• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रेम गौतम
२०७९ माघ २१ शनिबार ०८:३९:००
समाज

पाण्डे दाजुभाइ फरक पार्टी, उस्तै भूमिका

२०७९ माघ २१ शनिबार ०८:३९:००
प्रेम गौतम

पञ्चायतकालमा राजनीतिक दलहरू प्रतिबन्धमा थिए । राजनीतिक आन्दोलनमा लागेकै कारण पञ्चायतले दमन गथ्र्यो, जेलमा कोच्थ्यो, जीवन नै आहुति दिनुपथ्र्यो । त्यही समयमा राजनीतिक आन्दोलनमा होमिएका सहोदर दाजुभाइ राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डेले सक्रिय राजनीतिमै कपाल फुलाएका छन् । राजेन्द्र र सुरेन्द्रले लामो समय एउटै पार्टीमा फरक जिम्मेवारीमा रहेर राजनीति गरे । हाल उनीहरूको पार्टी फरक छ, तर पार्टी जिम्मेवारी उस्तै । राजेन्द्र्र नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष र सुरेन्द्र पनि नेकपा (एमाले)का उपाध्यक्ष छन् । 


नेत्रप्रसाद पाण्डे र मनमाया पाण्डेका राजेन्द्र जेठा र सुरेन्द्र माइला छोरा हुन् । राजेन्द्र २०१३ र सुरेन्द्र २०१७ मा जन्मिएका हुन् । १३ वर्षको उमेरमै एसएलसी दिएका कारण सुरेन्द्रको नागरिकतामा भने जन्ममिति ०१५ साल उल्लेख छ । पाण्डे परिवारका पाँच दाजुभाइ र चार दिदीबहिनीमध्ये राजेन्द्र र सुरेन्द्र मात्रै पूर्णकालीन राजनीतिमा सक्रिय छन् ।


धादिङको गजुरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पाण्डे दाजुभाइले गाउँकै प्राथमिक विद्यालयमा अध्ययन गरे । चितवनबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आए । पाण्डे दाजुभाइमा ३० को दशकमा सिक्किम विद्यार्थी आन्दोलनको प्रभाव प¥यो । व्यक्तिगतभन्दा देशको चिन्ताले पिरल्यो र काठमाडौंको विद्यार्थी आन्दोलनबाट अगाडि बढे । 

 

राजनीतिक गुरु राजेन्द्र
सुरेन्द्रका राजनीतिक गुरु राजेन्द्र नै हुन् । सुरेन्द्र उच्च शिक्षाका लागि काठमाडौं आउँदा राजेन्द्र आन्दोलनमा होमिइसकेका थिए । पञ्चायतविरोधी आन्दोलनमा दाजुको सक्रियता र विद्यार्थीहरूको जागरुकताबाट सुरेन्द्र प्रभावित भए र आन्दोलनमा होमिए । सहोदर दाजुभाइ भए पनि भूमिगतकालमा भेट्न
मुस्किल थियो । ३२ सालमा सरस्वती क्याम्पसमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने क्रममा राजेन्द्र पक्राउ परेका थिए । २०३३ सालमा राष्ट्र विप्लवको मुद्दामा उनलाई जेल सजाय सुनाइएको थियो । जेलमा पनि नेताहरूसँग भेट भइरहन्थ्यो ।

राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डेले लामो समय एउटै पार्टीमा काम गरे । अहिले पार्टी फरक छ, तर जिम्मेवारी उस्तै । राजेन्द्र्र एकीकृत समाजवादीका उपाध्यक्ष हुन्, सुरेन्द्र पनि एमालेका उपाध्यक्ष । 

 

जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिवेला उनी ४२ दिन जेल बसे । जेलबाट छुटेर उनले करिब ६ महिना भूमिगत राजनीति गरे । त्यसपछि नेताहरूलाई आ–आफ्नो जिल्ला फर्किएर काममा लाग्न पार्टीले निर्देशन दियो । त्यो क्रममा राजेन्द्र आदर्श मावि गजुरी धादिङको शिक्षक भए । शिक्षकका रूपमा काम गरिरहे पनि उनी भूमिगत रूपमा पार्टी काममा सक्रिय थिए । सुरेन्द्र भने पूर्ण रूपमा भूमिगत थिए ।
नेपालगन्जमा सम्पन्न छैटौँ महाधिवेशनबाट राजेन्द्रले अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ मा शिक्षक आन्दोलनको नेतृत्वसमेत गरे  ।


२०४५ पुसमा माले बन्दा राजेन्द्र संस्थापक जिल्ला नेता हुन् । मालेको सहसचिव हुँदै उनी २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० मा नेकपा (एमाले)को अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । त्यसपछि उनी निरन्तर केन्द्रीय नेतृत्वमा छन् । पार्टीको विभाग र जनसंगठनको नेतृत्व गरेको अनुभव पनि उनीसँग छ । 


सुरेन्द्र हालको शंकरदेव क्याम्पसमा भर्ना भए । पढाइकै क्रममा सुरुमा शिक्षक र लगत्तै नेपाल बैंकमा जागिर खाए । बैंकरका रूपमा उनले वीरगन्ज र नेपालगन्जमा बसेर काम गरेका थिए । अध्ययनमा तृष्ण सुरेन्द्रले भारतमा सिए पढ्नका लागि छात्रवृत्ति पाएका थिए । तत्कालीन कोडिनेसन केन्द्र (कोके) को सम्पर्कमा रहेर भूमिगत राजनीति थालिसकेका सुरेन्द्रलाई थप पढ्ने कि राजनीतिमा लाग्ने भन्ने विकल्प थियो । देशको व्यवस्था परिवर्तन गर्न छात्रवृत्ति त्यागेर पाण्डे ०३५ सालमा भूमिगत राजनीतिमा होमिए । सुरुदेखि नै शालीन र भद्र सुरेन्द्र कुशल संगठक हुन् । पार्टी काममा सुरेन्द्रले १० वर्ष भूमिगत जीवन विताए । भूमिगत कालमा सुरेन्द्रले कोसी, बागमती, कर्णालीलगायत क्षेत्रमा पार्टी संगठन विस्तार गरेका थिए । मजदुर फाँट, विद्यार्थी फाँट, पेसागत फाँटलगायतको प्रमुख भई काम गरेको अनुभव पनि सुरेन्द्रसँग छ ।


तत्कालीन मालेका २८ केन्द्रीय सदस्यमध्ये सुरेन्द्र पनि एक हुन् । पार्टीको एउटै निर्णयबाट ०४७ मा सुरेन्द्रसहित विष्णु पौडेल र युवराज ज्ञवाली केन्द्रीय सदस्य भएका थिए । तर, राजेन्द्र भने वामदेव गौतमले माले विभाजित गरेपछि एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । महाकाली सन्धिको विषयमा विवाद भएपछि एमालेबाट विद्रोह गरेर माले गठन भएको थियो । 

 

फरक पार्टी, एउटै भूमिका
लामो समय दुवैले एउटै पार्टीबाट राजनीति गरे । अहिले भने फरक पार्टीमा छन् । तर, दुवै पार्टी उपाध्यक्षको भूमिकामा । नेकपाभित्रको आन्तरिक विवादमा दुवै प्रचण्ड–माधव नेपाल समूहमा थिए । १० बुँदे सहमतिपछि सुरेन्द्र एमालेमै बसे भने राजेन्द्र विद्रोह गरेर एकीकृत समाजवादीमा लागे । एमालेको नवौँ महाधिवेशनमा राजेन्द्र उपाध्यक्ष र सुरेन्द्र महासचिवका उम्मेदवार थिए । तर, दुवै झिनो मतान्तरले पराजित भए । केन्द्रीय सदस्यमा भने दुवै निर्वाचित भएका थिए । राजेन्द्र पोलिटब्युरो र सुरेन्द्र स्थायी कमिटी सदस्य बनेका थिए । नेकपा कालमा पनि दुवै नेताको पद त्यही थियो । 

राजेन्द्र प्रस्ट वक्ता हुन् । उनको स्वभाव कडा छ । उनी देखेको कुरा नाफा–घाटा नसोची भनिहाल्छन् । राजेन्द्र मास लिडर हुन् । सुरेन्द्र अन्तर्मुखी स्वभावका छन् । उनी अरूको कुरा बढी सुन्छन् । सुरेन्द्र कुशल संगठक हुन् । कार्यकर्तासँग घुलमिल गर्न दुवै रुचाउँछन् ।

दुवैले स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिएका छन् । यद्यपि, दुवै नेता खोज, अध्ययन, अनुसन्धानमा अहिले पनि सक्रिय छन् । राजनीति, अर्थशास्त्र, विकास र भूगोलमा उनीहरूको रुचि छ । राजेन्द्रको रुचि बढ्ता लेखनमा छ भने सुरेन्द्रको पढाइमा । राजेन्द्र हरेक दिनको गतिविधि बेलुका नोटबुकमा उतार्छन् ।

 

पञ्चायतविरुद्ध पाण्डे दाजुभाइ
२०४३ सालको निर्वाचनमा राजेन्द्र पञ्चायतविरुद्ध जनपक्षीय उम्मेदवार बनेका थिए । राजेन्द्र हात्ती चिह्न लिएर चुनावी मैदानमा उत्रिँदा सुरेन्द्र पञ्चायतविरुद्ध जनपक्षीय उम्मेदवारलाई जिताउन सक्रिय थिए । तर, राजेन्द्र थोरै मतान्तरले पराजित भए । २०४४ सालको जिल्ला पञ्चायतको निर्वाचनमा राजेन्द्र सभापतिमा निर्वाचित भए । देशभरबाट सभापतिमा निर्वाचित हुने जनपक्षीय उम्मेदवारमा राजेन्द्र मात्रै एक्ला थिए । उपसभापति भने आठजना जनपक्षीय उम्मेदवार निर्वाचित भएका थिए । पञ्चायतविरुद्ध खुला सभामै तिखो प्रहार गरेका राजेन्द्रलाई १३ फागुन २०४५ मा पञ्चायतले राजकाज मुद्दामा जेल हालेको थियो । बहुदल आएपछि उनी जेलबाट छुटे । पञ्चायतविरोधी आन्दोलनका क्रममा सुरेन्द्रले १० वर्ष भूमिगत राजनीति गरेका छन् । 

लामो संसदीय यात्रा
संसदीय राजनीतिमा पनि पाण्डे दाजुभाइको अनुभव लामो छ । संसदीय निर्वाचनमा राजेन्द्रले धादिङ र सुरेन्द्रले चितवन रोजेका छन् । पाँचपटक प्रतिनिधिसभा सदस्य भइसकेका राजेन्द्र ०७४ को निर्वाचनमा मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश सभा निर्वाचनमा होमिएका थिए । राजेन्द्र २०४८, ०५१, ०५६, ७० र ७९ मा सांसद निर्वाचित भएका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने राजेन्द्र पराजित भएका थिए ।

 

०७४ मा प्रदेश सभामा निर्वाचित पाण्डे एमाले विभाजित भएपछि एकीकृत समाजवादीको बागमती प्रदेश सभा मुख्यमन्त्रीसमेत भए । ०४८ मा सांसद निर्वाचित भएपछि राजेन्द्र सुरुमा सचेतक र पछि प्रमुख सचेत बनेका थिए । एमालेका तत्कालीन प्रमुख सचेतक देवी ओझा पार्टी विभाजनपछि मालेमा लाग्दा राजेन्द्रले प्रमुख सचेतक बन्ने मौका पाएका थिए । ०६२÷६३ को जनआन्दोलन सफल भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा राजेन्द्र स्थानीय विकासमन्त्री भएका थिए । हाल उनी एकीकृत समाजवादीका उपनेता छन् ।


सुरेन्द्र ०५४ देखि ६० सम्म राष्ट्रिय सभा सदस्य भए । ०५६ देखि ६० सम्म राष्ट्रिय सभाको प्रमुख सचेतक बने । ०६४ को पहिलो संविधानसभामा समानुपातिक सांसद सुरेन्द्र संसदीय दलको उपनेता बने । संसदीय दलको नेता एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल थिए । ०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी अर्थमन्त्री बने । ७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी चितवनबाट निर्वाचित भए । ०७४ को निर्वाचन पनि उनी निर्वाचित भए । ७९ को निर्वाचनमा भने उनी पराजित भए । 

फरक स्वभाव,  उस्तै मान्यता
राजेन्द्र प्रस्टवक्ता हुन् । उनको स्वभाव कडा छ । उनी देखेको कुरा नाफा–घाटा नसोची भनिहाल्छन् । हरेक दिनका गतिविधि नोट गरेर राख्छन् । नेता बन्नकै लागि मुलाहिजा गर्ने स्वभाव उनीमा छैन । राजेन्द्र मास लिडर हुन् । सुरेन्द्र अन्तरमुखी स्वभावका छन् । उनी अरूको कुरा बढी सुन्छन् । सुरेन्द्र कुशल संगठक हुन् । कार्यकर्तासँग घुलमिल गर्न दुवै रुचाउँछन् । दुवै नेता फोन र भेटघाटमा व्यस्त हुन्छन् । राजेन्द्र सर भन्दै पाण्डेलाई भेट्न राजनीतिक कार्यकर्ता र धादिङका सर्वसाधारण आइरहन्छन् । राजेन्द्र सबैसँग अनौपचारिक हिसाबले घुलमिल मात्रै हुँदैनन्, रसिला कुरा पनि गर्छन् । कार्यकर्ताको व्यक्तिगत र पारिवारिक जिन्दगीप्रति पनि राजेन्द्र चासो राख्छन् । सुरेन्द्र भने बढी औपचारिक ढंगले प्रस्तुत हुन्छन् । पार्टीका नेता–कार्यकर्तासँग सुरेन्द्र वैचारिक खुराक दिन्छन् । 

प्रेम र जनवादी बिहे 
राजेन्द्रले सीतासँग प्रेमबिहे गरेका हुन् । सुरेन्द्रले जनवादी बिहे गरेका हुन् । सुरेन्द्रको बिहे पार्टीले पूर्णशोभासँग गरिदिएको हो । पाण्डे परिवारबीच वेलावेलामा जमघट भइरहन्छ । दुवैबीच सुमधुर सम्बन्ध छ । राजनीतिक परिवार भए पनि घरमा राजनीतिकभन्दा पारिवारिक कुरा नै बढी हुन्छ । ‘हाम्रो राजनीतिक परिवार हो । तर, घरमा राजनीतिक कुरा हुँदैन,’ राजेन्द्र र सुरेन्द्रका कान्छा भाइ दीपेन्द्र भन्छन्, ‘देश–विदेशको राजनीतिबारे हाम्रो परिवार पूर्ण जानकार छ ।’ फरक पार्टीका नेता भए पनि परिवारमा असजिलोपन महसुस नभएको दीपेन्द्र सम्झिन्छन् । आफू दुःख गरेर स्थापित भएकाले आफैँ केही गर्नुपर्छ भन्ने मान्यता दुवैको छ ।

केन्द्रीय राजनीतिमा सुरेन्द्र अघि
दाजु राजेन्द्रको राजनीतिक सक्रियता र प्रेरणाबाटै सुरेन्द्र भूमिगत राजनीतिमा होमिएका थिए । तर, पार्टी राजनीतिमा राजेन्द्रलाई उछिन्दै सुरेन्द्र ०४७ मै केन्द्रीय सदस्य बने । झन्डै एक दशक जिल्ला नेतृत्वमा रहेका राजेन्द्र भने ०५५ मा मात्रै पार्टी केन्द्रीय सदस्यमा मनोनीत भए । सुरुवाती दिनमा राजेन्द्र नै सिनियर थिए । २०३३ सालमा सेन्ट्रल जेलमा पार्टी सदस्यता लिएका राजेन्द्रले जेलबाट छुटेलगत्तै तत्कालीन मालेका नेता सिपी मैनालीलगायतले जेल बे्रेक गर्दा बाहिर बसेर योजना बनाएका थिए । जेलब्रेकपछि उनी ‘मोस्ट वान्टेड’को सूचीमा थिए । उनी २०३३ सालमै तत्कालीन कोअर्डिनेसन केन्द्र उपत्यका संगठन कमिटीका सदस्य थिए । त्यतिवेला सुरेन्द्रले मालेको पूर्णकालीन सदस्यता नै लिइसकेका थिएनन् ।


०७४ मा प्रदेश सभामा निर्वाचित भएपछि राजेन्द्रले केपी ओलीसँग नजिक भएर काम गर्न चाहेका थिए । तर, मुख्यमन्त्रीमा ओली समूहले डोरमणि पौडेललाई अघि सारेपछि राजेन्द्र केही समय निष्क्रियजस्तै बनेका थिए । माधव नेपाल समूहबाट बागमती प्रदेश संसदीय दलको नेतामा उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यलाई पौडेलले पराजित गरेर मुख्यमन्त्री बनेका थिए । राजेन्द्र सर्वसहमतिमा दलको नेता बन्ने कोसिसमा थिए । तर, प्रयास सफल भएन । तत्कालीन एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा राजेन्द्रभन्दा जुनियर नेता स्थायी कमिटी सदस्य बन्दा उनी भने पोलिटब्युरोमै सीमित भए । दुवै पटक–पटक सांसद र एक–एकपटक केन्द्रीय मन्त्री भइसकेका छन् । राजेन्द्रले बागमती प्रदेशको मुख्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका छन् । 

उद्यम र योजना निर्माणमा अब्बल
पाण्डे दाजुभाइले योजना निर्माणमा अब्बल नेताको पहिचान बनाएका छन् । राजेन्द्र उद्यममा समेत संलग्न छन् । राजेन्द्रले पहिलो कम्युनिस्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको नाममा सहकारी र अस्पताल सञ्चालन गर्दै आएका छन् । पाण्डे स्थानीय विकासको ज्ञाता नै मानिन्छन् । सुरेन्द्र कसरी उद्यमी बन्ने भनेर कार्यकर्तालाई सिकाउँछन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पार्टीमा आर्थिक मामिलाका जानकारका रूपमा चिनिन्छन् । उद्यम र आर्थिक समृद्धिका विषयमा सुरेन्द्रले कार्यकर्तालाई प्रशिक्षण दिँदै आएका छन् ।


भूमिगतकालमा काठमाडौंमा संगठन विस्तारमा सुरेन्द्रको ठूलो योगदान छ । भूमिगत संगठनकै जगमा २०४८ को पहिलो आमनिर्वाचनमा उपत्यकाका नौमध्ये एमालेले सात सिट जितेको थियो । तत्कालीन एमाले महासचिव मदन भण्डारीले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौंबाट पराजित गरेका थिए । पाण्डे हाल पनि कुशल संगठनको रूपमा एमालेमा परिचित छन् ।