• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नारायण रिजाल
२०७९ फाल्गुण २७ शनिबार ०७:३९:००
सम्झना

रामचन्द्रका लागि चिठी लुकाएर जेलभित्र पुर्‍याउँथे दिलप्रसाद

२०७९ फाल्गुण २७ शनिबार ०७:३९:००
नारायण रिजाल

बागलुङका दिलप्रसाद सापकोटा उमेरले ६३ वर्षका भए । पेसाले उनी किसान हुन् । अहिले पनि दैनिक खेती–किसानीमै व्यस्त हुन्छन् । बागलुङको काठेखोला गाउँपालिका– ६ बिहुँका सापकोटा ०४६ सालदेखि नै दैनिक आफ्ना गाईभैँसीको दूध बिक्री गर्न बागलुङ बजार पुग्थे । उवेला दैनिक दुई घन्टा पैदल हिँडेर बागलुङ बजार पुग्थे ।


यता दिलप्रसाद दिनहुँ दूधदही लिएर बजार झरिरहँदा उता पञ्चायतविरुद्धको आन्दोलन उत्कर्षमा थियो । त्यहीवेला भेट भयो अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको । बिहीबार पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सापकोटा निकै हर्षित छन् । सापकोटा हर्षित नहुन् पनि कसरी ? किनकि यी दुईको सम्बन्ध बडो रोचक छ ।


सापकोटा र पौडेलको सम्बन्ध ०४६ सालको पञ्चायतविरुद्धको आन्दोलनदेखि निकट बन्यो । नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन र पार्टी संगठन विस्तारका लागि ०४६ मंसिरमा बागलुङ आउँदा सापकोटा र पौडेलको सम्बन्ध जोडियो । नेविसंघका तत्कालीन अध्यक्ष जगदिशचन्द्र उपाध्यायको घरमा भएको एउटा कार्यक्रममा सापकोटा र पौडेलको भेट भएको थियो । सापकोटा उपाध्यायको घरमा दैनिक दूध ल्याउँथे । त्यहाँ पञ्चायतविरोधी आन्दोलनका बारेमा छलफल र कांग्रेसको संगठन विस्तारका बारेमा छलफल चलिरहेको हुन्थ्यो । उनी पनि सोही कार्यक्रममा सहभागी भए रामचन्द्र पौडेललाई चिन्ने मौका पाए । बागलुङको कार्यक्रम सकाएर म्याग्दीको बेनी जान लागेका पौडेललाई बागलुङ–म्याग्दी जोडिने ढोडेनी खोलाबाट प्रहरीले फर्काइदियो । त्यसपछि पौडेल पर्वतको फलेवासमा कांग्रेस नेता डिल्लीराम लामिछोनेलाई भेट्न पुगे । सोही क्रममा ०४६ साल मंसिर २६ गते प्रहरीले पौडेललाई पक्राउ गर्‍यो । पौडेललाई पहिलो दिन बलेवा राखेर भोलिपल्ट बागलुङ कारागारमा पुर्‍याइयो । 


पौडेलभन्दा अघि बागलुङका तत्कालीन नेविसंघका अध्यक्ष हालका कांग्रेस बागलुङका नेता जगदिशचन्द उपाध्याय पक्राउ परिसकेको थिए । उपाध्यायसहित पौडेललाई पक्राउ गरेर कारागार चलान गरिएको थियो । व्यवस्थाविरोधी काम गरेको भन्दै पौडेलविरुद्ध विभिन्न मुद्दा लगाइएका थिए । उक्त मुद्दामा पौडेलसहित बागलुङका तत्कालीन पार्टी सभापति गोविन्दप्रसाद शर्मा कँडेल, रघुपति कँडेल, शेखर कँडेल, ऋषिराम कँडेल विष्णु गिरी र तनहुँका लक्ष्मी आचार्यसमेत कारागार चलान भएको सापकोटा सम्झन्छन् । 

 

झट्ट मकै भुटेर जेलमै ल्याइदिन्थे
‘भर्खरै चिनजान भएको थियो । जगदिशसँगै रामचन्द्र र अन्य नेतालाई पनि पक्राउ गरेर जेल पठाएको रहेछ,’ सापकोटाले भने,‘मैले दैनिक जगदिशकोमा ल्याउने दूध कारागारमा लान थालेँ । त्यसपछि उहाँहरूसँग झनै निकटता बढ्दै गयो ।’ सापकोटाले पौडेलका लागि गाउँबाट घ्यू, दूध, दहीसँगै तरकारी पनि लैजान्थे । ‘मैले रामचन्द्रजीका लागि भनेर गाउँमा झट्ट मकै भुटेर पुर्‍याइदिन्थेँ । दूध त दिनदिनै पुर्‍याउँथेँ,’ सापकोटा भन्छन्,‘उहाँहरूको सूचना आदानप्रदान गर्ने माध्यम पनि मै भएको थिएँ । खानेकुरासँगै पत्रपत्रिका पनि लगिदिन्थेँ । अन्य कोही भेटघाटका लागि आउनुभयो भने मसँगै जानुहुन्थ्यो । मसँग गएपछि भेट्न पाइन्थ्यो नत्र दिँदैनथ्यो ।’ 


सापकोटाले काठमाडाैंबाट कांग्रेसका तत्कालीन सहमहामन्त्री वासुदेव रिसालले पौडेलका लागि पठाएको पत्र घ्यूको डिब्बाभित्र लुगाएर पुर्‍याएको बताउँछन् । रामचन्द्र जेलमा हुँदा पत्रपत्रिका पुर्‍याउने क्रममा एकदिन पञ्चायतविरुद्धको पर्चा प्रहरीले भेट्टाएपछि सापकोटा पनि एकदिनभर कारागारमा थुनिए । भन्छन्,‘दिनदिनैको पत्रिका जेलमा पुर्‍याउँथेँ । खल्तीमा पञ्चायतको विरोधमा लेखिएको पर्चा रहेछ । पुलिसले थाहा पाइहाल्यो । दिनभरि कारागारभित्रै थुनिएँ । बेलुका भैँसीले दूध दिँदैन भन्ने बहानामा फुत्किएँ ।’

रामचन्द्र पौडेलका लागि दिनदिनैको पत्रिका जेलमा पुर्‍याउँथेँ । खल्तीमा पञ्चायतको विरोधमा लेखिएको पर्चा रहेछ । पुलिसले थाहा पाइहाल्यो । दिनभरि कारागारभित्रै थुनिएँ । बेलुका भैँसीले दूध दिँदैन भन्ने बहानामा फुत्किएँ ।


पौडेल करिब ६ महिना बागलुङ कारागारमा बस्दा बाहिरबाट सबै सहयोग सापकोटाले नै गरेको कांग्रेस बागलुङका नेता जगदिशचन्द्र उपाध्याय बताउँछन् । ‘रामचन्द्र दाइ र हामीलाई बाहिरी सबै सूचना पुर्‍याउने नै दिलप्रसादजी हुनुहुन्थ्यो,‘उपाध्याय भन्छन्,‘भित्रको खबर पनि उहाँलाई नै पठाउँथ्यौँ । उहाँलाई प्रहरीले रोक्दा पनि चिठीपत्र हामीसम्म आइपुग्थ्यो ।’ 


पञ्चायतको धरपकडका बाबजुद पौडेलको पक्षमा बागलुङका वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले वकालत गरेका थिए । बहुदल घोषणापछि धेरै राजबन्दी छुट्दा पौडेल छुट्न पाएनन् । अन्ततः ०४७ वैशाख २ गते मन्त्रिपरिषद्को निर्णयले मात्रै पौडेल छुटे । कारागारबाट छुटेपछि पौडेलले धौलागिरि बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए ।


सापकोटाले पौडेल जेलबाट छुटेपछि पनि समय–समयमा भेट्ने गरेको बताए । ‘बागलुङका हरेक कार्यक्रममा आउँदा म उहाँलाई भेट्ने प्रयास गर्थेँ । उहाँ पनि भेट्नुहुन्थ्यो । केही वर्ष पहिले घरमै आएर जानुभएको थियो,’ सापकोटाले भने ।सापकोटा अहिले पनि गाउँमै कृषिकर्ममा व्यस्त छन् । सापकोटाले खेती–किसानी गरेर एउटा छोरालाई जापान पठाए भने एउटा छोरालाई इन्जिनियर पढाएका छन् । तीन छोरीमा दुईवटैको विवाह भयो । एउटी छोरीलाई स्टाफ नर्स पढाएका छन् । उनीसँग अहिले पनि दुईवटा भैँसी छ । उनी त्यही भैँसी स्याहारमा व्यस्त छन् । भन्छन्, ‘मैले नजिकबाट चिनेको, उहाँले पनि मलाई चिनेको व्यक्ति अहिले मुलुकको राष्ट्रपति हुँदा साह्रै खुसी लागेको छ । म किसानको छोरा त यति खुसी छु, अरू झनै कति खुसी होलान् ।’पौडेलको पाँचवर्षे कार्यकाल विवादरहित बितोस् भन्ने कामना सापकोटाले व्यक्त गरे । उनले भने,‘फेरि एकपटक भेट्ने चाहना छ । केही दिन पछि जान्छु ।’