• वि.सं २०८२ असार १ शनिबार
  • Saturday, 14 June, 2025
माधव खनाल
२०७९ फाल्गुण १३ शनिबार ०८:२२:००
साहित्य

उज्यालो जोगाउने कविताहरू

२०७९ फाल्गुण १३ शनिबार ०८:२२:००
माधव खनाल

यो देशको शिर कति झुकेको छ ? आधा वा पूरा ? अथवा यो देश आफ्नो सिंगो शिर उचालेर स्वाभिमानले बाँचिरहेछ ? यो देशमा कति मान्छे छन् जो आधा शिर निहुराएर बाँचेका छन् ? आधा पेट खाएर, आधा निद्रा निदाएर, आधा हाँसेर अथवा आधा रोएर कति बाँचेका छन् ? आधा बाँच्नेहरूको विद्रोहस्वरूप कवि ज्योति जंगलको कवितासंग्रह ‘आधा शिर उचालेर’ पाठकमाझ आइपुगेको छ ।

 

उनको यो तेस्रो कविता कृति हो । कविताका विषय उनै छन् । तर, कविचेत उही छैन । उतिवेला नै नदीझैँ किन बग्दैन युग ? भनेर प्रश्न गरेकी ज्योति आफू भने कवितामा सरल बगेकी छिन् । संग्रहमा कुल ४३ वटा कविता छन् । 

 

कविताको रंग कस्तो हुन्छ ? कवितालाई वसन्तको पालुवा माने हरियो हुँदो हो । मुटुको आवाज माने रातो । प्रेम सम्झिए गुलाबी । बहुरंगी हुन्छ कविता । संवेदनाका अनेक तरंगमा कविताको रंग बदलिरहन्छ । यसरी रंग बदलिरहने कविताको वास्तविक पहिचान गरेर लेख्न सक्नु ज्योति जंगलको खुबी हो । 

 

आफ्नै प्रेमसँग हिजो अलिकति पनि शिर उचो गर्न डराएकाहरू बल्ल त आधा शिरसम्म उठाउन सक्ने भएका छन् । कवि यसलाई यसरी लेख्छिन् :

 

भ्याउँदैनौ, म बिरामी पर्दा अस्पताल पुग्न,
अस्ति नै एक्लै गिराएथेँ हाम्रो अनिच्छित गर्भ,
उफ् घिन लाग्दो हो, 
यी चरचरी फुटेका कुर्कुच्चाको स्पर्श,
उस्तै खस्रो छ, हत्केलाको चर्म
बरु, सस्तो कुनै मलम सोधी ल्याइदिनू ।
             –मेरा प्रिय ।

 

पुरुषले इच्छा नगरेको गर्भ गिराउन नारीहरू बोल्न सक्ने भएका छन् । आजको आश्यकता त मातृत्वको स्वनिर्णय गर्न सक्ने आमाहरूको हो । आमाकै प्रेममा कवि अर्को कविता लेख्छिन् । 

 

सन्तानको अनुहार हेरेपछि
भेटेँ 
मभित्र चुपचाप बसेकी आमा ।
    –आमा भेटेको समय ।


हामी कति विरोधाभासमा बाँचेका छौँ ? यो हाम्रो दैनन्दिनको नियमितता भएको छ । देवीपूजा गरेर असली देवीलाई बोक्सी देख्ने समाजप्रति दसैँ कवितामा कवि यसरी पोखिन्छिन् :

 

म सम्झन्छु,
बोक्सी भएर गाउँ निकाला परेका
कम्तीमा दश थान कात्यायनीहरू । 
            –दसैँ ।

 

न्यून आय भएका वा मध्यम वर्गसमेतको संघर्ष, जो आधा खाएर घर बनाउन जुटेका छन् । तिनीहरूको सपना, श्रम र जिन्दगी कसरी एउटा सानो टहरोको निर्माणमा सकिन्छ ? घरको रहरले कसरी कैद गरिदिन्छ मान्छेलाई ? आफ्नै निर्माणले थुनिएका मान्छेहरूको नियतिसँग पनि नजिक छ घर कविता । जुन पढ्दै गर्दा कवि वासु शशीको ‘पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ’को सम्झना हुन्छ । 

 

जतिजति अग्लो उठिरहेको छ घर
उतिउति कैद भएको छ मेरो पाइला,
यो उचो पर्खाल उछिनेर 
सूर्य मसम्म आइपुग्दैन
अँध्यारो भएको छ आँखा ।

...के म घर भत्काएर
अब मुक्तिको उद्घोष गरुँ ?
         –घर । 


‘आधा शिर उचालेर’मा विद्रोहका आवाज छन् । विभेदप्रति खबरदारी छन् । कतिपयले यी कवितालाई नारीवादी मात्रै पनि देख्लान् । तर, कविताहरू मान्छेवादी छन् । यीनले नवीन चेतनाका किरण बोकेका छन् । यीसँगै छन् प्रेमका स्पर्श पनि । मधुरताका संगीतहरू पनि । वात्सल्यका तोतेबोलीहरू पनि । र, आमाका आशीर्वाद पनि :

 

आमाहरू, सबैथोक भन्नू छोरालाई, सबथोक भन्नू,
...तर आशीर्वादमा यति भन्न नबिर्सनू
छोरा, जिन्दगीभर कहिल्यै बलात्कार नगर्नू ।
                –मुक्ति ।

 

यस्ता अपराधको विरुद्ध कवि आगो ओकल्छिन् । बादशाहका विकृत चुम्बनसँग आक्रोशित छिन् उनी । तर, उनी आक्रोशित मात्रै पनि छैनन् । सहज प्रेमको समर्थनमा भने डटेर उभिएकी भेटिन्छिन् । 

 

सुखका लागि भौतारिई जानेहरूलाई कवि आकांक्षाको ईश्वर भेटून् भनेर प्रार्थना गरिरहेकी हुन्छिन् । नित्सेले ईश्वरको मृत्यु घोषणा गर्नुअघि ज्योति जंगललाई भेटेका भए, अझ भनौँ नारी हृदय भेटेकाभए पक्कै त्यस्तो घोषणा गर्दैनथिए कि । नित्सेले नभेटेको ईश्वर आफ्ना ओठमा मुस्कुराइरहेको देख्छे एउटी नारी । नारी त ईश्वरको आविष्कारसमेत गर्न सक्षम छे । आमा बनेर । आमाभन्दा ठूलो सृष्टिको स्रोत अर्को कुन होला र ? 

 

सृष्टि छ त्यसैले मृत्यु पनि छ । मृत्युलाई प्रेम भन्न सायद एउटा कविले मात्रै सक्छ । यस अर्थमा कवि सन्न्यासी पनि हो । मृत्यु मिलनका लागि पर्खिरहन जोकसैले हिम्मत गर्दैन । मिलन शीर्षकको कवितामा ज्योति अध्यात्मको साधक बनेर यसरी देखापर्छिन् :

 

तिमी मेरा जन्मका साथी
जीवनको अन्तिम साक्षी पनि हौ
मानिस मृत्युको नाम दिँदा हुन् यो मिलनलाई
त्यो मैले सुन्नुपर्ने छैन । 
–मिलन । 

 

कविको मन विछोडलाई मिलन देख्छ । हिजो देवकोटाले शब्दलाई देख्दा पागल कहिए । आज ज्योति मृत्युलाई मिलन देखिरहेकी छिन् । यस अर्थमा कवि भन्नु द्रष्टा हो । ऊ वस्तुविषयलाई त्यसरी हेर्न सक्छ, जसरी हेर्दा पत्थर पनि मुस्कुराइरहेको देखिन्छ । माटो पनि बोलिरहेको सुनिन्छ । माटो बोल्नु भनेको देश बोल्नु होइन र ? देशले बोल्नलाई कविको भाषा माग्दोरहेछ । ज्योति जंगलको भाषामा काठमाडौं, विराटनगर र रोल्पा बोलेका छन् । ती ठाउँहरूका सौन्दर्य बोलेका छन् । दुःख बोलेका छन् । 

 

कविको अहिलेको वास काठमाडौंमा छ । तर, उनको आँसु त विराटनगरले पुछ्दोरहेछ । मान्छेलाई आफू बनेको माटो कुन हदसम्म प्रिय हुन्छ यसमा लुकेको छ । काठमाडौंले यसैगरी कति मान्छेहरूको आँसु पुछ्न नसकेको होला ? कति मान्छेहरू काठमाडौंमा आधा शिर उठाउन खोजिरहेका होलान् ? तिनीहरूको पूरा शिर कुन मितिसम्म उठिसक्ला ? काठमाडौंले कहिलेसम्ममा सिङ्गो देशको मांगेना गरिभ्याउला ?

 

‘आधा शिर उचालेर’भित्रका कविता जसले बाँचेका हुन्, तिनका प्रशस्तै गुनासा छन् । तर, तिनले सहानुभूति खोजेका भने छैनन् । बरु एउटा खबरदारी गरेका छन् । यहाँ बाँचेका पात्रहरू झुठ बोल्ने बादशाहका ओठ सिलाउन तम्तयार छन् । 

 

थुप्रो लेखेर पनि लेख्न बाँकी लाग्ने केही राँटा छन् । राम्रो कालोपत्रे सडकका छेउछाउ फुटपाथ नभएजस्तो खट्किन्छन् केही कुरा । जस्तो कि ‘आधा शिर उचालेर’मा बोलेका छैनन् दबिएका पुरुषहरू । आफू रोएको देखाउन पनि नसकेका यस्ता लोग्ने मान्छेहरूको पनि आवाज बनिदिएकी भए कविको अर्को सामथ्र्य देख्न पाइन्थ्यो होला । कवितामा दोहोरिरहन्छन् केही विषयहरू । आमाकै शीर्षकमा छन् तीन कविता । आमा वर्णनातीत छन् । यो पक्कै हो । तर, उनलाई जताततै तानिरहनु अलि असहजजस्तो पनि देखिएको छ । 

 

कवि कतैकतै आध्यात्मिक देखिए पनि सम्बन्धकै कुरा ज्यादा आइराख्छन् । सम्बन्धमा अल्झिनु नै आधा शिर उठाउन नसक्नु त होइन कतै ? स्वतन्त्रताका लागि सम्बन्धले बाटो छेकेको पो हो कि झैँ लाग्ने कतिपय सन्दर्भले यसमा थप गोडमेल गरेका छन् । मान्छेको सहअस्तित्व खोजिरहँदा सम्झौतामा शिर झुक्दो पनि हो । फेरि यसैलाई स्विकारेर सहनु मात्रै त समाधान होइन । माटोमा नपरी बिउ पनि उम्रँदैन । सम्बन्ध माटोसँगको छ त्यसैले कविता उम्रिएको छ । एउटा बिजको मुक्ति उम्रनुमा भन्दा सुन्दर कहाँ हुन्छ र ? 

 

संसारमा केही यस्ता समस्या छन् जसको समाधानका लागि बोलिरहनु र लेखिरहनुपर्छ । केही मान्छेहरू छन् जो आफैँ बोल्न सकेका छैनन् । तिनले कविको कलम खोज्छन् । कलममार्फत उज्यालो खोज्छन् । न्यानो खोज्छन् । ज्योतिका कविताले पक्कै उज्यालो बालेका छन् । त्यसो त उनी आफैँ पनि उज्यालो खोजिरहेकी छिन् । सानो टुकी बालेर सूर्य उदाउने प्रतीक्षा गरिरहेजस्तै छन् उनका कविताहरू । दियो निभाउने हुरीहरू, कोही छौ भने बरु साँझमा नआउनू भनिरहेकी छिन् ज्योति । फेरि उनका कविताहरू हुन्डरीलाई नै पनि थप्पड हान्ने सामथ्र्य राख्छन् । कविताको झिल्कोमा उज्यालोको अस्तित्व जोगाएर बसेकी छिन् ज्योति । जब बिहान सूर्य उदाउनेछ, यो सानो ज्योतिले पूरा शिर उचाल्नेछ । आशा गरौँ, त्यसपछि समाजमा कसैले पनि आधा शिर झुकाउनुपर्नेछैन ।