपाली पात्रकै हालिमुहाली भए पनि यसले विश्वका आप्रवासीहरूकै साझा कथा बोलेको छ । आफ्नो जरोकिलो छाडेर हिँडेका मानिसका समस्याका विविध पाटालाई उधिनेको छ । यति हुँदाहुँदै पनि यो आप्रवासनका दुःखको ‘थेरापी’ होइन, ‘कथार्सिस’ मात्र हो । 


उत्पत्तिको राष्ट्र छाडेर रोजगारी वा बसोवासको राष्ट्रसम्म पुग्दा मानिसले धेरै थोक गुमाइसकेको हुन्छ । यसै आख्यानमा मुख्यपात्र ईशूको बोलीले आप्रवासनको मर्मभेदन गरेको छ, ‘जंगलमा एक्लै बसेको मान्छे र सहरको एउटा कुनामा एक्लै उभिएको रुख एकै हो । समुदायको मान्छेभन्दा जंगलको मान्छे छिट्टै मर्न सक्छ । सहरको एक्लो रुख पनि त्यस्तै हो, मान्छेजस्तै छिट्टै ढल्न सक्छ ।’


परिवार छाडेर अमेरिका पुगेको ईशू र ईशूसँग जोडिने पात्रहरूको संसार हो, ‘समभोक’ । ईशूले शारीरिक भोक मेट्न पाँच वर्षसम्म एउटी नारीलाई पछ्याइरहेको छ । उल्टै त्यो नारीले नै आफ्नो मात्र भोक मेटेको थाहा पाउन्जेल उसको जीवनमा अर्की नारीको जबर्जस्त प्रवेश भइसक्छ । भोकको फेरो मार्दा आधाआधी आख्यान सकिने भएकाले पाठकलाई व्याकुल बनाउँछ । यसले पाठकीय धैर्यको परीक्षा नै लिएको छ । सम्भवतः आख्यानले जीवनमा भोकको तुलनामा भोग र सम्भोगको अंश कम देखाएको हो ।


कथावस्तु जेसुकै भए पनि ‘समभोक’ले भोक, भोग र सम्भोग आदि वैश्विक विषयवस्तुमा टेकेर सार्विक सत्यको खोजी गरेको छ । ईशूको आप्रवासनमा तीन घुम्ती देखिएका छन् । पहिलो घुम्तीमा भेटिन्छे, सुवी । सुवी सधैँ भोकी छे र त्यसकै परिपूर्तिका निम्ति ईशूलाई भुलभुलैयामा राख्न सक्षम छे । उसको दृष्टिमा जीवन भोक हो, मान्छे शरीर मात्र हो । 


दोस्रो घुम्तीमा मुग्धा उभिएकी छ । जीवन भोक र भोग हो ! मान्छे शरीर र आत्मा हो भन्ने सांसारिक ज्ञान मुग्धासँग छ । एक्ली नारीलाई मात्र होइन, एक्लो पुरुषलाई पनि रक्षा र सुरक्षा चाहिन्छ भन्ने उसको जिकिरमा एकखाले नौल्याइँ छ ।तेस्रो घुम्तीमा देखिएकी सिन्धुकासँग परमार्थ ज्ञान छ– भोक र भोगभन्दा माथि सम्भोग हो, जीवन । मान्छे शरीर मात्र होइन, आत्मा र परमात्मा पनि हो । उसले १० वर्षपछि भेटिएको लोग्नेलाई सिन्धुकाले सम्झाएकी छ, ‘ईशू, तिमीले सम्भोगको अर्थ बुझेनौ ।’ 


यी नारीपात्रमध्ये कसलाई नायिका मान्ने ? आख्यानकारको कुनै उर्दी नभएकाले आआफ्नो रुचिअनुसार खुट्याउने अधिकार पाठकले पाएका छन् । भोक, भोग र सम्भोगका छुट्टाछुट्टै अध्यायमा झुल्किने यी त्रिनारी पात्र जिजीविषा, तितिक्षा र मुमुक्षाको तहमा छन् । तर, सबैको मूलस्रोत भोक नै हो । हुन त आख्यानकार इन्द्रबहादुर राईले ‘कठपुतलीको मन’मा भनेका छन्, ‘कथा कहिल्यै नपत्याउनू ।’ तर नपत्याउने गरी कथा नै किन लेख्नु त ? यो आजको यथार्थ हो र होइन पनि । आख्यानकारले स्वकीय अनुभव पनि लेख्न सक्छ, अरूका अनुभव मात्र पनि लेख्न सक्छ । कुनचाहिँ लेखेका हुन्, शिव प्रकाश नै जानून् ।


साहित्यमा पुस्तकको न्वारन अलि विशेष किसिमले गर्छन्, शिव प्रकाश । पूर्ववर्ती दुई कथासंग्रह ‘जैमली’ र ‘घागी’ त्यसका दृष्टान्त हुन् । उनी नयाँ शब्द, त्यसमा पनि शब्दकोशमा नभित्रिएका शब्दको लती लाग्छन् । प्रस्तुत आख्यानको नामले नै कतिपयलाई झुक्याउन सक्छ । किनभने धेरैले ‘सम्भोग’ मात्र सुनेका छन्, पढेका छन् । ‘समभोक’ को संदर्शन त शिव प्रकाशले भर्खर मात्र दिएका हुन् ।

‘समभोक’ अश्लील साहित्य होइन, एउटा दार्शनिक उचाइको आख्यान हो


‘समभोक’ लाई सम्भोग नै पढे पनि त्यस्तो कुनै सामाजिक सुनामी आउनेछैन । यौन आफैँमा न श्लील हो, न त अश्लील । यसको परिभाषा व्यक्ति, समय, स्थान र कानुनअनुसार भिन्न छन् । यौन भन्नेबित्तिकै किन परपर भाग्ने ? मानिस स्वयं यौनकै उपज त हो । सम्भोगमा दुई शब्दको सन्धि छ, सम र भोग । जे समान रूपले उपयोग हुन्छ, त्यो सम्भोग हो । अर्थात् बराबरीको भोग । यो समान अभिलाषा, आवेग वा उद्देश्य राखेर समान आनन्द प्राप्त गर्ने बाटो हो । समभोक मात्र होइन, मानिसमा समभ्रम, समयोग, समभोजनका योग्यता पनि नभएका होइनन् । शिवपुराण, ओशोदेखि शिव प्रकाशसम्मको निष्कर्ष के हो भने सम्भोग भनेको भालेपोथीको सहवास मात्र होइन । समाधिको जन्म नै सम्भोगबाट हुन सक्छ । सम्भोगबाट सिद्धि पनि प्राप्त हुन सक्छ । प्रेम वा प्रभुपद प्राप्ति पनि हुन सक्छ ।


आख्यानले भनेअनुसार भोक सबैमा छ । भोक सबैतिर छ । सबै भोका छन् । त्यसका आयाम मात्र फरक हुन् । सम्भोग शारीरिकभन्दा पनि भावनात्मक चरण हो । यो फगत शरीरसँगभन्दा समानता र सहअस्तित्वमा सम्बन्धित छ । नारी र पुरुष दुवैले एकअर्काको अस्तित्व स्वीकार गरेपछि पो सम्भोग ठहरिन्छ । नारी र पुरुष, दिन र रात, अँध्यारो र उज्यालो सृष्टिकै नित्य प्रक्रिया हो । यो लोकमत होइन, साधुमत हो ।


यो उपन्यासलाई एकल सिद्धान्तले मात्र हेर्न सकिँदैन । बरु बहुल सिद्धान्तले हेर्नुमा सार्थकता हुन्छ । समाजशास्त्रीय, मनोवैज्ञानिक वा आप्रवासनका दृष्टिकोणले हेर्दा अझ न्यायिक हुन सक्ला । समभोकमा न फ्रायड मात्र छन्, न त ओशो । ओशो र फ्रायडका साथमा शिव प्रकाश आफैँ पनि ठाउँ–कुठाउँ झुल्किएका छन् । भनिन्छ, सत्यको मुखौटा ज्ञानले छोपिएको हुन्छ । हाम्रो सीमित ज्ञानले त्यो सार्विक सत्यलाई जान्न दिँदैन । आख्यानमा समाज वा त्यसका बन्धनप्रति खुला आलोचना हुन्छ नै । कोही पात्र कसैलाई सम्बुद्ध लाग्न सक्छ, कसैलाई नलाग्न सक्छ । कोही पात्र आफैँमा बेठिक हुन्न । ‘समभोक’का पात्रहरूलाई सकभर ठिक–बेठिक नछुट्याई पढे पनि हुन्छ । 


कतिपय पात्र आख्यानकारीय
संकीर्णताको सिकार भएजस्ता पनि देखिन्छन् । आफैँले जन्माएका पात्रप्रति आख्यानकार किन निर्मम हुन्छ ? के सुवी, अँणबादुर, ञमराज, फूलकुमार, सुन्दास आदि पात्र नभएको भए आख्यान सग्लो उभिन सक्थ्यो ? कतिपय टिप्पणी आख्यानकारले गर्नुभन्दा पाठकलाई नै छाडिदिएको भए हुन्थ्यो । उसो त यी पात्रहरू आख्यानमा हास्यव्यंग्यको पुटदिने हिसाबले पनि आएका छन् ।प्रस्तुत आख्यानले अमेरिका र आप्रवासनबारे साङ्गोपाङ्ग जानकारी दिन्छ । व्यक्ति,परिवार, समाज र देशको बहुआयामिक विश्लेषण छ । क्लिसे कथालाई झन्डै परित्याग गरेको छ । संवाद सशक्त छ । भाषामा फुर्तिलोपन छ । शिव प्रकाशले आख्यानमा एउटा नवप्रवर्तन ल्याएका छन् ।

 

आख्यानकार शिव प्रकाश विद्वती छन् । हरेक पृष्ठमा बौद्धिक भइरहन रुचाउँछन् । यो उनको लेखनको शक्ति र सीमा दुवै हो । भोक, भोग र सम्भोग जीवनका अम्लान रङ हुन् । तर, यी आख्यानभन्दा पनि नैवन्धिक विषय लाग्छन् । त्यसैले यसको संरचना केही जटिल हुन गएको छ । तर विषयवस्तुको उठान, पात्रहरूको चयन, कथाहरूको संयोजन आदिको आख्यानीकरणमा लेखकीय परिश्रम निकै परेको देखिन्छ ।

 

सबैभन्दा महत्वपूर्ण त जीवनदर्शनका गहिरा कुरा सरल र सरस तरिकाले भन्न खोजेका छन् । फरक–फरक सत्यलाई सँगसँगै प्रस्तुत गरेका छन् । भोक, भोग र सम्भोग जस्तो गैरआख्यानिक र दार्शनिक विषयवस्तुमा सारसौंदो आख्यान उभ्याउनु लेखककोकठिन सफलता हो । र, त आख्यानका पानाहरू पल्टिरहन्छन् ।समग्रमा आख्यान अद्योपान्त पठनीय छ । यसले भिन्न विषय र शैली खोजुवा पाठकको चित्त बुझाउन सक्छ । सदैव ‘लोकल’ गाउँठाउँ र पहिचान मात्र पढिरहेको पाठकलाई यसले ‘युनिभर्सल कन्टेन्ट’ दिएको छ । आख्यानमा सूक्ति र ब्याजोक्ति प्रशस्त छन् । 

 

‘प्रकृति भोकाए रुख नांगिन्छन् । मान्छे भोकाए आफैँ नांगिन्छन् । नग्नता पनि भोक हो ।’ ‘भगवान् पनि भोकबाटै जन्मिएको हो ।’‘भोक आफैँमा कति भोको छ ? भोकभित्र कति भोक बाँचेका छन् ? कति भोक भोकै छन् ? कति भोकले भोक मेटेका छन् ? कति भोक भोकै मरेका छन् ?’


‘समभोक’मा भोक, भोग र सम्भोगको उत्कर्ष भए पनि समलैंगिक वा पारलिंगीय सम्बन्धको पाटो भने डल्लै छाडिदिएको छ । स्टोरी लाइनमा प्रशस्तै रोचक–रोमाञ्चक मोडहरू छन् । पाँच वर्षसम्म पछ्याएकी सुवीबाट ईशू एकाएक अलग भएको छ । आफ्नो पति सुवी र मुग्धाको सम्बन्धमा रहेको चाल पाएर पनि सिन्धुकाले क्षमा दिएकी छ । आख्यानमा यस्ता ‘टर्न एन्ड ट्विस्ट’ थुप्रै छन् ।

 
पृथक् गद्यशैली छ, ‘समभोक’मा । यसलाई ‘मेटाफिक्सन’ पनि भन्न सकिन्छ । आख्यानिक उडानका पखेटा मात्र होइन, पाङ्ग्रा पनि देखिएका छन् । लेखक र पाठकबीच कुनै साँधकिलो छैन । यसको कथा यथार्थ धरातलबाट उडेर कल्पना र स्वैरकल्पनामा आकासिँदै यथार्थमै आएर सफल अवतरण भएको छ । दर्शन लुकेको कुरा होइन, न त सजिलैदेखिने कुरा हो । यो त कृतिको अनन्त गहिराइबाट उदाउने धूमकेतु हो । शिव प्रकाश दर्शनलाई मूर्ति टल्काउने रङरोगन नभएर चेत–चैतन्य मान्छन् । र, त कथाहरू निख्रिँदै जाँदा पनि अन्तिम पानाहरूमा व्याख्यान र उपाख्यान भन्दै चिन्तनाहरूथप्न छाड्दैनन् । 


पछिल्लो समय आख्यानको संख्या बढे पनि ‘ह्याप्पी हर्मोेन’ बढाउने खालका उतिसारो भेटिँदैनन् । त्यसैले ‘समभोक’ले डोपामिन र सेरोटोनिनजस्ता हार्मोन बाँड्न सक्छ कि सक्दैन ? त्यसको परख पढेपछिनै हुनेछ । 


नोट :  ‘समभोक’ अश्लील साहित्य होइन, एउटा दार्शनिक उचाइको आख्यान हो ।