• वि.सं २०८१ मङ्सिर १० सोमबार
  • Monday, 25 November, 2024
अनिल यादव
२०७९ फाल्गुण २० शनिबार १०:२०:००
सम्झना

... अनि राउत  होमिए विद्रोहमा

२०७९ फाल्गुण २० शनिबार १०:२०:००
अनिल यादव

 

ती चार घुम्ती, जसले सिके राउतलाई क्याम्ब्रिज हुँदै सदनसम्म ल्यायो

 

सन् २००२ को ऋतिक रोशन काण्डअघिसम्म सिके राउत आफूलाई ‘भयंकर राष्ट्रवादी’ ठान्थे । ‘म त नेपाली, वीर गोर्खाली’ भन्दै कविताहरू लेख्थे । आफूमाथि हुने विभेद र दमनलाई सहजै लिन्थे । आफ्नो पहिचान स्विकार्न चाहँदैनथे ।

 

तराई मधेस मूलका जति पनि मान्छे काठमाडौं आउँथे, अधिकांशसँग विभेद र दमनको लामो फेहरिस्त हुन्थ्यो, तर कोही पनि गाउँ फर्किंदा ‘सहरमा मसँग यस्तो हुन्छ’ भनेर स्विकार्न चाहन्थेन । राउत पनि त्यस्तै थिए, आफूले काठमाडौंमा भोगेको विभेद मनभित्रै गुम्साएर राख्थे । 

 

उनी पढ्ने ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मधेसी मूलका विद्यार्थीले खोलेको एउटा संगठन थियो– तराई विद्यार्थी नवजागरण संघ । एकपटक त्यही संगठनका केही नेताहरू राउतलाई सदस्यताको प्रस्ताव लिँदै भेट्न गए । जवाफमा राउतले उल्टै हकारेर पठाए । त्यसवेला उनले भनेका थिए, ‘यो मधेसी, पहाडी केही पनि हुँदैन, म नेपाली हुँ नेपाली ।’

 

समयक्रमसँगै केही घटना यसरी आइपर्छन् कि त्यस्ता घटना मान्छेको जीवनमा मूल घुम्ती बनिदिन्छन् । राउतका लागि नेपालमा चर्चित ऋतिक रोशन काण्ड त्यस्तै बनिदियो । 

 

त्यतिवेला ऋतिक रोशनको पहिलो फिल्म ‘कहो ना प्यार हे’ रिलिज भएको थियो । यो फिल्मले असाध्यै चर्चा कमाएको थियो । त्यतिवेला चितवनको एक स्थानीय पत्रिकामा ‘भारतीय अभिनेता ऋतिक रोशनले एक अन्तर्वार्तामा नेपाललाई होच्याएर बोले, नेपाल र नेपाली मन पर्दैन भने’ भनेर आधारहीन खबर छापेको थियो । त्यो खबर रातारात भुसको आगोझैँ देशभर फैलियो । 

 

ऋतिक रोशन काण्ड मेरो जीवनकै टर्निङ पोइन्ट बन्यो । तर, त्यसपछि पनि मैले मानसिक विद्रोह मात्रै गरेँ । म कहिल्यै पनि भौतिक हिंसाको पक्षमा थिइनँ । तर, सत्य के हो भने त्यो घटनापछि मेरो व्यक्तित्व नै नयाँ ढंगले विकास भयो । आज मेरो जस्तो व्यक्तित्व बन्यो, त्यसमा त्यो घटनाको ठूलो हात छ ।’
 

 

ऋतिक रोशन र बलिउड मात्रै होइन, अपुष्ट अभिव्यक्तिलाई लिएर मधेसीमाथि नै आक्रमण सुरु भयो । मधेसीको घरमा आगो लगाउने, पसल जलाउनेसम्मका गतिविधि भए । कति ठाउँमा मधेसीहरू कुटिए, कतैकतै नागरिकतासमेत खोसियो । मधेसीहरू ताल्चा लगाएर कोठाभित्र लुक्न बाध्य भए । स्थिति नियन्त्रणमा लिन कतिपय ठाउँमा प्रशासनले कर्फ्यु नै लगायो । 

 

काठमाडौं बसेर कलेज पढिरहेका राउत स्वयं यसका एक साक्षी बने । पहाडी मूलका साथीहरूसँग भेट्न पनि डरमर्दो स्थिति भयो । कुनै अर्को देशमा कुनै ठिटोले नेपालका बारेमा केही बोल्यो अरेका भरमा त्यसका लागि मधेसीहरू किन जिम्मेवार हुनुपर्ने ? त्यसका लागि मधेसीहरू किन पिटिनुपर्ने ? त्यस्तो परिस्थिति देखेर राउत झस्किए । 

 

त्यतिवेला राष्ट्रिय दैनिक भनिने काठमाडौंबाट निस्किने पत्रपत्रिकामा मधेसीमाथिको आक्रमण भनेर खासै खबर छापिएन । जब उनका साथीहरूले मधेसका स्थानीय पत्रपत्रिकामा छापिएको समाचारको कटिङ लिएर आए, त्यो पढेपछि राउत झन् टुटे । 

 

त्यसपछि एक दिन कलेजको क्लास जाने क्रममा भर्‍याङमै उनका केही सहपाठीले उनलाई घेरे, नानाथरी रंगभेदी गाली गरे । उम्केर भाग्न खोज्दा पनि समातेर फेरि घेरे । तिनीहरू तिनै साथी थिए, जो उनीसँग क्यान्टिन, लाइब्रेरी र क्लासमा एउटै टेबलमा वा सँगै बस्ने गर्थे । 

 

मान्छेहरू कलेज लाइफलाई खुब मिस गर्छन् । तर, राउतलाई लाग्दो हो– जीवनका पानाहरूबाट ती तिता दिन अलप भइदिए पनि हुने ! कारण, जहीँतहीँ हुने विभेद र दुव्र्यवहारले कलेजको जीवन उनका लागि पटक्कै रमाइलो भएन । ‘कलेजको अन्तिम वर्षभरि म लो प्रोफाइलमै बसेँ, कमै देखिन्थेँ, कमै बोल्थेँ, कतै जान्नथेँ । कहिलेकाहीँ आवेगमा पनि आउँथेँ । त्यतिवेला म कोठामा एक्लै बस्थेँ, मेरो रुममेट आफ्नो परिवारसँग बाहिरै बस्न थालेको थियो । कहिलेकाहीँ त्यही पुराना साथीहरूसँग बस्ने कोसिस गर्थें तर दंगाताका मैले देखेको तिनीहरूको दानवतार सम्झिँदा झस्किन्थेँ । म आफ्नो ढोका प्रायः छेस्किनी लगाएर बन्द राख्थेँ,’ राउतले आफ्नो पुस्तक ‘वैराग्यदेखि बचावसम्म’मा पनि यो प्रसंग लेखेका छन् । 

 

राउत सुरुदेखि नै आध्यात्मिक बाटोमा थिए । तर, ऋतिक रोशन काण्डपछि उनको जीवनको गन्तव्य फेरियो । सामाजिक न्याय र पहिचानका लागि लड्ने कि आध्यात्मिक मार्गमै हिँडिरहने ? उनमा द्विविधा बढ्न थाल्यो । 

 

‘म त आफूलाई नेपाली भन्थेँ तर हामीलाई त यहाँ नेपाली नै नमानिने रहेछ,’ उनी सम्झन्छन्, ‘भारतमा कसले के भन्यो अरेको भरमा यहाँ त हामीलाई पो पिट्न थाले । हाम्रो नागरिकता पो च्यात्न थाले । यहाँ त हामीलाई अरू त अरू राज्यले पनि नेपाली नभन्ने रहेछ । त्यसपछि मभित्र प्रश्न उठ्यो– म को हुँ त ? त्यही प्रश्नले मभित्र पहिचानको खोज, पहिचानको सुरुवात र स्वीकार्यता सुरु भयो । त्यसपछि हो, मैले आफूमाथि भएको विभेद र दमन स्विकार्न थालेको ।’

 

पहिचानको स्वीकार्यतापछि राउतले इतिहासबारे अध्ययन थाले । मधेस र मधेसीको पहिचानबारे पढ्न थाले । देशी–विदेशी पुस्तकालयमा मधेसीको इतिहाससम्बन्धी लेखिएका नेपाली, हिन्दी, अंग्रेजी सबै भाषाका पुस्तक खोजीखोजी पढे । ‘सन् २००० डिसेम्बरको ऋतिक रोशन काण्ड मेरो जीवनकै टर्निङ पोइन्ट बन्यो,’ राउत भन्छन्, ‘तर, त्यसपछि पनि मैले मानसिक विद्रोह मात्रै गरेँ । मैले कहिल्यै पनि हिंसाको अन्त्य देख्दिनँ । त्यसैले म कहिल्यै पनि भौतिक हिंसाको पक्षमा थिइनँ । तर, सत्य के हो भने त्यो घटनापछि मेरो व्यक्तित्व नै नयाँ ढंगले विकास भयो । आज जस्तो व्यक्तित्व बन्यो, त्यसमा त्यो घटनाको ठूलो हात छ ।’

 

०००                                                 ०००

 

हाल जनमत पार्टीका अध्यक्ष रहेका राउतका जीवनका मूल घुम्तीबारे सुन्न हामी बुद्धनगरस्थित उनको पार्टी कार्यालयमै पुगेका थियौँ । उनले उठाएका एजेन्डाका कारण जनमानसमा विद्रोही स्वभावको ‘न्यारेटिभ’ स्थापित भए पनि भेटघाटमा उनी बिलकुलै फरक देखिए । शान्त, शालीन, बौद्धिक अनि आध्यात्मिक ।

 

भित्र कार्यकक्षमा पंक्तिकारलाई आफ्नो विगत सुनाइरहँदा बाहिर केन्द्रीय कमिटी बैठकका लागि पदाधिकारी कुरिरहेका थिए । तर, कुनै हतार नगरी उनी जीवनका ‘टर्निङ पोइन्ट’हरू सम्झिरहेका थिए । 

 

ऋतिक रोशन काण्डबारे कुराकानी गर्नुअघि उनलाई पंक्तिकारले सोधेको थियो, ‘तपाईंले पहिलोपटक कहिले आफूलाई मधेसी हुनुको अनुभूत गर्नुभयो ?’ 
जवाफमा उनी बडो घतपूर्वक प्रस्तुत भए, ‘तराई मधेसमा बस्ने मधेसीलाई काठमाडौं नआउँदासम्म मधेसी भनेको थाहा नै हुँदैन । किनभने १० कक्षा पढ्दासम्म बाहिरको मान्छेसँग सम्पर्क हुने भनेको बस चढ्दा मात्रै हो ।’

 

सप्तरीको महादेवा गाउँमै कक्षा ५ मा पढ्दाताका राउतले बुढानीलकण्ठ स्कुलका बारेमा पढेका थिए । त्यही सुनेर उनी काठमाडौं पढ्न लोभिएका थिए । सरकारले पढ्न बोलाउँछ भन्ने हल्ला थियो गाउँमा । तर, १० कक्षा पढ्दासम्म त्यो बोलावट आएन । 

 

राउत परिवारको आर्थिक हैसियत कमजोर थियो । त्यसैले उनको परिवारको पैसा खर्च गरेर काठमाडौंमा पढाउन सक्ने अवस्था थिएन । तर, बुबाको पृष्ठभूमि शिक्षक भएकाले उनलाई गाउँलेहरूको पनि साथ भयो । गाउँमै रहेको कट्टी स्कुलमा स्कुल टप भएपछि उनलाई पढाउनुपर्ने गाउँमा दबाब बढ्यो । सुरुमा धरान जाने कुरा थियो । तर, राउतका बुबालाई कसैले कान भरिदियो, ‘त्यहाँ इन्ट्रान्समा नाम निकाल्न अप्ठेरो हुन्छ, सोर्सफोर्स चल्छ, मधेसीको नाम निस्किँदैन ।’ त्यसपछि राउत पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्न आइपुगे । गाउँबाट सहरमा काम गर्न आएका फ्याक्ट्रीका मजदुरहरू, सैलुन खोल्ने मान्छेहरू सबैले उनको पढाइमा साथ दिए, आर्थिक सहयोग गरेर । ‘बुबाले धेरैलाई गाउँमा ऋणी बनाउनुभएको थियो । त्यसैले गाउँलेहरूले मेरो पढाइमा उहाँलाई साथ दिए,’ राउतले भने ।

 

गाउँमा रहँदा मधेसका राजनीतिज्ञ गजेन्द्रनारायण सिंहले काठमाडौंमा कुटाइ खाएको उनी सुन्थे । काठमाडौंबारे मधेसतिर मनोविज्ञान थियो, ‘धोती लाएर गयो भने कुट्छ रे, हेप्छ रे !’

 

गाउँमै रहँदा पनि जब–जब उनी लोकल बसमा चढ्थे, आफ्नो भाषा बोल्न छाडेर नेपाली बोल्थे । ‘सहचालक मधेसी नै भए पनि मधेसी भाषा बोल्ने आँट आउँदैनथ्यो । नेपाली नै बोलिन्थ्यो । बसमा चढ्ने पहाडी यात्रुका कारण,’ राउत सम्झिन्छन् ।

 

त्यस वेला नाइट बसमा बीच बाटोबाटै यात्रु चढाउने चलन निकै थियो । यदाकदा अहिले पनि छ । त्यसक्रममा मधेसीमाथि निकै दुव्र्यवहार हुने राउत सम्झन्छन् । ‘मधेसीहरूलाई मुढामा बसाएर ल्याउँथे,’ राउत मधेसीमाथि हुने विभेदको शृंखला सुनाउँछन्, ‘पूर्वबाट चढेर आएकाहरूले ‘ओए भैया’ भन्दै गाली गर्थे । दुव्र्यवहार गर्न थालिहाल्थे । कहिलेकाहीँ झोला फालिदिने, थिच्ने, सिटमा बसे पनि हटाउने ! हरेक दिनजसो त्यस्तो घटना हुन्थ्यो । तर, जतिसुकै दुव्र्यवहार भए पनि मधेसीहरू मौन भएर सहेरै यात्रा गर्थे । म स्वयं धेरैपटक यो अवस्थाबाट गुज्रिएको छु ।’

 

त्यो मेची–महाकाली यात्रा

 

सन् १९९४ मा काठमाडौं छिरेका राउतले स्नातकको पढाइ सकाएपछि सन् २००१ मा कुपन्डोलमा रहेको एड्भान्स इन्जिनियरिङ कलेजमा एक वर्ष हेड अफ डिपार्टमेन्टका रूपमा कम्प्युटर विभागमा काम गरे । तर, इन्जिनियरिङको पढाइमा ‘टपर’ भएका कारण उनको चाहना थियो, थप अध्ययनका लागि विदेश जाने । कारण, त्यतिवेला टपरहरू उच्च शिक्षाका लागि अमेरिका, बेलायत जान्थे । सुरुमा सन् २००३ तिर मास्टर्स डिग्रीका लागि उनी जापान गए । ब्याचलर पढ्दै एउटा डिग्री क्याम्ब्रिज युनिभर्सिटीमा गर्ने उनको धोको थियो । जापानमा ३ वर्षको अध्ययनपछि पिएचडीका लागि उनी क्याम्ब्रिज युनिभर्सिटी पुगे । साढे तीन वर्ष क्याम्ब्रिजमा पढेपछि उनी अमेरिकास्थित नाशाको प्रोजेक्ट हेर्ने एक कम्पनीमा वरिष्ठ वैज्ञानिकका रूपमा काम गर्न थाले । खोज मिसायलको लार्जेस्ट एक्स्पोर्टर रहेको उक्त कम्पनीले हतियार बनाउने काम गर्थ्यो । 

 

आफ्नै कर्ममा रमाइरहेका उनी सधैँ अमेरिकामै बस्ने सोचमा थिएनन् तर चाँडै नेपाल फर्किने योजना पनि थिएन । यद्यपि अमेरिकामै रहेर सामाजिक विभेदबारे अध्ययन गरिरहेका थिए । एकपटक हार्बड युनिभर्सिटीमा राउतले मधेसको दयनीय अवस्था चित्रण गर्दै त्यहाँ अझै उपनिवेशिक शासन नै कायम रहेको प्रेजेन्टेसन दिएका थिए । 

 

मलाई थाहा छ, म कुन स्तरको इमानदारिताका साथ मधेसका जनताका लागि लागेको थिएँ । तर पनि धेरैले साथ दिएनन्, उल्टै नानाथरी आरोप लगाए । बहुसंख्यकले आरोप नै लगाए, एक–दुई प्रतिशत मात्रै मेरो पक्षमा थिए ।

 

त्यहीवेला मधेसकेन्द्रित दलका नेताहरू नयाँ संविधानसभाताका प्रशिक्षणका क्रममा अमेरिका आएका थिए । ती नेताहरूलाई राउतले आफ्नो बेलायती साथीको मधेस भ्रमणको अनुभव सुनाउँदै भनेका थिए, ‘जब मैले उसलाई गाउँ घुमाएँ, उसले भन्यो– तेरो गाउँमा घरहरू छैनन्, खाली झुपडीहरू मात्रै छन् ।’

 

यो प्रसंग सुनेर ती नेताहरू (उनले नाम भन्न चाहेनन्) राउतसँग जंगिए । नेताहरूको जवाफ थियो, ‘अहिले त्यस्तो छैन । धेरै विकास भएको छ । मधेस धेरै दीक्षित भइसक्यो ।’ नेताहरूसँग वादविवादपछि राउतले योजना बनाए, ‘त्यसो भए एकपटक नेपाल जान्छु, मेची–महाकाली यात्रा गर्छु । हेरौँ न कति विकास भएछ !’

 

सन् २०१० जुलाईतिर उनी नेपाल आए । जिल्ला–जिल्लामा सबैसँग गफ गर्दै हिँडे । तर, अवस्था नेताहरूले भनेजस्तो सुखद थिएन, जताततै विकराल थियो । कुपोषित बच्चा, आङमा कपडा नलगाएका महिलाहरू, मुक्त कमैयाहरू, बेराजगार युवाहरू, यस्तै भयावह दृश्यले उनलाई भतभती पोल्यो । 

 

केही घटनाहरू छन्, जसले झन् बेस्सरी हिर्काए । आफूबाट धेरै अपेक्षा राखेको आफ्नै गाउँका एकजना भजुवा काकालाई उनले सोधे, ‘गाउँमा के समस्या छ, काका ?’ जवाफमा काकाले भने, ‘यहाँ सिँचाइको व्यवस्था छैन, एउटा बोरिङको व्यवस्था गरिदिनुपर्‍यो ।’ राउतले प्रतिप्रश्न गरे, ‘बाटोघाटोचाहिँ चाहिँदैन ? यहाँ त घरसम्म जाँदा घुँडासम्म हिलो हुने रहेछ त ?’

 

जवाफमा काकाले भने, ‘सिँचाइ भएपछि यहाँ हाम्रो बालबच्चाले खान पाउँछ । खान पायो भने यो हिलो त के योभन्दा बढी हिलो पनि हिँडेरै जान सक्छ । तर, सिँचाइ भएन भने बालबच्चा भोकै मर्छन्, भोकै मरेपछि यो बाटोघाटोमा को हिँड्ने ? ’

 

काकाको जवाफ राउतको मनमा चस्स बिज्यो । सिँचाइ ल्याउने प्रयत्न गरे तर जटिल प्रक्रियाका कारण सकेनन् । भन्छन्, ‘मैले त्यतिवेला साह्रै निरीह महुसस गरेँ । २० वर्षदेखि मेरो आशामा रहेका गाउँलेहरूलाई जम्मा दुइटा बोरिङ दिन सकिनँ ।’

 

त्यस्तै यात्राका क्रममा उनी कञ्चनपुरमा कमैया कमलरीहरूको बाढीबाट विस्थापित बस्तीमा पुगे । अमेरिकाबाट वैज्ञानिक आएको सुनेपछि त्यहाँ भेट्न आएका कमलरीहरूले उनीसँग रुँदैरुँदै विलौना गरे, ‘हामीलाई अलिकति बस्नलाई जमिन दिलाइदेऊ, नत्र हाम्रो बालबच्चा कसरी बस्छन्, कहाँ जान्छन् ?’ त्यो रोदनले राउतको मुटु बेस्सरी पोल्यो ।

 

त्यसपछि उनी निचोडमा पुगे, अब नेपाल फर्किनुपर्छ, आफ्नै देशको सेवामा । फर्किनेबित्तिकै सुरुमै उनी राजनीतमा होमिएनन् । बौद्धिक तरिकाबाट सेवा गर्न सकिन्छ कि भनेर मधेसको विकासमा एनजिओ र आइएनजिओको भूमिकाबारे अन्तरक्रिया गरे । आफ्नै एनजिओ पनि दर्ता गरे– इजोत मुभमेन । आफ्नै पैसा खर्चिएर सचेतनामा लागे । तर ६ महिनामै थाके । ‘जहाँ जान्छु, बैठक राख्न पनि मान्छेहरू भत्ता खोज्छन्, गिफ्ट खोज्छन्,’ उनले सम्झिए, ‘पढाउन गइरहेको छु, तर खर्च खोज्छन् । यसरी त सकिन्न भनेर मैले ६ महिनामै एनजिओ छाडेर राजनीतितिर होमिने निर्णय गरेँ । मलाई लाग्यो, राजनीतिक कुरा राजनीतिमा लागेरै समाधान गर्न सकिन्छ ।’

 

त्यसपछि चल्यो अभियान

 

११ पुस ०६३ को कुरा हो । संविधानको विरोधका कारण मधेस आन्दोलन चर्किएर हिंसाको रूप लिन थालेपछि स्थानीय प्रशासनले नेपालगन्जमा कर्फ्यु लगाएको थियो । तर, कर्फ्युका बाबजुद प्रदर्शन रोकिएन । त्यही वेला नेपालगन्ज उपमहानगरपालिका–१४, गोसाइँपुर्वाका कमल गिरी पनि नेपालगन्ज आए । उनलाई कर्फ्युका बारेमा कुनै जानकारी थिएन । प्रहरीले नरोकिए गोली हान्ने चेतावनी दिएपछि भाग्दै गर्दा उनलाई प्रहरीले चलाएको गोली लाग्यो । घटनास्थलमै उनको मृत्यु भयो । 

 

कमल गिरीको त्यही घटनाले हो, राउतभित्र आक्रोशको ज्वाला दन्केको । ‘त्यतिवेला जताततै विद्रोह र अधिकारका कुरा भइरहेका थिए,’ राउत मधेस आन्दोलनको संक्रमणकालीन त्यो समयलाई सम्झन्छन्, ‘त्यो घटनामा एसपीकै संलग्नता थियो । मधेसीहरूलाई दमन गर्न प्रहरी प्रमुखले नै आदेश दिएको भिडियो सार्वजनिक भएको थियो । राज्य नै यसरी दंगा गर्न लागेपछि मलाई यहाँ मधेसीको भविष्य छैन भन्ने महसुस भयो । त्यसपछि हो, मैले चरम विद्रोहमा ओर्लिएर स्वतन्त्र मधेसको कुरा उठाएको । राज्य पुनर्संरचना कि स्वतन्त्र मधेस भनेर मैले पर्चा नै बनाएर आन्दोलन सुरु गरेँ ।’

 

मधेस अलग देशको अभियानपछि राउत राज्यका नजरमा दुस्मन नै भए । लुकेर हिँड्ने अवस्था बन्यो । भन्छन्, ‘म भाषणभन्दा पनि इतिहास बताउने गर्थें । उत्पीडित मधेसीमाझ पुगेर हाम्रो इतिहास यो थियो, यसकारणले उपनिवेशिक शासन छ, प्रमाण यस्ता छन् भनेर तथ्यगत रूपमा सूचना दिन्थेँ । त्यही कारण राज्य डरायो । त्यतिवेला राज्यले सचेत भएरै मलाई पटक–पटक पक्राउ गरिरहेको थियो ।’

 

२४ पटक थुनामा

 

स्वतन्त्र र स्वायत्त मधेस अभियानका कारण राउत सन् २०१४ देखि तीन वर्षको अवधिमा करिब २४ पटक हिरासतमा बसे । दुईपटक जेलमा परे । एकपटक डिल्लीबजार कारागार, अर्कोपटक गौर कारागार हुँदै केन्द्रीय कारागार । 

 

पहिलोपल्टको पक्राउ उनको मस्तिष्कमा अझै ताजै छ । मोरङमा सन्थालहरूको वार्षिक मेला थियो । सन्थालको इतिहास बताउन उनी त्यहाँ गएका थिए । ‘जो हजारौँ बिघाका मालिक थिए, उनीहरू आज कसरी भूमिहीन भए,’ त्यहाँ उनी यसबारे सन्थालहरूलाई बताउँदै थिए । सन्थालहरूलाई भड्काएको भनेर पहिलोपल्ट त्यहीँबाट उनी पक्राउ परे । भन्छन्, ‘त्यसअघि म कहिल्यै प्रहरीचौकी छिरेको थिइनँ । कहाँ लगे, त्यो पनि खासै याद छैन । जोगबनी बोर्डरनजिकै प्रहरी हिरासतमा लगेर राखेछ ।’ 

 

सशस्त्र समूहको बिगबिगी थियो त्यो समय । राउतको समूहलाई राज्यले त्यही रूपमा शंका गर्थ्यो । उनीहरूसँग हतियार छ भन्ने राज्यको आशंका थियो । त्यहीकारण प्रहरीले पटक–पटक यातना र दबाब दिइरहन्थ्यो । ‘तर, हामी सजग थियौँ,’ राउत सम्झन्छन्, ‘सुरुदेखि नै सशस्त्र समूहसँग कुनै पनि फोन सम्पर्कसम्म गरेका थिएनौँ । त्यसैले १० वर्ष अनुसन्धान गर्दा पनि प्रहरीले कुनै प्रमाण भेट्न सकेको छैन ।’

 

महानगरीय प्रहरी कार्यालय काठमाडौं हनुमान ढोकाको हिरासतमा जाँदा सुरुका केही दिन उनलाई अन्य थुनुवासँग नजर मिलाउन पनि दिइएन । अलग देशको एजेन्डा सुनेर होला उनलाई हिरासतमा पनि हेर्ने दृष्टिकोण अलि फरक थियो । ‘मबाहिर सोचेभन्दा विनम्र मान्छे हुँ,’ राउत सम्झन्छन्, ‘तर, हिरासतभित्र पनि सुरुको तीन–चार दिन सबैले आक्रामक दृष्टिकोणले हेरे । तर, अहिले मिडियालाई जसरी रियलाइज भएको छ, प्रहरी र थुनुवाहरूले पनि तीन–चार दिनमै महसुस गर्थे । अनि खुकुलो गर्थे । नत्र सुरुमा मसँग नजर मिलाउन पनि निषेध गरिएको थियो । न मैले कसैलाई हेर्न सक्थेँ, न अरूले मलाई हेर्थे ।’

 

बाध्यताले मूलधारको राजनीतिमा

 

०७४ को निर्वाचनताका, जतिवेला राउत समूहले निर्वाचन बहिष्कार गर्‍यो, त्यही वेला उनीहरू मूलधारको राजनीतिमा फर्किने निष्कर्षमा पुगिसकेका थिए । कारण, राज्यले उनीहरूमाथि गरिरहेको कडाइ । ‘यतिसम्म कि हामी कुनै सामाजिक कार्य पनि गर्न सक्दैनथ्यौँ, पक्राउ गरिहाल्थे,’ राउत सम्झिन्छन्, ‘हामीलाई सामाजिक रूपमा बहिष्करणमा पारिएको थियो । कसैले घरभित्र छिर्न पनि दिँदैनथे । डेरामा जाँदा मान्छे डराउँथे । साथीभाइ, नातेदार कसैले चिन्छु भन्दैनथे । यस्तो भोग्दा साह्रै चित्त दुख्थ्यो ।’

 

पटक–पटक पक्राउ परिरहने राउत मुस्किलले वर्षमा दुई–तीनपटक थुनाबाहिर निस्किन्थे । तर, फेरि पक्राउ गरिहाल्थे । यतिसम्म कि जनचेतना फैलाउने र संगठन विस्तार गर्ने अवस्था पनि भएन । ‘हामी त खालि एउटा रहस्यमय पात्रका रूपमा सीमित भयौँ,’ राउत भन्छन्, ‘जनता स्वयं थकित अवस्थामा देखिए । समर्थकहरू पनि परिवर्तन हुँदै गए । यसरी सकिँदैन, अब मूलधारको राजनीतिमा आउनुस् भन्न थाले । हुँदाहुँदा संघीयताविरोधीको आरोप नै लाग्न थाल्यो । आएको संघीयता पनि हाम्रै कारणले गुम्ने खतरा बढ्यो भन्ने कार्यकर्तास्तरबाटै दबाब बढ्न थाल्यो । त्यसपछि हामी मूलधारमा आउन बाध्य भयौँ ।’ 

 

पक्राउ पुर्जी जारी भइरहेका वेला राउत समूहले असोज ३ गते जनकपुरमा कालो दिवस मनाउने कार्यक्रम तय गरेको थियो । राउतलाई थाहा थियो, म पक्राउ पर्न सक्छु । तर, कार्यकर्ताको ऊर्जा कम नहोस् भनेर उनी त्यस दिन कार्यक्रममा गए । आमसभा सफल पनि भयो । ठूलो मास भएका कारण प्रहरीले उनलाई त्यहाँबाट पक्राउ गर्न सकेन । तर, त्यसको १० दिनपछि घरमा ताल्चा फोडेर प्रहरीले उनलाई पक्राउ गर्‍यो । त्यसपछि करिब ६ महिना उनी जेल बसे । पक्राउ पर्नुअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा वार्ता समितिसँग उनको कुरा भइरहेको थियो । जब मूलधारको राजनीतिमा आफ्नो सहमति भयो, त्यसपछि उनी जेलबाट छुटे । 

 

ओशोसँग सान्निध्य, सन्न्यासी जीवन

 

आध्यात्मिकतातिर राउतको पहिल्यैदेखि लगाव थियो । उनलाई लाग्छ, अध्यात्मले उनलाई धेरै बलियो बनाएको छ, नत्र उनको जीवनमा साह्रै निराशा हुन्थ्यो । भन्छन्, ‘मलाई थाहा छ, म कुन स्तरको इमानदारिताका साथ मधेसका जनताका लागि लागेको थिएँ । तर पनि धेरैले साथ दिएनन्, उल्टै नानाथरी आरोप लगाए । बहुसंख्यकले आरोप नै लगाए, एक–दुई प्रतिशत मात्रै मेरो पक्षमा थिए ।’

 

यहीकारण बीचमा मूलधारको राजनीतिमा प्रवेश गरेर जनमत पार्टी खोलेसँगै उनी सन्न्यासी बन्न ओशो तपोवनतिर पनि लागे । आफैँ सांसद बन्ने रहर थिएन उनमा । तर, सन्न्यास लिनेबित्तिकै कार्यकर्ताले तपोवनमै पुगेर गुनासो गर्न थाले, ‘हामी गन्तव्यविहीन भयौँ, तपाईंले अलपत्रै छाड्नुभयो । तपाईं अब फर्किनुपर्‍यो ।’ 

 

त्यसपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किए । चुनाव उठे । मधेस आन्दोलनबाट स्थापित नेता उपेन्द्र यादवलाई हराउँदै सांसद बने । सरकारमा जाँदै गर्दा उनलाई स्वयं मन्त्री बन्ने अवसर नआएको होइन । तर, पार्टीका समानुपातिक सांसद अब्दुल खानलाई मन्त्री बनाए । धेरैले उनीसँग जिज्ञासा राख्छन्, ‘तपाईं आफैँ किन मन्त्री नभएको ?’ जवाफमा मुस्कुराउँदै उनी भन्छन्, ‘म पनि मन्त्री हुन गएँ भने अरू नेताजस्तै भइहाल्छु नि ! म सचेत छु, सत्तालिप्त हुनुहुँदैन । किनभने सत्ताभोकमै रमाउँदा मधेस आन्दोलनको हविगत के भयो, मैले बुझेको छु ।’