• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मुना कुँवर
२०७९ फाल्गुण २० शनिबार ०९:०२:००
यात्रा

रारा पुगेर कर्णाली नियाल्दा

२०७९ फाल्गुण २० शनिबार ०९:०२:००
मुना कुँवर

 

 

कालिकोट मान्मको ओरालो झर्दै गर्दा अचानक सडकको माथिको ढिस्कोबाट एकजना बालिका हाम्रो गाडीअगाडि हामफालिन् । रिदमले झ्याम्प गाडीको ब्रेक लगाए । हामी झसंग भयौँ । करिब ११ वर्षकी बालिका दुवै हात दायाँ–बायाँ फैलाएर हाम्रो गाडीलाई छेकिन् । दुब्लो र मैलो शरीर, फुंग उडेको कपाल, शरीरमा पातलो र ठाउँ–ठाउँमा प्वाल परेको स्विटर, कुर्था र सुरुवाल लगाएकी खाली खुट्टै उनी हाम्रो अगाडि उभिइन् । 

 

रिदमले ती बालिकालाई बाटो छोड्न इसारा गरे । तर, उनी डेग चलिनन् । उनी झन्झन् गाडीको नजिक आइन् । तर, बाटोबाट हटिनन् । ईश्वरी अंकलले अनुमान गर्नुभयो– यिनले पैसा नै खोजेकी हुन् । त्यसपछि नारायणी र मेरीले पकेटबाट पैसा निकाले । पैसा देख्नेबित्तिकै उनी झ्यालमा आइन् । हामीले उनको हातमा पैसा राखिदियौँ । अनि उनले बाटो छोडिन् । पैसा पाएपछि उनी दौडेर माथिल्लो ढिस्कोमा चढिन् । अनि खुसी हुँदै हात हल्लाएर हामीलाई बाई भनिन् । 

 

रिदम हाम्रो गाडीको चालक हुन् । हामी मुगु जिल्लाको रारासम्म पुगेर फर्कँदै थियौँ । रिदमलाई गीत गाउन खुब मन पर्छ । उनले बाटोभरि गाडीमा मीठामीठा गीत बजाए । अंग्रेजी, लोक, पप, र्‍याप, रोमान्टिक र पुराना गीत पनि सुनाए । उनले बजाएका अधिकांश गीत मलाई मनपर्ने थिए । त्यसैले यात्रा संगीतमय भयो । 

 

पैसा पाएपछि ती बालिका खुसी भइन्, हामीलाई हात हल्लाएर बिदा गरिन् । तर, मेरो मन भने उनीसँगै त्यही ढिस्कोमा अड्किरह्यो । ती बालिका को होलिन् ? तिनका आमाबुबा कस्ता होलान् ? तिनको घर कस्तो होला ? यस्तो चिसो ठाउँमा त्यस्तो पातलो कपडा किन लाएकी होलिन् ? तीनले खान पाउँछिन् कि पाउँदिनन् ? स्कुल जान्छिन् कि जान्नन् ? यस्तैयस्तै प्रश्नले मन चिमोटिरह्यो । 

 

विकटताको सुन्दरता रारा

 

स्वर्गकी अप्सरा भनेर चिनिने रारासम्म पुग्ने मेरो रहर भने यसपटक पूरा भयो । यसपटकको मेरो यात्रा खास थियो । कारण राखी र नारायणी हुन् । वर्षौँपछि हामीलाई सँगै यात्रा गर्ने संयोग जुरेको थियो । १२ वर्षअगाडि म काठमाडौं छिरेपछि राखी र नारायणीबाट टाढा भएँ । केही वर्षपछि राखी पनि काठमाडौं पसी । कुनै वेला हामीलाई आपसमा छुटिन साह्रै गाह्रो पर्थ्यो । दिन त के रातभरि पनि हाम्रा गफ सकिँदैनथे । तर, समयसँगै जिम्मेवारी पनि बढ्दै गयो । हाम्रो सम्बन्ध औपचारिकतामा मात्रै सीमित हुनपुग्यो । नारायणी पोखरामै थिइन् । त्यसैले उनीसँग बिरलै भेट हुन्थ्यो । तर, राखी काठमाडाैंमै हुँदासमेत हाम्रो भेट महिनौपछि मात्रै हुन्थ्यो । तर, यो यात्राले फेरि हामीलाई विगतमा पुर्‍याइदियो । 

 

राराको किनारमा पुगेपछि हामी मौन भयौँ । अब हामीसँग बोल्नका लागि केही थिएन । कुरा गरेर नथाक्ने हामी त्यो दिन भने शान्त थियौँ । हामीसँग कुरा गर्ने अन्य विषय नै थिएनन् । थियो त केवल रारा । जसलाई अँगालोभरि लिएर आनन्दित भयौँ ।

 

चैतको २८ गते हामीले काठमाडौंदेखि रारासम्मको यात्रा सुरु गर्‍यौँ । नेपाल ट्राभल एजेन्जीमार्फत हामी रारा जाँदै थियौँ । हामीसँग अन्य पाँचजना पनि हुनुहुन्थ्यो । हाम्रो यात्राको अवधि एक साताको थियो । ट्राभल एजेन्सीबाट जाने हुँदा हाम्रा सबै कार्यक्रम निश्चित थिए । पहिलो दिन हामीलाई सुर्खेत पुग्नुपर्ने थियो । तर, विभिन्न कारणले हामी भालुवाङसम्म मात्रै पुग्यौँ । दोस्रो दिन हामी मान्ममा पुग्नु थियो । 

 

भालुवाङदेखि सुर्खेतसम्मको यात्रा सहज नै भयो । तर, उकालो लाग्दै जाँदा यात्रा रोमाञ्चक भयो । अलिकति डर, थोरै त्रास साथमा केही रोचक अनि उत्सुकता थियो । यात्राकै क्रममा धेरै अनौठो र नयाँ दृश्य देखियो । दायाँतर्फ ठूलो अनि अजंगको पहाड, बायाँ साइडमा खोला अनि बीचमा एउटा गाडी मात्रै गुड्न मिल्ने सडक । विपरीत दिशाबाट गाडी आयो भने फराकिलो ठाउँ हेरेर साइड दिनुपर्ने । 

 

तेस्रो दिन, हामी मान्मबाट रारासम्मको यात्रा तय गर्ने भयौँ । रारासम्मको यात्रा झनै रोमाञ्चित थियो । दायाँतर्फ ठूलो पहाड, बायाँतर्फ कहालिलाग्दो भिर बीचमा कच्ची सडक । चालकलाई गल्ती गर्ने कुनै छुट नै थिएन । 

 

ठूला पहाड, ठूलो भिर हुँदै सिन्जा भ्यालीदेखि तिला नदीको किनारैकिनार हामी हिँड्यौँ । जब डरलाग्दो ठाउँ आउँथ्यो, गाडीमा सबै चुपचाप हुन्थ्यौँ । सबैको अनुहारमा डर र खुसी एकैपटक देखिन्थ्यो । शरीरलाई गाडीभित्रै टसाउँदै सबैका आँखाले भने भिर नियालिरहेका हुन्थे । मेरीको अनुहारमा भने कुनै डर देखिएन । जतिवेला पनि उनमा उत्साह देखिन्थ्यो । उत्साह पनि किन नहोस्, उसलाई यात्रा गर्ने सोख थियो । 

 

मेरी हेटौँडादेखि हामीसँगै यात्रा गर्न मिसिएकी थिइन् । उनलाई हामीले नारायणघाटमा रिसिभ गरेका थियौँ । उनी हेटौँडास्थित विद्युत् कार्यालयमा काम गर्छिन् । रारा जानका लागि उनले धेरै साथीलाई भनेकी रहिछन् । योजना बनाउने वेलामा धेरैजना साथीले साथ दिए पनि जाने वेलामा भने उनी एक्लै परिछिन् । त्यसैले यसपटक उनले कसैलाई नभनी ट्राभल एजेन्सीबाट रारासम्मको यात्रा गर्ने आँट गरेकी रहिछन् । साथीहरूले धोका दिएको गुनासो उनले हामीलाई बाटोमा पोखिन् । जहाँजहाँ गाडी रोकिन्थ्यो, मेरी त्यहाँत्यहाँ फोटो खिच्थिन्, टिकटक बनाउँथिन् । अनि भन्थिन्,‘यो फोटो र टिकटक देखाएर मलाई धोका दिने साथीलाई जलाउन चाहन्छु ।’ गाडीभरि हाँसोको फोरा छुट्यो । 

 

तेस्रो दिन करिब चार बजेतिर हामी रारा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्यौँ । टिकट काटेर हामी अगाडि बढ्यौँ । अब भने हामी रारानजिक पुगेका थियौँ । जतिजति नजिक पुग्थ्यौँ, हाम्रो व्यग्रता त्यतित्यति नै बढ्थ्यो । हामी बाटोमा भेटिने प्रत्येक व्यक्तिलाई सोध्थ्यौँ, अब रारा आइपुग्न कति समय छ ? तर, जति अगाडि बढ्यो त्यति नै जंगल र पहाड देखिन्थे । एउटा पहाड कटेपछि अब त आउला भन्यो, फेरि अर्को पहाड आउने । घरीघरी त होइन, हामी गलत बाटो पो आयौँ कि भनेर अलमल पनि पथ्र्यौँ । त्यसो भन्दाभन्दै हामी फेदीमा पुग्यौँ । तर, त्यतिवेलासम्म हामीले ताल भने देखेका थिएनौँ । गाडीबाट उत्रनेबित्तिकै स्थानीय युवाहरू घोडा लिएर आइपुगे । हामी अलमलमा थियौँ । रारा आइ त पुगियो, तर अझै रारा देख्न पाइएको छैन । हामीले तिनै युवाहरूलाई सोध्यौँ, ‘अब कति टाढा छ रारा ?’ उनीहरू भन्थे, ‘१० मिनेटमा पुगिन्छ ।’ 

 

हामी राराबाट १० मिनेटको नजिकमा थियौँ । झनै उत्सुकता बढ्यो । हामी बस्ने डाँफे रिसोर्ट तालको छेउमै थियो । त्यसैले हामी घोडा चढेर होटेलतर्फ लाग्यौँ । ‘यस्तो जंगलभित्र रारा कसरी हुन सक्छ ?’ मैले घोडाका मालिकलाई सोधँे । उनले भने,‘नआत्तिनुस् न दिदी । यो जंगल थोरै छ । जंगल सकिनेबित्तिकै रारा देख्न पाउनुहुन्छ ।’ 

 

घोडाले हामीलाई ओरोलो बाटो हुँदै लग्यो । ओरोलोमा घोडाभन्दा अगाडि हाम्रो शरीर हुत्तिन्थ्यो । घरीघरी कतै यो घोडाले पछार्ने त होइन भन्ने पनि लाग्यो । तर, घोडाका मालिकले भने म छु नि, म हुँदाहँुदै घोडाले केही गर्दैन भन्थे । 

 

नभन्दै करिब १० मिनेटको घोडचढीपछि राराको एकछेउ देखिन थाल्यो । जतिजति अगाडि बढ्यो, राराको दृश्य उत्ति नै देखियो । जंगल कटेपछि ठूलो पाटनमा पुग्यौँ । त्यही पाटनबाट राराको पूरै दृश्य देखियो । हामी एकछिन पाटनको बीच अडियौँ । राराको एकछेउदेखि अर्कोछेउसम्म आँखा फैलायौँ । तर, साँझ परिसकेकाले हामी होटेलतर्फ लाग्यौँ ।

 

०००                                       ०००

 

०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो सूर्यको किरणलाई हामीले राराबाट नै नियाल्यौँ । बिहान ५ बजे नै हामी उठेर कोठाबाहिरको बार्दलीमा बस्यौँ । जाडोमा सुकसुकाउँदै म सूर्य उदाउने पर्खाइमा थिएँ । करिब ६ बजेतिर सूर्य बिस्तारै उदाउन थाल्यो । सूर्यको किरण रारामा पर्दा देखिने सुनौली रंगको दृश्यले मनलाई आनन्दित बनायो । राखी र मैले सूर्य र राराको संयोजन बनाई फरकफरक खालका तस्बिर पनि लियौँ ।

 

त्यसपछि हामी तालको छेउमा पुग्यौँ । हातमा तातो कफी थियो । बिहानको चिसोले शरीर कमाउँदै थियो । कफीको गिलासलाई दुई हातले समात्यौँ । आफूलाई तातो बनाउने कोसिस गर्‍यौँ । कफी पिउँदै राराको किनारैकिनार हिँड्यौँ । अनि एकठाउँमा टक्क उभिएर रारालाई अघाउन्जेल हेर्‍यौँ । हाम्रा लागि ताल नै देख्नु र हेर्नु नयाँ कुरा थिएन । फेवाताल र वेगनाश ताल हेरेर हुर्किएका हामीलाई ताल नौलो विषय भएन । तर, राराले जसरी मन लोभ्यायो त्यसरी फेवा र वेगनाशले कहिल्यै लोभ्याएको थिएन । हामीले तालको एउटा कुनामा बसेर तालको अर्को कुनासम्म हेर्‍यौँ । कहिले रारालाई पछाडि, कहिले अगाडि, कहिले दायाँ र कहिले बायाँ पार्दै थुपै्र फोटा लियौँ । रारा शान्त छ विशाल छ । हामीसँग वर्षौँदेखिका कुरा थिए । तर, राराको किनारमा पुगेपछि हामी मौन भयौँ । अब हामीसँग बोल्नका लागि केही थिएन । कुरा गरेर नथाक्ने हामी त्यो दिन भने शान्त थियौँ । हामीसँग कुरा गर्ने अन्य विषय नै थिएनन् । थियो त केवल रारा जसलाई अँगालोभरि लिएर आनन्दित भयौँ ।

 

कर्णालीका कष्ट

 

रारा घुम्न बर्सेनि सयौँ आन्तरिक पर्यटक पुग्छन् । तर, एकपटक पुगेपछि सायदै अर्कोपटक फेरि रारा जाने रहर भने कमैले मात्र गर्छन् होला । कारण कर्णालीको भौगोलिक विकटता । 

 

कर्णालीका युवाहरू आम्दानीका लागि भारतका विभिन्न सहरमा जान्छन् । रारा ताल हेर्नका लागि आउने पर्यटकका कारण वर्षमा मुस्किलले चार महिनामा घोडा चलाएर नै आम्दानी हुन्छ । तर, बाँकी महिना भने काम केही हुँदैन ।
 

 

कर्णालीको विकासको मुख्य बाधक भनेको भौगोलिक विकटता हो । विकटताकै कारण कर्णालीमा अझै पनि सडक सञ्जाल विस्तार हुन सकेको छैन । भर्खरै बन्दै गरेको सडक समयमा नै निर्माण हुन नसक्दा यातायात दुर्घटना जोखिम बढ्दै गएको छ । 

 

मानिसका लागि आवश्यक आधारभूत सेवा–सुविधा स्वास्थ्य, शिक्षा र सञ्चारसमेत कर्णालीमा पुग्न सकेको छैन । अस्पतालको अभावमा अझै पनि महिलाहरू घरमा र बाटोमा नै प्रसव पीडाले ज्यान गुमाउनुपर्ने अवस्था छ । त्यस्तै, विद्यालयको अभाव छ । भएका विद्यालयमा पनि दरबन्दी शिक्षकसमेत पुग्दैनन् । जेनतेन एसएलसीसम्म अध्ययन गरे पनि उच्च शिक्षा अध्ययनका लागि सुर्खेत र नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ । 

 

कर्णालीमा कृषिमै निर्भर भई जीविका चलाउन कठिन छ । कर्णालीका युवाहरू आम्दानीका लागि भारतका विभिन्न सहरमा जान्छन् । रारा ताल हेर्नका लागि आउने पर्यटकका कारण वर्षमा मुस्किलले चार महिनामा घोडा चलाएर नै आम्दानी हुन्छ । तर, बाँकी महिना भने काम केही हुँदैन । त्यसैले भारतका विभिन्न सहरमा जाने गरेको स्थानीय युवा रवीन्द्र रोकायले बताए । उनका अनुसार कर्णालीका अधिकांश युवा आम्दानीका लागि भारत पुग्छन् । ‘म ६ महिना दिल्ली बसेर आएको हुँ,’ उनले भने ।  ‘दिल्लीमा त राम्रो आम्दानी भयो होला नि ?’ मैले सोधेँ । 

 

‘के गर्नु दिदी, आफ्नै देशमा त ठगिन्छौँ हामी, अर्काको देशमा त कसरी न्याय पाउँथ्यौँ र ? ६ महिना एउटा होटेलमा भाडा माझेँ, तर साहुले खान र बस्नबाहेक एक रुपैयाँ पनि दिएन । अर्काको देशमा कोसँग झगडा गर्नु, रित्तै फर्किएँ,’ उनले पीडा पोखे । 

 

कर्णाली स्याउ, च्याउ र झ्याउको भण्डार मानिन्छ । कर्णालीसँग जलस्रोतको ठूलो भण्डार छ । कर्णालीमा करिब २१ हजार मेगावाट जलविद्युत् क्षमता रहेको हुनाले कर्णालीलाई सेतो सुनको खानी भनिन्छ । कर्णालीमा फापर, कोदो, स्याउ, ओखर, बोडी उत्पादन हुन्छ । त्यस्तै, रारा र गहिरो से–फोक्सुन्डो ताल छ ।कर्णालीमा उत्पादन हुने वस्तुको उचित बजार हुन नसक्नु र यहाँको सौन्दर्यताकोे उचित प्रचारप्रसार हुन नसक्दा विकासका ढोका खुल्न सकेका छैनन् । 

 

कर्णालीलाई तराई या अन्य क्षेत्रसँग जोड्ने एकमात्र मार्ग भनेको जुम्ला–कालिकोट सडक हो । जसले कर्णालीलाई सम्बन्ध विस्तार गर्न सघाएको छ । तर, अझै पनि कर्णालीका दुई जिल्ला हुम्ला र डोल्पा राष्ट्रिय सडकको पहुँचभन्दा बाहिर छन् । यी दुई जिल्लालाई जोड्ने प्रयास भने अहिले पनि जारी छ ।