• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिर : संजित परियार
यम बम
२०७९ माघ २१ शनिबार ०७:१०:००
संगीत

साधनामा तल्लीन शास्त्रीय गायक

तिलकसिंह पेलालाई गुरुले लिन नमानेपछि उनी रोएका थिए

२०७९ माघ २१ शनिबार ०७:१०:००
यम बम

 

कथन छ– नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस् ! शास्त्रीय गायक एवं संगीतकार तिलकसिंह पेलाको सन्दर्भमा भने यो कथन उल्टो भइदिन्छ । सांगीतिक बजारबाट उनी अढाइ दशक गुमनाम थिए । तर, यतिवेला भने उनको आवाजको लोकप्रियता चुलिएको छ । डा. प्रदीप मैनालीको गजल ‘के लत बस्यो...’ मा उनले भरेको संगीत र हृदयस्पर्शी गायकीको सबैतिर चर्चा चलिरहेको छ । 


पेलाले २५ वर्षअघि ०५३ मा ‘आँसु–१’ आधुनिक गीति एल्बम निकालेका थिए । त्यतिखेर सुदूरपश्चिम क्षेत्रमा–‘लुकाउन खोजे पनि...’ले निकै चर्चा बटुलेको थियो । सुदूर बैतडीको दशरथचन्द नगरपालिकामा ०३२ मा जन्मिएका पेला आफ्ना दाइका शब्द बोकेर बैतडीबाट काठमाडौं पुगेका थिए । सबैतिरबाट स्याबासी पाए । उनी मख्ख भए । स्टेज, कन्सर्ट कार्यक्रम पनि भ्याए । उनी पनि मूर्धन्य संगीतकारसँग गफिन जान्थे । उनलाई लाग्यो, म हिट भएँ । र, त्यसको एक वर्षमै अर्काे एल्बम निकाले आँसु–२ । यो देउडा गीति एल्बम थियो । 


‘त्यसरी त नाम मात्रै आउनेरहेछ, खुबी आउने रहेनछ,’ २५ वर्षअघिका ती पल स्मरण गर्र्दै पेला भन्छन्, ‘मैले बालकैमा जान्न खोजेको संगीत भेटिनँ । मेरो प्यास मेटिएन, म सन्तुष्ट भइनँ । मैले सोचेँ यसरी हुँदैन ।’गीति एल्बम निकाले, रेडियो नेपालबाट स्वर पास गरे, र पनि उनी बजारबाट एकाएक गुमनाम भए । उनी गाउँ फर्किए । तर, ०५६ मा गुरुको खोजीमा उनी फेरि काठमाडौं हानिए । साधनाको कुटी खोज्दै भौँतारिए । ‘चार–पाँच वर्ष त मेरो त्यत्तिकै गयो । कहिले कुन त कहिले कुन गुरुसँग सिकेँ, खासै प्रगति भएन,’ उनी भन्छन् ।


त्यसपछि उनी शास्त्रीय संगीतका पण्डित धनबहादुर गोपालीकहाँ गए । गोपालीले पेलालाई अपनाउन नमानेपछि उनी रोए । ‘शास्त्रीय संगीतको सानो माहोल छ । म अरूसँग सिकिरहेकाले उहाँ (गोपाली)ले लिन मान्नुभएन । म विकट क्षेत्रबाट संगीत सिक्न भनेर काठमाडौं आएको हुँ । संगीतको प्यास मेटाउन नसकेपछि हजुरकहाँ आएको हुँ भनेपछि उहाँले स्वीकृति दिनुभयो,’ पेला सम्झन्छन् । त्यसपछि पेलाले गोपालीसँगै आठ–दश वर्ष शास्त्रीय संगीत सिके ।संगीत नै नजानेर के गीत गाउनु भनेर उनी सिक्न थालेका थिए । ‘मेरो बाल्यकालको प्यास शास्त्रीय संगीतमा रहेछ । म त्यतैतिर लागेँ,’ उनी भन्छन्, ‘मलाई नै सन्तुष्टि नभएपछि मैेले गीत गाउन छाडेको थिएँ ।’ 


आफूलाई गुमनाम भन्ने गरिएकोप्रति उनी सहमत भने छैनन् । भन्छन्,‘सिक्न, अभ्यास गर्न थालेँ । कामधन्दामा लागँे । गुमनाम भन्छन्, तर म गुमनाम होइन । आफ्नो काम गरिरहेकै थिएँ । विद्यार्थीलाई सिकाउँदैथेँ । सेलिब्रेटीजस्तो लगालग गीत रेकर्ड गराउने, एल्बम निकाल्ने कामबाट भने म टाढै रहँे । त्यही भएर मान्छेले नचिनेका हुन सक्छन् ।’


गोपालीसँग संगीतसाधनामा तल्लीन भएपछि पेला ०६१ सालयता श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा जोडिए । संगीत सिकाउन थाले । तर, आफूले सिक्न कहिल्यै छाडेनन् । उनी भारतको बनारसमा पण्डित देवासिस गिरीसँग संगीत सिक्न वेलावेला गइरहन्छन् । तर, पछिल्लोपटक कोरोना महामारीपछि भने उनी जान पाएका छैनन् । 


उनी आफूले गीत कम्पोज गर्नेभन्दा पनि भित्र (मभित्र)बाट कसैले गाइदिने गरेको बताउँछन् । ‘म त फलो मात्र गर्छु,’ उनी भन्छन् । त्यही साधनाको प्रतिफल उनले ‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ...’ हृदयदेखि नै गुनगुनाएका छन् । सांगीतिक बजार मोडर्न बन्दै गएका वेला शास्त्रीय संगीतले बजार पिट्न पायो । उनी यसमा खुसी छन् ।

केका लागि साधना भन्ने हो ? साधना यो जुनीले पनि पुग्दैन । साधनाको प्रतिफल आत्मसन्तुष्टि र मोक्ष नै हो ।


तर, २५ वर्षअघि एल्बम निकाल्दा भने उनमा सांगीतिक ज्ञान थिएन । बुबा भारतीय सेनाबाट अवकाशप्राप्त । तीन दाजुभाइ । कान्छो छोरा तिलक बाल्यकालमै संगीत सिक्न चाहन्थे । तर, गाउँमा सिकाउने मान्छे पनि थिएनन् ।उनका काकाका छोरा नातामा कृष्णसिंह पेला गजल लेख्थे । कृष्णका साथी प्रेमसिंह थापा र कालिका निमाविमा प्रअ (टेकबहादुर चन्द) गीत गाउन हौसाउँथे । रेडियो नेपाल खासै टिप्दैनथ्यो, गाउँघरमा एफएमको जमाना थिएन । त्यस क्षेत्रको भारतको अलइन्डिया रेडियो सुनिन्थ्यो । मोहम्मद रफी, महेन्द्र कपुर, लता मंगेशकरका गीत रेडियोमा सुन्दै गुनगुनाउँथे, पेला । यो ०४८–०४९ सालतिरको कुरा हो । भन्छन्, ‘दाइ (कृष्ण)लाई शब्द लेखिदिनु भन्थेँ । मन परेको हिन्दी गीतको धुन जोडेर गीत पनि गाएँ ।’ तर, पछि गीतजस्तै धुन आफ्नै बनाउनुपर्छ भनेपछि उनी धुन निकाल्न लागे । 


आफ्ना दाइ र प्रअलाई गीत सुनाउँथे । त्यतिखेर उनका दाइ शिक्षक भइसकेका थिए । र, पेलालाई एकल गायनमा लगाइयो, स्कुल छँदै । सबैतिरबाट स्याबासी पाएपछि उनी मख्ख भए । यही सुुरमा उनी गीति एल्बम निकाल्न ०५३ मा काठमाडौं आए । ०५३ मा पहिलो एल्बम र ०५४ मा दोस्रो एल्बम निकालेका पेला त्यसपछि ०७६ मा आएर मात्र बजारमा देखिए । उनले ०७६ मा ‘निर्जन किनार आँसु–३’ निकालेका थिए । जसमा नेपाली र हिन्दी गजल पनि छन् ।


त्यसपछि उनी फेरि बजारबाट हराए । तर, १ माघको ‘के लत बस्यो...’ले उनी चर्चाको शिखरमा छन् । उनले राग मालकोसमा आधारित गजल गाएका हुन् । यो गीतबारे पेला भन्छन्, ‘गीत गाउने मेरो रुचि त थिएन । तर, प्रदीप मैनालीको अनुरोध टार्न नसकेपछि गाएको हुँ ।’ मोतीराम भट्टको १५७औँ जन्मजयन्तीको अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय नाचघरमा गरेको ‘सांगीतिक गजल मुसायराका लागि पेलाले ‘के लत बस्यो...’ गजल कम्पोज गरेका थिए । उनलाई कार्यक्रममा पनि गाउन भनिएको थियो ।


तर, पेलाले मानेनन्, आफ्ना शिष्य कमल विष्टलाई सिकाएर गाउन लगाए । प्रदीपलाई भने गजल रेकर्ड गराउनुपर्छ भन्ने लाग्यो, त्यो पनि पेलाकै गायकीमा । पेलाले कमललाई नै गाउन लगाउन भने । प्रदीपले फेरि अनुरोध गरेपछि पेला गाउने भए, गीत रेकर्ड भयो । अहिले पेलालाई गीतकार, गजलकारले आफ्नो गीत गाइदिन अनुुरोध गरिरहेका छन् । तर, उनले गीत–गजललाई व्यावसायिक बनाउने सोच बनाएका छैनन् । ‘दर्शक–स्रोताले शास्त्रीय संगीतलाई माया गरिदिनुभएको छ, उहाँहरूको सम्मानमा कहिलेकाहीँ राम्रो रचना आएमा उपहारस्वरूप चढाउने भन्ने त छँदै छ । तर, पैसाकै लागि गीत गाइँदैन,’ उनी सगौरव भन्छन् । 


संगीत साधनामा रहेका पेला विद्यार्थीबीच महफिलमा गाउने, बजाउने क्रममा पहिलेदेखि नै कम्पोजिसन गरिएका, तर रेकर्ड नभएको गीत सुनाउँछन् । कार्यक्रममा सुनाएपछि गीत त्यत्तिकै थन्किएर बसेका हुन्छन् । अझै पनि १५–२० वटा कलेक्सन छन् । ‘रेकर्ड नभएर त्यत्तिकै थन्किँदा गजलकार, गीतकारलाई पनि पीडा भइरहेको होला भन्ने हुन्छ, उहाँहरूका रचनालाई कैद किन गर्ने भन्ने बाध्यता पनि हुन्छ,’ उनले भने ।‘पहिलो त गीतले आफैँलाई सन्तुष्टि दिनुपर्छ । गाइरहेको गीत–गजलले मलाई नै आनन्दित पारेन भने अरूलाई कसरी सुनाउने, किन सुनाउने । संगीत आनन्दको विषय पनि त हो,’ उनी भन्छन् ।


‘एकान्त ठाउँमा साधना गर्छु । कुनै शव्द मन प¥यो, छोयो भने त्यसलाई हेरिरहन्छु–पढिरहन्छु । शब्दको भाव बुझ्ने कोसिस गर्छु,’ साधनाबारे उनी भन्छन्, ‘यसले तरंग पैदा हुन्छ । केही धुन आएजस्तो भित्र कसैले गाएजस्तो फिल हुन्छ । त्यो धुनलाई आँखा चिम्लेर सुन्छु । उसले भित्रबाट गाइरहेको हुन्छ । म आफ्नो गलाबाट गाउने कोसिस गर्छु । एकपटक गाउँछु, त्यसले भनेजस्तो आउँदैन, फेरि अर्काेपटक गाउँछु । होकीहोकीजस्तो लागेपछि म त्यो धुनलाई हार्माेनियममा बजाउने कोसिस गर्छु ।’ 


‘शास्त्रीय संगीत थोरैथोरै बुझ्न पनि १०–२० वर्ष लाग्छ । एउटा व्यक्ति जोगीजस्तो नहुन्जेलसम्म शास्त्रीय संगीत जानिँदैन,’ पेला भन्छन्, ‘पढ्ने, सिक्ने वातावरण पनि काठमाडौंबाहेक अन्त छैन । यहाँ पनि उत्कृष्ट छैन ।’ स्कुलस्तरमा पनि ऐच्छिक विषयमा शास्त्रीय संगीत समावेश गर्नुपर्ने उनको धारणा छ । साधनाको प्रतिफल के हो ? उनी भन्छन्, ‘केका लागि साधना भन्ने हो ? साधना यो जुनीले पनि पुग्दैन । साधनाको प्रतिफल आत्मसन्तुष्टि र मोक्ष नै हो ।’