• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शरदचन्द्र ओझा
२०७९ फाल्गुण २७ शनिबार ०८:०३:००
समाज

छलिया नाच एक कालजयी कला

२०७९ फाल्गुण २७ शनिबार ०८:०३:००
शरदचन्द्र ओझा

छलिया नृत्य (कतैकतै छोलिया और हुड्केली पनि भन्छन्) सुदूरपश्चिम प्रदेश र छिमेकी मुलुक इन्डियाको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रको एक प्रचलित लोकनृत्य हो । यो वास्तवमा एउटा तलबारको नृत्य हो, र वर्तमानमा विवाहमा यसलाई प्रयोगमा ल्याइन्छ । नेपालको बैतडी, डडेल्धुरा, दार्चुला, डोटी क्षेत्र एवं उत्तराखण्डको चम्पावत, कुमाउ मण्डल पिथौरागढ, बागेश्वर, अल्मोडा जिल्लामा यो प्रख्यात छ । त्यहाँको संस्कृतिको एक अभिन्न अंग नै बनिसकेको छ । 


उहिले क्षेत्रीय राजाहरूको समयमा दुलाहादुलाहीसहितको बारात हिँड्दा, प्रतिद्वन्द्वीहरूले दुलही अथवा दुलाहालाई अपहरण गर्न सक्ने सम्भावना हुने भएकाले, जन्तीका अघि युद्धकौशलमा निपुण सैनिकहरूलाई तरबार नचाउँदै, गीत गाउँदै लिएर हिँड्ने गरिन्थ्यो । कालान्तरमा यही नै एक महत्वपूर्ण रीतिरिवाजको रूपमा विकास हुनपुगेको देखिन्छ । कतैकतै, छलले युद्ध भूमिमा शत्रुलाई कसरी पराजित गर्ने भनेर देखाइने नृत्य भएको हुनाले यसलाई छलिया नृत्य पनि भनिएको हो । 


उहिलेको समयमा डोटी क्षेत्रका रैका राजाहरूले काली कुमाउ (अहिले उतराखण्डमा पर्दछ)सम्म राज्य गर्दथे । कालान्तरमा यो चन्द राज्यमा गाभिन गएको इतिहासमा देखिन्छ । त्यसै सन्दर्भमा यो छलिया नृत्य नेपाल हुँदै इन्डियातर्फ फैलिन गएको हो अथवा दुवै स्थानमा साथसाथै चल्दथ्यो भन्न कठिन रहे पनि इतिहासकार राजेन्द्रसिंह रावलको कथनअनुसार रैका सम्राट भूपति शाहीको राजकुमारीको विवाह कालीकुमौका राजा कल्यान चन्दसँग हुँदा छलिया नृत्य दुलहीसँगै यताबाट उता गएको र पछि त्यता पनि अत्यन्तै प्रचलनमा आएको हो ।

 

यो एक शक्तिको नृत्य हो, यसमा नृत्य गर्ने नर्तकहरू अत्यन्तै साहसी हुनुपर्दछ, यो नृत्य हेर्दा दर्शकहरूलाई पनि जोस आउने गर्दछ, धेरै त तालमा ताल मिलाएर नाच्छन् पनि । यसमा दमौ अर्थात् ढोल बजाउने कलाकारले उक्त ढोललाई शिरसम्म पु¥याएर यसरी बजाउँदछन्, जसले युद्ध सन्देशको रूपमा त्यतिवेला साथका अन्य सैनिकहरूलाई प्रतिद्वन्द्वीतर्फ झम्टिन प्रेरित गर्दथ्यो । परम्परागत राम ढोल, टुरी, बिगुल, नरसिँह, टम्भोरे, मृदंग, मिजुरा, मसक बज, अनि हुड्को र दमौको तालमा गायकहरूले गाना गाउँदै जब नृत्य गर्दथे, आफ्नातर्फका सैनिकहरूलाई उत्तेजित हुन काण्ड पुग्दथ्यो, विपक्षीतर्फ झम्टिहाल्थे । यही युद्धकौशल कालान्तरमा छलियाको रूप लिँदै आजपर्यन्त र भविष्यका निमित्त पनि एक कालजयी कलाको रूपमा विश्वमा विद्यमान छ । 


पहिलेको राज्यव्यवस्थामा दिनको समयमा युद्ध हुने र रात्रिको समयलाई रणनीति निर्माणको समयको रूपमा लिइने हुँदा, त्यस समयमा विभिन्न गानाका रूपमा जसलाई भडा भनिन्थ्यो, सुनाउँदै हुड्को नामक सानो ढोलका जस्तो बाजा बजाएर वीरगाथा, युद्धकथा, जितको व्याख्या गरिन्थ्यो । अझै पनि सुदूरपश्चिम क्षेत्रमा भडा गायकहरूले उहिलेका युद्ध तथा वीरगाथा सुनाउँदा एक किसिमको आनन्द आउने गर्दछ, र यो एक जीवित इतिहास पनि हो ।


‘बाउली समाई छ, जूज की धनिबालि जोली घुगुता दियो मारी, ढोग धोइयो, राजा सेवाइदियो लाई ।’ यो भडाको एक टुक्का हो । राजा त्रिमल चन्दले आफ्नोतर्फबाट लडाइँका लागि लडाकु(पैकेला) कार्की सक्रामलाई युद्धमा पठाउँदाको क्षण यो टुक्का सुनाइएको थियो । यसैगरी, धेरै पैकेलाहरूको वीरगाथामा आधारित विषय समेटेर हुड्को बजाउँदै भडा गाउने गरिन्छ । भडा सुदूरपश्चिमको मौलिक लोकसस्ंकृतिमध्येको महत्वपूर्ण विधा हो । हरेक विवाह, व्रतबन्ध, न्वारानलगायत कुनै पनि शुभकार्य गर्दा अनिवार्य भडा गाउने गरिन्थ्यो । तर, पछिल्लो समय हुड्क्यौली परम्परा लोप हुँदै गएको छ । 

छलिया नृत्यको ऐतिहासिक पृष्ठभूमि छ । राजाहरूको समयमा युद्धकौशल प्रदर्शन गर्न यो नृत्य देखाइन्थ्यो भने सैनिक मनोबललाई उच्च राख्न पनि तरबारसहितको नृत्यले महत्वपूर्ण स्थान लिने गर्दथ्यो । 


बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–५, बस्कोटमा जन्मेका झुसे दमाईं काली–कर्णाली र कुमाउ–गढवालको ऐतिहासिक वीरगाथा(भडा)का अत्यन्तै पारंगत जानकार थिए । विसं १९६६ सालमा जन्मेर पिथौरागढ ढुङातोली गाउँमा बसोवास गर्ने झुसे दमाईं आफ्नो इष्टदेवी रणशैनीका हरेक पर्वमा बैतडी आइरहन्थे । यो उनको आफ्नो कुलदेवताप्रतिको निष्ठा थियो । झुसे दमाईंको सबैभन्दा आकर्षक र विलक्षण प्रतिभा भनेको उनको ऋतुगायन(चैत महिनामा घरघरमा गएर सजुदेउ वालाको भडा) र वीरगाथा नै मानिन्छ ।

 

भारतको कुमाउ र नेपालको काली–कर्णालीतिर ऐतिहासिक वीर–वीरांगनाका जीवनचरित्रमा आधारित गीतिकथालाई भडा भन्ने गरिन्छ । झुसे दमाईं यसमा पारंगत मानिन्थे । उनको शेषपछिका झन्डै दुई दशकसम्म पनि उनलाई पछ्याउन सक्ने वा उनको बराबरी गर्न सक्ने अर्को कुनै भडा गायक कुमाउ र काली–कर्णाली क्षेत्रमा देखिएका छैनन् । उनी साँच्चै अर्थमा एक इतिहास थिए, जसलाई नेपालमा भन्दा इन्डियामा धेरै सम्मान गरिएको देखिन्छ । उनले इन्डियामा प्रशस्त पुरस्कार पाएको पनि देखिन्छ । उनको गायकी भारतको सरकारी राष्ट्रिय टेलिभिजन च्यानल दूरदर्शन, अलइन्डिया रेडियोलगायतका थुप्रै सञ्चारमाध्यममा धेरै चर्चा भयो । सरकारी तवरबाट थुप्रै प्रतियोगिता र प्रस्तुतिमा उनले पटकपटक सम्मानित हुने अवसर पनि पाइरहे ।

 

भारतको उत्तराखण्ड कुमाउका प्रसिद्ध लोककवि गिरिश तिवारी ‘गिर्दा’ले त झुसे दमाईंका बारेमा चार सय पृष्ठको पुस्तक नै तयार पारेका छन् । समाजमा इतिहास, कला र संस्कृतिलाई लिपिबद्ध गर्ने परम्परा प्रारम्भ भइसकेको थिएन । त्यस्तो अवस्थामा उनका परिवारका अग्रजहरूकै योगदानका कारण उनीसम्म आइपुग्दा केवल श्रुतिपरम्परामै सीमित रहेका वीरगाथाहरू लिखित रूपमा समाजले ग्रहण गर्न सकेको हो । संग्राम कार्की उनको सबैभन्दा प्रिय भडा थियो । यसलाई उनले विशिष्ट शैलीमा गाउँथे । यस भडा गाउँदाको उनको अभिनय र गायकी अद्भुत हुन्थ्यो । भडा गाउने समयमा उनको विशेष मौलिक पहिरन हुन्थ्यो । रंगीबिरंगी झगुलो(घाँघराजस्तो), कुर्ता, आस्कोट, कम्मरमा पटुका, हुड्को, हुड्कोमाथिबाट पछाडिपट्टि चौरीगाईको पुच्छर र चार–पाँचवटा घन्टी झुन्डिएका हुन्थे । उनले भडा गाउने वेला चौरीगाईको पुच्छर मोहक किसिमले हल्लिने गथ्र्याे र घन्टी बजेर वीररसको झंकार दिने गर्दथे । 


इन्डियामा प्रसिद्धि र सम्मान पाएका झुसे दमाईंजस्ता सांस्कृतिक रत्नलाई उनी जन्मेको, उनका पुर्खा जन्मेको ठाउँलाई अहिलेसम्म कसैले पनि सम्झिने गरिएको देखिँदैन । स्थानीय तह, प्रदेश सरकार र कला, संस्कृति संरक्षणमा लागेका सरकारी निकायले उनका बारेमा गहिरो अध्ययन गर्नु उपयुक्त हुनेछ । उनको कला र योगदान नयाँ पुस्ताका लागि समेत अनुकरणीय हुने गरी उनीबारे अनुसन्धान हुनु जरुरी छ ।


‘जो भागी जी रलो सो रितु सुणलो ।
जो पापी बडन्छ काँहै सुणन्छ रीतु ।।’

 

यसै वर्षको इन्डियामा सम्पन्न गणतन्त्र दिवसको परेडमा छलिया नित्यले उत्तराखण्ड राज्यको प्रतिनिधित्व गर्न पाएकाले यसले पुनः एकपटक चर्चा पाएको छ । कलाको कुनै राज्य वा सीमा हुँदैन भनेझैँ १८ जनाको टोलीले दिल्लीमा देखाएको छलिया नृत्यले टेलिभिजन, र युट्युबमा पुनः स्थान पाएको छ । सुदूरपश्चिममा हुने महोत्सवहरू तथा राष्ट्रियस्तरको कार्यक्रममा पनि यस छलिया नृत्यले उच्च स्थान पाएकै छ । छलिया नृत्यको ऐतिहासिक पृष्ठभूमि छ । राजाहरूको समयमा युद्धकौशल प्रदर्शन गर्न यो नृत्य देखाइन्थ्यो भने सैनिक मनोबललाई उच्च राख्न पनि तरबारसहितको नृत्यले महत्वपूर्ण स्थान लिने गर्दथ्यो । 


बमराडा, बैतडी