इतिहासको मूल्यांकन वस्तुगत ढंगले हुनुपर्छ । इतिहासलाई इतिहासको रूपमा नलिएर भावुकता, आत्मगौरव वा आस्थाका आधारमा लिइँदा त्यसमा धेरै कुरा थप्ने तथा लुकाउने काम हुन पुग्छ र परिणामतः इतिहास भने पनि फगतः स्वैरकल्पनाको लोकप्रिय एउटा कथा बन्न पुग्छ । यस्तो अवस्थामा इतिहास अध्ययनका महत्वपूर्ण पाटाहरू छु्ट्ने र गलत व्याख्या हुन पुग्ने खतरा अत्यधिक हुन्छ । यस सन्दर्भमा अनेकौँ लेखरचना मात्रै नभएर अनेकौँ अध्येताबाट भिन्नाभिन्नै बृहत् ग्रन्थहरूकै पनि रचना हुन सक्छन् । यसको अर्थ हो, इतिहासकै सन्दर्भमा पनि इतिहासका तथ्यहरूको आधारमा पक्षधरताबाट निरपेक्ष रही अध्ययन गर्नुपर्छ ।
नेपालको इतिहासमा महत्वपूर्ण कालखण्डको रूपमा रहेको लिच्छविकाललाई सामान्यतः ‘स्वर्णयुग’ भन्ने गरिन्छ । भारतमा गुप्तकाललाई स्वर्णयुग भनेर भारतीय पक्षले गर्ने प्रशंसाकै सिको गरेर नेपाली लेखकहरूले पनि नेपालमा लिच्छविकाललाई स्वर्णयुग भनेको बुझ्न गाह्रो छैन । अर्को शब्दमा यो आत्मरति र आत्मरतिको सिको मात्रै हो । दुवै युगको समय करिब–करिब उही मात्र नभएर त्यस युगले बोकेको चरित्रमा पनि धेरै समानता पाइन्छ । भारतमा स्वर्णयुग भनेर गरिएको मूल्यांकनको आधार जसरी फितलो र एकतर्फी पाइन्छ, नेपाली इतिहासको सन्दर्भमा पनि उस्तै गरी फिलतो र एकतर्फी हुनु संयोग मात्रै थिएन, इतिहासलाई हेर्ने दृष्टिकोण पनि एउटै वर्ग हुनु हो । यहाँ भारतीय इतिहासको गुप्तकाल र नेपाली इतिहासको लिच्छविकालको इतिहासमै केन्द्रित रही स्वर्णयुग भन्नुको औचित्यमाथि छलफल गरिनेछ ।
नेपाल र भारत दुवैको ‘स्वर्णयुग’को एउटा प्रमुख विशेषता वा अन्तर्य हो– वैदिक समाजको पुनरोदय । वेदमा आधारित समाज व्यवस्थालाई वैदिक समाज भनिएको छ । वेदमा पनि मुख्यतः ऋग्वेद हो । ऋग्वेदको अध्ययन तथा तत्पश्चात्का अन्य साहित्यको आधारमा पूर्ववैदिक र उत्तरवैदिक समाज भनी दुई कालखण्डमा विभाजन गरी अध्ययन गरिन्छ । सामान्यतः पूर्ववैदिक युग एक आदर्श समाज रहेको र त्यसको विकास उत्कर्षमा पुगेर पछि विकृति आउन थालेपछिको समयलाई उत्तरवैदिक भन्ने गरिएको पाइन्छ । तर, दुवै कालले बोकेको मूल्य र मान्यतामा खासै फरक पाइँदैन ।
गुप्तकालीन कला उत्कृष्ट रहेको कुरामा शंका छैन, तर यो दैवी चमत्कार नभएर लामो समयको अभ्यास र परम्पराको निरन्तरता हो । नेपालको लिच्छविकालमा पनि त्यही कुरा लागू हुन्छ । कलाको इतिहास अध्ययन गर्दा पृष्ठभूमि र प्रभाव महत्वपूर्ण पक्ष हुन्छ । तर, यही पक्षलाई उपेक्षा गर्दा दैविक चमत्कारको कल्पना गर्नुपर्ने हुन्छ ।
वैदिक समाज सरल र सहज थिएन । यसभित्रै अनेक खालका अन्तरविरोध थिए । कतिपय कुरालाई स्वयं वैदिकहरूले पनि स्विकार्न नसक्ने अवस्था बन्यो । यसको पूजापद्धति वा उपासना भन्नु यज्ञ थियो । सुरुमा एक–दुईजना मात्र ब्राह्मण राखी यज्ञ सम्पन्न गरिन्थ्यो । तर, बिस्तारै यज्ञको मूल्य–मान्यतामा परिवर्तन आएर सयौँ ब्राह्मण चाहिने र खर्चिलो हुने अवस्था आयो । फलतः सर्वसाधारण वैदिकले यज्ञ गर्न नसक्ने भए । यज्ञमा पशुहरूको बलि पनि सुरुमा थोरै मात्र दिइन्थ्यो, तर पछि यसको पनि संख्या बढ्न थाल्यो । नरबलिको प्रचलन पनि थियो । यसका लागि पराजित राज्यका शत्रुहरू चढाइन्थे ।
धनीले गरिबहरूका छोरालाई किनेर पनि बलि चढाउने गरिन्थ्यो । नरबलिको चलन नभएको र वेदको अपव्याख्या गरिएको भन्ने सन्दर्भमा अजितगर्त नामका ऋषिले राजा हरिश्चन्द्रलाई आफ्नो छोरा शुनःशेपलाई यज्ञमा बलि चढाउनकै लागि बेचेको प्रसङ्ग ऐतरेय ब्राह्मण (सप्तम कण्डिका, अध्याय ३) मा उल्लेख छ । यो वैदिककालीन घटना हो । ऋग्वेदको एक ऋचा (१।२४।१३) को व्याख्या गर्ने क्रममा आएको यो प्रसङ्गले नरबलिको अस्तित्वलाई प्रमाणित गर्छ । शुनःशेपको प्रसङ्ग यतिमा नै टुंगिँदैन । कसैगरी शुनःशेप यज्ञको बलिमा चढिनबाट बचे र जीवनदान पाए । उनै शुनःशेप अध्ययन र साधना गर्दै जाने क्रममा ठूला ऋषि भएर निस्के र स्वयं ऋग्वेदको मन्त्रद्रष्टाका रूपमा रहे । नरबलि भनेको मान्छेको बलि नभएर अरू नै कुरा हो भनेर गरिने तर्कलाई शुनःशेपको प्रसङ्गले भुत्ते पार्छ । नरबलिका लागि छुट्टै मन्त्रको व्यवस्था पनि थियो । तर, नरबलि प्रथाको विरोध वैदिक समाजभित्रै बुलन्द भएपछि बन्द हुन पुग्यो ।
वैदिक कुराहरूको प्रशंसा जतिसुकै गरिए पनि र दैवी तथा वैज्ञानिक भनेर यसको महिमामण्डन हिजोआजसम्म गरिँदै आए पनि कतिपय असान्दर्भिक कुरा त्याग्ने वा सुधार गर्दै आजको दिनसम्म आएको भन्न सकिन्छ । यसको एउटा ज्वलन्त उदाहरण भागवत् सम्प्रदायको उदय र विकास हो । इतिहासको दृष्टिले भागवत् सम्प्रदायको अभ्युदयलाई वैदिक समाजभित्रकै अन्तरविरोध वा संघर्षको प्रतिफल भन्न सकिन्छ । यो सम्प्रदायले वेदलाई मान्ने तर कर्मकाण्ड तथा केही मूल्य–मान्यतालाई त्याग्ने गर्छ । इन्द्रलाई प्रधानता नदिएर विष्णुलाई दिइन्छ । यस्तैगरी ब्राह्मण परम्परासँग मात्रै नभएर वेदमाथि नै असहमति राख्नेमा जैन र बौद्ध दुई प्रमुख सम्प्रदाय थिए । यी दुवै सम्प्रदाय श्रमण परम्पराअन्तर्गतका हुन् । इतिहासमा आरोह–अवरोह आउनुलाई स्वाभाविक प्रक्रियाको रूपमा लिने हो भने जैन र बौद्धले थिलथिलो पारेको वैदिक समाजले भारतमा गुप्तकालमा बौरिने अवसर पाएको थियोे । नेपालमा वैदिक सभ्यताको प्रवेश पछि मात्रै भए पनि तत्कालै जम्न सकेको भने थिएन । भारतमा वैदिक समाज बौरिएको समयमा नेपालमा यसको प्रभाव बढ्न थालेको भने पाइन्छ । यो इतिहासको एउटा घटना हो र वैदिकहरूका लागि ठूलै उपलब्धि पनि थियो । यस अवस्थालाई स्वर्णयुग भनी प्रशंसा गरिनुको तात्पर्य त्यसअघिको भारतीय वैभवतालाई छायामा पार्ने, वैदिक वर्चस्वलाई नै आदर्श मान्ने र प्रमुखता दिने हो ।
आधुनिक विश्व समाजको आदर्श लैंगिक विभेदको अन्त्य हो । महिला–पुरुषबीच समान अधिकार वा सम्पूर्ण दृष्टिले विभेदरहित समाजको निर्माण नै लंैगिक समानता हो । यो विश्व आन्दोलनप्रति असहमति राख्नु वा विरोधमा उत्रनुलाई सामान्यतः असहिष्णु, अनुदार र संकुचित मानसिकताको अर्थमा लिइन्छ । लैंगिकताका सवालमा यदि कोही पुरुष वा महिला पुरानै मूल्य–मान्यता बोक्छन् र लैंगिक विभेदकै पक्षपाती हुन्छन् भने पनि बाह्य आवरणमा लैंगिक समानताकै नारा बोक्न बाध्य छन् ।
सतीलगायत अनेक प्रथा, परम्परा, धर्म वा आस्थाको नाममा महिलामाथि विभेद र शोषण गर्ने विचार उत्पादन गर्ने समय, जुन वर्तमान युगमा मान्य छैन, त्यस्तो समय कसरी ‘स्वर्णयुग’ भयो ?
मानव सभ्यताको इतिहासमा सुदूर अतीतमा मातृसत्तात्मक समाज रहेको चर्चा हुने गरेको पाइन्छ । त्यस खालको समाजमा महिलाको वर्चस्व भएको पनि वर्णन पाइन्छ । त्यसविपरीत पितृसत्ताको समाज रहेको भनिन्छ । तर, लैंगिक समानताको मूल्य–मान्यताले महिला र पुरुष दुवैको सत्तालाई अस्वीकार गर्दै लैंगिक समानतामा आधारित नयाँ सत्ताको स्थापनालाई जोड दिन्छ । मानव इतिहासमा यो एउटा ठूलो फड्को र उपलब्धि हो ।
नेपालमा लिच्छवि र भारतमा गुप्तकालमा पुरुष सत्ताको सुदृढीकरणका लागि महिलामाथि अनेक तवरले वैधानिक पावन्दी र त्यसको औचित्य पुष्टि गर्न अनेकन् काल्पनिक कथाकहानी तथा साहित्यको सिर्जना गरेको पाइन्छ । यो अभ्यासको सुरुवाती महावीर वर्धमान र गौतम बुद्ध (इपू छैटौँ शताब्दी) भन्दा अघि नै भइसकेको थियो भने पछि पनि भइ नै रह्यो । त्यस प्रकारको विभेद र विषादपूर्ण समाजमा गौतम बुद्धले आफ्नो काम गर्नुपरेको थियो । दार्शनिक दृष्टिले महिला–पुरुषमा केही विभेद नरहेको, दुवैले अभ्यासद्वारा समान रूपमा धर्मलाभ गर्न सक्ने भन्दै जसरी पुरुषलाई भिक्षु बनायो, त्यसरी नै महिलालाई पनि भिक्षुणीको व्यवस्था गरेका थिए । महिलालाई भिक्षुणी बनाउने चलन महावीर वर्धमानले सुरु गरेका थिए भने त्यसमा भएका कमी–कमजोरीलाई हेरेर अझ परिमार्जन गरी बुद्धले अलि पछि सुरु गरे ।
पूर्ववैदिक र उत्तरवैदिक समाजमै नदेखिएको सतीप्रथा कथित स्वर्णयुगमा देखियो । महिलालाई पावन्दी लगाउन विश्वका अनेक भूगोलमा अनेक खालको उपायलाई अवलम्बन गरेको पाइन्छ । मृतक लोग्नेको नाममा जबर्जस्ती वा धर्मका नाममा अग्निसमाधि लिन लगाउने अमानवीय चलन नै सतीप्रथा हो । महिलामाथिको यो क्रूरतम व्यवहार मूलतः भारतीय हिन्दू समाजको उत्पादन हो । यसको पैठारी नेपालमा पनि भयो । नेपाल र भारत दुवै क्षेत्रका मूलतः हिन्दू समाजमा र हिन्दू प्रभाव परेका अन्य समाजमा यसको असर पर्यो । तर, सतीप्रथा भारतमा जस्तो अनिवार्य नेपालमा नभएको विभिन्न ऐतिहासिक स्रोतको अध्ययनबाट थाहा हुन्छ । यसलाई अमानवीय र गैरकानुनी भन्दै वैधानिक रूपमा नै अन्त्य गर्ने काम भारतमा अंग्रेज सरकारले र त्यसको अनुकरण गर्दै नेपालमा राणा सरकारले २८ जुन १९२० मा गर्यो । सतीलगायत अनेक प्रथा, परम्परा, धर्म वा आस्थाका नाममा महिलामाथि विभेद र शोषण गर्ने विचार उत्पादन गर्ने समय जुन वर्तमान युगमा मान्य छैन, त्यस्तो समय कसरी ‘स्वर्णयुग’ भयो ?
नेपालको इतिहासमा महत्वपूर्ण कालखण्डको रूपमा रहेको लिच्छविकाललाई सामान्यतः ‘स्वर्णयुग’ भन्ने गरिन्छ । भारतमा गुप्तकाललाई स्वर्णयुग भनेर भारतीय पक्षले गर्ने प्रशंसाकै सिको गरेर नेपाली लेखकहरूले पनि नेपालमा लिच्छविकाललाई स्वर्णयुग भनेको बुझ्न गाह्रो छैन । अर्को शब्दमा यो आत्मरति र आत्मरतिको सिको मात्रै हो ।
जातिवाद हिन्दू समाजको संरचनामा अत्यन्तै महत्वको विभेद तथा आवश्यक कुरा थियो । बुद्धले जातिवादको अनौचित्य पुष्टि गरे । वैदिकहरू बुद्धसँग अन्य कुरामा भन्दा बढी जातिवादको विषयमा चिढिएका थिए । वैदिक समाजले आफ्नो वर्चस्व कायम राख्न ब्राह्मण वर्गलाई उच्च स्थान दिएको थियो भने शूद्रलाई निम्न । बुद्ध क्षेत्री कुलमा जन्मेको मानिन्छ । तत्कालीन व्यवस्थाअनुसार धर्मदर्शनका कुराहरू ब्राह्मणले गर्ने हो र यो वर्गले उच्च स्थान नै पाउने हो । यही मान्यताको आधारमा अन्य वर्गले ब्राह्मणको सेवा गर्ने हो । तर, बुद्धले आफ्नो संघमा ब्राह्मण वर्गलाई पनि भिक्षु बनाए । बुद्धको उपदेशलाई आत्मसात् गर्नेहरूका लागि वर्ण र जातको कुनै अर्थ रहँदैनथ्यो । ब्राह्मणहरू वैदिक मूल्य–मान्यतालाई तिलाञ्जली दिएर बौद्ध संघमा व्यापक मात्रामा प्रवेश गरे । ब्राह्मणबाहेक अन्य वर्ग पनि संघमा प्रवेश गराउने क्रममा शूद्रलाई पनि प्रवेश गराइयो ।
बुद्धद्वारा स्थापित संघमा एउटा के प्रावधान छ भने जेठो र कान्छोको निर्धारण जन्मले नभएर प्रवज्याको दिनबाट गन्ती हुन्थ्यो । यसअनुसार अघि भिक्षु भएकालाई पछि भएका भिक्षुहरूले वन्दना (अभिवादन) गर्नुपर्छ । विभिन्न नदीहरू अन्ततः सागरमा विलय भएर एउटै पहिचान बनाएजस्तै विभिन्न कुल–परम्परा तथा पृष्ठभूमिबाट आएका भए पनि संघको सदस्य भएपछि पूर्वपृष्ठभूमि मेटिने र सबै एउटै हैसियतमा हुने व्यवस्था छ । उनीहरूमध्ये कसले कति मानसम्मान पाउने भन्ने कुरा व्यक्तिको अध्ययन, साधना तथा शील पालनामा निर्भर हुने गर्छ । उपासक उपासिकाहरूका लागि सबै भिक्षु–भिक्षुणी वन्दनीय हुन्छन् । बुद्धको यस्तो व्यवस्था वैदिक ब्राह्मणलाई मन परेको थिएन । बुद्धका उपासक उपासिकाहरूमा पनि जातीय भेदको अनौचित्य स्पष्ट भएपछि समाजमा ठूलै परिवर्तन आएको थियो, जसले परम्परागत वैदिक समाजलाई जर्जर नै बनाइदियो ।
भारतवर्षमा भएका विभिन्न साम्राज्य बुद्धको आदर्शमा चल्थे । ती साम्राज्य पछि मौर्य साम्राज्यमा विलय हुन पुगे । मौर्य साम्राज्यका सम्राट् अशोक बौद्ध धर्मका परम उपासक रहेको कुरा त विख्यात भइहाल्यो । यति वेला वैदिकहरू निकै मात्रामा दबिएर बसेका थिए । तर, पछि मौर्यवंशको अन्त्य गरी शुंगवंशको स्थापना गर्ने ब्राह्मण पुष्यमित्र शुंगले आफ्नो शासनकालमा बौद्धउपर दमन र वैदिक मूल्य–मान्यताको पुनस्र्थापनामा ध्यान दिएका थिए । बीचमा कुषाणवंशले राज्यसत्ता स्थापना गरेको भए पनि पछि गुप्तकाल सुरु भयो । यति वेला पनि बौद्ध कला, साहित्य, संस्कृति तथा अन्य गतिविधिले स्थान नपाएका होइनन्, तर बढी मात्रामा वैदिक वर्चस्व कायम गर्नमा पृष्ठभूमि तयार भयो ।
उनीहरूसँग वेद र उपनिषद्हरू त थिए, पछि रामायण तथा महाभारतजस्ता साहित्य विभिन्न नामका पुराणहरूको पनि रचना गरियो । समाजमा आफूलाई स्थापना गर्नका लागि जे–जति साहित्य चाहिने हो, सबै यसै वेला रचना गरियो र दैवी तथा आस्थाका आवरणमा अघिल्लो रचनाकाल (बायक डेट) भनेर सुझाइयो । वैदिक समाजले जे–जति साहित्य आफूअनुकूल सिर्जना गरे पनि आजभोलि भन्ने गरिएजति तत्कालीन वस्तुस्थिति थिएनन्, ज्यादा मात्रामा चास्नी घोलिएको कल्पना थियो । त्यति वेला बौद्ध मूल्य–मान्यताकै दबदबा थियो ।
भारत वर्षमा मुस्लिम आक्रमण एउटा युगान्तकारी घटना हो । यसबाट बौद्ध धर्म भारतमा सोत्तर नै भयो । वैदिकहरूका लागि बौद्ध धर्म शत्रु थियो भने मुस्लिम आक्रमणले हिन्दूलाई फाइदा नै पुग्यो । मुस्लिम आक्रमणकारीका लागि बौद्धहरू नयाँ नौला थिएन, अर्थात् मध्य–एसियातिरै परिचित भएका थिए र त्यहाँ विपक्षीका रूपमा संघर्ष गर्नुपरेको थियो । भारतमा पनि त्यही व्यवहार गरियो । कतिपय बौद्धले मुस्लिम धर्म अपनाएर आफूलाई सुरक्षित पारे पनि कतिपय बौद्ध यतिकै बसे । बौद्ध विद्वान् तथा भिक्षुहरू भारतीय भूमिमा बस्नै नसक्ने अवस्थामा नेपाल तथा चीनतिर पलायन भएको अवस्थामा सर्वसाधारण बौद्धको आधार नै भएन । ती बौद्धहरू हिन्दू धर्मको शूद्र वर्गमा दरिन पुगे ।
गुप्तकालीन कला उत्कृष्ट रहेको कुरामा शंका छैन, तर यो दैवी चमत्कार नभएर लामो समयको अभ्यास र परम्पराको निरन्तरता हो । नेपालको लिच्छविकालमा पनि त्यही कुरा लागू हुन्छ । कलाको इतिहास अध्ययन गर्दा पृष्ठभूमि र प्रभाव महत्वपूर्ण पक्ष हुन्छ । तर, यही पक्षलाई उपेक्षा गर्दा दैविक चमत्कारको कल्पना गर्नुपर्ने हुन्छ । नेपाल र भारत दुवै क्षेत्रमा लिच्छवि तथा गुप्तकालभन्दा अघि सिर्जित कलाका नमुनाहरू यथेष्ट मात्रामा उपलब्ध छन् ।
भारतमा गुप्तकाललाई ‘स्वर्णयुग’का रूपमा प्रस्तुत गर्नु उनीहरूको बाध्यता तथा धुत्र्याइँ मात्रै हो । इतिहासमा स्वर्णयुग भनेर गुप्तकाललाई प्रस्तुत गर्नु आजभोलिको मात्रै सोच हो । हिन्दू वैभवलाई स्थापित गर्नका लागि यो अवधारणा थोपर्न ल्याएको हो । गुप्तकालभन्दा अघिको समय यो वर्गका लागि गौरवको कुरा होइन । जति पनि इतिहास खोतलिन्छ, बौद्ध वा अन्य कुरा मात्र प्रकाशमा आउने हुन्छ । गुप्तकालपछि पनि बौद्ध सभ्यताकै कुरा आउँछ । भारतबाट बौद्ध धर्मको पतन हुनु पनि वैदिकहरूको उत्थान नभएर मुसलमानी तथा अंग्रेजहरूको दासत्वमा पर्नु हो । यस अवस्थामा गुप्तकाललाई स्वर्णयुग भनेर आत्मरति गरेका हुन् । त्यसैको अनुकरण नेपालमा गर्यो । त्यो समयलाई स्वर्णयुग भनेर मान्नुको अर्थ त्यति वेलाको मूल्य–मान्यताकै पक्षधर हुनु हो । यो पक्षधरता भन्नु, वैदिक मान्यताको सर्वोच्चता, अन्य धार्मिक तथा दार्शनिक सम्प्रदायप्रति अहिष्णुता, जातीय विभेद, महिला–पुरुषमा असमानता हो । त्यो कथित ‘स्वर्णयुग’प्रति आसक्त हुनु भनेको हिजोआजको भाषामा मानवअधिकारको उल्लंघन र विश्वमानव सभ्यताको प्रतिगमन हो । मानवसभ्यताको इतिहासलाई अध्ययन गर्ने हो भने बरु वर्तमान समयलाई स्वर्णयुग भन्न सकिन्छ ।