• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मल्ल के. सुन्दर
२०७९ फाल्गुण २० शनिबार १०:१५:००
इतिहास

सिंहकल्पनगर एक प्राचीन सांस्कृतिक थलो

२०७९ फाल्गुण २० शनिबार १०:१५:००
मल्ल के. सुन्दर

 

 

सिंहकल्पनगर काठमाडौं उपत्यकाभित्र मध्यकालीन कालखण्डको एक प्रसिद्ध ऐतिहासिक क्षेत्र थियो । हालको चर्चित व्यापारिक इलाका ठमेल अर्थात् थँबहि यसै सिंहकल्पनगर सरहदभित्र पर्ने प्रमुख केन्द्रका रूपमा रह्यो । लिच्छविकालीन शासन प्रणालीअन्तर्गत प्रत्याभूत गरिएको स्थानीय स्वायत्त अधिकार प्राप्त अनेकन् पाञ्चालीहरू अस्तित्वमा थिए । काठमाडौंभित्रका विभिन्न भूभागमा बाह्रजना वैश्य थकुजुजुहरूको मातहतमा यस्ता पाञ्चालीहरू शासनसत्ता सञ्चालनमा रहेकोमा तीमध्ये एक सिंहकल्पनगर थियो । 

 

सिंहकेतु थकुजुजुले शासनसत्ता चलाउँदै गर्दा सिंह सार्थवाह नाम गरेका त्यसै नगरका एक व्यापारी पाँच सयजना आफ्ना सहयोगीका साथमा वन्दव्यापारका लागि सिंहल राज्य भोटतिर लागेको थियो । यसबारे अनेकन् विवरण थरिथरिका अवदान तथा वंशावलीहरूमा पाइन्छन् । स्वयम्भू पुराणमा त यसबारे आख्यानात्मक विशेष विवरण पाइन्छ । हुयेन साङको पश्चिमतिर महायात्रासम्बन्धी वृत्तान्तमा नेपालमण्डलका सार्थवहा पाँच सयजनाको जमातसहित तिब्बतको यात्रामा हिँडेको प्रसंग पाइन्छ । काठमाडौंमा लामो समय बिताएका तात्कालीन बेलायती दूत ब्रायन हडसनले जम्मा गरेर एसियाटिक सोसाइटी, कलकत्ता पु¥याइएका लिखत तथा वंशावलीहरूमा पनि यसबारे चर्चा गरेको भेट्टाइन्छ ।

 

चावहिल धनद्वः चैत्यको विवरणमा भेटिने सार्थवाह सुन्दर, मानदेवको देउपाटनस्थित अभिलेखमा चर्चित सार्थवाह रत्नसंघ, टेबहालमा भेटिएको शिलालेखमा उल्लेखित सार्थवाह गुह्यमित्र आदिका अस्तित्वबाट लिच्छविकालमा नेपालमण्डलबाट समय–समयमा व्यापारका सिलसिलामा सार्थवाहहरू टाढा–टाढा पुग्ने गरेको ऐतिहासिक पुष्टि हुन्छ । सिंह सार्थवाह तिनैमध्ये एक चर्चित व्यापारी, जो नेपालमण्डलभित्र सिंहकल्पनगरका बासिन्दा थिए । 

 

नेपालमण्डलका रैथानेमाझ प्रचलित लोकाख्यानले भन्छ– व्यापारका सिलसिलामा ल्हासा पुग्दा त्यहाँका सुन्दरीहरूसँग सिंह सार्थवाह र उनका मित्रजनहरू नराम्रैसँग लसपसमा परे । कुनै एक रात लोकेश्वर करुणामय कोठामा बालेको दियोको उज्यालोमा प्रकट भईकन उनीहरूले संगिनी बनाएर बसेकी महिलाहरू वास्तविक रूपमा नरभक्षी राक्षसनी भएको कुरामा सचेत गराए । साथै जीवन सुरक्षार्थ चुपचाप त्यहाँबाट भाग्नका लागि सुझाएर करुणामयले एउटा वायुपंखी घोडा र आफ्नै चन्द्रहाँस खड्ग पनि उपलब्ध गराए । चुपचाप सखारै त्यसै वायुपंखी घोडामा सवार भएर उनी आफ्ना सम्पूर्ण मित्रजनसहित नेपाल देशतिर लागे । तर, त्यस वायुपंखी घोडामा सवार हुँदा जजसले पछाडि मुन्टो बटारेर चियो गर्न खोजे ती सबैलाई पिछा गर्दै आइरहेकी राक्षसनीहरूले लतारेर आ–आफ्नो आहार बनाए । सिंह सार्थवाहले भने संयमित भएर पछाडि फर्केर हेरेनन्, उनी सुरक्षित घर पुगे, तर अरू कोही जीवित रहेनन् । 

 

आख्यान यत्तिकैमा अन्त्य हुँदैन, नरभक्षीहरूमध्ये एकजना साथमा नवजात शिशुसहित अनेकन् जुक्ति गरेर सिंहकल्पनगर छिर्न सफल भइन् । मायावी सौन्दर्यको मोहमा फसेर राजाले उनलाई आफ्नै दरबारभित्रै बस्ने व्यवस्था गरे । तर, मौका छोप्दै ती राक्षसनीले ताम्रद्वीप (भोट)बाट आफ्ना अरू पनि साथी संगिनीहरूलाई सिंहकल्पनगर बोलाएर दरबारभित्र हुल्न लगाए । अनि दरबारभित्र राजारानीसहित जो–जति थिए, सबै उनीहरूका आहारा बने । यस घटनाको सुइँको पाएपछि हातहतियार सुसज्जित भईकन साहसपूर्वक सिंह सार्थवाह दरबारभित्र छिरे, त्यहाँ रहेका राक्षसगण सबलाई सखाप गरीकन नगरको आवश्यक सुरक्षा जिम्मा आफैँले लिए । त्यस घटनापछि सिंह सार्थवाह एकजना सफल व्यापारीको रूपमा मात्र नभई नगरका सुयोग्य रक्षकको रूपमा पनि स्थापित भए । नरभक्षी राक्षसगणका कारण राजपरिवारको वंशनाश भएपछि स्थानीय बासिन्दाहरूले अन्ततः उनलाई नै सिंहकल्पनगरको शासकको आसनमा बसाए । 

 

यद्यपि यस्ता वृत्तान्तहरूमा नायक, महानायकहरूका चरित्रलाई रोमाञ्चित बनाउन अतिशयोक्तिपूर्ण, अलौकिक र आलंकारिक ढंगबाट प्रस्तुत गरिने गरिन्छ, जुन ती दिनका सामान्य प्रचलन नै हुन् । सिंह सार्थवाहको आख्यान पनि यसबाट मुक्त थिएन होला । 

 

बर्लिन भारतीय कला जर्मन संग्रहालयमा नेपालमण्डलबाट लगिएको एउटा बिलंपौ (लामो कपडामा लेखिएको रंगीन कथानक चित्रमाला) अझै सुरक्षित छ । त्यसको लम्बाइ ११.४ मिटर तथा चौडाइ ०.५५ मिटरको छ । कुल ८० वटा विभिन्न खण्डमा विवरणात्मक लिखतसहित आकर्षक चित्रहरूबाट सिँगारिएका छन् । सिंहकल्पनगरका सिंह सार्थवाह र उनले गरेको ल्हासाको यात्रा अनि राक्षसगणको आक्रमण आदिबारे सचित्र कथानक यसमा वर्णन गरिएका छन् । उक्त बिलंपौ थकुजुजु हर्षद्वारा चढाइएको कुरा पनि त्यसमा उल्लेख गरिएको छ । यद्यपि ती थकुजुजु हर्ष कुन हैसियतका व्यक्ति हुन् भन्ने स्पष्ट छैन । दुःखको कुरा अढाई सय वर्षअगाडि नै त्यो मूल बिलंपौ चोरी भयो, अहिले त्यसैको प्रतिलिपि मात्र विहारमा राखिएको छ । स्विडेनका विद्वान् समाजशास्त्री डा. सिग्फ्रेड लिनहार्डले त यिनै बिलंपौका आधारमा सिंह सार्थवाहका सम्बन्धमा जर्मन भाषामा विषद् अध्ययन गरेर छुट्टै एक शोधकृति नै प्रकाशित गरेका छन् । 

 

त्यसैगरी संयुक्त राज्य अमेरिका, म्यासुच्युसे राज्यस्थित कलेज अफ होली क्रसका प्राध्यापाक डा. टड लुइसेले पनि सिंह सार्थवाहसम्बन्धी एउटा रैथाने बौद्ध अवदान भेट्टाएको र त्यसबारे विस्तृत शोधपत्र नै तयार पारेका छन् । 

 

ठमेलवासी प्रधानहरू सिंह सार्थवाहलाई आफ्ना पुर्खा–पूर्वजका रूपमा आजु (अग्रज) भन्दै नित्य आराधना गर्छन् । कुनै समय सिंहकल्पनगरका बासिन्दामाथि संकट आइपर्दा अघि सरेर सुरक्षा प्रदान गरेको उक्त भूमिका सम्झिँदै उनलाई गरु आजु अर्थात् गौरुड (समुदायलाई संरक्षकत्व प्रदान गर्ने, ठालु, मुखिया) वा सैन्य प्रमुखका अर्थमा त्यहाँका रैथानेले आज पनि उनको गरु जुजु वा गरु आजुको रूपमा सम्मान गर्दछन् । अनेकन् लोककल्याणकारी भूमिका र सामाजिक योगदानका कारण समुदायका लागि उनी पूजनीय भए । यद्यपि उनी व्यक्ति थिए, मानिस थिए । तर जनजनले व्यक्त गरेका असीम श्रद्धाले उनी ‘भगवान्’ बने । 

 

उनी कुनै मिथकीय चरित्र थिएनन्, अभिलेख तथा प्रमाण÷प्रमेयीहरूबाट सिंह सार्थवाह एक ऐतिहासिक विभूति रहेको पुष्टि गर्छ । लिच्छवि राजा भाष्करदेव (नेसं १६५ इस्वी १०४५) कान्तिपुरको शासनसत्तामा रहँदा उनको सुकीर्ति नेपालको भूभागभन्दा परसम्म व्यापक भइसकेको थियो । तिब्बती निल वृत्तान्तमा पाइने भिक्षु धर्मस्वामी (चाव लोत्साव)का जीवनीमा सिंहकल्पनगर अनि त्यहाँ निर्मित थम विहार(थँबहि)को विशेष चर्चा गरिन्छ । जुन विहारमा आठ वर्षसम्म बसेर धर्मस्वामी दीक्षित बनेका थिए । यस थम विहार (थँबहि)का निर्माता थिए– सिंह सार्थवाह । अझ प्रसिद्ध इतिहासकार लुसियानो पेटेकका अनुसार ‘राजविहार’ पनि कहलिएको सो विहार वास्तवमा बौद्ध विद्वान् दीपङ्र श्रीज्ञान– अतिशाको सल्लाहमा बनाइएको थियो । भारतबाट तिब्बत भ्रमणमा जाने क्रममा अतिशाले त्यसै विहारमा एक वर्ष समय बिताएका थिए । 

 

वर्तमान बंगलादेशको मुन्सिगन्ज जिल्लामा इस्वी ९२८मा जन्मेका अतिशा महायानी र वज्रयानी बौद्ध सम्प्रदायका शीर्षस्थ विद्वान् थिए । पालवंशीय राजा धर्मपालद्वारा विहारको भागलपुरमा स्थापना गर्न लगाएको विक्रमशील महाविहारका एक मुख्य पण्डित थिए, अतिशा श्रीज्ञान । मोहम्मद विन बख्तियार खिलजीको आक्रमणबाट विक्रमशील विहार ध्वस्त भए । त्यतिखेर तिब्बती राजा यसेओद्वारा केही आफ्ना दूत लगाएर अतिशालाई तिब्बत आउन निम्तो दिए । नेपालको बाटो भएर तिब्बत हिँडेका अतिशाले सिंहकल्पनगरमा त्यहाँका शासक सिंह सार्थवाहसँग मिलेर एक कलात्मक विहार बनाउन भ्याए । अनि आफू जुन विहारबाट आएको, त्यसैको अनुकरण गरीकन थम बही (थँबहि)लाई विक्रमशील महाविहार नामकरणसमेत गर्न लगाए । भनिन्छ, महायानी सम्प्रदायका मानिसले सम्पन्न गर्ने नित्यकर्म निर्देशिका बोधिपथ प्रदीप र चर्या संग्रह प्रदीप अतिशाले यसै विहारमा बस्दा रचेका थिए । बख्तियार खिलजीको ध्वंसबाट बचाएर आफूसँगै महत्वपूर्ण बौद्ध ग्रन्थहरू अध्ययन अध्यापनका लागि त्यसै विक्रमशील महाविरमा संग्रहित गर्न लगाए । तीमध्ये अत्यन्त महत्वपूर्ण ग्रन्थ थियो– प्रज्ञापारमिता !

 

महायानी बौद्ध सम्प्रदायमा आर्यअष्टांगिक मार्गको माध्यमबाट बोधिसत्वको अवस्थासम्म पुग्ने सूत्रहरूका संग्रह हुन्– प्रज्ञापारमिता ! शून्यताको बोध गर्दै प्रज्ञाको प्राप्ति यसको अभीष्ट हो । मध्यपूर्व एसियादेखि मंगोलिया, चीन, जापान, तिब्बतसम्म अनि अफगानिस्तान, पाकिस्तान, भारत, बर्मा, श्रीलंका तथा इन्डोनेसियासम्म विभिन्न भाषा र आकारमा प्रज्ञापारमिता सूत्र पाइन्छ । अन्दाजी १०० इसा पूर्वतिर विकसित भएका यी सूत्र प्रारम्भमा आठ हजार श्लोकमा सीमित थिए । तर, पछि क्रमशः यसमा नयाँ–नयाँ सूत्र थपिँदै एक लाखसम्म श्लोक समावेश हुन पुगे । 

 

त्यसैले यसको नाम सतसाहस्रिका प्रज्ञापारमिता रहन गयो । विक्रमशील महाविहारमा सुरक्षित यो ग्रन्थ पाँचवटा ठेलीमा थियो । कुनै समय उक्त विहारमा तिब्बती आक्रमण हुँदा एउटा ठेली हरायो । लम्बाइ नौ इन्च र चौडाइ आठ इन्च आकारका निलपत्रका प्रत्येक पृष्ठमा तीनवटा खण्ड बनाएर हरेक खण्डमा नौ–नौ हरफ श्लोक लेखिएका छन् । जसअनुसार प्रत्येक पृष्ठमा २७ हरफ समावेश छन् । प्रज्ञापारमिताका चार ठेलीमा कुल ५४ हजार आठ सय ६४ हरफ छन् । सुनौला मसीमा रञ्जना लिपिमा कलात्मक तरिकाले लेखिएका संस्कृत भाषाका श्लोकहरू अत्यन्त व्यवस्थित र आकर्षक देखिन्छन् । 

 

थँबहि–विक्रमशील महाविहारमा प्रत्येक वर्ष गुँला पर्व (श्रावण पूर्णिमा)मा आठ दिनसम्म प्रज्ञापारमिता सार्वजनिक प्रदर्शनमा राखिने प्रचलन छ । साथै विभिन्न चारवटा वहालहरूका बज्राचार्यहरू उपस्थित भएर श्लोकहरूको वाचन पनि गरिन्छ । यसको अवलोकनमा वसन्तपुरकी कुमारीसमेत त्यहाँ प्रत्येक वर्ष जाने परम्परा छ ।

 

अतिशा श्रीज्ञानको सुपरिवेक्षण निर्देशनमा सिंह सार्थवाहले बनाउन लगाएको विक्रमशील महाविहारको प्रसिद्धिका कारण त्यस बखत त्यहाँ टाढा–टाढाबाट बौद्ध दर्शन अध्ययन गर्न आउँथे, त्यहाँ लामो समय बिताउँथे । एक अर्थमा त्यो एक ज्ञान केन्द्र थियो । मध्यकालका वज्रयानी गुरु लिलावज्रले यसै विहारबाट पण्डित उपाधि ग्रहण गरेका थिए भनिन्छ । 

 

सिंह सार्थवाहले ल्हासा व्यापारबाट जे–जति धन आर्जन गरेर ल्याए, ती थँबहि–विक्रमशील महाविहार निर्माणमा खर्चिए । अनि आफैँ बौद्ध मार्गीका पक्का अनुयायी बने, आफन्तहरूलाई त्यतै लगाए । अनि चिरकालपर्यन्त धर्म, संस्कार, रीति, परम्पराको निरन्तरता होस् भन्नेर यथेष्ट स्रोत तथा आयस्तासमेतको व्यवस्था गर्न भ्याए । 

 

नेवार समुदायभित्रका श्रेष्ठ प्रधानहरू, जो सिंह सार्थवाहका सन्तति हुन्, अन्य श्रेष्ठ परिवारहरूले जस्तै शैव हिन्दू विधिअनुसार पारिवारिक कर्मकाण्ड गर्दैन, बरु बज्राचार्यहरूलाई आफ्ना पुरोहितको रूपमा लगाउँछन् । यसैगरी थँबहि बौद्ध विहारभित्र सम्पन्न गरिनुपर्ने अनुष्ठान, पूजा, संस्कार, परम्परा अन्य विहारमा जस्तै यहाँ शाक्य–बज्राचार्य पुरोहितको जिम्मामा नभई श्रेष्ठ प्रधानहरूले नै सबै कर्मकाण्ड भ्याउँछन् । विक्रमशील विहार– थँबहि यस अर्थमा पनि मौलिकतायुक्त छन् । 

 

नेपालमण्डलभित्रको एक विशिष्ट सांस्कृतिक धरोहर थँबहि–विक्रमशील महाविहार र अन्य अनेकन् मूर्त–अमूर्त सम्पदाका सर्जक सिंह सार्थवाह रैथानेहरूका लागि चिरस्मरणीय पात्र बने । दिपंकरको रूपमा विहारभित्र सिंह सार्थवाहका प्रतिमूर्ति आजपर्यन्त प्रतिदिन पूजा गरिन्छ । 

 

फागुण शुक्ल पूर्णिमा उनै स्तुत्य व्यक्ति सिंह सार्थवाहको जन्मतिथि हो । यद्यपि, यस दिनलाई नेपालभित्र विशेषतः उपत्यका र तराईमा होली वा फागुपूर्णिमाका रूपमा मनाइन्छ । भारतको उत्तरी भूभागमा पनि रंगको पर्वकै रूपमा उत्सव, पूजा, मेला सम्पन्न गरिने गर्छ, यस दिन । तर, नेपालमण्डलभित्रको एउटा सांस्कृतिक थलो प्राचीन सिंहकल्पनगरमा भने बेग्लै तयारी हुन्छ । रीति, परम्परा र सांस्कृतिक मान्यताअनुसार पद्धतिबद्ध क्रममा त्यस दिन समुदायगत स्तरबाट सिंह सार्थवाहको अभिषेक र सिन्दुर जात्रा सम्पन्न गरिन्छ । स्थानीयहरू त्यस दिनलाई फागुपूर्णिमा होइन, उनकै नाउँसँग जोडेर श्रद्धापूर्वक भन्छन्– चकं पुन्हि । किन भने स्थानीय भाषामा सिंह सार्थवाह चकंद्यः हुन् । चकं अर्थात् चहकिलो–जाज्वल्लमान द्यः अर्थात् भगवान् । त्यसैले उ, विराजमान थँबहि–विक्रमशील महाविहार स्थानीयहरूका लागि भगवान् वहाल हो– भगवान् रहने वहाल । सिंह सार्थवाह, सिंहकल्पनगरका एउटा शासक, जो समुदायको श्रद्धाबाट अन्ततः भगवान् बने ! 

 

थकूछेँ, पासिकोट,
बुढानीलकण्ठ, काठमाडौं ।