• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेन्द्र ढुंगाना
२०७९ फाल्गुण १३ शनिबार ११:२२:००
यात्रा

एक हातले साइकल चलाउँदै लुम्बिनीदेखि भारतको कुशीनगरसम्म

फोटो कथा

२०७९ फाल्गुण १३ शनिबार ११:२२:००
दिपेन्द्र ढुंगाना

 

कुनै समय नेपालको तराई र सडक विस्तार भएको मध्यपहाडी क्षेत्रमा साइकल दैनिक जीवनको मुख्य साधनको रूपमा प्रयोग हुँदै आएको थियो । स्कुल जाँदा होस् वा बजार जाँदा साइकल नै मुख्य साधन थियो । तर, पछिल्लो समय मोटरबाइकको अत्यधिक प्रयोगले साइकलको उपयोग घट्दै गएको छ । 

साइकलको प्रयोग बढाउन पछिल्लो समय धेरै कोसिस भइरहेका छन् । कतै सामाजिक संघ–संस्थाहरूले साइकल वितरण गरेको खबर सुनिन्छ भने कतै साइकल लेनलाई प्राथमिकतामा राख्न थालिएको छ । विभिन्न संघ–संस्थाले साइकल र्‍याली पनि वेलावेलामा गरिरहेका छन् । साइकललाई खेलकुदका रूपमा पनि विकास गर्न सकिने देखिन्छ । १३औँ सागमा नेपाली खेलाडीले यो विधाबाट दुईवटा गोल्ड मेडल जितेका छन् । 

गत हप्ता बुद्धको पञ्चशीललाई मुख्य सूत्र बनाएर ‘बौद्ध परिपथ साइकल यात्रा’ सम्पन्न भएको छ । लुम्बिनीबाट भारतको कुशीनगरसम्म करिब २०० किलोमिटरको यात्रा तीन दिनमा पूरा भएको थियो ।


गत हप्ता बुद्धको पञ्चशीललाई मुख्य सूत्र बनाएर ‘बौद्ध परिपथ साइकल यात्रा’ सम्पन्न भएको छ । लुम्बिनीबाट भारतको कुशीनगरसम्म करिब २०० किलोमिटरको यात्रा तीन दिनमा पूरा भएको थियो । ‘वातावरण, स्वास्थ्य र अध्यात्मका लागि हामीले यो यात्रा गरेका हौँ,’ संयोजक उषा तितिक्षू बताउँछिन् ।


 हरेक बिहान ३० मिनेट ध्यान गरेर साइकल यात्रा सुरु गर्दा मानिसको मनमा शान्ति र सकारात्मक सोचको विकास हुने तितिक्षूले बताइन् । २८ जनाको साइकल टोली लुम्बिनी हुँदै कुशीनगर जाँदा २४ वर्षदेखि ५७ वर्षसम्मका व्यक्ति सहभागी थिए । पेसागत तथा उमेरगत विविधताले यात्रा रोमाञ्चक बनेको थियो । ‘०६२–६३ पछि साइकल चलाउन थालेको थिएँ । त्यसवेला दैनिक जोरपाटीदेखि लगनखेलसम्म साइकलमै आउने जाने गर्थें । दैनिक तीन घन्टा अझै पनि साइकल चलाउँछु,’ साइकलयात्री उर्मिला श्रेष्ठ भन्छिन् । समूहमा यात्रा गर्दा निकै रमाइलो भएको उनले सुनाइन् । 


यात्रामा ११ वर्षको उमेरमा करेन्ट लागेर हात गुमाएकी २५ वर्षीया शान्ति पुरी पनि सहभागी थिइन् । उनी कपनबाट साइकल चलाएर दैनिक काठमाडौंका विभिन्न ठाउँमा पुग्छिन् । दैनिक कम्तीमा ३० किलोमिटर साइकल चलाउने गरेको उनले बताइन् । ‘जाममा रोकिँदै र ठेलमठेल गरेर हिँड्नुभन्दा साइकलमै सजिलो लाग्छ,’ उनले भनिन् । 


शान्ति एउटै हातले साइकलको गियर र ब्रेकको सन्तुलन मिलाउन सिपालु छिन् । ब्याट्रीवाला साइकल आएपछि अहिले झनै सहज भएको उनको अनुभव छ । उनीजस्तै एकहातले साइकल चलाउने गोदावरीकी सिर्जना घिसिङ पेसाले राष्ट्रिय पारा तेक्वान्दो खेलाडी हुन् । उनले २०२२ मा साउदी अरेबियामा पारा तेक्वान्दोमा गोल्ड मेडलसमेत जितेकी थिइन् । हिजोआज उनी तालिममा आउन जान साइकल नै प्रयोग गर्छिन् । लुम्बिनीदेखि कुशीनगरसम्म एक हातले साइकल चलाएर फरक क्षमता भएका व्यक्ति पनि हरेक काम गर्न सक्षम हुन्छन् भन्ने सन्देश प्रवाह गर्न खोजेको सिर्जनाले बताइन् ।

 

यात्रामा साइकल मर्मतको जिम्मेवारी दोलखा कालिञ्चोकका राम अधिकारीले लिएका थिए । उनले पनि सात वर्षको उमेरमा दुर्घटनामा पनि एउटा हात गुमाउनुपर्‍यो । विशेष गरी साइकलको चेन, टायर, ह्यान्डलको अवस्था राम्रो हुँदा यात्रामा सहज हुने उनले बताए । उनी एकपटक ओलिम्पिकमा सहभागी भइसकेका छन् । आगामी दिनमा जसरी पनि मेडल भित्र्याउने योजना उनको छ ।


अब बन्ने सहरमा साइकलका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने साइकलका मेहर सहिकाल श्रेष्ठ बताउँछन् । उनी सन् २००९ देखि साइकलसम्बन्धी अभियानमा सक्रिय छन् ।