• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रत्न प्रजापति
२०७९ फाल्गुण २७ शनिबार ०८:११:००
साहित्य

साहित्यिक पर्यटनको साहित्यिक बयान

२०७९ फाल्गुण २७ शनिबार ०८:११:००
रत्न प्रजापति

पछिल्लो समय नियात्रा विधा लेखकहरूको रोजाइ र पाठकहरूको अभिरुचिमा पर्न सफल हुँदै आएको छ । केही यायावर लेखकहरूले आफूले यात्रा गरेको स्थानबारे आफ्ना निजी अनुभूति अभिव्यक्त गर्ने क्रममा नियात्रा विधाले फस्टाउने अवसर पाएको छ । नियात्रामा स्थानीय भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक र मूर्त–अमूर्त सम्पदा आदि विषयमा धेरै–थोरै महत्वपूर्ण जानकारीसँगसँगै लेखकका निजी अनुभूतिहरूको रसास्वादन गर्न पाइने हुँदा नियात्रा विधाको पठनमा पाठकहरूको अभिरुचि र आकर्षण बढ्दै गएको देखिन्छ । पाठकीय अभिरुचि बढेसँगै नियात्रा लेखनको दायरा पनि क्रमिक रूपमा बढिरहेको छ । नयाँ तथा पुराना लेखकहरूले फुटकर लेखनका साथै नियात्रा सङ्ग्रह प्रकाशन गर्ने क्रम पनि पछिल्लो समय ह्वात्तै बढेको छ । 


नियात्राकारको निजी अनुभूतिसँगैसँगै नियात्राकारले पाइला टेकेको ठाउँको भौगोलिक, सामाजिक, सांस्कृतिकसँगसँगै त्यहाँको राजनीतिक वस्तुस्थितिबारे यथोचित जानकारीलाई अनुभूतिको लेपनले सजाइएको र सुललित प्रस्तुतीकरण भएको नियात्रालाई पाठकले रुचाउने गरेका छन् । नियात्राका पाठकलाई नियात्रा पठनको आनन्द दिन खप्पिस नियात्राकार हुन् कृष्ण बजगाईं । यात्राका क्रममा अवलोकनभन्दा खोजिनितीलाई बढी प्राथमिकता दिन्छन् नियात्राकार बजगाईं । हरेक यात्रालाई आफ्नो निजात्मक अनुभूतिसँगसँगै भोगाइ र देखाइका अनुभवहरूलाई मिठामिठा शब्दका मालामा उनेर नियात्रा लेख्दै आएका नियात्राकार बजगाईंका ‘युरेसियाको स्पर्श’, ‘भाया साक्रा’ र ‘दाइबुचु’ नियात्रा सङ्ग्रह नियात्राका पाठकले निकै रुचाएका नियात्राकृति हुन् । पाठकले रुचाएका उनै नियात्राकारको पछिल्लो प्रकाशित नियात्राकृतिको नाम हो ‘उमिहोतारु’ । यसको प्रकाशक रहेको छ भुँडीपुराण प्रकाशन ।


नियात्राकार कृष्ण बजगाईं कथा, लघुकथा, हाइकु र बालकथा लेखनमा पनि उत्तिकै सक्रिय छन् । उनको ‘कमरेड भाउजू’ (कथा सङ्ग्रह), ‘यन्त्रवत’, ‘रोडम्याप’, ‘कवच’ र ‘संवैधानिक पत्नी’ (लघुकथा सङ्ग्रह) ‘हिउँको तन्ना’, ‘कुमारी रात’ र ‘मौन प्रणय’ (हाइकु सङ्ग्रह) र ‘आगो ओकल्ने पहाड’ (बालकथा सङ्ग्रह) लगायतका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । यसैगरी त्रिभुवन, पूर्वाञ्चल, लुम्बिनी बौद्ध र नेपाल संस्कृत विश्वविद्यालयका स्नातक तहका नेपाली पाठ्यक्रममा उनका नियात्रा समावेश छन् । यसैबाट कृष्ण बजगाईंको नियात्रा लेखन कति शक्तिशाली र प्रभावशाली छ भन्ने पुष्टि हुन्छ ।


बजगाईंको नियात्रा लेखनमा यात्राको वर्णनभन्दा विचार र चिन्तन पक्ष निकै सशक्त रूपमा प्रस्तुत भएको पाइन्छ । वर्णन मात्रैले भन्दा विचार र चिन्तनले नै हो, लेखनलाई शक्तिशाली र प्रभावशाली बनाउने । बजगाईंको नियात्रा लेखनमा यी दुवै गुण यथेष्ट मात्रामा पाइन्छ । बजगाईंका विचार र चिन्तनले खारिएका भावनाहरूले यात्राको वर्णनलाई निकै ओजपूर्ण बनाएको अनुभूति हुन्छ । नियात्राको बहुआयामिक पक्षलाई उनका सुन्दर विचार, भावना र कल्पनाको जलपले निकै चम्किलो पारेको पाइन्छ । यसैले उनका नियात्राहरू पाठकीय आकर्षणभित्र पर्ने गरेका छन् । सुरुचिपूर्ण नियात्राको पठनले पाठकहरू आनन्दित र सन्तुष्ट हुने गरेका छन् । 


लामो समयदेखि बेलायतलाई नै आफ्नो कर्मथलो बनाएका कृष्ण बजगाईं डायस्पोरिक साहित्यकार हुन् । त्यसैले उनका हरेक लेखनमा डायस्पोरिक स्वादको आनन्द प्राप्त गर्न सकिन्छ । निजी तथा व्यावसायिक भ्रमणका सिलसिलामा विश्वका अनेक मुलुक पुगेका बजगाईंले आफूले पाइला टेकेका हरेक ठाउँका भौगोलिक, आर्थिक, सामाजिक, सांंस्कृतिक र राजनीतिक सूचना र जानकारीलाई आफ्नो निजी अनुभूतिसँग सुन्दर सम्मिश्रण गरेर पाठकलाई साहित्यिक खुराकको रूपमा पस्कने गरेका छन् । ‘उमिहोतारु’ यस्तै खुराकले भरिएको नवीनतम कृति हो । यसमा सन् २०१८ देखि यताका विभिन्न समयमा अमेरिका, बेलायत र जापानमा गरिएका यात्राका अनुभूति समावेश छन् । सोद्देश्य वा निरुद्देश्य कुनै ठाउँको भ्रमणमा जाँदाका बखत तत्काल उत्पन्न हुने विचार, भावना र कल्पनालाई सुन्दर लेखनशिल्पद्वारा लिपिबद्ध गरिएका शब्दका थुँगाहरूले नियात्रा पठनको भरपूर आनन्दसँगसँगै विश्वप्रसिद्ध साहित्यकारका बारेमा दिइएका जानकारीबाट पाठकहरू यथेष्ट लाभान्वित हुनेछन् ।

‘उमिहोतारु’ मा जम्माजम्मी २१ वटा नियात्रा सङ्गृहीत छन् । नियात्रामा यात्राको यायावरीय आनन्दको अनुभूति त छँदै छ, साथसाथै व्यङ्ग्य, विद्रोह र आक्रोशको छनक पनि महसुस गर्न सकिन्छ ।


‘उमिहोतारु’ नियात्रा सङ्ग्रहमा जम्माजम्मी २१ वटा नियात्रा सङ्गृहीत छन् । नियात्रामा यात्राको यायावरीय आनन्दको अनुभूति त छँदै छ, साथसाथै व्यङ्ग्य, विद्रोह र आक्रोशको छनक र दनक पनि यथेष्ट महसुस गर्न सकिन्छ । विशेषतः नियात्राका पाठकलाई यात्रामा आफूसँगसँगै हिँडाउन सक्ने र रमाउन सक्ने सामथ्र्य बजगाईंको नियात्रा लेखनको निजी वैशिष्ट्यको रूपमा रहेको महसुस हुन्छ । पाठक स्वयं नियात्राकारसँगसँगै तत्तत् स्थानमा पुगेझैँ लाग्ने, नियात्राकारले वर्णन गरेको प्राकृतिक र मानव निर्मित सुन्दरतासँग आफैँले साक्षात्कार गरेझैँ लाग्ने, नियात्राकारले भोगेको भोगाइ, सोचाइ र बुझाइ आफ्नैझैँ लाग्ने आदि विशेषताले गर्दा बजगाईंको नियात्राको ग्राह्यता अधिक छ । 


‘उमिहोतारु’ नियात्रा सङ्ग्रहभित्रका नियात्रामा भूगोल छ र भौगोलिक विविधता छ, समाज छ र संस्कृति छ, प्रकृति छ र प्राकृतिक सौन्दर्य छ, राजनीति छ र राजनीतिक बेथिति छ, इतिहास छ र ऐतिहासिक दस्ताबेज छ, धर्म छ र धार्मिक विश्वास र अन्धविश्वास छ । अनि सबैभन्दा धेरैचाहिँ साहित्यिक पर्यटनको साहित्यिक बयान छ । सबैभन्दा महत्वपूर्ण कुरा त्यहाँ मान्छे छ र मान्छेले भोग्ने सुख र दुःख छ । अनि सुखको कारण छ भने दुःखको कारण पनि छ । अनि यही सुख र दुःखले सिर्जना गर्ने आहा, आक्रोश र विद्रोह पनि छ । यी सबै कुरा भएर नै त कृष्ण बजगाईंका नियात्राहरू जीवन्त छन् । बजगाईं स्रष्टा हुन्, तर यात्राका क्रममा उनी द्रष्टा र भोक्ता दुवै रूपमा सँगसँगै उपस्थित हुन्छन् । त्यसैले उनका नियात्राहरू समकालीन समयको दस्ताबेज बनेर आएका छन् । 


समुद्रबीचमा बनाइएको सानो मानव निर्मित टापुको नाउँ हो, उमिहोतारु । जापानी भाषाको शब्द उमिहोतारुको नेपाली अर्थ हो समुद्री जुनकिरी । समुद्रको बीचमा रहेको उमिहोतारुको रात्रिदृश्य समुद्रमा चम्किरहेको जुनकिरीजस्तै देखिने हुँदा यसको नाउँ उमिहोतारु अर्थात् समुद्री जुनकिरी राखिएको रहेछ । कृष्ण बजगाईंको यो नियात्रा सङ्ग्रह जुनकिरीको उज्यालो जस्तै छ । झिलिक्क–झिलिक्क निभ्दै–बल्दै गर्ने जुनकिरीको अनौठो उज्यालोले मनलाई आनन्दित पारेजस्तै ‘उमिहोतारु’ नियात्रा सङ्ग्रहले पठनको त्यस्तैआनन्द दिन्छ ।


‘उमिहोतारु’ नियात्रा सङ्ग्रहका धेरै नियात्रा सूचनामूलक छन् । यात्राका भोगाइ र देखाइका अनुभव र अनुभूति पोख्दापोख्दै पाठकका लागि अत्यन्त महŒवपूर्ण ऐतिहासिक, धार्मिक, प्राकृतिक, आर्थिक, सामाजिक, राजनीतिक एवम् साहित्य, कला, संस्कृति, संगीत आदिका सूचनाहरू दिँदै जानु नियात्राकार बजगाईंको निजी विशेषताको रूपमा देखिन्छ । नियात्राकार पुगेको सहर वा देशले भोगेको नियति र त्यसले गरेको प्रगति, विकास र आर्थिक समृद्धिका बारेमा पनि यथोचित जानकारी दिइएको पाइन्छ । 


नियात्रामा मानवीय संवेदना र भावना प्रखर रूपमा आएको पाइन्छ । ‘क्याम्ब्रिजमा निर्वस्त्र सुन्दरी’ शीर्षकको नियात्रामा एक ठाउँमा नियात्राकारले लेखेका छन्, ‘सारा मानव जातिको भविष्यको चिन्ता गर्दै नाङ्गिने भन्दा आफ्नो मोजमस्तीमा रमाएर महँगा कपडाको खोल लगाएर हिँड्ने हामी नाङ्गा नभएर अरू को त ?’ (पृष्ठ २२) नियात्राकारको यो भनाइ निकै सार्वजनिन लाग्छ ।


‘उमिहोतारु’ नियात्रा सङ्ग्रहभित्र साहित्यिक पर्यटनको बाहुल्य छ । यसमा विशुद्ध नियात्राभन्दा साहित्यिक पर्यटकका रूपमा अवलोकन गर्दाको अभिव्यक्तिले बढी स्थान पाएको छ । ‘लन्डनमा शरणार्थी फ्रायड’ देखि ‘उपन्यासकार नात्चुमे र जापानी बिरालो’सम्मका झन्डै १० थान नियात्रालाई साहित्यिक पर्यटनका अनुभव र अनुभूति भन्न सकिन्छ । यो नियात्रा सङ्ग्रहमा कठिन र दुरुह यात्राको रोमाञ्चभन्दा वातानुकूलित कार चढेर गरिएका साहित्यिक पर्यटनका बौद्धिक अनुभूतिहरूको बाहुल्य भेटिन्छ । 


कृष्ण बजगाईं यो नियात्रा सङ्ग्रहमा सौखिन साहित्यिक पर्यटकका रूपमा देखिएका छन् । यात्रामा हुने कठिनता, दुरुहता र रोमाञ्चकताभन्दा साहित्यिक बौद्धिकताले भरिएका छन् धेरैजसो नियात्रा । पहाडका कन्दराहरूमा कहालिँदै भित्तो समात्दै हिँड्दाको डर, भय र रोमाञ्चकता यो सङ्ग्रहका नियात्रामा छैन । ठसठसी कन्दै पहाडको ठाडो उकालो बाटो हिँड्दाको थकान र त्यसपछिको मिठो आनन्दको अनुभूति पनि छैन । तर, साहित्यिक पर्यटनको बौद्धिक स्वाद भने प्रशस्त छन् । त्यसैले यो नियात्रा सङ्ग्रह साहित्यिक पर्यटनको बयानजस्तो बनेको छ । नेपालमा पनि साहित्यिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने र साहित्यकारहरूको संग्रहालय निर्माणमा जोड दिनुपर्ने आशय पनि धेरैवटा नियात्राहरूमा प्रकट भएका छन् । तर नेपालमा कहाँ बन्छन् र साहित्यकारका नाममा संग्रहालय ! पार्टीका नेता र पार्टीका झोलेहरूका नाममा अनेक प्रतिष्ठान पो बन्छन् त ।