म भिर थिएँ
उसलाई हिँड्न गाह्रो भो भनेर
गोरेटो बनिदिएँ
त्यही गोरेटोबाट सुरु गरेको हो
उसले जीवनको नयाँ यात्रा
मैले गोरेटो बन्नु परेकोमा
कहिले अपसोच गरिनँ
बरु उसको खुसीमा
खुसी मनाएँ ।
पछि उसले भन्यो–
गोरेटोलाई राजमार्ग बनाऊँ
मैले थोरै संशय व्यक्त गरेँ
उसले देखायो अनेक सपना
म राजमार्ग बनिदिँदा
खुसी तन्किन्छन् भने
किन नबन्ने ?
र अनुमति दिएँ ।
निमेषभरमै बन्यो राजमार्ग
उसले हुइँक्याउन थाल्यो
ममाथि बेजोडले गाडी ।
मलाई राजमार्ग बनाएर
गाडीमा सवार ऊ
आजभोलि म भएतिर आउन छोडेको छ
मैले हल्ला सुनेको छु
अचेल ऊ सिंहदरबार छिरेको छ रे
सिंहदरबारको सिंहासनबाट
भिर, गोरेटो र राजमार्गको कथा सुनाइरहन्छ रे
उसैका लागि भिरबाट गोरेटो
गोरेटोबाट राजमार्ग बनेको म
तर, उसले कहिले सोधेन
तिमीलाई कस्तो छ ?
यदि तिमीले उसलाई भेट्यौ भने
सुनाइदिनू एउटा सन्देश
भिरबाट गोरेटो
गोरेटोबाट राजमार्ग बन्नेहरू
फेरि भिर बन्न सक्छन्
जहाँबाट सुरु भएको थियो
जीवनको यात्रा
त्यहीँबाट टुंगिन सक्छ ।
त्यसैले विनादम्भ, विनाउन्माद चलाउनु
राजमार्गीय जीवनको गाडी
होइन भने भिरको सामथ्र्य
जति राजमार्ग बन्नुमा छ
त्योभन्दा बढी ढकेल्नुमा छ ।