• वि.सं २०८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
विपिन कोइराला
२०७९ फाल्गुण २७ शनिबार १०:२८:००
सम्झना

विद्यार्थी नेता हुँदाका रामचन्द्र

रामचन्द्र, देउवा र मेरो त्यसवेला तँ–तँ र म–मको सम्बन्ध हो । अहिले त ६ दशकभन्दा लामो संगत भइसक्यो । साधारण जीवन बिताउन खोज्ने, धेरै हाइफाई गर्न नखोज्ने रामचन्द्रजीको स्वभाव सुरुदेखिकै हो ।

२०७९ फाल्गुण २७ शनिबार १०:२८:००
विपिन कोइराला

 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग विसं ०१८ देखि संगत सुरु भयो । सुरुमा उहाँ कम्युनिस्टको विद्यार्थी फेडेरेसनमा हुनुहुन्थ्यो । कांग्रेसको छात्र संगठन भन्ने हुन्थ्यो । ०१९ मा छात्र संगठनबाट उहाँ कांग्रेसमा जोडिनुभयो । ०१९ मा उहाँ नेपाल संस्कृत विद्यार्थी संघको सचिव हुनुभयो । त्यसवेला स्वतन्त्र विद्यार्थी युनियन बनाउन पाइँदैनथ्यो । पञ्चायती सरकारको निर्देशनमा चल्ने विद्यार्थी संगठन मात्र अस्तित्वमा रहन सक्थे । विश्वविद्यालय र कलेजहरूमा स्वतन्त्र विद्यार्थी युनियन चाहिन्छ भन्दै आवाज उठाउनेमा हामी नै पहिलो थियौँ । शेरबहादुर देउवा ०२० मा अभियानमा जोडिनुभयो । पञ्चायत सरकारले विद्यार्थी संगठन भनेको सरकारको निर्देशनमा चल्ने भन्ने बनाएको थियो । हामी त्यसविरुद्ध डटेर लागेका थियौँ । ०१८–०१९ मा हामीले स्वतन्त्र युनियनको चुनाव गराएर पञ्चायत सरकारलाई चुनौती दिएका थियौँ ।


नेविसंघ बनाउँदा पनि हामी सबै सक्रिय भएर लाग्यौँ । त्यस अभियानमा म, रामचन्द्रजी, देउवाजी र शिवबहादुर खड्काजी नङ र मासुजस्तै थियौँ । हामीमा टिमवर्क थियो । अहिलेजस्तो एकले अर्कालाई सकाउन लाग्दैनथ्यौँ । संगठनमा काम गर्दा हामीले एकले अर्कालाई भरपुर सहयोग गथ्र्यौँ । कठिन समयमा दुःख–सुखमा सँगै जेल बस्यौँ । सँगै मर्ने–बाँच्ने लडाइँ लड्यौँ । त्यसपछि अरू साथीहरू जोडिए । 


०१७ देखि ०२७ सम्मको जेलनेलको प्रशव वेदनापछि ०२७ वैशाख २६ मा नेविसंघको जन्म भयो । नेविसंघको पहिलो नेतृत्वका लागि मार्सलजुलुम शाक्य र म (विपिन कोइराला)बीच प्रतिस्पर्धा भयो । म पहिलो सभापति बनेँ । त्यसवेला तीनजनालाई केन्द्रीय कार्यसमिति सदस्यमा सभापतिले मनोनीत गर्न पाउँथ्यो । त्यसमध्येका रामचन्द्रजी, वसन्त गुरुङजी र मीनकुमार दाहालजीलाई मैले मनोनीत गरेको थिएँ । नेविसंघ बनेपछि ‘संक्रान्ति’ पत्रिका निकालियो त्यसको सम्पादक रामचन्द्रजी हुनुभयो, जुन नेविसंघको मुखपत्रको रूपमा अहिले पनि छ । रामचन्द्रजीमा त्यसवेलादेखि नै हातमुख र कलम पनि चलाउन सक्ने क्षमता थियो । संगठनमा पनि उहाँ त्यसरी नै सक्रिय रहनुहुन्थ्यो । ०१७ को अँध्यारो दिनमा कांग्रेसी भएको मान्छे हो रामचन्द्रजी ।


रामचन्द्र, देउवा र मेरो त्यसवेला तँ–तँ र म–मको सम्बन्ध हो । अहिले त ६ दशकभन्दा लामो संगत भइसक्यो । साधारण जीवन बिताउन खोज्ने, धेरै हाइफाई गर्न नखोज्ने रामचन्द्रजीको स्वभाव सुरुदेखि कै हो । त्यसवेला पाँच–सातजनाको नेविसंघको कोरटिम वर्क थियो । मुख्य रूपमा नेविसंघ सञ्चालन गर्नेमा म, रामचन्द्रजी, महामन्त्री टीका पोखरेलजी, मच्छिन्द्र पाठकजी, राम उपाध्यायजीको टिमवर्क थियो । युवा जोश–जाँगर सबैमा थियो । आइडिया निकाल्नुपर्‍यो भने सामूहिक छलफल गथ्र्यौँ । टिममा हामी सबै सीधासाधा राजनीति गर्नेमा थियौँ । देउवाजी अलि यताउता गर्न सक्नेमा हुनुहुन्थ्यो ।

 

देउवाजी पाँचपटक प्रधानमन्त्री बनेर ६ चोटिको लाइनमा हुनुहुन्छ । रामचन्द्रजीको प्रधानमन्त्री बन्ने रहर थियो त्यो नभए पनि जीवनको उत्तरार्धमा मुलुकको राष्ट्रपति बन्नुभयो । पार्टीमा समकालीनहरूबीच प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर, देउवाजीले यसपालि बढो उदारताका साथ रामचन्द्रजीको उद्धार गरिदिनुभयो । रामचन्द्रजी अहिले पार्टीमा भएका मान्छेमा पुरानोमध्येकै एक हुनुहुन्छ । राष्ट्रपतिमा उम्मेदवार बन्दा कांग्रेसभित्र र अरू दललाई हेर्दा सक्षम मानिस, समग्र पार्टीको र सिनियर मान्छे रामचन्द्रजी नै हुनुहुन्थ्यो । 


आन्दोलनका क्रममा हामी भद्रगोल जेल, सेन्ट्रल जेलमा सँगसँगै बस्यौँ । रामचन्द्रजी त अझ धेरै समय जेलमा बस्नुभयो । राजाको सक्रिय कदममा महाराजगन्जको पुलिस क्लबमा दिनभर लगेर राख्थ्यो, बेलुका छाड्थ्यो । रामचन्द्रजी पोखरा र बागलुङको जेलमा पनि बस्नुभयो । म मलंगवा, जलेश्वरमा बसेँ । विद्यार्थी आन्दोलन हुँदा हामीले भाग नलिए पनि हामीलाई वारेन्ट हुन्थ्यो । पाँच–सातजना राज्यको तारो नै भएका थियौँ । 


विपीले नेविसंघ चुनावअघि बनारसबाट सर्वसम्मत हुनु भनेर खबर पठाउनुभएको थियो । मैले मार्सललाई नछाड्ने, मार्सलले मलाई नछाड्ने । विपीको सन्देशको सम्मान गर्न पनि मैले रामचन्द्रजीलाई सभापति छाड्नुस् भनेँ । तर, मार्सलले मान्नुभएन, र चुनावको अवस्था आयो । म, रामचन्द्रजी, मार्सलजी र ऋषिकेश गौतमजीले बनारसबाट आएको निर्णय मान्छौँ भनेर तमसुक गर्‍यौँ । जसको पक्षमा निर्णय हुन्छ हामी त्यसलाई मान्छौँ भन्यौँ । पछि देशभरिका डेलिगेट्सबाट मेरै पक्षमा सभापतिमा मत आयो । त्यसवेला रामचन्द्रजीसहित सबैको साथले म सभापति बनेँ । 

आन्दोलनका क्रममा हामी भद्रगोल जेल, सेन्ट्रल जेलमा सँगसँगै बस्यौँ । रामचन्द्रजी त अझ धेरै समय जेलमा बस्नुभयो । उहाँ पोखरा र बागलुङको जेलमा पनि बस्नुभयो । राजाको सक्रिय कदममा महाराजगन्जको पुलिस क्लबमा दिनभर लगेर राख्थ्यो, बेलुका छाड्थ्यो । 


पहिला हामी कांग्रेस भइसकेपछि र जेलनेल बसेर आएपछि नेविसंघमा आबद्ध भयौँ । नेतृत्व तहले हामीलाई चलाउन सक्दैनथ्यो । नेताहरू जेल र निर्वासनमा बसेको समयमा पनि कांग्रेसको इज्जत राखेका थियौँ । म जेलमा हुँदासमेत अधिवेशन गराएका थिए । तर, नेविसंघ जन्माएका नेता नै नेतृत्वमा रहँदा पछिल्लो समय सम्मेलन हुन छाड्यो । नेताहरूलाई अहिले नेविसंघको मान्छे मात्रै भएर पुगेन, आफ्नै मान्छे चाहिएको छ । त्यसैले अहिले नेविसंघ लथालिंग अवस्थामा छ । 


०००
उहाँसँगको ६ दशक लामो संगतमा केही बिर्सन नसकिने समय पनि छन् । एकपटक मेरो छोरीलाई टाइफाइड भयो । अनामनगरको डेरामा बस्थ्यौँ हामी । रामचन्द्रजी मन्त्री हुनुहुन्थ्यो । छोरीलाई कहिले बोकेर कहिले डोहो¥याएर हिँडिरहेका थिएँ । त्यसैवेला मन्त्रीको सवारी भयो । उहाँले सवारीका क्रममा देखेपछि कहाँ जान लागेको भन्नुभयो, तर अस्पतालसम्म पु¥याइदिन्छु भन्नुभएन । उहाँको स्वभाव अलि लोकप्रियतावादी पनि हो । सबैले सहयोग गरिदियोस् भन्ने । तर, उहाँलाई सहयोग गरिदिएपछि अरूलाई उहाँले फर्केर हेरेको इतिहास त्यति छैन । समग्रमा हाम्रो काइदाको सम्बन्ध छ । 


मैले थाहा पाउँदा उहाँ लैनचौरमा डेरा गरेर बस्नुहुन्थ्यो । विद्यार्थी आन्दोलका क्रममा उहाँ मकहाँ आउने र म पनि उहाँकोमा गएर खाना खाने गथ्र्यौँ । रामचन्द्रजी, शेरबहादुरजी, चिरञ्जीवी वाग्लेजीलगायतले संगठन बनाउने क्रममा धेरैपटक अनामनगरको डेरामा बनेको मीठोमसिनो बाँडेर खाएका थियौँ । त्यसवेला रामचन्द्रजीको विवाह भइसकेको थियो ।


जेलमा बस्दा ठट्टैठट्टामा यस्तो घटना पनि भएको थियो । एकपटक भद्रगोल जेलमा थियौँ हामी । त्यहाँ बमकाण्डको प्रसंगमा परशुनारायण चौधरी, अच्युतराज रेग्मी पक्राउ परेका थिए । सिके प्रसाईं पनि सँगै हुनुहुन्थ्यो । प्रसाईंको सालीले स्विटर बनाएर भिनाजुलाई लगिदिनुभएकोरहेछ । ‘ओहो यति राम्रो स्विटर रहेछ, झन् स्विटर ल्याउने मान्छे कति राम्री होला ?,’ भनेर रामचन्द्रजीले जिस्क्याउनु भएको थियो । संयोगले उनको अनुहारमा छ्याका परेकोरहेछ । रामचन्द्रजीले त्यसो भनेपछि सिकेले त्यो स्विटर कहिल्यै लगाएनन् । पछि परशुनारायणले त्यो स्विटर किनेर लगाए ।

 

 (नेविसंघका संस्थापक सभापति  विपिन कोइरालासँग केशवप्रसाद पाण्डेले गरेको कुराकानीमा आधारित)