
पैसा बनाउनेहरू
प्राकृतिक पाठशाला भत्काएर
जेल बनाउनेहरू हुन् !
बेच्नका लागि किन बनाइन्छ अफिम ?
नाफाका लागि किन बनाइन्छ निकोटिन ?
पैसाका लागि
किन खोलिन्छ वेश्यालयहरू ?
यो खुनी पैसाले
दलाली बजारको निर्माण गर्यो
किल्ला र पर्खाल खडा गर्यो
पद र पावर बनायो
प्रेमलाई विनिमय गर्यो
सम्बन्धलाई ‘इन्स्ट्यान्ट नुडल्स’ बनाइदियो
सन्तान र रेमिट्यान्सबीच ‘बार्टरसिस्टम’ चलाइदियो !
पैसाले अवमूल्यन गरेको छ गुरु–महिमाको
पैसाले अवरोपण गरेको छ ज्ञानको गरिमाको !
बजारसँग अवैध सम्बन्ध राखेर
पेसेवर पैसाले जन्मायो
राजा र रैती
श्रमिक र मालिक
घरधनी र डेरावाल
गाडीवाल र रिक्सावाल
फस्र्ट वल्र्ड र थर्ड वल्र्ड !
पैसाको कर्म कालो
पैसाको मन मैलो
पैसाको बैँस बिटुलो
पैसाको व्यहोरा बेसोमत
पैसाको नजर नजाती
पैसाको सोच संकीर्ण !
नर– सिकार गथ्र्याे
नारी– जम्मा गर्थी
नर –जमिन खन्थ्यो
नारी– कन्दमूल खोज्थी
पैसाले ‘बजार’ बनाइदियो– स्त्रीको शरीरलाई
लिलामीको सेयर बनाइदियो– दैहिक सौन्दर्यलाई ।
‘स्टाइकर’ बनेर आफू
चलाइरह्यो पुँजीवादका गोटीहरू
खेलिरह्यो
जेन्डर र रेस
राज्य र राजनीति
यान्त्रिकीकरण र ध्रुवीकरण
मिसाइल र क्षेप्यास्त्रका
अनन्त ‘अनफेयर गेम’
पैसाका गुलामीहरू हुन्–
देशान्तर र अक्षांश खिच्नेहरू
मंगल र चन्द्रमा हडप्नेहरू
जमिन, जल, वायु आकाश भागबन्डा गर्नेहरू
बिउ, वनस्पति, किटपतंग अंशबन्डा गर्नेहरू !
मुर्दावाद पैसा बनाउनेहरू !
म सहन सकिरहेको छैन हेर्न
भ्रूणहत्या
नश्लनाश
छालातन्त्र
छाडातन्त्र !
मलाई अस्वीकार्य छ यो बजारतन्त्र
मलाई प्रिय छ प्राकृतिक प्रेममन्त्र !