• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
प्रेम गाैतम
२०७९ चैत ४ शनिबार ११:०४:००
रिपाेर्ट

ओलीका दुई सारथि : कहिले बोलचाल बन्द, कहिले सुमधुर सम्बन्ध

२०७९ चैत ४ शनिबार ११:०४:००
प्रेम गाैतम

 

सम्बन्ध खटपट हुने एउटै कारण हो– पार्टी अध्यक्ष ओलीको विश्वासपात्र को बन्ने ?

 

०५४ सालमा देशभरका करिब चार हजार गाविस अध्यक्षमध्ये कान्छो अध्यक्ष महेश बस्नेत चर्चाको शिखरमा थिए । संयोगले मात्रै उनी त्यतिवेला गाविस अध्यक्ष बनेका थिए । तत्कालीन निर्वाचन ऐनअनुसार उम्मेदवार हुन २५ वर्ष पुग्नुपर्थ्यो । ०५४ जेठमा स्थानीय निर्वाचन हुँदा महेश २२ वर्षमा टेक्दै थिए । त्यहीकारण एमालेले ०४९ मा अध्यक्षमा पराजित भएका ईश्वर थापालाई नै अध्यक्षको उम्मेदवार बनायो । तत्कालीन अवस्थामा गुन्डु गाविसमा एमाले तेस्रो शक्ति थियो । एमालेको गाउँ कमिटी सचिव महेश सामाजिक काममा सक्रिय थिए । मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम कार्यान्वयन संयन्त्रमा रहेर उनी काम गर्दै थिए । कार्यक्रममार्फत तीन लाख बजेट परिचालन गर्नुपर्ने थियो ।

 

प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र गृहमन्त्री वामदेव गौतम भएको तत्कालीन सरकारले अध्यादेशमार्फत स्थानीय निकायमा उम्मेदवार हुन २१ वर्ष पुगे हुने व्यवस्था गरिदियो । त्यसपछि महेशमाथि अध्यक्ष उठ्नुपर्ने दबाब आयो । पार्टी तेस्रो पोजिसनमा भएकाले अध्यक्षको उम्मेदवारमा अघि सारिएका थापाले पनि सहजै स्विकारे । कमजोर धरातलमा उम्मेदवार बनेका महेश निर्वाचित हुँदै कान्छो गाविस अध्यक्षको रेकर्ड राखे । उनको चर्चा देशभर भयो ।

 

यता, काभ्रेको डेडिथुम्का माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि नै गोकुल बाँस्कोटा राजनीतिमा सक्रिय थिए । जनपक्षीय उम्मेदवारलाई जिताउने अभियानमा उनी अग्रपंक्तिमा खटिएका थिए । ०३७ सालदेखि उनी निरन्तर राजनीतिक अभियानमा थिए । ०४६ सालको जनआन्दोलनमा गोकुलले काभ्रेबाट विद्यार्थी आन्दोलनको अगुवाइ गरेका थिए । गोकुलले राजनीति सँगसँगै पत्रकारितालाई अघि बढाएका थिए । ०४८ सालमै उनी एमालेको जिल्ला कमिटीमा थिए । मिसन पत्रकारिता गरेकाले पार्टी नेताहरूबीच उनी परिचित थिए । जिल्लाको राजनीतिमा पनि उनी पकड बनाउँदै थिए । त्यही क्रममा युवा संघका तत्कालीन केन्द्रीय सदस्य हरिदेव गिरीले गोकुल र महेशको पहिलो औपचारिक भेट ०५५ सालमा गराएका थिए । बागबजारको एक होटेलमा गोकुल र महेशबीच पहिलो भलाकुसारी भएको थियो । महेश र हरिदेव एकै समयमा युवा संघको केन्द्रीय सदस्य भएका थिए । हरिदेव गोकुलसँग पनि नजिक थिए । त्यसपछि गोकुल र महेशबीच वेलावेला भेट भइरह्यो ।

 

महेश बस्नेत भन्छन् – उहाँ सञ्चारमन्त्री भएपछि मेरो पनि विभिन्न मन्त्रालयमा चर्चा आइरह्यो । त्यसैले उहाँले मलाई प्रतिस्पर्धी ठान्नुभयो कि जस्तो लाग्छ । त्योभन्दा अघि हाम्रो राम्रो मित्रता थियो । उहाँ सरकारमा भइन्जेल खटपट भइरह्यो, अहिले फेरि सम्बन्ध राम्रै छ ।

 

...अनि घनिष्ठ सम्बन्ध
गोकुल काभ्रे जिल्ला कमिटी अध्यक्ष थिए । माओवादी शान्तिपूर्ण राजनीतिमा आए पनि काभ्रेमा एमाले नेता तथा कार्यकर्तामाथि धाबा बोलिरहेको थियो । एमाले पार्टी कार्यालयमै आक्रमण गर्ने ढंगले माओवादी अघि बढेको थियो । माओवादीको ‘आतंक रोक्न’ भन्दै एमालेले युथफोर्स बनायो । त्यसको प्रमुख महेश थिए । पार्टी कार्यालय र कार्यकर्तामाथिको माओवादी प्रहार रोक्न गोकुलले महेशको सहयोग लिए । माओवादीको योजना कसरी विफल पार्ने र नेता तथा कार्यकर्ताको सुरक्षा कसरी गर्ने भन्ने रणनीति तय गरेर गोकुल र महेश फिल्डमा खटिएका थिए । त्यही वेलादेखि गोकुल र महेशको सम्बन्ध घनिष्ठ बनेको हो । काभ्रेमा हुने हरेक कार्यक्रममा महेशलाई निम्तो हुन्थ्यो । महेश पनि भ्याएसम्म प्रायः सबै कार्यक्रममा पुग्थे । ‘उहाँ पार्टीको काभ्रे जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । ०६२/६३ को आन्दोलन पछाडि माओवादीले एमालेका नेता तथा कार्यकर्तामाथि काभ्रेमा आक्रमण गरेको थियो । पार्टी कार्यालयमै आक्रमण गर्ने ढंगले माओवादी लागेपछि हामी मिलेर परास्त गरेका थियौँ । माओवादीको दादागिरी तोड्ने काम हाम्रै प्लानमा सफल भएको थियो । त्यो वेला हाम्रो सम्बन्ध निकै राम्रो थियो,’ महेश सम्झन्छन् । 

 

समान स्वभाव
लगाव, खटाइ र जुझारुपनमा गोकुल र महेशको समानता छ । दुवैको स्वभाव निडर र हक्की छ । जननेता मदन भण्डारीले ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भनेका थिए । यो भनाइ उनीहरूको जीवनमा लागू हुन्छ । हरेक राजनीतिक गतिविधिमा दुवै नेता सक्रिय हुन्छन् । प्रतिस्पर्धीसँग पनि कहिल्यै डराउँदैनन् । भित्तेलेखन, नाराजुलुस, भण्डाफोरजस्ता कार्यक्रममा दुवै नेता अग्रस्थानमा उभिन्छन् । 

 

पार्टी अध्यक्ष केपी ओलीको रणनीति तयार पार्न दुवै नेता एक ठाउँमा हुन्छन् । ओलीमाथि आइपर्ने हरेक कठिन पस्थितिमा दुवै नेता उभिँदै आएका छन् । दुवै नेता विपक्षीमाथि कडा रूपमा प्रस्तुत हुन्छन् । सार्वजनिक रूपमै आलोचना हुँदासमेत उनीहरू रत्तिभर पछि हट्दैनन् । 

 

गोकुलले युवा संघ र महेशले अनेरास्ववियुको राजनीतिमा थोरै समय बिताए । गोकुल काभ्रेको एमाले राजनीतिमा सर्वस्वीकार्य बनेका छन् भने महेश भक्तपुर र युवा संघको राजनीतिमा । बागमती प्रदेशबाट एमालेको नेतृत्व स्थापित हुनुपर्छ भन्ने दुवैको मान्यता छ । त्यो स्थान आफूले लिन सक्ने र एकअर्को त्यसमा बाधक बन्न सक्ने ठम्याइ उनीहरूको थियो । त्यहीकारण केही समय महेश र गोकुलबीच बोलचालसमेत बन्द भएको निकट नेताहरू बताउँछन् । 

 

ओलीका दुई सारथि

 

 

२०६५ फागुनमा बुटवलमा भएको आठौँ महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका ओलीलाई एकपटक पार्टी अध्यक्ष बन्ने इच्छा थियो । तर, उनलाई स्वास्थ्यले साथ दिएको थिएन । निकटहरूसँग ओलीले ‘एकपटक अध्यक्ष बन्न पाए हुन्थ्यो’ भन्ने गर्थे । नवौँ महाधिवेशन नजिकिँदै गर्दा तत्कालीन अध्यक्ष खनालले पुनः अध्यक्षको प्रतिस्पर्धामा नरहेको घोषणा गरे । गोकुल पार्टी राजनीति र महेश युवा संघको राजनीतिमा प्रभाव बढाउँदै थिए । गोकुल र महेशले जसरी भए पनि ओलीलाई पार्टी अध्यक्ष बनाएरै छाड्ने उद्घोष गरे । 

 

महेशले ‘ओलीलाई ह्विलचियरमा राखेर भए पनि पार्टी अध्यक्ष बनाइन्छ’ भन्दै देशव्यापी अभियान सुरु गरे । त्यो अभियानको रणनीति तयार पार्नेमा गोकुल पनि थिए । जतिवेला ओली स्वास्थ्यका कारण देशव्यापी अभियानमा हिँड्न सक्ने अवस्थामा थिएनन् । ओलीको स्वास्थ्यलाई लिएर नकारात्मक प्रचार भइरहेको थियो । गोकुल र महेशहरूकै अभियानबाट १९ असार–१ साउन २०७१ मा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भए । तर, ओलीका लागि माहोल बनाउने गोकुल र महेश दुवै केन्द्रीय सदस्यमा पराजित भए । पार्टी र संसदीय निर्वाचनमा पराजित भए पनि महेशलाई ओलीले सुशील कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनाए । २०६४ सालको निर्वाचनमा तत्कालीन बागमती अञ्चलमा एमालेको ‘बिउ’ जोगाउने कृष्णप्रसाद सापकोटालाई पन्छाएर गोकुलले ओलीकै बलमा ०७० सालको निर्वाचनमा सांसदको टिकट लिए । जबकि, पार्टीले अघिल्लो निर्वाचनमा निर्वाचित र निकटतम प्रतिद्वन्द्वीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

 

समान दाबी, समान जिम्मेवारी
एमाले र माओवादी एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गोकुल र महेश दुवै केन्द्रीय सदस्यमा मनोनीत भए । केन्द्रीय सदस्य बन्नुअघि गोकुल ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए । केन्द्रीय सदस्य भएपछि गोकुलको मन्त्रीमा बढुवा भयो । गोकुल सरकारभित्रबाट र महेश सरकारबाहिरबाट ओलीको प्रतिरक्षाको खम्बा भएर उभिएका थिए । त्यो क्रममा ओलीको खास विश्वासपात्र को भन्नेमा दुई नेताबीच प्रतिस्पर्धा सुरु भयो । अविश्वास यतिसम्म बढ्यो कि यसले दुवैलाई नोक्सानी मात्रै भयो । १०–१४ मंसिर २०७८ को १०औँ महाधिवेशनमा गोकुल र महेश दुवैले पदाधिकारीमा दाबी गरेका थिए । तर, ओलीले तयार पारेको उम्मेदवारको सूचीमा दुवैको नाम पदाधिकारीमा हटाएन । निर्वाचन भएको भए पदाधिकारीमा सहजै जित्ने दुवैको दाबी थियो । ओलीले निकालेको सूचीअनुसार दुवै केन्द्रीय सदस्यको उम्मेदवार बने । दुवैले जिते । त्यसपछि दुवैको दाबी स्थायी कमिटी सदस्यमा रह्यो । सुरुमा दुवैले पार्टी नेतृत्वबाट आश्वासन पनि पाए । तर, बैठकमा प्रस्ताव हुँदा दुवैको नाम अटाएन । हाल दुवै एमाले पोलिटब्युरो सदस्य छन् । स्थायी कमिटीपछिको पोलिटब्युरोको वरीयतामा गोकुल छैटौँ र महेश सातौँ नम्बरमा छन् । दुवैले सांसद र मन्त्रीको अनुभव पनि सम्हालेका छन् । 

 

दुवै एउटै धारका नेता । दुवैको प्रदेश बागमती । प्रदेशमा को बढी प्रभावशाली हुने भन्ने स्वाभाविक प्रतिस्पर्धा हुने नै भयो । त्यसमाथि सीमा जोडिएको जिल्ला । बागमतीमा चुनावी परिणाम पनि एमालेको पक्षमा आएन । त्यसमा पनि दुई नेताको चिसिएको सम्बन्धको रूपमा नेता–कार्यकर्ताले अथ्र्याउन थाले । दुई नेताको अन्तरविरोधका कारण परिणाममा असर परेको आरोप लाग्न थाल्यो । गोकुल र महेशको सम्बन्धबारे पार्टीभित्र गाइँगुइँ हल्ला फैलिँदै गयो । 

 

गोकुल बास्कोटा भन्छन् – हामी एउटै कमिटीमा छौँ । एउटै आन्दोलनमा छौँ । हामीबीच वेलावेलामा भेटघाट भइरहन्छ, हाम्रो सम्बन्धबारे  तपाईंलाई जसले जे सुनायो, त्यो गलत हो ।

 

पार्टीमा पकड र मूल नेतृत्वको विश्वास हुँदाहुँदै पनि पार्टी राजनीतिमा पछि परेको निष्कर्षका साथ गोकुल र महेश संवादमा जुटे । र, निष्कर्ष निकाले– हामीलाई लडाउने र दुवैलाई माइनस गरेर अरूले फाइदा लिए । अविश्वासले दुवैलाई हानि गर्‍यो । सन्तुलन मिलाउनुपर्ने बाध्यतामा नेतृत्व पर्‍यो । त्यसपछि दुई नेताबीच अहिले सम्बन्ध सुधार भएको छ । फेरि अन्तरंग कुराकानी हुन थालेको छ । 

 

विकास–निर्माणमा प्रतिस्पर्धा
विकास निर्माणमा दुवै नेता अगाडि मानिन्छन् । कसले आफ्नो क्षेत्रमा बजेट बढी लग्यो भन्ने प्रतिस्पर्धा नै चलेको थियो । आफ्नो क्षेत्रमा विकासे योजना र बजेट कसले बढी लाने भन्ने होडमा केही समय अवस्थ प्रतिस्पर्धासमेत चल्यो । खानेपानी, विद्युत्, सडक सञ्जाल दुवै नेताको प्राथमिकतामा पर्छन् । गोकुल सांसद र मन्त्री हुँदा काभ्रेमा इतिहासमै धेरै बजेट आएको नेताहरू बताउँछन् । उनले चुनावी एजेन्डा नै विकास–निर्माणलाई बनाएका थिए । यसपटक संघीय निर्वाचनमा गोकुल विजयी भए भने महेश पराजित । काभ्रेमा गोकुल र भक्तपुरमा महेशको नेतृत्वमा विकास–निर्माणका थुप्रै काम भएका छन् ।

 

गोकुलले प्रतिनिधित्व गर्ने काभ्रे र महेशले प्रतिनिधित्व गर्ने भक्तपुर छिमेकी जिल्ला हुन् । त्यहाँमाथि गोकुलले भक्तपुरको मनोहरामा घर बनाएका छन् । सूर्यविनायक–धुलिखेल सडक विस्तारको क्रममा यी दुईले ठूलो जोडबल गरेका थिए । राजनीतिकका साथै विकास निर्माणको सन्दर्भमा पनि दुई नेताबीच पटक–पटक छलफल भएको छ । ‘मनोहरा (गोकुलको घर)मा पनि दुई नेताबीच वेलावेलामा छलफल हुन्छ । राजनीतिका साथै विकास–निर्माण आदिमा मिलेर जाने कुरा हुन्छ । मनोहराको पानी ट्यांकी बनाउँदै गर्दा केही वर्षअघि भूक्षय भएको थियो । त्यो समस्या समाधानमा पनि दुई नेताको संयुक्त पहल थियो ।’ गोकुलनिकट एक नेताले भने । गोकुलको घर भएको मनोहरा बस्ती प्लानिङभित्र छ । प्लानिङको बाटोमा सरकारी बजेट नहाल्ने भन्ने थियो । तर, यी दुवै नेताको पहलमा प्लानिङको जग्गामा पनि सरकारी बजेट परेको थियो । त्यही कारण मनोहरा बस्तीका सडक चिल्ला छन् । 

 

कोर टिम तितरबितर
कुनै वेला गोकुल, महेश, कर्ण थापा र दामोदर अर्यालहरूको कोर टिम थियो । यो टिमले रणनीतिक योजनासमेत तयार पाथ्र्यो । त्यसको कार्यान्वयन पक्षबारे पनि यो टिममा छलफल हुन्थ्यो र एकताबद्ध भएर कार्यान्वयन हुन्थ्यो । मदन भण्डारी फाउन्डेसनमा बसेर उनीहरूले धेरै योजना बनाएका छन् । पार्टीभित्र विचार समूहलाई बलियो बनाउनकै निम्ति फाउन्डेसन बनाइएको नेताहरूको बुझाइ छ । फाउन्डेसनमा बसेर उनीहरूले पटक–पटक रणनीति बनाएका छन् । 

 

त्यो कोर टिम अहिले तितरबितर छ । गोकुल, महेश र कर्ण एमालेमै छन् । तर, पहिलाको जस्तो कोर टिम छैन । कोर टिममा सल्लाह गर्दै रणनीति बनाउने र कार्यान्वयनमा उत्रने हुँदैन । दामोदर भने पार्टी विभाजित भएपछि एकीकृत समाजवादीमा लागेका छन् । ‘उहाँहरूबीच राम्रो सम्बन्ध थियो । तर, पछि खटपट आयो । व्यक्तिगत रूपमा दुस्मनी छैन । आत्मीयता पनि छैन, औपचारिक सम्बन्ध छ । बीचमा केही समय भने बोलचाल नै थिएन,’ अर्याल सम्झन्छन् । थापाले भने यस विषयमा कुरा गर्नै चाहेनन् । ‘यो विषयमा के कुरा गर्नु र ? केही दिनअघि वार्ता भयो रे भन्ने सुनेको छु ।’ गोकुलसँगको सम्बन्धमा बीचमा केही खटपट आएको महेश स्विकार्छन् । ‘उहाँ सञ्चारमन्त्री भएपछि मेरो पनि विभिन्न मन्त्रालयमा चर्चा आइरह्यो । त्यसैले उहाँले मलाई प्रतिस्पर्धी ठान्नुभयो कि जस्तो लाग्छ । त्योभन्दा अघि हाम्रो राम्रो मित्रता थियो । उहाँ सरकारमा भइन्जेल खटपट भइरह्यो, अहिले फेरि हाम्रो सम्बन्ध राम्रै छ,’ महेश भन्छन् । 

 

गोकुल भने बाहिर आएजस्तो विवाद र मनमुटाव नभएको दाबी गर्छन् । भन्छन्, ‘हामी एउटै कमिटीमा छौँ । एउटै आन्दोलनमा छौँ । हामीबीच वेलावेलामा भेटघाट भइरहन्छ, हाम्रो सम्बन्धको बारेमा तपाईंलाई जसले जे सुनायो, त्यो गलत हो ।’

 

दुवैलाई नजिकबाट चिनेका युवा संघका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामाका अनुसार गोकुल र महेशका धेरै कुरा मिल्छन् । व्यक्तित्वकै कारण कहिलेकाहीँ समस्या आउने गरेको छ । ‘दुई सिंह एउटै जंगलमा भएपछि के हुन्छ ? उहाँहरूबीच भएको त्यही हो ।’ बागमती प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका लामा स्मरण गर्छन्, ‘उहाँहरूबीच कहिले दूरी बढ्छ, कहिले मिल्नुुहुन्छ ।’

 

कुनै वेला गोकुल, महेश, कर्ण थापा र दामोदर अर्यालहरूको कोर टिम थियो । यो टिमले रणनीतिक योजनासमेत तयार पाथ्र्यो । त्यसको कार्यान्वयन पक्षबारे पनि यो टिममा छलफल हुन्थ्यो र एकताबद्ध भएर कार्यान्वयन हुन्थ्यो । मदन भण्डारी फाउन्डेसनमा बसेर उनीहरूले धेरै योजना बनाएका छन् ।

 

गोकुल बालकोट बसेपछि खटपट
प्रधानमन्त्री बनेपछि ओली सरकारी निवास बालुवाटार सरे । ओली सरकारमै मन्त्री बनेका गोकुल भने ओलीनिवास बालकोट पुगे । बालकोटमा बसेर गोकुलले ओलीको खास विश्वास पात्रको रूपमा आफूलाई उभ्याएका थिए । महेश भक्तपुर–२ को निर्वाचित सांसद । ओलीनिवास बालकोट यही क्षेत्रमा पर्छ । खास ओलीको उत्तराधिकारीकै रूपमा महेशले पनि आफूलाई अघि बढाइरहेका थिए । त्यसबीचमा ओलीको विश्वास कसले बढी जित्ने भन्ने हिसाबले दुई नेताबीच दूरी बढेको जानकारहरू बताउँछन् । ‘गोकुल दाइ मन्त्री भएपछि महेश दाइसँग अलि बढी खटपट भयो । मुख्यत, अध्यक्षको विश्वास कसले जित्ने भन्ने नै हो । बजेट कसले बढी आफ्नो क्षेत्रमा पार्ने भन्ने विषयमा पनि दुई नेताबीच प्रतिस्पर्धा चल्यो ।’ दुवैलाई नजिकबाट बुझेका एक नेताले भने । त्यतिवेला गोकुल र महेशबीच बोलचाल नै बन्द भएको स्रोतको दाबी छ ।

 

अन्तरंग कुराकानी 
राजनीतिबाहेक अरू विविध विषयमा पनि गोकुल र महेशबीच अन्तरंग कुराकानी हुन्छ । दलीय समीकरण बनाउने, भत्काउने आदि इत्यादि कुरामा दुई नेताबीच छलफल चलिरहन्छ । गोप्य रणनीतिअनुसार नै जसपाका तत्कालीन सांसद डा. सुरेन्द्र यादवलाई लिन महेशसहित सर्वेन्द्र खनाल र किसन श्रेष्ठ जनकपुर पुगेका थिए । जुन ‘सांसद अपहरण काण्ड’को रूपमा चर्चित भयो । डा. यादवलाई जनकपुरबाट राजधानी ल्याउने जिम्मा महेशको थियो भने राजधानीमा व्यवस्थापन गर्ने जिम्मा गोकुलसहित खगराज अधिकारीहरूको थियो । तर, त्यो योजना सफल भएन । तत्कालीन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टी विभाजनसम्बन्धी अध्यादेश नै फिर्ता लिने स्थिति बन्यो । 

 

‘राजनीतिक, विकास–निर्माण र अरू विषयमा पनि छलफल हुन्छ’ गोकुलनिकट एक नेताले भने, ‘बीचमा केही समस्याजस्तो थियो । अहिले फेरि सम्बन्ध सुधार भएको छ । उहाँ (महेश) वेलावेलामा मनोहरा छिर्ने गर्नुहुन्छ । बाहिर पनि भेट हुन्छ ।’

 

गत प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि महेशकै सक्रियतामा भक्तपुर नगर उद्योग वाणिज्य संघको तर्फबाट गोकुललाई सम्मान गरिएको थियो । ‘काभ्रेमा युवा संघको व्यापक गतिविधि हुने भयो । म काभ्रेको कार्यक्रममा अलि बढी गएको छु, भक्तपुरको कार्यक्रममा उहाँ अलि कम आउनुभएको छ । म उहाँको घर (मनोहरा)मा अलि बढी गएको छु, उहाँ मेरो घरमा अलि कम आउनुभएको छ,’ महेश सम्झिन्छन् । 

 

तर, दुवै नेता बोलचाल नै बन्द भएको स्विकार्दैनन् । केही नेताले दुई नेताबीच सम्बन्ध बिगार्न भूमिमा खेलेको चर्चा हुने गरेको छ । तर, अहिले दुवै नेताको सम्बन्ध सुधार हुँदै गएको छ । अन्तरंग कुराकानी पनि हुन थालेको छ । ‘पछिल्लो वेला दुवै नेता एकअर्काको एन्टी होइन रहेछ, हामीलाई फुटाएर अरूले फाइदा लिएका रहेछन् भन्नेमा पुग्नुभएको छ । बीचमा औपचारिक मात्रै कुराकानी हुन्थ्यो । अहिले भने अन्तरंग नै कुराकानी हुन थालेको छ,’ एक नेताले भने । 

 

गृहले चुलिएको विवाद
‘७० करोड घुस लिएको’ आरोप लागेपछि गोकुलले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि ओली र प्रचण्ड–नेपाल समूहको विवादले उग्र रूप लिएको वेला सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग–अलग पार्टी बनाइदिएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा माओवादीमा नफर्की एमालेमै बसेपछि माओवादीले सांसदबाट कारबाही गरेको थियो । गैरसांसदको रूपमा पुनः गृहमन्त्री नियुक्त भएका थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि गृहमन्त्री बन्ने सूचीमा महेश थिए । तर, अन्तिममा खगराज अधिकारी गृहमन्त्री बने । गोकुलसहित प्रधानमन्त्रीको सचिवालयमा रहेकाहरूले आफ्नो नाम अन्तिममा हटाइदिएको महेशको आरोप थियो । त्यसपछि गोकुल र महेशको विवाद चुलिएको नेताहरू बताउँछन् । 

 

अबको हिसाबकिताब
एउटै पार्टी, एउटै समूहमा रहेर मुख्य गरी केपी ओलीलाई स्थापित गराउन दुवै नेताले महत्वपूर्ण भूमिका खेलेका छन् । गोकुल र महेश ओलीका खास सारथि हुन् । ओलीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउन दुवैको महत्वपूर्ण भूमिका छ । उमेर हदका कारण ओलीले ११औँ महाधिवेशनबाट नेतृत्व छाड्दा कता उभिने भन्ने विषयमा गोकुल र महेशले निर्णय लिइसकेका छैनन् । तर, अन्तरकुन्तर छलफल भने सुरु भइसकेको छ । विधान संशोधन गरेर ओली नै अध्यक्षमा रहिरहे दुवैको साथ उनैलाई हुने निश्चित रहेको उनीहरूनिकट नेताहरू दाबी गर्छन् । 

 

ओलीले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा अघि सारे दुवै भण्डारीकै पक्षमा उभिने स्थिति छ । तर, ओली र भण्डारी अलग्गिने अवस्थामा भावी नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखेरल मैदानमा उत्रिनेछन् । त्यस्तो स्थितिमा गोकुल र महेशको कित्ता फरक पर्न सक्ने धेरैको आकलन छ । शंकरको पक्षमा गोकुल र विष्णुको पक्षमा महेश लाग्ने नेताहरू दाबी गर्छन् । अहिले पनि त्यो ढंगले संकेत मिलेको स्रोतको दाबी छ । तर, गोकुल र महेश दुवै यसको खण्डन गर्छन् । ‘त्यसरी राजनीति अगाडि बढेको छैन । हामी सिंगो एमाले हौँ । यहाँ पक्ष र विपक्ष भन्ने छैन,’ गोकुल दाबी गर्छन् । 

 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि शंकरसँग गोकुल चिढिएको बताइन्छ । गोकुलले चन्द्र लामालाई काभ्रे १ बाट प्रतिनिधिसभा सदस्य बनाउन चाहेका थिए । तर, शंकरलगायतले चन्द्रलाई टिकट नदिएको बुझाइ गोकुलको छ । चन्द्रले प्रतिनिधिसभामा टिकट पाएको भए जित्ने दाबी गोकुलले गर्दै आएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एमाले मोर्चा संगठनको एउटा कार्यक्रम काभ्रेमा थियो । त्यहाँ गोकुल उपस्थित भएनन् । काभ्रेमै भएको कार्यक्रममा खेकलुद महासंघको इन्चार्जसमेत रहेका गोकुल अनुपस्थित भएपछि धेरै चर्चा परिचर्चा भयो । जुन कार्यक्रममा ओली पनि सहभागी थिए । तर, गोकुल खेलकुद महासंघको कार्यक्रममा पूर्वमा रहेकाले मोर्चा संगठनको कार्यक्रममा सहभागी हुन नसकेको उनीनिकट नेताहरू दाबी गर्छन् । युवा संघको इन्चार्जको रूपमा महेश भने उक्त कार्यक्रममा उपस्थित थिए । कार्यक्रमस्थलबाटै गोकुललाई महेशले फोन गरेको उक्त कार्यक्रममा सहभागी एक नेताले बताए । ‘त्यसबाट पनि गोकुल र महेशको सम्बन्ध सुधार भएको बुझ्न सकिन्छ’ कार्यक्रममा सहभागी ती नेताले भने, ‘फोनमै गोकुलले केही गुनासो राख्नुभएको थियो ।’

 

महेश पनि ११औैँ महाधिवेशनको बहस सुरु भइनसकेको दाबी गर्छन् । ‘मेरो विष्णु र शंकर दुवै नेतासँग समान खालको सम्बन्ध छ । राजनीतिक मुभमेन्टमा शंकर पोखरेलले सधैँ सहयोग गर्नुभएको छ । भक्तपुरको विकास निर्माण आदि, इत्यादिमा विष्णु पौडेलले सहयोग गर्नुभएको छ । मैले दुवै नेतासँग रिलेसन मेन्टेन गरेको छु,’ महेश भन्छन् ।

 

यी दुवै नेताको राष्ट्रिय र पार्टीका मुद्दामा कुरा मिल्छ । ‘कतिपय राष्ट्रिय मुद्दामा, पार्टीको योजना बनाउने सवालमा पनि कुराकानी हुन्छ । संविधान संशोधन गरेर दुईदलीय व्यवस्थातिर जाने, पार्टीको केन्द्रीय कमिटी सानो बनाउने, प्रदेश कमिटीलाई खारेज गर्ने वा प्रभावकारी बनाउने, संघीयतामा पुनर्विचार गर्ने कुरामा दुई नेताबीच मतभेद छैन । धेरै कुरामा समानता छ,’ उनीहरूनिकट नेताहरू बताउँछन् ।