• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
संगीत मगर
२०७९ फाल्गुण २७ शनिबार ०८:५३:००
समाज

गाउँकी ‘डाक्टर’

२०७९ फाल्गुण २७ शनिबार ०८:५३:००
संगीत मगर

गाउँ गतिशील छ, आफ्नै लयमा । गाउँको आफ्नै जिन्दगी, आफ्नै विश्वास र आफ्नै मान्यता छ । गाउँ सुन्दर छ शब्दहरूमा, तर सुनसान छ वास्तविकतामा । गाउँमा जन्मिएकाहरू पखेटा पलाएपछि जोकोही पुग्छन् सहरमा र फेरि सहरका पनि अझै ठूलो सहरका लागि हिँड्छन् ।गाउँले अन्न जन्मायो, सहर पुग्छ । गाउँले शिक्षक जन्मायो, सहर पुग्छ । गाउँले जडीबुटी जन्मायो, सहर पुग्छ । गाउँले डाक्टर, कलाकर्मी जन्मायो, सहर पुग्छ । गाउँंले जे जन्माउँछ, सबै त सहर पुग्छ । गाउँले कविता जन्माउँछ, गीत जन्माउँछ, कथा जन्माउँछ । तर, गाउँले आफूसँग राख्न जान्दैन ।अनि सहर गएकाहरू बिर्सिदिन्छन् गाउँ जाने बाटो । कहीँ पुग्ने आशामा गाउँलाई छातीको भित्री कुनामा थन्काएर सहरको रफ्तारमा हुन्छन् मानिस ।


तर, विष्णु रोका गाउँमै बसिरहेकी छिन् । रोल्पाको माझिबाङ गाउँ मुख्य बजार सुलिचौरदेखि करिब २७ किलोमिटर टाढा पर्छ उनको थातथलो । गाउँको माथिल्लो खण्डमा बस्छिन् विष्णु रोका । माझिबाङ गाउँ चिनिने मुख्य त तीन कारण छन्, पहिलो, विष्णु रोकाको गाउँ । दोस्रो, मास्टर चन्द्र बुढाको गाउँ, जसले रोल्पाको जेल्बाङ गाउँमा जनयुद्धको नेतृत्व गरेका थिए । र तेस्रो, गुरिल्ला पदमार्गअन्तर्गत पर्ने गाउँ ।


जेल्बाङ परिपरि मात्र होइन, आसपासमा धेरैले चिनेको नाम हो विष्णु रोका । विष्णु रोका अर्थात् हाडजोर्नी फुत्किएको ठिक पार्ने गाउँकी डाक्टर । उनले उहिले काठको पुलबाट पार गरेको झाँक्री खोलामा अहिले झोलुंगे पुल आइसक्यो । उनले चढेको ओखरेनी छेडा अहिले गुरिल्ला ट्रेक भइसक्यो ।पेवा गाउँ र माझिबाङको बीचमा एउटा ठूलो लेक छ लिगलिगे । माझिबाङबाट पेवा पुग्नलाई नाक छुने उकालोबाट चौपाती(लिगलिगे)उक्लिनुपर्छ र टाँपु गैरा पार गर्नुपर्छ । टाँपु गैरा डरलाग्दो जंगल हो, आकाश छोएको जस्तै देखिने गुई सिङ (खर्सुको बोट)ले टाँपु गैरा दिउँसै अँध्यारो हुन्छ ।


लिगलिगे पारिपट्टि पेवामा डाला (स्याउला) काट्ने वेला रुखबाट खसेर एकजनाको खुट्टा फुत्किएको रहेछ । ठिक पार्न विष्णुलाई बोलाइएको थियो । उनी त्यहीँ गएर फर्किंदै थिइन् । त्यो बाटो तीन घन्टा टाढा र डरलाग्दो टाँपु जंगल भएकाले आउँदा साथी पनि लिएर आउनू भनिएको थियो । पहिले एक्लै हुँदा घना जंगल खोलाको डरलाग्दो खोँच आयो भने उनी डरले कान थुनेर कुदेर पार गर्थिन् । तर, अहिले उनलाई बोलाउँदा या त लिन मान्छे पठाइन्छ या साथी लिएर आउन भनिन्छ ।


यसपालि उनी छिमेकीलाई साथी बनाएर गएकी थिइन् । फर्किने वेला उनीसँगै फर्किने मौका पाएँ । टाँपु गैरा काप्ले मो(सिताके च्याउ) रुकन (खेरौले साग) र निगालोको तामा पाइने ठाउँ हो । हामीसँग यात्रा गर्नेमध्ये केही जंगल छिरे, च्याउ र सागको खोजीमा । म र विष्णु भने बाटैबाटो चौपाती उक्लियौँ । पेवाबाट हिँड्ने वेला रिमझिम पानी परिरहेको थियो । चौपाती उक्लिँदा पानी फाटिसकेको थियो । हामी चौपातीमा बस्यौँ । खुट्टाका जुकालाई फाल्यौँ । चौपातीमा बसेर (मगर संस्कृतिअनुसार मृत्यु हुँदा घरका सदस्यले उनीहरूको सम्झनामा चौपाती बनाउने गर्दछन्, जहाँ बाटो हिँड्ने बटुवाले थकाइ मार्ने गर्दछन् ।) आफ्नो ६ दशक लामो उकाली–ओराली जिन्दगीको विगततिर एकैछिन पुगिन् । 


उनी बीस वर्षकी हुँदा भुमे राममा (अठार मगर समुदायमा असार लाग्दा भूमिको पूजा गरी नाचगान गरेर भव्य रूपमा मनाइने पर्व)पिङबाट खसेर उनको हातको जोर्नी फुत्कियो । जोर्नी एकपटक फुत्किएपछि जोड्ने तरिका नमिलेको खण्डमा र राम्रोसँग उपचार नगरेको खन्डमा फेरि–फेरि फुत्किने गर्छ । उनको यस्तै भइरह्यो । त्यो ठिक पार्न ठूलो गाउँ अर्थात् जेल्बाङ झर्नुपथ्र्यो, जैसी बुढाको घरमा । माझिबाङबाट जेल्बाङ ओरालो बाटो एक घन्टामा झरिन्छ, तर उक्लिन दुई घन्टा लाग्छ । जेल्बाङ झर्ने र माझिबाङ उक्लिने भइरह्यो । यसरी हिँडिरहँदा उनी थकित भइसकेकी थिइन् । त्यसपछि आफ्नो जोर्नी ठिक पारिदिने वेला उनले ध्यान दिएर हेर्न थालिन् ।

विष्णु ‘डाक्टर’ होइनन्, तर उनी ४० वर्षदेखि गाउँको सेवामा अहोरात्र क्रियाशील छिन्


एकदिन डाला काटेर आउँदा चिप्लिएर उनको हात फेरि फुत्कियो । त्यसपछि आफैँले हिम्मत गरेर आफ्नो जोर्नी ठिक पार्ने कोसिस गरिन् । अचम्म ! ठिक पो भयो । तर, उनले कसैलाई भनिनन् । यस्तैमा एक दिन खोलामा गएको वेला बहिनी चिप्लेर लडिन् र उनको खुट्टाको जोर्नी फुत्कियो । सुरुमा त उनले बहिनीको खुट्टा ठिक पार्ने आँट गर्न सकिनन् । किनभने उनले यतिवेलासम्म अरूको जोर्नी ठिक गरेकी थिइनन् । उनले बहिनीको खुट्टा पनि ठिक ठाउँमा ल्याउने कोसिस गरिन् । त्यो पनि ठिक भयो । उनले बहिनीलाई यो कुरा कसैलाई नभन्नू भनिन् । किनभने उनलाई डर थियो । यदि मैले गर्न सकिनँ अथवा बिगारिदिएँ भने के होला ? तर यस्तो भएन । उनको उपचारकलाबारे बिस्तारै गाउँमा हल्ला हुन थाल्यो । त्यसपछि उनले बिस्तारै अन्य मानिसको पनि जोर्नी फुत्किएको ठिक पार्न थालिन् । 


एकपटक गाउँमै एकजनाको बंगारा फुत्कियो । अब के गर्ने ? अस्पताल धेरै टाढा ठियो । कि बुटवल कि दाङ लैजानैपथ्र्यो । त्यसमाथि एकदिनको बाटो बोकेर सुलिचौर झारेपछि बल्ल गाडी पाइन्थ्यो । र, गाडीबाट अस्पताल पुग्न पनि फेरि अर्को एकदिन लाग्थ्यो । गाउँलेहरू उनीकहाँ पुगे । एकपटक कोसिस गर्न अनुरोध गरे । तर उनले मानिनन् । किनकि उनले त्यसवेलासम्म हातखुट्टाका जोर्नी ठिक पारेकी त थिइन् तर बंगारा ? उनले त सोच्न पनि सकिनन् । तर, गाउँलेले उनलाई हिम्मत दिए । उनले कोसिस गरिन् र ठिक पनि भयो । फुत्किएको बंगारा पनि ठिक पारेपछि विष्णुको टाढा–टाढासम्म कुरा फैलियो ।


उनको काम त्यतिमा मात्रै सीमित भएन । गाउँमा जब कोही गर्भवती महिलाको बच्चा जन्मिन गाह्रो हुन्छ या बच्चा उल्टो बस्छ, तब उनैले ठिक बनाइदिन थालिन् । कोही बच्चा जन्मिएर साल अड्कियो भने पनि उनैले उपचार गरिदिन्छिन् । उनले मान्छे मात्र होइन, गाई, बाख्रा, घोडा सबै जनावरको जोर्नी फुत्किएको पनि ठिक पार्ने गर्छिन् । उनले काम गर्दै जाँदा सिक्दै गइन् । उनलाई नयाँ–नयाँ समस्याले नयाँ–नयाँ ज्ञान थपिदियो । अहिले त उनका हातहरू अभ्यस्त भइसके । हातैले छामेर कहाँनेरको जोर्नी फुत्किएको हो थाहा पाइहाल्छिन् । नसा चुँडिएको, मेरुदण्ड बाँचिएकोबाहेक शरीरको जुनसुकै भागको जोर्नी फुत्किएको भए पनि उपचार गर्न उनी सक्षम छिन् ।

जंगलमा पाइने कुनचाहिँ रूख, जरा, पातले कुन रोग निको पार्छ भन्ने विष्णुलाई थाहा छ । उनी आफ्ना बिरामीलाई आफैँले तयार पारेको जडीबुटी दिने गर्छिन् । उनलाई लाग्छ, हाम्रो जीवन प्रकृतिसँग जोडिएको छ । हरेक समस्याको समाधान पनि प्रकृतिसँगै छ ।


टाढा–टाढाबाट समेत उनलाई बोलाइन्छ । उनी यातायात पुगेको ठाउँमा बाइक, गाडी र यातायात नपुगेको ठाउँमा पैदल नै हिँडेर पुग्छिन् । आफ्नो पारिश्रमिक तोकेकी छैनन् । आफूले ठिक पारेका बिरामीले जबर्जस्ती उनलाई केही नगद वा जिन्सी दिन्छन्, उनी त्यो स्वीकार गर्छिन् । जो हिँड्न सक्दैनन्, तिनका लागि उनी घरघरै पुगेर उपचार गर्छिन् । हिँड्न सक्नेहरू उनकै घरमा आइपुग्छन् । टाढा–टाढाबाट आएकालाई उनले आफ्नै घरमा गाँसवास दिएर उपचार गरिदिन्छिन् । घरमा मकै आलु जे छ, पकाएर खुवाउँछिन् र ठिक बनाएर मात्रै पठाउँछिन् ।


लाखौँ खर्च गरेर हस्पिटलमा ठिक नभएका बिरामी पनि उनीकहाँ पुग्ने गर्छन् । जब त्यस्ता बिरामी ठिक गर्छिन्, उनलाई साह्रै खुसी लाग्छ । बिरामी र बिरामीका आफन्त उनलाई धन्यवाद दिँदै बिदा हुन्छन् । जंगलमा पाइने कुनचाहिँ रुख, जरा, पातले कुन रोग निको पार्छ भन्ने विष्णुलाई थाहा छ । उनी आफ्ना बिरामीलाई आफैँले तयार पारेको जडीबुटी दिने गर्छिन् । उनलाई लाग्छ, हाम्रो जीवन प्रकृतिसँग जोडिएको छ । हरेक समस्याको समाधान पनि प्रकृतिसँगै छ ।

 

उनी वरिपरिका पहाड देखाउँदै भन्छिन्, ‘यो पहाड मात्र होइन, जीवन हो । यहाँ हामीले खाने चिजहरू छन् । यो जंगलभित्र जडीबुटी छ । त्यो जडीबुटीले रोग निको हुन्छ । यो जंगललाई छोएर चल्ने हावाले जडीबुटी छोएको हुन्छ । हामीले लिने हावामा पनि जडीबुटी छ ।’ चौपाती मुन्तिर फुलेको गुराँस देखाउँदै भनिन्, ‘जेठ हेरेको गुराँस (जेठमा फुलेको गुराँस) पखालाको औषधि हुन्छ ।’ टाँपु गैरा देखाउँदै भनिन्, ‘यहाँ बँडेल र रतुवा बाघ हिँड्छ । यो जंगलको च्याउमा जडीबुटी मिसिएको हुन्छ ।’ यसैले च्याउहरू महँगोमा बिक्न थाल्यो । यहाँको च्याउ साग र जडीबुटी बिक्री हुन थालेपछि मान्छेहरू डोको बोकेर खोज्न आउँछन् र टिपेर बिक्री गर्छन् । निश्चित समयमा र बिउ रहने गरी टिपेको भए त ठिकै हुन्थ्यो, तर मान्छेहरूले जरै उखेलेर बिउ पनि नरहने गरी टिप्छन् । यसैले अहिले यहाँ पहिलेजस्तो च्याउ, तामा र जडीबुटी पाइँदैन । सिकार भने रोकिएको हुनाले यो बाटो एक्लै हिँड्न जनावरको डर रहन्छ ।


विष्णुका लागि न दिन हुन्छ, न रात । न वर्षा हुन्छ, न जाडो । राति कोही बिरामी परे टर्च बालेर हिँड्छिन् । वर्षामा कोही बिरामी परे प्लास्टिक ओडेर हिँड्छिन् । खोलामा बाढी आयो भने टाढाको पुलबाट तर्छिन् । तर, उनी बिरामी भएको ठाउँमा जसरी पनि पुग्छिन् । टर्च गाउँमा नआइपुगेको वेला उनी बाङ(राँको)बालेर रात–विरात हिँडेर उपचार गर्न पुग्थिन् । युद्धको वेला उनले टर्च बाल्न पाइनन् । त्यसवेला हातले बाटो छाम्दै पनि बिरामी भएको ठाउँमा पुगिन् । 


विष्णु रोल्पा मात्र होइन, छिमेकी सबै जिल्लामा पुगेकी छिन् । उनको यही क्षमता, समर्पण देखेर एकपटक जापानी डाक्टरहरूको टोलीले आफूहरूसँगै नेपालका ग्रामीण भेगहरूमा उपचार गर्दै हिँड्ने प्रस्ताव पनि राखे । तर, उनले सीधै अस्वीकार गरिन् । किनभने उनलाई लाग्छ, उनले यहीँ गाउँको सेवा गर्नुपर्छ । गम्भीर हुँदै भन्छिन्, ‘म जाउँला रे ! यहाँभन्दा धेरैको सेवा पनि गर्न पाउँला रे ! तर, यदि म गएँ भने मेरो गाउँलेको उपचार गरिदिने को हो त ? म नगए पनि उनीहरूले त अरू पाइहाल्छन् नि ! तर, मेरो गाउँलेको उपचार गरिदिने कोही हुँदैन । यसैले जान मानिनँ ।’


उनलाई थाहा छैन, ईश्वर कसरी पुजिन्छ । तर, उनलाई ब्रह्माण्डको एउटा अदृश्य शक्तिमा विश्वास लाग्छ । त्यो ‘भगवान्’ नै हो भनेर त मान्दिनन् तर उनलाई विश्वास लाग्छ । उनको विश्वास छ– सही कर्म गर्‍यो भने सही फल मिल्छ । उनको जीवन दर्शनले भन्छ, कोसिस गर्नेहरू र असल कर्म गर्नेहरू सन्तुष्टिको जिन्दगी बाँच्छ । फेरि उनी थप्छिन्, ‘केही शक्ति पक्कै छ होला । उसैले मलाई यही कर्म गर्न पठायो । कतिको जोर्नी फुत्किन्छ । जोर्नी फुत्किने जति सबै मजस्तै किन हुन सकेनन् ? किनभने ब्रह्माण्डले मलाई यही कर्म गर्न पठाको त होला नि ।’


विष्णु अहिले ६० वर्ष पूरा भइसकेकी छिन् । उनको इच्छा छ, यही गाउँमा बस्ने, छेउमा सुसाएको खोला सुन्ने, भुर्तीबाङमा कराउने चराको चिरबिर सुन्ने, नाबाङ्बाट ल्याएको छिप्पिएको मङ्ज्यारको लट्ठी टेक्दै ८० वर्षसम्म गाउँलेको सेवा गर्ने । विष्णुको अर्को पनि इच्छा छ । अब उनीसँग समय कम छ । दुनियाँबाट बिदा हुनुअघि आफूसँग भएको ज्ञान अरूलाई हस्तान्तरण गर्ने उनको सपना छ, ताकि आफ्नो अनुपस्थितिमा गाउँलेले दुःख नपाऊन् ।  हिजोआज आफूसम्म आइपुगेका हरकोहीमा उनी अर्को विष्णु रोकाको खोजी गरिरहेकी हुन्छिन् ।