• वि.सं २०८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
शिवहरि ज्ञवाली
२०७९ फाल्गुण १३ शनिबार ०९:३५:००
समाज

जातले सन्तान खोस्यो, बाघले खसम

आफन्त र गाउँले आएर मखमली र उनका श्रीमान्लाई गाउँ निकाला गरी त्रिशूली नदी कटाइदिए

२०७९ फाल्गुण १३ शनिबार ०९:३५:००
शिवहरि ज्ञवाली

 

‘मेरो माइतीबारे मलाई नै थाहा छैन’


बारम्बार माइतीकै कुरा कोट्याइरहेँ । उनको मुखबाट माइतीबारे कुनै शब्द फुत्किएन । दुःखसुखका कुराकानी गर्दै गएपछि बल्ल उनी खुल्दै गइन् । ‘आफैँ मरेर जन्माएको सन्तानले त मलाई स्विकारेनन् । माइतीको त परको कुरा । दमाईंसँग विवाह गरेपछि मलाई गाउँ निकाले । त्यसपछि आजसम्म मेरा आफन्तबारे केही खबर छैन,’ उनले एकैसासमा भनिन्,‘बुढेसकालले छोयो । अब त हिँड्दा पनि खुट्टा काम्छन् । सके छोराछोरीको मुख देख्न मन थियो ।’


चितवन, माडी नगरपालिकाको बाँदरझुला, कुसुमखोला र चौकीडाँडा देशका विभिन्न ठाउँबाट अन्तरजातीय प्रेम वा विवाहका कारण गाउँ निकालिन बाध्य धेरै जोडी परिवार भेटिने थलो हो । अरूजस्तै मखमली ढकाल (६०) पनि आजभन्दा ३२ वर्षअघि माडी–८ चौकीडाँडामा आइपुगिन् । त्यस दिनदेखि आजसम्म उनी आफ्नो टोल छोडेर बाहिर निस्किएकी छैनन् । न माइतीको खबर छ, न पहिलो श्रीमान्बाट जन्मिएका चार सन्तानको । आजभोलि उनलाई पहिलेका सन्तानको मायाले खुब पोल्न थालेको छ । ‘रोएर चिच्याएर खोजौँ अहिलेका छोराछोरीले के भन्लान् ? आफ्नै ‘कोखीको घाउ’ कसरी बिर्सन सकिन्छ र ?’ मखमलीले मोटो चस्मा निकालेर आँसु पुछ्दै भनिन् । 


जातको पासो
नेपाली दलित महिलाहरूको प्रतिरोध र संघर्षबारे अध्ययन गरिरहेकी फिनिस अध्येता एलिना लिहो र म गत मंसिरको अन्तिम साता मखमलीको घर पुगेका थियौँ । माडीको दक्षिणी पहाडको काखैनेर बैकुन्ठे जाने बाटोछेउमा मखमली अहिले आफ्ना तीन छोरा, दुई बुहारी र नातिनातिनासँगै बस्छिन् । छोरीको विवाह भइसक्यो । 


मखमलीलाई आफ्नो माइती काठमाडौंनजिकै हो भन्नेसम्म थाहा छ । गाउँको नाम ‘ढकालथोक हो कि ढकाल खोला’ भन्न सक्दिनन् । गाउँबारे मधुरो स्मृति मात्रै बाँकी छ । उनलाई आफन्तहरू काठमाडौंमा भएको र आफू बच्चा छँदा कहिलेकाहीँ गएकोसम्म थाहा छ । उमेरको कारण हुन सक्छ, उनले बितेका दिनहरू बिर्सँदै जान पनि थालेकी छिन् । 


१३ वर्षको हुँदा उनको विवाह धादिङका एक ब्राह्मणसँग भयो । श्रीमान् धेरै पाको उमेरका थिए । माइतीमा आमाबुबा, दाइ र दिदी थिए । तर, विवाहपछिको घरधन्दाले उनले माइती फर्किने मौका कमै पाइन् । श्रीमान्का घरका हुनेखाने थिए । टन्नै खेत र सम्पत्ति थियो । मखमली त्यो घरकी बुहारी थिइन्, तर नाम मात्रको । खासमा उनको हैसियत घरको कामदारजति पनि थिएन । उनका अनुसार श्रीमान् रातिसँगै सुत्नेबाहेक अरू वेला गाउँका अरू केटी लिएर डुल्थे । असामी उठाउँथे । मखमलीको कुनै मतलब गर्दैनथे । 


बिहे भएको एक वर्षपछि उनको पहिलो छोरा जन्मियो । त्यसपछि लगातार दुई छोरा र एक छोरी जन्मिए । उनी २२ वर्ष हुँदा पहिलो श्रीमान्को क्षयरोगका कारण मृत्यु भयो । घर र समाजद्वारा मखमलीलाई विधवा बनाइयो । त्यसपछि सुरु भयो उनीमाथि सासू, ससुरा र गाउँलेको थप मानसिक र शारीरिक हिंसाको अर्को शृंखला । 


सार्की दमाईं (श्रीमान्को नाम) मखमलीका दोस्रो श्रीमान् हुन् । उनी मखमलीको अघिल्लो श्रीमान्तिरका सासूका माइतीतिरका थिए । सासूका बाआमाले ‘दाइजो’मा छोरीलाई काममा सघाओस् भनेर दिएका । उनी भन्छिन्,‘माइतीको नासो भनेर होला मेरा श्रीमान्लाई सासूले खुबै माया गर्थिन् ।’


दिनरात काम गर्ने सार्की दमाईं गोठमा बस्थे । उनले मखमलीलाई पनि काममा सघाउँथे । घरमा दलितलाई छुन र उनीहरूसँग कुरा गर्न दिइँदैनथ्यो । परैबाट खानेकुरा दिन्थिन् । र, सासूससुराले देख्ने गरी माझेको भाँडामा आगो राखेर चोख्याउँथिन् । कहिलेकाहीँ सासूससुरा नभएको वेला कोठाभित्रै पुगेर खाना दिन्थिन् । दुवैजना त्यो घरमा काम गर्ने दासजस्ता थिए । एकजनालाई ‘दाइजो’ भनिएको थियो, अर्कीलाई बुहारी भनिएको थियो ।


विधवा बनाइएपछि पनि मखमली चार सन्तानको मायाले घरमै बसेकी थिइन् । माया पनि कस्तो भन्ने, उनी आफ्ना सन्तानलाई राम्रोसँग काखमा राख्न पनि भ्याउँदिनथिन् । काममा दगुर्नुपथ्र्यो । जब सासूसुसराले घरमा राखेको दमाईंसँग मखमलीनजिक भएको चाल पाए, त्यसपछि उनलाई घरबाट निकालियो । घर निकाला भएपछि सार्की दमाईं पनि मखमलीलाई साथ दिन तयार भए । उनीहरूले मनमनै बिहे गरे र राति घर छाडे । 

श्रीमान् जंगल गएको दिन उनले बाघले मान्छे खायो भन्ने हल्ला सुनिन् । तर, कसलाई खायो भन्ने थाहा पाइनन् । साँझ श्रीमान् घर फर्किएनन् । उनको मनमा चिसो पस्यो । रेडियोमा समाचार सुनेपछि मात्र उनले आफ्नो श्रीमान् पनि मारिएको थाहा पाइन् ।


बिहेपछि मखमली नयाँ श्रीमान्सहित श्रीमान्को पुख्र्यौली थलो खोज्दै धादिङको सलाङ गएर केही दिन बसे । त्यहाँ माइतीपट्टिका बुबाआमाले ‘पउनीसँग’(दलितसँग) बिहे गरेकाले उनको किरिया गरेको खबर पाइन् । त्यतिमात्र होइन, पहिलो श्रीमान्तिरको सासूका आफन्त र गाउँलेहरू आएर उनीहरूलाई त्यहाँबाट समेत गाउँ निकाला गरेर त्रिशूली नदी कटाइदिए । घर र गाउँ निकालामा परेपछि चार सन्तानको माया बोकेर श्रीमान्सँगै मखमली खाली खुट्टा हिँडेर माडी पुगिन् । त्यतिवेला उनी २८–२९ वर्षकी थिइन् भने श्रीमान् २३ वर्षका । 


अल्लारे वयका श्रीमान्लाई लिएर मखमली माडीको वसन्तपुर पुगिन् । त्यहाँ पुगेपछि उनको परिचय बन्यो– मखमली परियार । ०४६ सालको परिवर्तनपछि भूमिहीनहरू ओतको खोजीमा बाँदरझुलालगायतका ठाउँतिर जाँदै थिए । अधिकांश दलित र जनजाति समुदायका महिला बालबालिकाहरूको लस्कर थियो । मखमली पनि त्यही लस्करमा मिसिइन् । त्यसो त केहीले खरकट्टा बजारतिर टहरो बनाएर बस्ने सल्लाह नदिएका पनि होइनन् । तर, माइती र घरकाले भेट्टाउलान् भन्ने डरले उनीहरू बस्तीभन्दा परको अनकन्टार खोँच र दलित बस्ती रोजेर बसे । उनी सम्झिन्छिन्,‘यहाँ गायन, दमाईं र सार्कीहरूको बस्ती थियो । पर बाहुनहरू थिए । हामीलाई मार्न नै आए पनि पक्कै आफ्ना जातकाले बचाउलान् भनेर दलित टोलमै आयौँ ।’


बाघले खायो खसम 
माडी आएपछि मखमलीको जिन्दगीमा खुसी आउन सुरु ग¥यो । पहिलो श्रीमान्बाट जन्मेका छोराछोरीको क्लेश दोस्रो श्रीमान्बाट पहिलो सन्तान जन्मेपछि बिस्तारै भुल्दै गइन् । बिहेपछि लगालग पाँच सन्तान जन्मिए । तर, एउटाको जन्मेको केही दिनमै मृत्यु भयो । त्यतिमात्रै होइन, बिहे भएको सात वर्षमा ३५ वर्षका श्रीमान्लाई पनि बाघले आक्रमण गरेर मारिदियोे । 


दोस्रो श्रीमानको मृत्यु हुँदा जेठो छोरो जम्मा १० वर्षका थिए । श्रीमान् जंगल गएको दिन उनले बाघले मान्छे खायो भन्ने हल्ला सुनिन् । तर, कसलाई खायो भन्ने थाहा भएन । साँझ श्रीमान् घर फर्किएनन् । उनको मनमा चिसो पस्यो । रेडियोमा समाचार सुनेपछि मात्र उनले आफ्नो श्रीमान् पनि मारिएको थाहा पाइन् । ‘जंगलमा खोज्न जानका लागि पनि परिवारमा कोही ठूलो मान्छे थिएन । माइलो छोरो रुँदै गाउँलेहरूसँगै गयो । पछि गाउँलेहरूले बालक भनेर बाटोबाटै फर्काइदिएछन्,’ मखमली त्यो दिन सम्झिन्छिन्,‘बाघले खाएका पाँचजनाको लास भेटियो । तर, मेरो लोग्नेको लास तीन दिनपछि मात्र फेला प¥यो । बाघले लखेटेर भाग्दाभाग्दै धेरै टाढासम्म पु¥याएर होला खोज्न गएकाहरूले तिम्रो लोग्ने भेटिएनन् भने ।’ 


गाउँमा ६ जनालाई बाघले एकैपटक मारेपछि त्यो बाघलाई दुई महिनापछि सिकारीले मारे । बाघ मार्नेलाई फूलको माला लगाएर गाउँ डुलाए । मखमली पनि आफ्नो लोग्ने खोस्ने बाघ हेर्न गइन् । ‘कपडाले ढाकिएको थियो । हेर्नेहरूको भिड थियो । तर, म रिसले भिड छलेर त्यो बाघको एउटा जुँगा तानेँ ।’ मखमलीले सुनाइन् । 


उमेरमै श्रीमान्को मृत्युपछि मखमलीका खुसीका दिन धेरै दिन रहेनन् । न त आफ्नो घरखेत न त कुनै आम्दानीको बाटो । पैसा नभएकाले श्रीमानको लास पनि गाउँलेहरूले जङगलमै जलाइदिए । किरिया गर्न समेत गाउँलेहरूले चन्दा उठाएर दिए । उनले दुःखले चार छोराछोरीलाई हुर्काइन् र पढाइन् । अहिले उनका एक छोरा वैदेशिक रोजगारीमा छन्, माइला छोरा गाउँमै आफ्नो ट्र्याक्टर चलाउँछन् र राजनीति पनि गर्छन् भने कान्छा छोरा भरतपुरमा बिए पढ्दै छन् । 


नेपाल सरकारले बाघ बढ्यो भनेर खुसियाली बनाएकोबारे मखमली जानकार छिन् । माइतीमै हुँदादेखि रेडियो सुन्नेबानीले उनले पढ्न नसके पनि धेरै कुरा बुझ्न सक्ने भएकी छिन् । बाघको संख्या बढेकोबारे उनले भनिन्,‘सरकारलाई धन चाहिएको छ । मान्छे मरेर सरकारलाई के हुन्छ र ? सुकुमबासी भनेर हामीलाई लखेट्दा सरकारलाई फाइदा हुन्छ ? हामीलाई गाउँबाट ननिकालेको भए सुकुमवासी बन्न यहाँ आउन पथ्र्यो र ?’ 


सन्तानको माया
आजभोलि मखमलीलाई खास अरू पिर छैन । दोस्रो श्रीमान्बाट जन्मेका सन्तानसँग उनी हाँसीखुसी नै बसेकी छन् । तर, उनलाई पहिलो श्रीमान् तर्फका चार सन्तानको सम्झनाले फेरि सताउन थालेको छ । ‘काखकी कान्छी छोरी छोडेर हिँडेकी हुँ । कहाँ पुगे होलान्, के गरे होलान् ? खाए कि खाएनन्, बिरामी पो भएकी !’, उनले बह पोखिन्,‘यहाँका केटाकेटी त साथमै छन्, जे भए पनि देख्न पाएको छु । उताको खुट खबर पाउन पाए हुन्थ्यो । उताका छोराछोरीलाई आमा हामीलाई छोडेर दमाईसँग गई भन्ने होला । घरमा बस्नटिक्न दिएको भए मैले केलाइ छोड्थेँ र ।’


पहिलो सन्तानतर्फका छोराछोरीको अनुहार मखमलीको आँखैमा छ । केही समयअघि माइला छोरा राजकुमारको मोबाइलमा उनले पहिलो श्रीमान्तर्फको छोरीजस्तै फोटो देखिन् । राजकुमारले बिस्तारै कुरा गर्दै गए । उनी मखमलीकै छोरी रहेछिन् । सबैकुरा मिल्दै गएपछि एक दिन मखमलीले पनि कुरा गर्ने कोसिस गरिन् । तर, धेरै लामो कुरा गर्न सकिनन् । छोरीले अन्तिममा भन्दै गरेको कुरा उनको कानमा अझै गुन्जिरहन्छ,‘आमा तपाईंलाई भेट्न मन छ । तर, भेट्न गएको भन्ने थाहा पाए भने मलाई दाइहरूले पनि भातपानी बार्छन् । ज्वाइँले पनि यस्ताकी छोरी भन्लान् । म मिलाएर छिट्टै भेट्न आउँछु ।’ त्यसपछि फेसबुकमा भेटिएकी छोरीसँग उनको दोहो¥याएर कुरा हुन पाएको छैन ।


केही घन्टा कुरा गरेपछि हामीले मखमली आमासँगै फोटो खिच्यौँ । एलिना मखमलीलाई अँगालो हाल्दै बेस्सरी रोइन् । मैले उनको फोटो र भोगाइ प्रकाशन गर्ने अनुमति लिएँं । हामी बिदा भएर हिँड्दैगर्दा उनले आँगनको डिलबाट हात हल्लाउँदै भन्दै थिइन्, ‘मेरो फोटो देखेर मलाई छोराछोरीले चिन्लान् त बाबु ? हाम्री आमा हो भन्लान् त बाबु ?’