• वि.सं २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
केशवप्रसाद पाण्डे
२०७९ फाल्गुण १३ शनिबार ०८:३४:००
समाज

विश्व–गगन : न प्रतिस्पर्धा, न प्रतिशोध

२०७९ फाल्गुण १३ शनिबार ०८:३४:००
केशवप्रसाद पाण्डे

०५०–०५२ साल आसपास । त्यसवेला गीत र चुनावी प्रचारप्रसारमा विश्वप्रकाश शर्माको आवाज निकै गुञ्जिन्थ्यो । उनले त्यस्ता गीतमा उद्घोषण गर्थे । विश्वप्रकाशको त्यो जोसिलो आवाज क्यासेटमा सुन्थे गगन थापा । एकदमै मिठो र विषयवस्तुमा ज्ञान भएको त्यो नाम र स्वरमा एउटा ‘इमेज’ र ‘इम्प्रेसन’ थियो, विद्यार्थी राजनीतिमा बामे सर्दै गरेका गगनलाई । उनलाई कुनै दिन त्यो आवाज भएको मान्छेलाई भेटिएला भन्ने लागेकै थिएन । 


०५१ सालमा गगन स्ववियु सदस्य बने । ०५३ को स्ववियु निर्वाचनको सेरोफेरोमा पहिलोपटक भेटिएका थिए, विश्व–गगन । विश्वसँगको पहिलो भेटको तिथिमिति ठ्याक्कै याद त छैन गगनलाई, तर त्रिचन्द्र कलेजमा स्ववियु कमिटीमा रहँदै गर्दा विश्वप्रकाश शर्माको नाम सुनेका थिए । ‘त्यतिवेला सार्प, एकदमै राम्रो वक्तृत्वकला भएको र नाम चलिसकेको नेता हुनुहुन्थ्यो विश्वदाइ,’ गगन त्यो समय सम्झन्छन् । 


विश्वलाई आफू नेविसंघको महामन्त्री हुँदा स्ववियु निर्वाचनताका त्रिचन्द्र क्याम्पस ‘भिजिट’ गर्दा गगनलाई देखेको सम्झना ताजा छ । त्यसवेला सम्भावना बोकेको नेताको रूपमा विश्वको नोटिसमा रहेछन् गगन । पहिलो छोटो भेटमा के कुरा भयो, विश्वलाई पनि याद भएन । तर, त्यो भेटले केही प्रभाव भने छाडेको थियो । स्ववियु निर्वाचनको सरगर्मी बढिरहेका वेला टिकट दिने कमिटीमा थिए विश्व । त्यही कमिटीले गगनलाई स्ववियु सचिवको उम्मेदवार बनाएर पठायो । तर, त्रिचन्द्रमा नेविसंघमा विद्रोह भयो । रोचक कुरा विद्रोही र आधिकारिक दुवैतिरको सचिवको साझा उम्मेदवारका रूपमा अगाडि सारिनेमा थिए गगन । 


यही सेरोफेरोबाट सुरु हुन्छ, कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको सम्बन्ध । पहिला सुन्दा र अहिले संगत गर्दै जाँदा विश्वमा कुनै फरक भेटेनन् गगनले । झांगिँदै गयो सम्बन्ध र सँगसँगै जोडिएर आउने नाम बन्यो विश्व अनि गगन । ‘उहाँका बारेमा सुन्दै गर्दा उहाँको समीपमा भइन्छ भन्ने थिएन । संगत गर्दै जाँदा सुनेकोजस्तै पाएको हो विश्वदाइ । विरोधाभासपूर्ण व्यक्तित्व भए त म त्यति समीपमा जाँदै जाँदैन थिएँ । मनपर्ने भएकाले पनि होला एक किसिमको सामीप्यता भइहाल्यो । काम गर्दै जाँदा झनै नजिक भइयो,’ गगन उत्साहित सुनिए ।


आज विश्व र गगन सँगसँगै पार्टीमा महामन्त्री बनेका छन् । संसद्को एकै भूमिकामा छन् । एकपटक मन्त्री र चारपटक सांसद् बनेका गगनको संसद्मा बुलन्द भूमिकाको पहिचान छ । संसद्बाहिर कसैलाई नविझाई प्रभाव छाडेका विश्व भर्खरै संसदीय अध्यासमा पारंगत हुँदै छन् । सुरुवाती छाप छाडिसकेका छन् । 


विश्वप्रकाशको त्यो डेरा 
नेविसंघको केन्द्रीय राजनीतिमा आएका विश्वप्रकाश चाबहिल चोकमा डेरा गरी बस्थे । कोठा त थियो, तर धर्मशालाजस्तो । कसैलाई आउजाउमा छेकबार थिएन । बरु कहिले उनी डेरामा पुग्दा आफैँ सुत्ने ठाउँ नपुग्ने अवस्था धेरै आयो । ‘झिसमिसेदेखि राति अबेरसम्म पनि साथीहरू आउने–जाने चल्थ्यो । त्यसवेलाको व्यस्तता र आनन्द छुट्टै थियो,’ रोमाञ्चक पल लाग्छ, उनलाई त्यो समय ।


तर, गगनलाई त्यो कोठामा रात नै बिताएको भने सम्झना छैन । नजिकै घर भएकाले बारम्बार आउ–जाउ भने भइरहन्थ्यो । आन्दोलनका क्रममा आफ्नै कोठा र घरमा जाने अवस्था रहँदैन थियो । ०६२/६३ को आन्दोलन सुरु हुनुअघिको आन्तरिक तयारी त्यही कोठामा भयो । ‘विश्वदाइको त्यो डेरामा नपुग्ने हाम्रो जेनेरेसनको मान्छे नै छैन,’ गगन भन्छन् ।


बिन्दास विश्व–गगन 
गम्भीर काम गर्दैगर्दा पनि ख्यालठट्टा गर्ने बानी छ विश्वप्रकाशको । गगनले पनि विश्वसँगको संगतमा यस्तै भोगे । कोठामा भएका गम्भीर बैठकहरूमा पनि विश्वको यो बानी देखापर्छ । ‘गीत–संगीतमा रम्ने त विश्वदाइको पार्ट अफ लाइफ हो,’ गगन हाँस्दै भन्छन्, ‘एकातिर गम्भीर राजनीतिक वार्तालाप पनि हुने नै भयो । तर, कोठे बैठकमै पनि उहाँले कुनै न कुनै रूपमा रमाइलो व्यंग्यात्मक बिम्बहरूमा कुरा गरेर माहोल बनाउने गर्नुहुन्छ ।’

कांग्रेसमा आशालाग्दा यी दुई युवानेताले पछिल्लो समय खेपिरहेको प्रश्न हो– अब कसरी अघि जान्छन् गगन–विश्व ? दुवैको जवाफ छ– अहिलेको अवस्थामा हामी हाम्रो भूमिकामा सफल हुन सकौँ । हामी सँगै हिँड्यौँ, हिँडिरहेका छौँ र हिँड्नेछौँ । यसमा दुईमत छैन ।


विश्वकप चलिरहेको समयमा समानुपातिकको नाम टुंगो लगाउन महाभारतको अवस्था थियो । त्यस्तो वेलामा पनि गगन–विश्वले मोबाइलमा वल्र्डकप हेरेर रोनाल्डोको चिन्ता गर्न भ्याए । ‘टिकट वितरणको कत्रो चटारो थियो, तर समानुपातिकको सूची रातारात टुंगो लगाएर बुझाउनु थियो । तर, पनि मलाई याद छ मौका मिल्दै गर्दा धनराज गुरुङको मोबाइलमा म र गगन फुटबल हेदै थियौँ । त्यो पोर्चुगलको गेमको दिन रोनाल्डोलाई बेन्चमा किन राखेको होला भनेर गफ गरिरहेका थियौँ,’ विश्व सम्झिन्छन् ।


विश्व काममा सिरियस हुनुपर्छ भन्दैमा व्यक्तिगत कुरामा निरस हुनुपर्छ भन्ने मान्यताबाट टाढा छन् । दुवैजना मिलेसम्म परिवारलाई समय दिन्छन् । खेल र संगीतमा पनि दुवैजनाको रुचि छ । दुवैले एकअर्काको यो बानीको खुलेर प्रशंसा गर्छन् । ‘परिवारलाई समय दिने गगनको बानी असाध्यै मन पर्छ,’ विश्व केही गम्भीर सुनिए ।
४ मंसिरमा निर्वाचन सकिएपछि मतगणना हुँदै थियो । गगन परिवारसहित फिल्म हेर्न पुगे । हरेकजसो निर्वाचनपछि यसरी नै परिवारसँग समय बिताउँछन् गगन । ‘परिवारलाई समय दिने हाम्रो नेचर मिल्छ,’ विश्व भन्छन्, ‘राजनीति कतिपयलाई निरस विषय लाग्छ । निरस त हो । तर, राजनीतिक काम गर्दै गर्दा पनि सरल हुने र रमाउने कुरामा ध्यान दिने गर्छौं ।’ 


प्रश्नको बिट मार्दै गर्दा हाम्रो प्रश्न थियो– गगनबारे छुटाउन नहुने केही छ कि ? एकैछिन सोचेर ठट्टा गर्दै हाँस्दै भने, ‘अँ छ ! गगनको प्र्रेमकहानीको बारेमा । तर, भैगो । मैले उसको पोल खोल्दा उसले पनि मेरो पोल खोल्देला, यत्तिमै टुंग्याइदिऊँ हा हा हा !’


गगनको बुबाआमालाई छोरा डाक्टर या इन्जिनिएर बनोस् भन्ने थियो । राम्रो पढोस्, प्राज्ञिक क्षेत्रमा लागोस् भन्ने परिवारको चाहना थियो । इन्जिनियर बुबालाई गगनले राजनीति नै नगरोस् भन्नेचाहिँ थिएन । तर, राजनीतिमा लागेर छोरा बिग्रिने भयो भन्ने बुबाको चिन्ता थियो । ‘बुबाआमालाई जतिवेला म बिग्रिएँ भन्ने लागेको थियो, ठ्याक्कै त्यतिवेला म विश्वदाइको संगतमा थिएँ,’ गगन त्यो समय सम्झिन्छन् । यो कुरा गगनले विश्वसँग त्यसवेला पनि सेयर गरेका रहेछन् । गगनका बुबाले पनि विश्वसँग छोरा बिग्रिने भयो भनेर वेलाबखत चिन्ता गरेका रहेछन् । 


न प्रतिस्पर्धा, न प्रतिशोध 
त्रिचन्द्र कलेजको प्राङ्गणबाट सुरु भएको उनीहरूको सम्बन्ध निरन्तर अघि बढिरह्यो । नेविसंघको चितवन महाधिवेशनबाट (०५७–०५९) विश्व नेविसंघका सभापति बने भने मध्यमाञ्चल विकास क्षेत्रबाट गगन उपसभापति । दुवै कोइराला गुटका थिए । संगत र सहकार्य झांगिँदै गयो । त्यसवेला परिस्थितिअनुसार निर्णय लिने गगनको स्वभावबारे विश्व परिचित बने । १८ असोज ०५९ मा तत्कालीन राजाको कदम सुरु भयो । संयुक्त विद्यार्थी आन्दोलनको जग बसाल्न विश्वले भूमिका खेले । संयुक्त विद्यार्थी आन्दोलनमा नेविसंघको तर्फबाट उपसभापति गगनलाई जिम्मेवारी दिएका थिए विश्वले । त्यो आन्दोलनमा सशक्त देखिए गगन । गगनको चर्चा चुलिँदै गयो ।


‘पहिलोपटक राजाका विरुद्धमा कार्यक्रम गर्ने र संयुक्त विद्यार्थी आन्दोलनको जग हाल्नेमध्येमा विश्वदाइ एकजना हुनुहुन्थ्यो,’ गगन भन्छन् । ०५९ मा विश्वको कार्यकाल सकियो । समयमै महाधिवेशन भयो । निर्वाचित कमिटीलाई गुलाफको फूल दिएर जिम्मेवारी हस्तान्तरण गर्दै बिदा भए विश्व । त्यसपछि नेविसंघको राजनीतिमा गगनको हस्तक्षेप रहेन । आफूपछि वीरगन्ज महाधिवेशनमा नेविसंघको जिम्मेवारीमा गुरु घिमिरेलाई अघि सारेका थिए, विश्वले । त्यसवेला पार्टी फुटिसकेको थियो । पार्टी फुटेर कोइराला गुटको उपगुट बन्दा पनि विश्व र गगन सँगै रहे । 


‘हामी सार्वजनिक रूपमा महामन्त्री, व्यक्तिगत सम्बन्धमा दाइभाइ । उहिलेदेखि अहिलेसम्म म गगनको योग्यतालाई कदर गर्छु, साथ दिन्छु र गगनले पनि मलाई सिनिएरका रूपमा सम्मान गर्छन्,’ विश्व भन्छन् । चितवन महाधिवेशनमा पुग्दा प्रदीप पौडेललाई नेविसंघ सभापति बनाउने पक्षमा थिए विश्व । प्रदीपलाई बनाउन सबैलाई कन्भिन्स गराउनेमा थिए विश्व । गगन पनि खास प्रदीपलाई नै बनाउन चाहन्थे । तर, एउटा बिन्दुमा पुगेपछि माहोल यस्तो बन्यो कि गगन आफैँ सभापतिमा लड्ने भए । त्यो वेला गुरु घिमिरेबाहेक सबैजना प्रदीपलाई नै सभापति बनाउनुपर्छ भन्नेमा थिए । यही प्रसंगलाई लिएर गगनले एक सार्वजनिक कार्यक्रममा ठट्टा गर्दै भने, ‘त्यसवेला मलाई नेविसंघको सभापति बन्न नदिने विश्वदाइ नै त हो ।’ गगनको उचाइ नेविसंघ अध्यक्षको भन्दा माथि पुगिसकेकाले प्रदीपको पक्षमा लागेको विश्वले शालीन जवाफ दिए । ‘त्यतिवेला भनेको पनि थिएँ, गाउँघरमा गिरिजाप्रसाद कोइरालापछि कांग्रेसबाट सुनिएको नाम थियो गगन । त्यसैले गगन नेविसंघ सभापतिभन्दा माथिल्लो उचाइमा पुगिसकेका थिए,’ विश्व भन्छन् ।

राजनीतिमा एक–अर्कालाई निषेध गर्ने खेल चलिरहँदा यी दुई भने एक–अर्कालाई सघाउनेतिर अघि बढिरहेका छन्


०५७ मा गोविन्द भट्टराई र विश्वप्रकाशबीच नेविसंघ सञ्चालनको सन्दर्भमा मतभेद भयो । भट्टराईलाई मद्दत गर्न पुगे गगन । नेविसंघ कार्यालयमा नाराबाजी गर्नेमा थिए गगन । गगनको त्यसवेलाको ‘बाहुबली’शैली विश्वलाई चित्त बुझेको थिएन । नाराबाजीकै क्रममा विश्वले गगनको पकेटमा यस्तो हात राखेर व्यंग्यात्मक शैलीमा हाँस्दै भनेको गगन सम्झिन्छन्, ‘अहिलेसम्म त पेन नै रहेछ । म त तपाई छुरी बोक्न थाल्नुभयो कि भन्ठानेको ।’ 


अहिलेसम्मको सम्बन्धबारे समीक्षा गर्नुपर्ने वेला आएको दुवैलाई लाग्दैन । व्यक्तिगत स्तरमा दुईबीच मतभेदको अवस्था कहिले पनि आएन । त्यो सम्बन्धलाई उनीहरू न प्रतिस्पर्धा भन्छन्, न प्रतिशोध ।


०००
महाधिवेशनको समयमा भने विश्व र गगन फरक–फरक प्यानलबाट महामन्त्रीका प्रत्यासी बने । तर, आफ्नै प्रतिस्पर्धी गगनलाई विश्वले आफूसँगसँगै भोट मागेका थिए । ‘एक भोट मलाई, एक भोट गगनलाई !’ भन्दै भोट मागेको दृश्य रोचक थियो । गगनलाई विश्वले महामन्त्रीमा जोखिम उठाएको लाग्छ । साथसाथै आफूलाई पनि सँगसँगै मत माग्नु आफूप्रति विश्वको माया र सद्भाव लाग्छ । ‘सँगसँगै मलाई भोट माग्नु मप्रतिको माया र सद्भाव पनि हो,’ गगन भन्छन् । 


महामन्त्री र सांसद बन्दा विश्व निकै खुसी भएका थिए । गगन त्यो क्षणलाई विश्व धेरै खुसी भएको क्षण मान्छन् । विश्वलाई भने गगनसँगै महामन्त्री हुँदा दोहोरो खुसी मिलेको लाग्छ । विश्वले यसरी मत माग्नुमा रिस्क, जिम्मेवारीबोध र सेन्टिमेन्ट जोडिएको थियो । ‘गगनले जित्दा एउटा महामन्त्री जितेको थियो । विचार समूहगत रूपमा गगनको आधा जित थियो । गगन महामन्त्री हुँदै गर्दा म दोहोरो खुसीमा थिएँ । मेरो जित मात्रै अपर्याप्त हुन्थ्यो,’ विश्व सुनाउँछन् । 


राजनीतिमा एकअर्कालाई निषेध गर्ने खेल चलिरहँदा यी दुईबीचको सम्बन्ध भने एकअर्कालाई सघाउनेतिर अघि बढिरहेको छ । गत निर्वाचनमा गगन आफूलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा गए । विश्वले आफूभन्दा जुनिएर गगनको प्रस्तावक बन्ने घोाषणा गरे । यो कांग्रेस र राष्ट्रिय राजनीतिमा ठूलो सन्देश थियो । राजनीतिमा उदार हृदय हुनुपर्ने तर्क गर्छन्, विश्व । विश्वले गगनमा कांग्रेस र नेपाली समाजलाई धानेर लान सक्ने एउटा मान्छे देखेका छन् । ‘मैले चाहेका कतिपय विषयमा काम गर्न सकिनँ भने गगनले गरिराछ नि भन्ने लाग्छ । राजनीतिमा उदार हृदय राख्नुपर्छ । म मात्रै योग्य छु, भन्नुभन्दा भरोसा राख्नुपर्छ, त्यसो गर्दा आत्मसन्तोष मिल्छ,’ विश्व निर्धक्क भन्छन् । 


विश्व यस्तो मामलामा फरक ढंगले सोच्न सक्ने राजनीतिज्ञ लाग्छ गगनलाई । ‘मलाई प्रस्ताव गरेको हिसाबले होइन । उहाँ यस्ता कुरामा अलि फरक ढंगले सोच्नुहुन्छ । उदार भावना राख्नुहुन्छ । निषेधको मनसाय नराख्ने मान्छे हो उहाँ,’ विश्वबारे गगन भन्छन् । विश्वलाई गगनको कुनै हिचकिचाहटविना प्रस्तुत हुने बोल्ड शैली मन पर्छ । गगनलाई विश्वको व्यंग्यहरूको प्रयोग गरी बोल्ने खुबी मन पर्छ । 


दुवैजनालाई ‘टेवलवर्क’मा रुचि छैन । यो बानीले पनि महामन्त्रीको कार्यसम्पादनमा केही असर परेको लाग्छ गगनलाई । ‘सायद फरक–फरक भएको भए हामी एकअर्काको पूरकको रूपमा हुन्थ्यौँ, एकअर्काले देखेका ग्याप पूरा हुन्थ्यो । हामी एकै भयौँ । तागत बढ्यो । मल्टिप्लाई नै भयौँ । हामी कोठे र कागजी मान्छे कम भयौँ । तर, महामन्त्रीको जिम्मेवारी कोठे र कागजी पनि हो रहेछ,’ गगन भन्छन् । 


विश्वलाई पनि महामन्त्रीका रूपमा अपेक्षित काम गर्न नसकेको महसुस हुन्छ । विश्वलाई कतिपय कुरा गगनले नबोले हुन्थ्यो, अलि सानो स्वरमा बोलिदिए हुन्थ्यो भन्ने पनि लाग्छ । ‘सकेसम्म एगे्रसिभ नभई सानो स्वरमा शक्तिशाली कुरा बोल्न सकिन्छ । विचारको प्रस्फुटन मधुर हुन्छ,’ विश्वले गम्भीर मुद्रामा भने, ‘देशको प्रधानमन्त्रीका लागि हामीले प्रस्तावित गरेको मान्छे अझ बढी नरम भइदिए हुन्थ्यो भन्ने लाग्छ । आज बोलेका कुराले दसौँ वर्षपछि प्रश्न नउठोस् ।’ ‘शब्दमा विनम्रता, भावमा क्रान्तिकारिता’ विश्वको यो मान्यताप्रति गगनको कुनै कमेन्ट छैन ।


कांग्रेसमा आशालाग्दा यी दुई युवानेताले पछिल्लो समय खेपिरहेको प्रश्न हो– अब कसरी अघि जान्छन् गगन–विश्व ? दुवैको जवाफ छ– अहिलेको अवस्थामा हामी हाम्रो भूमिकामा सफल हुन सकौँ । हामी सँगै हिँड्यौँ, हिँडिरहेका छौँ र हिँड्ने छौँ । यसमा दुई मत छैन ।भोलि जुनसुकै जिम्मेवारीका लागि पनि एकअर्काले साथ दिने गगनको भनाइ छ । ‘हामी एकअर्काप्रति उदार छौँ । अहिले विश्वदाइले मलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएजस्तै भोलि नयाँ जिम्मेवारीमा मैले उहाँलाई प्रस्ताव गर्दा कोही छक्क नपरे हुन्छ,’ गगन भन्छन् । 


विश्वलाई पनि गगनलाई उछिनेर कहीँ पुग्नु छैन । आफ्नै साथीलाई स्विकार्न नसक्ने हो भने राजनीतिमा परिवर्तन कहिल्यै नआउने विश्वको मत छ । ‘रुपान्तरण र आकर्षण नभईकन राजनीतिप्रति मान्छेको प्रेम नै हुँदैन । राजनीति गर्ने मान्छे समाजले प्रेम गर्ने हुनुपर्छ । जब आफैँले आफ्नो साथीलाई प्रेम गर्दैन भने अरूले किन प्रेम गर्छ ?’ विश्व भन्छन् ।


यी दुई भाइलाई आफूहरूलाई माया गर्नेहरूलाई कांग्रेसलाई माया गर्ने बनाउनु छ । उनीहरूलाई माया गर्ने पार्टीबाहिर पनि छन् । उनीहरू आफूलाई कांग्रेसका भाग्यमानी कार्यकर्ताको रूपमा लिन्छन् । ‘यो माया कायम गरिराख्ने कुरा धेरै गाह्रो छ,’ गगन भन्छन्, ‘पार्टीबाहिरका मान्छेले विश्वप्रकाश र गगनलाई गरेको माया कांग्रेसलाई गर्ने मायामा बदल्नु छ ।’


उनीहरू दुवैजनालाई प्रतिस्पर्धामा समय खेर फाल्नु छैन । गगन भन्छन्, ‘हामीले आपसमा प्रतिस्पर्धा गरेर समय खेर फाल्न हुँदैन । विश्वदाइ र मैले आफूलाई अझै राम्रो बनाउन आफैँसँग प्रतिस्पर्धा गर्ने हो । पदका लागि आपसमा प्रतिस्पर्धा ग¥यौँ भने दुवैले क्षति व्यहोर्नुपर्छ । त्यसले पार्टीलाई क्षति हुन्छ । हाम्रो जेनेरेसनलाई क्षति हुन्छ । यो कुरा हामी दुवैले बुझेका छौँ ।’