• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
साङ्मो योन्जन तामाङ
२०७९ फाल्गुण ६ शनिबार ०६:५८:००
सम्झना

त्यो पहिलो माया

तिमीलाई पाएसँगै गुमाउँछु कि भन्ने चिन्ताले असाध्यै सतायो

२०७९ फाल्गुण ६ शनिबार ०६:५८:००
साङ्मो योन्जन तामाङ

 

मेरो जीवनमा तिम्रो आगमनअघि मायाप्रतिको मेरो बुझाइ सीमित थियो । मायाका अभिव्यक्ति र भनाइहरूमा बहकिदिनँ थिएँ । मायामा डुब्नुको भाव बुझ्दिनँ थिएँ । तर, जिन्दगीको यो चरणमा मायाको अस्तित्वलाई आत्मसात् गर्न पुगेकी छु । मायाको शक्तिलाई स्वीकार गरेकी छु । किनकि यतिवेला म मायामा चुर्लम्म डुबेकी छु । मायाको भावनाले ओतप्रोत छु । निकै हर्षित छु । माया लगाउँदाको भावना महसुस गरिरहेकी छु । असाध्यै माया लाग्छ तिम्रो । अथाह माया छ तिमीप्रति । यो मायालाई जतिसुकै र जसरी व्यक्त गरे पनि धित मर्दैन । 


तिम्रो अबोधपनाले मलाई लठ्याएको छ । तिम्रो बोलीले मलाई मग्न बनाएको छ । तिम्रो हँसाइले मलाई भुतुक्कै बनाइदिएको छ । तिम्रो मायाले मलाई हुरुक्कै बनाइदिएको छ । तिमीले गर्ने सम्बोधनले स्वर्गीय आनन्द मिल्छ । तिम्रो चुम्बनले त मेरो होस उडाउँछ । तिमीलाई मुटुको कुन कुनामा राखौँ ? मायाका कुन नाउले बोलाऊँ ? आँखामा सजाऊँ कि छातीमा टाँसौं ? मायामा अनियन्त्रित भएकी छु । हो, मलाई तिम्रो बानी परेको छ ।


माया यतिबिघ्न लागेको छ कि तिमीले जति सताए पनि म हाँसीखुसी सहिदिन्छु । तिम्रो जिद्दीपनको अगाडि म लाचार भइदिन्छु । तिम्रो रोदनलाई मैले आफ्नो कमजोरी ठान्छु । तिमीले व्यक्त गर्न नसकेको कुरा मैले बुझ्न नसक्दा म दुःखी हुन्छु । पख, मलाई केही समय देऊ । म सिक्दै छु । प्रयास गर्दै छु । यस्तो सम्बन्धमा मेरो अनुभव छैन । तिमीसँगको सम्बन्ध मेरो पहिलो हो । तिमीसँगको हरेक कुरा पहिलो हो । पहिलो माया । पहिलो स्पर्श । पहिलो अंकमाल । पहिलो चुम्बन ।


मैले मेरो सम्पूर्ण समय तिमीलाई खर्चिएकी छु । मेरा इच्छा, आकांक्षा र चाहानालाई थाती राखेकी छु । किनकि यतिवेला तिमीलाई मेरो साथको जरुरी छ । तिम्रो लागि यो परिवेश नयाँ छ । तिमीलाई सबै कुराहरूसँग परिचय गराउनु छ । तिम्रो हरेक क्रियाकलापमा म सरिक हुनुपरेको छ । तिमीलाई जताततै पछ्याउनुपरेको छ । तिम्रो कोसिसलाई सार्थक बनाउनु छ । तिम्रो जिद्दीपनालाई सम्हाल्नु छ । तिम्रो रिसलार्ई शान्त बनाउनु छ । तिमीसँगको सहयात्रामा मैले थकान र निद्रालाई बिर्सिएकी छु । समयलाई पछ्याउन छोडेकी छु । आफ्नो आवश्यकतालाई कुल्चिएकी छु । तिम्रो खुसीलाई रोजेकी छु । तिमीसँग रमाइरहेकी छु । हराइरहेकी छु । म तिमीमै निहित छु । तिमीसँगको प्रत्येक क्षण कति अमूल्य अनि आनन्ददायी ! कति खास ! भविष्यको लागि मिठो सम्झना रहनेछ ।

अन्ततः तिमीलाई प्रत्यक्ष भेट्ने दिन पनि आयो । मेरो जीवनकै अविस्मरणीय दिन । अति दुर्लभ क्षण । दुर्लभ भोगाइ । अनि जीवन परिवर्तनको अनुभव । यस दिनले मेरो जीवनमा खास अर्थ राख्छ । मेरो मन मस्तिष्कमा त्यो भेट ताजा छ ।


तिमीसँग भेट्न बनाएको योजना मेरो जीवनकै उत्कृष्ट निर्णय भएको छ । विश्व त्यतिवेला कोरोना संक्रमणको माहामारीले ग्रस्त थियो । पहिलो लहरको संक्रमणले लाखौँको ज्यान लिइरहेको थियो । स्वास्थ्य क्षेत्रमा अन्योल अनि नैराश्य छाएको थियो । देशकोे स्वास्थ्य स्थिति नियन्त्रणबाहिर गइरहेको थियो । संक्रमण रोकथाम तथा व्यवस्थापनका प्रयास असफल भएका थिए । मानिसहरू त्रसित थिए । भौतिक दूरी कायम राख्न स्वास्थ्य मापदण्ड बनाइएको थियो । यसैबीच तिमीलाई सकुशल र स्वस्थ्य भेट्ने कामना रह्यो । तिमीसँग प्रत्यक्ष भेट हुने समय नजिकिँदै गर्दा त्यस माहामारीको सिकार म पनि हुन पुगँे । मेरो विशेष अवस्थाले म अति जोखिमयुक्त समूहमा पर्थें । संक्रमित भएको पुष्टि हुँदा सबैभन्दा पहिले मैले तिमीलाई सम्झेँ । तिम्रो चिन्ता लाग्यो । तिमीलाई भेट्नै नपाउँला कि भन्ने तनावले खुबै सतायो । कतै तिमीलाई पनि केही भइहाल्ला कि भनेर निकै डराएँ । किनकि तिम्रो मुटुलाई मैले मेरो शरीरमा राखिसकेकी थिएँ । मेरो धड्कन तिम्रो धड्कनसँगै धड्किन थालेको थियो । चुनौतीपूर्ण अवस्थाका बाबजुद तिमीसँगको भेट सम्भव बनाउनु थियो मलाई । त्यसैले आत्मबललाई उँचो राख्दै कोरोनामुक्त भएँ ।


अन्ततः तिमीलाई प्रत्यक्ष भेट्ने दिन पनि आयो । मेरो जीवनकै अविस्मरणीय दिन । अति दुर्लभ क्षण । दुर्लभ भोगाइ । अनि जीवन परिवर्तनको अनुभव । यस दिनले मेरो जीवनमा खास अर्थ राख्छ । मेरो मन मस्तिष्कमा त्यो भेट ताजा छ । दुई वर्षअघि तिमीसँग प्रत्यक्ष भेट भयो । तिमीलाई त्यस दिन भेट्न सजिलो थिएन । स्थिति निकै चुनौतीपूर्ण र संघर्षमय थियो । उत्तिकै संवेदनशील पनि । अनि जोखिम । शारीरिक र मानसिक हिसाबले कष्ठपूर्ण । तिमीलाई भेट्नु बडेमानको पहाड फोर्नुसरह थियो । समुद्रमा तैरिनुसरह थियो । मलाई यी सब अप्ठ्यारा परिस्थितिलाई छिचोल्नु थियो ।


तिमीलाई भेट्न शरीरका कतिवटा हड्डी भाँचिएको भान भयो होला मलाई ? शरीरका कतिवटा अंगहरू एकसाथ बाहिर निस्किएको महसुस भयो होेला मलाई ? कति चर्को चिच्याएँ । पीडाको छटपटीले कति रोएँ । मुटु चर्किएन कि छाती फुलेन कि, सास निसास्सिएन कि, तिमीलाई बलजफ्ती भेट्न जो खोजेकी थिएँ । गर या मरको अवस्था थिएन त्यो । हुरुक्क वा जुरुक्कको अवस्था थिएन । म बाँच्नुपर्ने थियो । मलाई तिमी जसरी पनि प्राप्त गर्नु थियो । माया प्राप्ति मात्र नभएर त्याग होे भन्ने भनाई मेरो परिस्थितिमा गलत थियो । म एक योद्धाको भूमिकामा थिएँ । हार मान्ने अवस्थामा थिइनँ । तिम्रो र मेरो मिलन सफल गराउनु थियो । त्यसैले आत्मबललाई रतिभर डगमगिन दिइनँ । भएभरको शक्ति लगाएँ । बल गरेँ, बेजोडले । अन्ततः तिमीसँग भेट भयो । मानसिक र शारीरिक पीडाले म यति गलेछु कि तिम्रो मुहार प्रस्ट देख्न सकिनँ । तिमीलाई देख्नेबित्तिकै मलाई आत्मीयताको भावना पनि आएन । पहिलोपटकको भेटमा यसो हुनु स्वाभाविक हो । तिमीलाई बलजफ्तीले जितेर ल्याएकी थिएँ । सफल भएको थियो मेरो प्रयास । यस्तो प्रयास, जसमा मैले जोखिम मोलेकी थिएँ । त्यसैमा म खुसीले गदगद थिएँ । जिन्दगीमा पहिलोपटक आफैँप्रति गर्व महसुस भइरहेको थियो । 


तिमी आउनेबित्तिकै जिन्दगी तरंगित
भयो । निकै हलचल भयो । दैनिकीमा फेरबदल भयो । सुरुका केही दिन अलमलिएँ । केही कुराको मेलोमेसो पाइनँ । पहिलो सम्बन्ध जुन थियो । पहिलो अनुभव न थियो । बिस्तारै सबै कुरा सामान्य हँुदै गयो । जिन्दगीले नयाँ मोड लियो । जीवनशैली फेरियो । समयसँगै तिमीसँगको आत्मीयता बढ्दै गयो । जीवन सुन्दर लाग्न थाल्यो । बाँच्नु अर्थपूर्ण लाग्यो । मेरो संसार बेग्लै भयो । बाहिरी दुनियाँप्रति म बेखबर रहेँ । तिमीसँगको प्रत्येक दिन नयाँ सिकाइ अनिनयाँ अनुभव रह्यो । 


तिमीलाई पाएसँगै गुमाउँछु कि भन्ने चिन्ताले असाध्यै सतायो । वेलावेला मनमा अनौठो अनि अप्रिय घटनाको कल्पनाले प्रवेश गथ्र्याे । तिम्रो सास एक्कासि बन्द भयो भने, तिमीलाई मबाट कसैले अलगायो भने, वा अपहरण गर्‍यो भने, यस्ता सोचहरूले म डराउँथेँ, जुन समयसँगै हराउँदै गयो । लामो समयसम्म तिमी मेरो हुनु म आफैँलाई अपत्यारिलो लाग्यो । कतै मैले यति लामो सपना त देखिरहेको होइन जस्तो हुन्थ्यो । किनकि तिमीलाई जीवनको हिस्सा बनाउन म मानसिक रूपमा पूर्ण तयार थिइनँ । तिमीलाई सम्हाल्न मैले आफ्नो क्षमतालाई विश्वास गरेकी थिइनँ । ममा आत्मविश्वास थिएन । मलाई आँट थिएन । तर, तिम्रो आगमनसँगै ममा साहस र शक्ति थपियो । धैर्यताले ठाउँ पायो । हृदयले माया बर्सायो । अनि विषेशतः जीवन बुझ्न सघायो । 

 

सँगै समय बिताउने क्रममा म तिम्रो प्रिय हुन पुगेछु । तिम्रो आँट, भरोसा अनि आत्मविश्वास बनेछु । मेरो उपस्थितिमा तिमी आफूलाई सुरक्षित महसुस गर्न थालेछौ । केही समयका लागि पनि मलाई आफूबाट अलग्गिन दिँदैनौ । म तिम्रै वरिपरि रहोस् भन्ने चाहन्छौ । तिमीलाई पनि मेरो बानी परेछ । कहिलेदेखि हो मैले पत्तै पाइनँ । 

 

जीवनको अबको यात्रामा सँगै हिँड्नु छ । तिमीसँगै संसार हेर्नु छ । साथमा रहनु छ । अघि बढ्नु छ । सँगै सिक्नु छ । भावनात्मक रूपमा सधैँ सँगै हुनु छ । किनकि तिमी मेरो जीवनको पाटो हौ । तिमीप्रतिको मेरो माया चोखो छ । खास छ । विशिष्ट छ । सदैव विशेष रहनेछ । तिमी मेरो सर्वस्व हौ । तिमीलाई मनभरीको माया । मुटुभरिको माया । अँगालोभरिको माया । माया नै माया । सर्तहीन माया । निःस्वार्थ माया । मातृत्वको माया !