• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
युभल नोआ हरारी
२०७९ फाल्गुण २७ शनिबार ०८:५७:००
समाज

‘कु’ सधैँ सडकमा तोप गुडाएर मात्र गरिँदैन

हामी इजरायली ज्याद्रा र स्वच्छन्द छौँ । हामीलाई आजसम्म कसैले मौन राख्न सकेको छैन । हामी इजरायललाई एक तानाशाहीमा परिणत हुन दिनेछैनौँ ।

२०७९ फाल्गुण २७ शनिबार ०८:५७:००
युभल नोआ हरारी

 

हामी (इजरायली) ऐतिहासिक संकटमाझ छौँ, जसले हामीमा आक्रोश वा घृणाको भावना होइन, त्रसित बनाइरहेको छ । हामी भयभीत छौँ । रातमा निद्रा लाग्न छाडेको छ । सरल भाषामा भन्दा हामी आतंकित छौँ । जे भइरहेको छ, त्यो सही भइरहेको छैन । इतिहासका कैयौँ घडीमा डर सबैभन्दा उपयुक्त प्रतिक्रिया हुने गर्छ । इतिहासमा यस्ता क्षण आउँछन्, जब डर हामीलाई क्रियाशील गराउन आवश्यक पर्छ । आज हामीसँग डराउने त्यस्तै कारण आइपरेको छ र सँगै हामीसामु क्रियाशील हुने उत्कृष्ट कारण पनि छ । कुनै भ्रम नहोस् कि वर्तमान इजरायली सरकारले जे गर्दै छ, त्यो न्यायिक सुधार होइन, प्रजातन्त्रविरुद्धको ‘कु’ हो ।


‘कु’ खासमा ठ्याक्कै यस्तै हुन्छ । ‘कु’ सधैँ सडकमा तोप गुडाएर मात्र गरिँदैन । इतिहासका धेरै ‘कु’ हरू बन्द कोठाभित्र कागज र कलमको सहाराले पनि गरिएका छन् । र, आममानिसले ती कागजमा लेखिएका कुरा बुझ्दासम्म प्रतिरोधका लागि धेरै ढिला भइसकेका घटना धेरै छन् । इतिहासमा यस्ता धेरै मानिस भेटिन्छन्, जसले वैध माध्यमबाट सत्तामा आएर पछि तानाशाही लादेका छन् । यस पुरानो रणनीतिअनुसार पहिले कानुनी रूपमा सत्ता हासिल गरिन्छ, त्यसपछि त्यो शक्तिलाई कानुन बदल्न प्रयोग गरिन्छ । 


राम्ररी हेर्ने हो भने वर्तमान इजरायली सरकारले सदनमार्फत ल्याउन लागेको कानुनको अर्थ स्पष्ट हुन्छ (जुन कुरा बुझ्न कानुनमा विद्यावारिधि गरेको हुनुपर्दैन), यदि यी कानुन पारित भए भने सरकारले नागरिक स्वतन्त्रता पूर्ण नष्ट गर्ने शक्ति हासिल गर्नेछ । इजरायलको १२० सदस्यीय सदनको साधारण बहुमत (६१ सदस्य)ले कुनै पनि नश्लीय, शोषणकारी र लोकतन्त्रविरोध कानुन पास गर्ने बाटो खुल्नेछ । त्यति नै संख्याले चुनावी प्रणाली बदल्न सक्छ । परिणामस्वरूप सत्ता बदल्ने जनताको शक्ति निस्तेज बन्न सक्छ । ‘कु’का नेताहरूलाई नयाँ परिवर्तनपछि सरकारको शक्तिलाई के कुराले सन्तुलन राख्छ र आधारभूत मानवअधिकार केले रक्षा गर्छ भन्ने प्रश्न गर्दा एउटै उत्तर दिइरहेका छन्– हामीलाई विश्वास गर्नुस् । जसले आम इजरायलीलाई विश्वास गरिरहेका छैनन्, जसले ७५ वर्षदेखि इजरायली समाजलाई बाँधिराखेको सामाजिक सम्झौतालाई च्यात्दै छन्, उनै प्रधानमन्त्री नेतन्याहु, न्यायमन्त्री लेभिन, संसदीय समितिका अध्यक्ष एमके रोथम्यानहरू कसरी हामीले उनीहरूलाई विश्वास गरिदिनुपर्ने आशा गर्दै छन् ? 


हामी यी नेतालाई विश्वास गर्दैनौँ, किनकि तिनको कुत्सीत चाहना हामीलाई राम्ररी थाहा छ । उनीहरू असीमित शक्ति चाहन्छन् । उनीहरू हामीलाई चुप लागेर तिनले भनेजसरी बाँच्नुपर्ने चाहना राख्छन् । हामीले के खाने, के लगाउने र के सोच्नेदेखि कोसँग विवाह गर्ने भन्ने कुरासमेत यी नेता निर्देशित गर्न चाहन्छन् । तर, ती नेताले आफूहरूले कोसँग जोरी खोजिरहेका छौँ भन्ने भेउ पाएका छैनन् । इजरायलीहरू दास बन्न त्यति उपयुक्त कच्चापदार्थ होइनन् । हामी इजरायली ज्याद्रा र स्वच्छन्द छौँ । हामीलाई आजसम्म कसैले मौन राख्न सकेको छैन । हामी इजरायललाई एक तानाशाहीमा परिणत हुन दिनेछेनौँ । 

अहिलेको समय इजरायली नागरिकका लागि ऐतिहासिक परीक्षणको समय हो र यसमा हामी हार्‍यौँ भने हामीले दोस्रो अवसर पाउँदैनौँ । हामीले अहिले शिर ठाडो बनाउनुपर्छ, अन्यथा जीवनभर शिर झुकाएर बस्नुपर्छ ।


त्यसो भए आगामी साता के हुनेछ ? 
उनीहरूले आफ्ना तानाशाही कानुन पास गर्ने प्रयास गर्नेछन् । उनीहरू हामीलाई ‘अराजक’ र ‘देशद्रोही’ भनिरहनेछन् । हुन सक्छ प्रतिरोध दबाउन विषम कारबाही सुरु गर्न सक्छन् । तर, हामी आफ्नो प्रदर्शन जारी राख्नेछौँ । हामी प्रदर्शनमार्फत सर्वोच्च अदालतका न्यायाधीहरूको पक्षमा लोकप्रिय समर्थन रहेको सुनिश्चित गर्नेछौँ, ताकि तानाशाही कानुन खारेज गर्ने तिनको दृढता कमजोर नहोस् । तर, यदि सरकारले सर्वोच्च अदालतको आदेश स्विकारेन भने के हुन्छ ? त्यसपछि हामी संवैधानिक संकटमा प्रवेश गर्नेछौँ । संवैधानिक संकट एक अराजक स्थिति हो, जहाँ कुनै स्पष्ट नियम र कानुन हुँदैन । त्यसपछि प्रहरीले कसको आदेश मान्ने– सरकारको कि अदालतको ? सिन बेट (इजरायलको आन्तरिक सुरक्षा निकाय) र मोसाद(इजरायली जासुसी निकाय)ले कोबाट आदेश लिन्छन् ? इजरायली सुरक्षा फौजले कसलाई मान्नेछ ? र, सबैभन्दा महत्वपूर्ण प्रश्न नागरिकले के गर्नेछन् ? मतसर्वेक्षणले स्पष्ट गरेका छन्– बहुसंख्यक इजरायलीहरूले यो सरकारको गलत कामको विरोध जनाउनेछन् । तर, मतसर्वेक्षणले तानाशाहीलाई रोक्दैन । 


इतिहासले भन्छ– हरेक प्रजातान्त्रिक मुलुकको अन्तिम र सबैभन्दा महत्वपूर्ण सुरक्षा घेरा नागरिक हो । प्रजातन्त्र एक आदर्श हो, जसअनुसार नागरिकले सरकारका निर्णयको सम्मान गर्नुपर्छ, तर एक सर्तमा– सरकारले तिनको आधारभूत स्वतन्त्रताको सम्मान गर्नुपर्छ । जब कुनै एक पक्षले यो सम्झौता तोड्छ, अर्को पक्षले तिनको जिम्मेवारी पूरा गरिरहनुपर्दैन । जब सरकारले तानाशाही लाद्न खोज्छ, नागरिकलाई प्रतिरोध गर्ने अधिकार हुन्छ । अहिलेको समय इजरायली नागरिकका लागि ऐतिहासिक परीक्षणको समय हो र यसमा हामी हार्‍यौँ भने हामीले दोस्रो अवसर पाउँदैनौँ । 


हामीले अहिले शिर ठाडो बनाउनुपर्छ, अन्यथा जीवनभर शिर झुकाएर बस्नुपर्छ । हामीले अहिले आफ्नो आवाज उठाउनुपर्छ, अन्यथा हामीले बाँकी जीवन मुख खोल्न पाउनेछैनौँ । यो प्रदर्शन, आवाज उठाउने र खडा हुने समय हो । म एक विश्वविद्यालयका प्राध्यापकका रूपमा अहिलेको प्रजातन्त्रविरोधी ‘कु’ जारी रहेसम्म इजरालयमा सबै प्राज्ञिक संस्थान हडतालमा राख्ने पक्षमा छु । निश्चित रूपमा हामीले हाम्रा विद्यार्थीलाई यस कठिन समयमा सहयोग दिन छाड्नुहुँदैन । अहिले सबै नियमित कोर्स रोकेर प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रताबारे पढाउने वेला हो । औपचारिक हडताल गर्न कठिनाइ भोग्ने इजरायलीले आदेश बेवास्ता गर्ने सिर्जनशील उपाय पहिल्याउनेछन् भन्नेमा म विश्वस्त छु । हामी सबैले प्रजातन्त्रविरोधी ‘कु’विरुद्ध सानो प्रतिरोध जाहेर गर्न सक्छौँ । 


अन्तिममा एक आम इजरायलीका हिसाबमा म सर्वोच्च अदालतका मुख्य न्यायाधीश एस्थर हायुत र महान्यायाधिवक्ता गाली बाहरभलाई केही व्यक्तिगत आग्रह गर्न चाहन्छु । इजरायलको इतिहासमा सबैभन्दा कठिन र महत्वपूर्ण काममा तपाईंहरूलाई विश्वास गरिएको छ । यो एक गहन जिम्मेवारी हो र साथमा एक ठूलो सम्मान पनि हो । तपाईंहरूका सामु इतिहास बनाउने क्षण आएको छ । विनाकुनै संकोच र विनाकुनै हिचकिचाहट हाम्रो स्वतन्त्रता रक्षा गरिदिनुस् । राष्ट्रपति हरजोग र विपक्षी दलका प्रमुखहरू हाम्रो स्वतन्त्रताको रक्षा गरिदिनुस् । यसमा कुनै सम्झौता नगरिदिनुस् । बाघले आक्रमण गर्दा आधा मात्रै खाइदिएर बाँकी छाडिदिने खालको सम्झौता गर्न सकिँदैन ।


इजरायली डिफेन्स फोर्सका रिजर्भ सैनिकहरू ! तपाईं यी तानाशाहीको सेवा नगर्नुस् । तपाईंको करार इजरायली लोकतन्त्रसँग हो, तिनको पतनकर्तासँग होइन । इजरायली डिफेन्स फोर्स, सिन बेट, मोसाद र इजरायली प्रहरीले कठिन स्थितिमा सही विकल्प चयन गरिदिनुस् । तपाईंको नाम इतिहासमा नागरिकको रक्षकको रूपमा रहोस् नकि तानाशाहीको सेवकको रूपमा । र, अन्तिममा नेतन्याहु, लेभिन, रोथम्यान र तिनका सहकर्मीलाई स्पष्ट सन्देश प्रेषित गर्न चाहन्छु, तपाईंहरूको ६४ सदस्य सिट हुनुको अर्थ जहाँ पनि हात हाल्न छुट छ भन्ने होइन । हाम्रो स्वतन्त्रतालाई मुठ्ठीमा कस्नेबारे सोच्दा पनि नसोच्नुस् । ‘कु’लाई रोक्नुस्, अन्यथा हामी मुलुकलाई ठप्प पार्नेछौँ । 

 

(इजरायली सरकारले न्यायिक प्रणालीमा गर्न लागेको फेरबदलको विरोधमा शनिबार (मार्च ४) प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा हिब्रु युनिभर्सिटी अफ जेरुसलेमका इतिहास विभागका प्राध्यापक युभल नोआ हरारीले सम्बोधन गरेका थिए । सोही सम्बोधनको सम्पादित अंश ‘द गार्जियन’बाट 
श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)