नेपाली साहित्यमा कसैले ‘नेपाली सेक्सपियर’ त कसैले ‘नाट्य सम्राट्’को उपाधि दिएका छन्, बालकृष्ण समलाई । उनले समाएको मूल विधा नाटक र कविता हो । राणाकालमा उनी सेनाका अधिकारी हुनुका साथै त्रिचन्द्र कलेज पढाउने र तत्कालीन नेपाली भाषा प्रकाशिनी समितिका महत्वपूर्ण जिम्मेवारीमा थिए । उनले वि.सं. १९८५ असार २७ गते श्री ३ चन्द्रशमशेरको जन्मदिन पारेर वियोगान्त नाटक ‘मुटुको व्यथा’ उपहार चढाएका थिए । पछि केही काँटछाँटपछि प्रकाशनका लागि सरकारी अनुमति पाएर एक वर्षपछि उनको पहिलो कृतिका रूपमा यो पुस्तक छापियो । राणाकालका बालकृष्णशमशेर राणा २००७ सालको क्रान्तिपछि बालकृष्ण सम भए । उनले जीवनभर राज्यबाट अनेकौँ अवसर पाइरहे । वि.सं. १९५९ माघ २४ गते जन्मेका उनको २०३८ साउन ६ गते निधन भयो । बालकृष्ण सम साहित्य क्षेत्रमा जति प्रतिष्ठित र चर्चित छन्, उसैगरी उनका कैयौँ अँध्यारा पाटा पनि छन् ।
बालकृष्णको वंशावली
जंगबहादुर अनेकौँ छल र बलले प्रधानमन्त्रीको रूपमा देशमा सर्वशक्तिमान त भए । तर, जातिगत रूपमा तीनडोरे क्षेत्री भएकाले उनी आफूलाई उपेक्षित महसुस गर्थे । ६ डोरे राजपुत र चौतारिया खलकसँग जंगबहादुर खलकको भातभान्सा र बिहेबारी पनि चल्दैनथ्यो । तर, उनी यी सबै छोइछिटो तोडेर जातीय रूपमा पनि ६ डोरे राजपुत वा चौतारियासरह भई उनीहरूको सन्तानसँग आफ्नो सन्तानको बिहेबारी चलाउन चाहन्थे । यसका लागि उनको जात वंश बढ्न जरुरी थियो । जंगबहादुरसँग विजयराज पाण्डेलगायत राजपुरोहितले कुँवर वंशावली तयार गर्न प्रस्ताव गरे । उनी उच्च र प्रसिद्ध राजघरानासँग वंश जोड्ने कुरामा दत्तचित्त हुँदा आफ्ना प्रसिद्ध पुर्खा अहिराम र रामकृष्णलाई हेरेर मात्रै उनले चित्त बुझाएनन् । हिजो भारतमा मुगल बादसाहलाई समेत टक्कर दिने चितौडगढका महाराणा प्रतापको वंशसँग आफ्नो वंश जोड्न लगाए । ‘कुँवर’ व्युत्पत्ति कुमार हुने हुँदा ‘श्रीमद्राजकुमारात्मज’ अर्थात् राजाको छोराका छोरा भन्ने उपपत्ति दिएर भारतको उच्च राजघरानाका वंशवृक्षसँग जंगबहादुरको वंश जोड्ने काम भयो (ज्ञानमणि नेपाल, ‘नेपाल निरुपण’– २०५५ः१२१–१२४) ।
कुँवरबाट औपचारिक रूपमा ‘राणाजी’ हुने गरी जंगबहादुरले तत्कालीन राजा सुरेन्द्रविक्रम शाहबाट लालमोहर नै गराए । राजाबाट वि.सं. १९०५ वैशाख सुदी १३ मा जारी लालमोहरमा प्रधानमन्त्री जंगबहादुर र उनका वंशजहरू भारतको चितौडगढका राजपुत राणा हुन् भन्ने प्रमाण हुनाले जंगबहादुर र उनका वंशजहरूलाई ‘राणाजी’ भन्नू भन्ने उल्लेख छ । लालमोहरमा लेखिएको छ, ‘...तिम्रा पूर्वजहरू राजपुत परिवारका भएकाले आजसम्म कुँवर कहलिएका छन् । म तिमीसँग प्रशन्न छु र यो देखिन आयो कि तिम्रा पूर्वजहरू कुँवर राणाजी हुन् । हामीहरूका अतिरिक्त हाम्रा गाथगादी र मुलुकको हितमा बाहेक अर्काको ज्यान लिने मान्छे मृत्युदण्डको भागी हुन्छ तर तिमीहरू कुँवर राणाजी यस्तो कार्य गरेमा पनि मृत्युदण्डबाट वञ्चित हुनेछन् । त्यस्तै तिमीहरूलाई देश निकाला र सम्पत्ति अपहरण गरिनेछैन । राजपुत परिवारसँग आफूखुसी वैवाहिक सम्बन्ध कायम गर्न सक्दछौ’ (पुरुषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’–२०६५ः२५२–२५३) ।
पहिले कास्की राज्यसँग सम्बन्धित र पछि गोरखातिर लागेका अहिरामका रामकृष्ण र जयकृष्णबाहेक अर्का अम्बरसिंह कुँवर नामका छोरा पनि थिए । तर, रामकृष्ण र जयकृष्णजस्तो उनको नाम त्यति चलेन । उनी वि.सं. १८१९ असोजमा भएको तिमालको युद्धमा मारिएका थिए । रामकृष्णका छोरा रणजित कुँवर र उनका छोरा बालनरसिंह कुँवर हुन् । यता जयकृष्णका छोरा चन्द्रवीर र चन्द्रवीरका छोरा बलभद्र कुँवर हुन् । बालनरसिंहका सन्तान पछि राणा कहलाए भने जयकृष्णका सन्तान भने कुँवरकै रूपमा रहे ।
बालनरसिंह कुँवरका दुई पत्नीबाट आठ भाइ छोरा जन्मे । जेठीतिरबाट भक्तवीर कुँवर जन्मेका थिए । तीमध्ये कान्छी पत्नी गणेशकुमारी (रक्षकुमारी)का तर्फबाट जेठा सन्तानका रूपमा जंगबहादुर जन्मे भने कान्छा छोराका रूपमा धीरशमशेरको जन्म भयो । धीरशमशेरका विभिन्न पत्नीबाट १७ भाइ छोरा जन्मे । तीमध्ये वीरशमशेर जेठा हुन् । धीरका अविवाहितातिरबाट जन्मेका माहिला छोरा डम्बरशमशेरका छोरामध्ये एक समरशमशेर र कीर्तिलक्ष्मीतर्फबाट जन्मेका दुई छोरामध्ये कथाकार पुष्करशमशेर जेठा हुन् भने बालकृष्ण समचाहिँ कान्छा छोरा हुन् । राणाशासनको अन्त्यपछि बालकृष्णले आफ्नो नामबाट शमशेरलाई ‘सम’ मा परिणत गरे । उनका छोराको नाम जनार्दन सम रह्यो । चित्रकलामा पोख्त उनकी एक छोरी ज्वाला सम कहलाइन् । यी दुईबाहेक ‘सम’बाट उनका अरू सन्तानको परिचय स्थापित भएको देखिँदैन ।
चन्द्रशमशेरको पालामा राणाहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन वर्गमा वर्गीकरण गरियो । धीरशमशेरकी अविवाहितातर्फबाट जन्मेका सन्तान भएकाले बालकृष्ण सम ‘सी’ वर्गका राणा थिए । तत्कालीन प्रधानमन्त्री रणोद्दिपसिंहमाथि गोली चलाउनेमध्येका एक थिए, उनका हजुरबुबा डम्बरशमशेर । बालकृष्ण सैन्य पदमा लेफ्टिनेन्ट कर्णेलसम्म भएका थिए ।
लक्ष्मीनन्दन चालिसेलाई जेल हाल्दा
लक्ष्मीनन्दन शर्मा चालिसे (वि.संं. १९७०–२००२) त्यो वेलाका एक होनाहार युवक थिए । त्रिचन्द्र कलेजमा बिए तहमा पढिरहेका थिए । यसअघिको राष्ट्रगानका रचयिता चक्रपाणि चालिसेका छोरा हुन् उनी । उनी राणाशासनको अन्यायको विरोधी र शोषित अनि दरिद्र जनताका मित्र थिए । उनी अत्यन्तै प्रतिभाशाली पद्यकार र गद्य लेखक थिए । उनका यथार्थ चित्रण भएका सुन्दर पद्यकविताहरू ‘उद्योग’ पत्रिकामा प्रशस्त देखिएका छन् (डा. तारानाथ शर्मा, ‘नेपाली साहित्यको इतिहास’–२०७५ः१३७) ।
आइएमा अध्ययन गर्दा कलेजस्तरीय निबन्ध प्रतियोगितामा लक्ष्मीनन्दन पहिलो भएर स्वर्णपदक प्राप्त गरेका थिए । वि.सं. १९९६ तिर लक्ष्मीनन्दनले बिएको परीक्षामा मनपर्ने नायकका बारेमा उत्तर लेख्ने क्रममा ‘म पृथ्वीनारायण शाहलाई मानिस ठान्दछु, उनी नभइदिएको भए यी नपुंसक राणाहरूको बिउ नै रहने थिएन’ भनेर लेखिदिए (प्रकृति अधिकारी, ‘राणाकालीन शिक्षा’–२०७८ः५०) ।
लक्ष्मीनन्दनले राणाहरूलाई ‘नपुंसक’ भनी सार्वजनिक पत्रिकामा लेखेका थिएनन् र कुनै पर्चा छर्ने उद्देश्यले पनि त्यस्तो उद्गार व्यक्त गरेका थिएनन् । उनले आफ्नो मनमा उब्जेको कुरा केवल जाँच्ने एकजना परीक्षकले मात्र हेर्न पाउने गोप्य उत्तरपुस्तिकामा लेखेका थिए । परीक्षकले ती शब्दहरू देखेको नदेख्यै गरी अर्को पाना पल्टाइदिएको भए हुन्थ्यो । तर, चाकरी मनोवृत्तिमा लागेका परीक्षकले त्यो गर्न चाहेनन् । उत्तरपुस्तिका मेजर बालकृष्णशमशेरले हेरी शिक्षा विभागमा तत्कालीन महानिर्देशक मृगेन्द्रशमशेरकहाँ पुर्याए । उनले त्यो कुरा महाराज जुद्धशमशेरकहाँ जाहेर गरे । यो कुरा जाहेर हुनासाथ त्यो विद्यार्थीलाई १२ वर्ष कैद गर्नू भने । पछि मनमा के आएर लौ त्यसलाई ६ वर्ष मात्र कैद गर्नू भन्ने आदेश दिए (प्रमोदशमशेर राणा, ‘राणाशासनको वृत्तान्त’–२०६५ः२७२) ।
त्यतिखेर समाजमा पढेलेखेका प्रबुद्ध व्यक्तिहरूलाई पनि गिरफ्तार गरी थुनामा राखिएको थियो । तीमध्ये कवि सिद्धिचरण श्रेष्ठ पनि एक थिए । आफूले एक सम्मानित लेखकको रूपमा लिएका बालकृष्ण पनि उनीहरूको मुद्दा हेर्न खटिएको देख्दा सिद्धिचरण आश्चर्यचकित हुँदै उनीबारे सोच्न बाध्य भएका थिए ।
यसरी गोप्य उत्तरपुस्तिकाका परीक्षण गर्ने परीक्षक गोकुल चन्द थिए, जसले उत्तरपुस्तिका बालकृष्णशमशेरलाई देखाइदिएका थिए (अधिकारी, उहीः५०) ।त्यसपछि लक्ष्मीनन्दनलाई तुरुन्तै पक्राउ गरी नेल ठोकी सदर कारागारको भद्रगोलमा लगेर थुनियो । यिनका वृद्ध पिता चक्रपाणि चालिसेले ठाउँ–ठाउँमा गएर निवेदन चढाई छोरालाई छुटाउने प्रयास गरे । तर, उनको करुण रोदन सुन्ने कोही भएन । कारागारको नारकीय यातना लक्ष्मीनन्दनले सहन सकेनन् । उनलाई त्यहीँ कडा रोगले गाँज्यो । चार वर्षसम्म कठोर यातना भोगिसकेपछि छुटे, तर रोगले भने छाडेन र केही समयपछि यिनको देहावसान भयो । सुब्बा कृष्णलालपछिका यिनी दोस्रा साहित्यिक सहिद भए (राणा, २०६५ः२७२–२७३) ।
यी तथ्य हेर्दा आफू जतिसुकै साहित्य सिर्जनाका उपासक भए पनि बालकृष्ण समले अर्का एक आसलाग्दा सर्जक युवा लक्ष्मीनन्दन प्रकरणमा एउटा अक्षम्य भूल गरेको देखिन्छ । गोप्य उत्तरपुस्तिका परीक्षक गोकुल चन्दले आफूलाई त्यो उत्तरपुस्तिका देखाए पनि बालकृष्णले त्यो उत्तरपुस्तिका मृगेन्द्रशमशेरलाई नदेखाएको भए लक्ष्मीनन्दनको अकालमा मृत्यु हुने थिएन । चन्द्रशमशेरले मकैपर्वमा जसरी कृष्णलाल अधिकारीलाई जेलमै सडाएर मर्न विवश बनाए, उसैगरी मृगेन्द्रशमशेरमार्फत जुद्धशमशेरसमक्ष लक्ष्मीनन्दनले नपुंसक राणा लेखेको उत्तरपुस्तिका जाहेर गरेर बालकृष्ण समले दोस्रा साहित्यिक सहिदका रूपमा लक्ष्मीनन्दनलाई उभ्याउन मुख्य भूमिका निर्वाह गरे ।
लक्ष्मीनन्दन चालिसे प्रकरणमा बालकृष्ण समले आफ्नो आत्मसंस्मरणात्मक कृति ‘मेरो कविताको आराधन’मा एक शब्दसमेत उल्लेख गरेका छैनन् । वास्तवमा लक्ष्मीनन्दनका बुबा चक्रपाणि चालिसे त्यसवेला गोरखा भाषा प्रकाशिनी समितिमा बालकृष्णसँगै काम गर्थे । बालकृष्णले अत्यन्तै आदर गर्नेमध्येमा चक्रपाणि पनि एक थिए । कतिसम्म भने तत्कालीन नेपालको साहित्यिक प्रतिभामध्ये सोमनाथ सिग्द्याल, लेखनाथ पौड्याल र चक्रपाणि चालिसेलाई समले ‘त्रिमूर्ति’ नै भनेका छन् (बालकृष्ण सम, ‘मेरो कविताको आराधन’–२०५४ः२४२)
बालकृष्णले चक्रपाणिका सम्बन्धमा एक सम्झनामा ‘म जाँदा गोरखा भाषा प्रकाशिनी समितिमा त्यसवेला राममणि थिएनन्, पं. चक्रपाणि मात्र रहेछन् । मेरा साहित्यिक हितैषीमध्येका एक कवि चक्रपाणि चालिसे पनि थिए । त्यसवेला मलाई आफ्नो सम्झेर स्पष्टसित उनले यहाँको लेखाइ देख्ता मेरो हृदय प्रफुल्लित भएर आउँछ । आफूलाई त दारिद्र्यले गर्दा अरूले अह्राए–पह्राएकोसिवाय अरू लेख्ने फुर्सदै मिल्दैन, के लाग्छ !’ भनेका थिए (सम, २०५४ः२९५) । तर आफ्नो यस्तो भलो सम्झने चक्रपाणि चालिसेका एक मात्र युवक छोरा लक्ष्मीनन्दनलाई जेलमा सडाएर मृत्युउन्मुख बनाउने मुख्य भूमिका खेलेर चक्रपाणिको सद्भाव र शुभेच्छा भुल्ने काम बालकृष्ण समले गरेको देखिन्छ ।
शुक्रराज शास्त्रीसँग सम्बन्ध
बालिग भएपछि तुरुन्तै सेनाको अफिसर हुने अवसर पाउँथे, राणाका छोराहरूले । बालकृष्णले पनि सुमै चन्द्रशमशेरबाट एकैपटक सेनाको कप्तानी पाए । वि.सं. १९८१ असार २८ गते उनले बर्दबहादुर पल्टनमा कप्तानीमा भर्ना पाएका थिए । सेनामा कप्तान भए तापनि मानमर्यादाका हिसाबले उनीहरू सर्वसाधारण जनताबाट कर्णेल दर्जामा पुगेकाभन्दा माथि हुन्थे । सर्वसाधारण कर्णेलहरूलाई बैठकहरूमा बोलाइँदा उनीहरूलाई पनि त्यहाँ डाकिएको हुन्थ्यो (सम, २०५४ः२६२) ।
भीमशमशेर श्री ३ महाराजका रूपमा सत्तामा आएपछि उनको आदेशअनुसार बालकृष्णले त्रिचन्द्र कलेजमा पढाउने अवसर पाए । यसअघि चन्द्रशमशेरको जन्मदिनको अवसर पारेर जसरी आफ्नो कृति ‘मुटुको व्यथा’को पाण्डुलिपि चढाएका थिए, उसैगरी भीमशमशेर महाराज घोषित भएपछि यसअघि नै चन्द्रशमशेरलाई समर्पण गरेर लेखिसकेको नाटक ‘ध्रुव’को मुखपृष्ठबाट त्यो हटाएर भीमशमशेरलाई समर्पण गरेर लेखिसकेपछि पाण्डुलिपिमा चाँदीको जिल्द हालेर भीमशमशेरको राज्याभिषेकको दिन समर्पण गरे (सम, उहीः३०४) । तर, भीमशमशेर बालकृष्णको पाण्डुलिपिबाट खुसी भएनन् । बरु ‘तन्त्रका ग्रन्थ लेख्ने पो लेख्ने, यस्ता कवितासविता कथाकुथुंग्री लेखेर के काम लाग्छ ?’ भन्दै भीमशमशेरले जुद्धशमशेरलाई ‘बालकृष्णले एउटा नाटक बनाएको रहेछ, बेस लेख्दो रहेछ, अब यसलाई स्कुल कलेज पढाउन लगाइदेऊ’ भन्ने आदेश दिए (सम, २०५४ः३०५) ।
त्यसपछि उनी दरबार स्कुल र त्रिचन्द्र कलेजमा पढाउन थाले । उनको सेनाको अफिसर पद यथावत् थियो । जतिखेर बालकृष्णले राज्याभिषेकको अवसर पारेर भीमशमशेरलाई नाटक ‘ध्रुव’ समर्पण गरेका थिए, उसैगरी भर्खरै भारतबाट शास्त्री भई उदाएका शुक्रराजले ‘स्वर्गको दरबार’ चढाएका थिए । यसअघि नै शुक्रराजले ‘नेपाल भाषा व्याकरण’ लेखिसकेका थिए । बालकृष्णको विचारमा शुक्रराज उक्त व्याकरण लेखी नेवारहरूमा साम्प्रदायिकता जागृत गराई राजनीतिमा खेल्न लागेका थिए । यस्तै शुक्रराज भित्रभित्रै सल्किरहेको आर्यसमाजी सम्प्रदाय चलाउने ध्येयमा थिए (सम, २०५४ः३०८) ।
बालकृष्णको साहित्यिक अभिरुचि देखिएकाले त्यसवेला श्री ३ महाराज भइसकेका जुद्धशमशेरले मृगेन्द्रशमशेरसँग बुझेर उनलाई समितिको प्रमुख पद ‘सुपरिटेन्डेन्ट’मा खटाएका थिए । शुक्रराज जागिर माग्न समितिमा नियमित जस्तो धाउन थालेका थिए । त्यतिवेला उनले बालकृष्णसँग ‘सरदार राममणिको समयको सुपरिटेन्डेन्ट पद हाम्रो संस्कृतिमा मिलेन, तसर्थ यहाँलाई अध्यक्ष भने राम्रो होला’ भन्ने सुझाब दिए । यो प्रस्ताव मृगेन्द्र हुँदै जुद्धशमशेरले स्वीकृत गरे । त्यसैवेला शुक्रराजले गोरखा भाषा प्रकाशिनी समितिको नाम नेपाली भाषा प्रकाशिनी समिति राख्न पनि प्रस्ताव गरे । त्यो पनि स्वीकृत भयो । नेपाली भाषा प्रकाशिनी समितिको अध्यक्ष बालकृष्ण भए । त्यसवेलाको सम्झना गर्दै बालकृष्णले ‘पण्डित कवि चक्रपाणि चालिसेजस्ता अर्का विद्वान् मास्टर शुक्रराज शास्त्रीजस्ता पाएँ भने म मेरी कवितादेवीका एक अद्वितीय भव्य मन्दिर निर्माण गर्न सक्छु भन्ने आशाले मेरो हृदयमा घाम लाग्यो’ भन्ने उल्लेख गरेका छन् (सम, २०५४ः३५०) ।
आर्यसमाजी शुक्रराजले ब्यक्तिगत रूपमा भारतीय नेता महात्मा गान्धी र सुभाषचन्द्र वोससँग भेट गरेका थिए । उनको यो भेटघाटका बारेमा केही भारतीय अखबारले समाचार प्रकाशित गरे । उनको यस्तो भेटघाट राणाशासकलाई सह्य भएन । यो घटना वि.सं. १९९३–९४ को हो । उनी नेपाल फर्कनासाथ घरमै नजरबन्द गरिए भने उनको नेपाली भाषा प्रकाशिनी समितिको जागिर खोसियो (डा. राजेश गौतम,‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषदको भूमिका भाग १’–२०६२ः७१–७२) ।
घरमै नजरबन्दमा परेका शुक्रराजले नजरबन्दीबाट आफ्नो मुक्तिका लागि ‘म बिरामी छु, घरमा खाने केही छैन । यदि अनुमति पाए कलकत्ता गएर आफ्नो रोगको औषधि–उपचार गर्ने थिएँ, पेट भर्ने मौका पाउँथेँ’ भन्दै कमसेकम भगवान्का लागि भए पनि मानिसले मानिससँग मानिसको किसिमले व्यवहार गर्न राणाशासकसमक्ष निवेदन पठाए, तर सुनवाइ भएन । त्यसपछि एउटा आमभाषण गरेर नजरबन्द तोड्ने निर्णयमा पुगेका शुक्रराजले वि.सं. १९९५ को मंसिर महिनामा काठमाडौंको इन्द्रचोकमा देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका विविध विषयमा बोल्दै राणा सरकार र व्यवस्थाको आलोचना गरे । उनीपछि गंगालालले जोडदार भाषण गरेका थिए । त्यसको भोलिपल्टै शुक्रराज समातिए । अर्को दिन उनलाई तीनवर्षे कैदको सजाय सुनाइयो (गौतम, २०६२ः७८–७९) ।
क्रान्तिकारीहरूलाई मृत्युदण्ड सुनाइँदा नेपाल प्रजापरिषद्ले राणाशासनविरुद्ध सशक्त क्रान्तिको वातावरण बनाउँदै थियो । यसैक्रममा राणाशासकलाई चेतावनी दिँदै उपत्यकाका विभिन्न ठाउँमा पर्चा छरिए । यसले राणाशासकको सातो गयो । त्यसपछि पर्चा छर्नेहरूको व्यापक खोजी गर्न थालियो ।
क्रान्तिकारीमध्येकै एक व्यक्तिले पैसाको लोभमा परेर पोल खोलिदिएपछि शंका लागेका व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालियो । वि.सं. १९९७ कात्तिक २ गतेदेखि ९ गतेसम्ममा नेपाल प्रजापरिषद्का सभापति टंकप्रसाद आचार्य र एकजना सदस्य मुकुन्दप्रसाद रिमालबाहेक सबै गिरफ्तार भए (गौतम, २०६२ः१३०) । राणाविरोधी आरोप लागेका आर्यसमाजी शुक्रराज शास्त्री त दुई वर्षअघिदेखि नै थुनामा थिए । पछि टंकप्रसादलाई पनि पक्राउ गरियो ।
जुद्धशमशेरले निर्देशन दिएअनुसार गिरफ्तार भएका व्यक्तिहरूको बयान लिन र केरकार गरी तथ्य पत्ता लगाउन शंकरशमशेरको अध्यक्षतामा एक केरकार तथा जाँचबुझ समिति गठन गरियो । नरशमशेर, डिल्लीजंग थापा, महेन्द्रबहादुर महत, सुब्बा उपेन्द्रपुरुष ढकाल, गुरुज्यू खगेन्द्रराजलगायत सदस्य रहेको समितिमा त्यसवेला मेजर दर्जामा रहेका बालकृष्ण पनि एक सदस्य थिए । यसरी केरकार तथा जाँचबुझ समिति गठन गरिएपछि गिरफ्तार गरिएका व्यक्तिहरूलाई सिंहदरबारमा निर्माण गरिएको यातनागृहमा प्रवेश गराई यातना दिँदै बयान लिन थालियो (गौतम, २०६२ः१३४) ।
त्यतिखेर समाजमा पढेलेखेका प्रबुद्ध व्यक्तिहरूलाई पनि गिरफ्तार गरी थुनामा राखिएको थियो । तीमध्ये कवि सिद्धिचरण श्रेष्ठ पनि एक थिए । आफूले एक सम्मानित लेखकको रूपमा लिएका बालकृष्ण पनि उनीहरूको मुद्दा हेर्न खटिएको देख्दा सिद्धिचरण आश्चर्यचकित हुँदै उनीबारे सोच्न बाध्य भएका थिए ।सिद्धिचरणले बालकृष्णको त्यस भूमिकाका बारेमा आफ्नो सम्झनामा ‘आज कागज गरिरहँदा सोधिएका प्रश्नका उत्तर आफैँले लेखिरहँदा बालकृष्णशमशेर जबरा मेरो पछाडि उभिएर मैले लेखेको हेरिरहेका थिए । वि.सं. १९८६ सालमा नै उनको नाटक ‘मुटुको व्यथा’ मैले पढेको थिएँ ।
म उनलाई नेपाली साहित्यको दिग्गजको रूपमा चिन्थेँ । १९९१ सालमा ‘शारदा’को प्रकाशन सुरु भएपछि म बराबर उनीकहाँ आउने–जाने गर्न थालेँ । आज उनी पनि हामी राजद्रोहीमा शंका गरिएकाहरूको मुद्दा हेर्नका निम्ति खटिएका छन् । उनी ‘सी’ क्लासका राणा भएकाले त्यतिका धनी र पावरदार त होइनन्, तर श्री ३ जुद्धको विश्वासिला नभएको भए हाम्रो मुद्दा हेर्न उनी खटिने थिएनन् । आज म उनको विषयमा सोच्न बाध्य भएको छुु’ (सिद्धिचरण श्रेष्ठ, ‘सिद्धिचरणका जेल संस्मरण’–२०५२ः७३) भन्ने उल्लेख गरेका छन् ।
सिद्धिचरणले बालकृष्णका सम्बन्धमा आफ्नो जेल संस्मरणमा अनेकौँ तर्कना मनमा खेलाएका छन् । उनले ‘बालकृष्णशमशेरजस्तो प्रमुख लेखकले पनि यो निरंकुश शासनलाई असल मानेका छैनन् होला । सच्चा लेखक बन्नका निमित्त त्यसको विरोध गर्नैपर्छ । लेखकमा त्यस्तो कमजोरी हुनु अवश्य पनि पछि गएर लाञ्छनाको कुरा हुनेछ । आज उसले जत्तिकै सम्मान र प्रतिष्ठा पाए पनि पछिकाले उसलाई लाञ्छना लगाउनेछन्’ (श्रेष्ठ, २०५२ः७४) भनी त्यसवेलाका बालकृष्णशमशेरलाई सम्झना गरेका छन् । यो समितिले पक्राउ गरेकाहरूलाई अमानवीय किसिमको यातना दिएर बयान लिएको थियो ।
बालकृष्णसमेत सदस्य रहेको केरकार तथा जाँचबुझ समितिले दोषी ठह¥याएकाहरूलाई मुद्दा चलाई आवश्यक सजायको निर्माण गर्न पद्मशमशेर, मोहनशमशेर, केशरशमशेरलगायत रहेको एक विशेष अदालतको गठन गरियो (गौतम, २०६२ः१३४) । अदालतले वि.सं. १९९७ माघ ६ गते अभियुक्तउपर फैसला ग¥यो (गौतम, २०६२ः१५५) । यही अदालतले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला ग¥यो । तीमध्ये शुक्रराजलाई माघ १० गते टेकु पचलीमा, धर्मभक्तलाई माघ १३ गते सिफलमा झुन्ड्याएर मृत्युदण्ड दिइयो भने माघ १५ गते दशरथ र गंगालाललाई शोभाभगवतीमा गोली हानेर मृत्युदण्ड दिइएको थियो ।
यीमध्ये शुक्रराज शास्त्रीको प्रजापरिषद काण्डमा कुनै संलग्नता थिएन । प्रजापरिषदले पर्चा छर्नेलगायत राणाविरोधी आन्दोलन गरिरहेका वेला उनी भने आफूलाई तोकिएको तीन वर्ष कैदको सजाय भुक्तान गरिरहेका थिए । गीता विषयक व्याख्यान गरेको अभियोग लागेका उनको २६ महिना त सजाय कटिसकेको थियो । उनलाई तोकिएको सजाय पूरा हुन १० महिना मात्र बाँकी थियो । यस्तो अवस्थामा राजकाज मुद्दामा मुछिएका दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसरह उनलाई पनि ज्यान सजाय दिँदा कौटिल्यको भाषामा प्रकृतिकोप भयो अर्थात् राणाशासनको जग कमजोर हुनुमा यो पनि एउटा कारण बन्न गयो (डा. महेशराज पन्त, ‘राजधानी’ वर्ष १२ अङ्क २३०–माघ १५, २०७९ः७) ।
बालकृष्णको प्रायश्चित्त ?
आज काठमाडौंको व्यस्त सडकमध्ये जुन ठाउँलाई सहिदगेट भनिन्छ, खासमा यो ठाउँ ‘नेपाल स्मारक’का नामले निर्माण थालिएको थियो । पछि सहिदको सालिक राखिएकोले यो ठाउँ ‘सहिदगेट’को नामबाट जनजिब्रोमा प्रचलित हुन पुग्यो ।
इन्जिनियर शंकरनाथ रिमालले यो स्मारकको डिजाइन गरेका हुन् । यसका लागि आधा दर्जन डिजाइन गरिएको थियो । तीमध्येबाट जुन पास भएको थियो, त्यसैलाई ‘नेपाल स्मारक’भनेर निर्माण गराउन थालियो । रिमालले त्यसवेला हात्ती चढेर हिँड्न मिल्ने तीन लेनको सडक राखेर नेपाल स्मारक बनाएका थिए । उनी फेलोसिपमा अध्ययनका लागि जर्मनी गएपछि बाँकी काम गर्न गौरीनाथ रिमाल नियुक्त गरिएका थिए । त्यसवेला एक लाख २५ हजार खर्च गरेर स्मारक निर्माण सम्पन्न गरियो । यसको उद्घाटन तत्कालीन राजा महेन्द्रले वि.संं २०१८ वैशाख १ गते गरे । कलाकार चन्द्रलाल मास्केको सीपमा सालिक बने । सहिदहरूका सालिक राखिएकाले मानिसहरूले सजिलोका लागि यो ठाउँलाई सहिदगेट भन्न थाले । यहाँ चारजना सहिदको सालिक राख्ने निर्देशक (परिकल्पनाकार) चाहिँ बालकृष्ण सम थिए (यादव देवकोटा, ‘बिबिसी नेपाली सेवा’–३० जनवरी २०१९) ।
हिजो शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाललगायतलाई यातना दिँदै केरकार गरी जाँचबुझ गर्ने समितिका सदस्य थिए बालकृष्ण । आज नेपाल स्मारकमा चार सहिदको सालिक राख्ने परिकल्पना गर्ने पनि उनै भए । सायद उनी ‘प्रायश्चित’ गर्न यस कार्यमा खटिएका थिए ।
त्यो वेलायता बालकृष्ण सम राजा महेन्द्रसँग यसरी मिले, जसरी काम गरिरहेका थिए, उता उनका ज्वाइँ (छोरी रश्मीराज्यलक्ष्मीका पति) जगतप्रकाशजंग शाह भने वि.सं. २०१७ पुस १ को शाही कदमका विरुद्ध कांग्रेसको सशस्त्र संघर्षमा होमिएका थिए । उनीसहितको सशस्त्र समूहले वि.सं. २०१८ माघ २६ गते चितवनको भरतपुर कब्जा गरेको थियो । यसको ४८ घन्टा बित्न नपाउँदै सरकारी सेनाले सशस्त्र समूह बसेको गेस्टहाउसमा घेरा हाल्यो । आफ्ना साथीसहित माघ २८ गते जगतप्रकाशजंग समातिए । समातिएका ११ जनालाई टिकौलीको जंगलमा लगिँदा जगतप्रकाशजंगबाहेक अरू सबैको माघ २९ गते हत्या गरियो । उनी राजखलकका भएकाले उनलाई के गर्ने भन्नेबारे दरबारसँग सोधनी हुँदा राजा महेन्द्रको अनुमति र तत्कालीन गृहमन्त्री विश्वबन्धु थापाको निर्देशनमा सुरुमा माफी मगाइयो, तर माफी नमागेपछि उनको पनि हत्या गरियो (श्रीभक्त खनाल, ‘हिमालखबर’ २४ चैत, २०७७) ।
एउटा संयोग, २०१८ सालमा नेपाल स्मारकमा चारजना सहिदको सालिक राख्न निर्देशन दिने बालकृष्ण समका ज्वाइँले पनि वि.सं. २०१८ मै सहादत प्राप्त गरे ।
यस्ता पनि थिए, बालकृष्ण सम !