• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अनिल यादव
२०७९ चैत ४ शनिबार ०८:३५:००
इतिहास

सादगी जीवनशैलीका रामसहाय : विभेदको चोटपछि राजनीतिमा

२०७९ चैत ४ शनिबार ०८:३५:००
अनिल यादव

मधेस आन्दोलनको जगमा उदाएका जति पनि नेता छन्, तीमध्ये अधिकांशको राजनीति प्रवेश र उदय भोगेको विभेद र दमनबाट उत्प्रेरित छ । ५२ वर्षको उमेरमा गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादव पनि त्यस्तै एक उदाहरण हुन् । 

 

०४६ तिर यादव आफ्नो भतिजलाई प्रहरीमा भर्ना गराउन बस चढेर वीरगन्जबाट भरतपुर जाँदै थिए । टिकट लिएरै बस चढेका थिए । तर, बीचमै सहचालकले रुखो स्वरमा भने, ‘तपाईं उठ्नुस्, यो उहाँको सिट हो ।’ त्यसपछि सिटबाट उनी र उनको भतिजलाई उठाइयो । सहचालकले कोही पहाडी मूलका यात्रु त्यही सिटमा बसाए । 

 

विभेदको नमीठो घटनाले यादवको मनमा गहिरोसँग चोट पुर्‍यायो, जसले उनलाई विभेदविरुद्ध बोल्न र राजनीतिमा आउन झक्झकायो । ‘त्यसपछि मैले अति महसुस गरेँ,’ उपराष्ट्रपति निर्वाचित भएपछि नयाँ पत्रिकासँगको संवादमा यादवले ती दिन सम्झे, ‘मधेसी र उत्पीडित समुदायमाथिको असमानता, विभेद र अन्याय अन्त्यका लागि पनि केही योगदान हुनुपर्छ भन्ने महसुस भयो ।’

 

तर, कसरी ? त्यसवेला १९ वर्षका उनी अन्योलमा थिए । बारास्थित बसबरिया गाउँको सामान्य परिवारमा जन्मिएका उनी विभेद अन्त्यका लागि कुनै संघर्ष गर्ने संस्थाको खोजीमा थिए । त्यही क्रममा ०४७ तिर उनले नेपाल सद्भावना पार्टीको नाम सुने । तत्कालै पार्टी कार्यकर्ताका रूपमा सद्भावनासँग आबद्ध भए । तर, राजनीतिमै पूर्णकालीन सक्रियता भने देखाएनन् । 

 

०४८ तिर राजनीतिसँगै शिक्षण पेसामा होमिए । ०५५ तिर ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जबट बिएड (गणित) गरेका उनी त्यसपछि गाउँबाट कलैया सरे । त्यहीँ सानो झुपडी बनाए । अनि नजिकै रहेको पन्ना देवी कन्या माध्यमिक विद्यालयमा गणित र विज्ञान पढाउन थाले । त्यहीँ ट्युसन, कोचिङ पढाएरै तीन छोराछोरी हुर्काउन थाले ।

 

शिक्षण पेसासँगै उनी बिस्तारैमा राजनीतिमा सक्रिय हुन थाले । शिक्षण पेसामा आबद्ध भएको तीन वर्षपछि ०५० तिर उनी वीरगन्जमा आयोजित नेपाल सद्भावना पार्टीको तेस्रो महाधिवेशनमा पर्यवेक्षकका रूपमा सहभागी भए । विराटनगरमा आयोजित चौथो महाधिवेशनमा उनी प्रतिनिधि नै बने ।

 

उनको लगाव राजनीतितिर बढ्दै थियो । तर, राजनीतिक सक्रियताका कारण घर खर्च चलाउन मुस्किल पर्न थाल्यो । मुस्किलको सहारा बनिन्, उनकी पत्नी चम्पादेवी । जसले गाई र भैँसी पालेरै यादवको राजनीतिक जीवन कठिन हुन दिइनन् । अहिले पनि उनकी श्रीमती चम्पादेवी गाईभैँसी पालेर सोही गोठघरमै बस्दै आएकी छिन् । ‘मेरी श्रीमती अहिले पनि गाईभैँसी पाल्नमै रमाउँछिन् । म पनि उता हुँदा या पुग्दा त्यसमै रमाउँछु । किसान परिवारबाट भएकाले किसानी छाड्न नसकिने रहेछ,’ यादव भन्छन् । 

 

०६४ मा पहिलो संविधानसभामा मधेसी जनाधिकार फोरमका तर्फबाट समानुपातिक सदस्य नबन्दासम्म यादवले शिक्षण पेसा छाडेनन् । शिक्षालय र राजनीतिको गणित सँगसँगै अघि बढाए । ‘क्रान्तिकारी’ स्वभावका कारण गाउँमा उनी विद्यार्थी कालमै नेता भइसकेका थिए, तर मधेसकै नेताका रूपमा भने धेरै ढिलो चिनिए । साबिकको कर्चोवा गाउँमा रहँदा उनी सरस्वती नवयुवक क्लबको अध्यक्ष बनेपछि युवाहरूको नजरमा नेता बनिसकेका थिए । तर, सद्भावना पार्टीमा आबद्ध हुँदासम्म कुनै ठूलो जिम्मेवारीमा रहेनन् । 

 

गजेन्द्रनारायण सिंहकै प्रभावका कारण सद्भावना पार्टीमा होमिएका उनी ०५७ मा नागरिकता विधेयकलाई लिएर काठमाडौंमा भएको प्रदर्शनमा सहभागी भएर पक्राउसमेत परेका थिए । 

 

त्यस्तै, ०४७ को संविधानविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले गजेन्द्रनारायण सिंह, हृदेयश त्रिपाठी, रामेश्वर रायलगायत मधेसका नेतामाथि लाठी प्रहार नै गरेको थियो । त्यतिवेला पनि उनीहरूसँगै लाठी खाइरहेका थिए, रामसहाय । पक्राउपछि महेन्द्र पुलिस क्लबमा उनीहरूलाई सँगै राखिएको थियो । 

 

तर, सिंहको निधनपछि सद्भावना पार्टी पनि विभाजनको चरणमा पुग्यो । त्यतिवेला राजविराज महाधिवेशनका क्रममा पार्टी एकता कायम रहनुपर्छ भनेर सप्तरी सेवा आश्रममा आमरण अनशन बस्ने नेता थिए, रामसहाय । 

 

उनी आनन्दीदेवीको नेतृत्वमा पार्टी एकता हुनुपर्ने पक्षमा थिए । तर, बद्री मण्डलको समूहले मानेन । मण्डललाई नै अध्यक्ष बनाउन अड्डी कस्यो । त्यतिवेला मण्डल मन्त्री थिए, उनकै प्रभाव बलियो थियो । सद्भावना पार्टी दुई समूहमा विभाजित भयो, आनन्दीदेवी र मण्डल समूह । त्यसपछि आनन्दीदेवीले रामसहायलगायत नेताको अनशन तोड्न लगाइन् र आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरिन्– नेपाल सद्भावना पार्टी (आनन्दी) । 

 

०४६ तिर यादव आफ्नो भतिजलाई प्रहरीमा भर्ना गराउन बस चढेर वीरगन्जबाट भरतपुर जाँदै थिए । टिकट लिएरै बस चढेका थिए । तर, बीचमै सहचालकले रुखो स्वरमा भने, ‘तपाईं उठ्नुस्, यो उहाँको सिट हो ।’ त्यसपछि सिटबाट उनी र उनको भतिजलाई उठाइयो । सहचालकले कोही पहाडी मूलका यात्रु त्यही सिटमा बसाए । विभेदको नमीठो घटनाले यादवको मनमा गहिरोसँग चोट पुर्‍यायो, जसले उनलाई विभेदविरुद्ध बोल्न र राजनीतिमा आउन झक्झकायो । 

 

यो वेलासम्म रामसहायको उपेन्द्र यादवसँग भेट भएको थिए । उपेन्द्र भूमिगत रूपमा मधेस आन्दोलनमा सक्रिय थिए । राजविराज महाधिवेशनपछि उनीहरूको भेट जुर्‍यो । सद्भावना फुटेको चोटमा रहेका उनी उपेन्द्रको मधेसी जनअधिकार फोरममा आबद्ध भए । उपेन्द्र मधेसको अधिकार र पहिचानका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेका थिए । रामसहाय त्यसमा साथ दिन तयार भए ।

 

सुरुवाती दिनमा कलैयास्थित घरछेउमा रहेका रितेश आचार्यको टेलिफोनबाटै उनीहरूबीच संगठन विस्तारबारे कुराकानी भएको उनले अझै बिर्सिएका छैनन् । द्वन्द्वकालमा उपेन्द्र भारतमा रहेर भूमिगत राजनीति गर्दै थिए । त्यतिवेला फोन सम्पर्कबाटै रामसहायसँग उनको सम्बन्ध झाँगिएको थियो । 

 

०६० मा मधेसी जनअधिकार फोरमको बारा अध्यक्ष हुँदै उनी पटना बैठकबाट केन्द्रीय सदस्य बने । त्यसपछि ०६२/६३ जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी ६ पटक गिरफ्तार भए । बारा, पर्सा, रौतहट र कैलालीमा मधेस आन्दोलनको नेतृत्व गर्ने क्रममा उनी पटक–पटक पक्राउ परे । 

 

०६४ मा जब मधेसी जनअधिकार फोरम नेपाल निर्वाचन आयोगमा पार्टीको रूपमा दर्ता भयो, त्यसपछि उनी त्यसको पनि केन्द्रीय सदस्य भए । लगत्तै समानुपातिक सांसद पनि । उपेन्द्रको मन जित्दै गएका उनले ०६५ मा पार्टीको महासचिवको जिम्मेवारी नै सुम्पिए । ०७२ मा फोरम र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर संघीय समाजवादी फोरम बन्दा पनि उनी महासचिव नै रहे । 

 

सबै चरणका मधेस आन्दोलनमा उनको सक्रिय सहभागिता रह्यो । ०७२ को मधेस आन्दोलनमा निषेधाज्ञा तोड्ने क्रममा प्रहरीको लाठीबाट उनी घाइतेसमेत भए । त्यसपछि ०७४ को निर्वाचनमा बारा २ बाट उनी प्रत्यक्ष निर्वाचित सांसद बने । ०७५ मा फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएर समाजवादी पार्टी गठन हुँदा पनि उनी महासचिव नै रहे । तर, समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेपछि भने उनको पद घटुवा भयो । उनी पार्टीको कार्यकारिणी सदस्य मात्रै रहे । 

 

०७८ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकार रहँदा उनी वन तथा वातावरणमन्त्रीसमेत बने । त्यसपछि गत निर्वाचनमा बारा २ बाट सांसद निर्वाचित भएका उनी एक महिनाअघि मात्र सर्वसम्मत संसदीय दलको नेता चुनिए । यसमा सप्तरी २ बाट पराजित अध्यक्ष उपेन्द्रकै भूमिका थियो । जब कि उनीभन्दा वरिष्ठ पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको समेत यसमा चाहना थियो । तर, रामसहायलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत उनको निर्वाचन क्षेत्रबाट सांसद बन्ने र त्यसपछि आफू नै दलको नेता बन्ने उपेन्द्रको ‘मिसन’का कारण उनले राईलाई रोकेरै छाडे । 

 

यादवको उपनिर्वाचनमार्फत संसद् छिर्ने चाहनालाई सप्तरी २ का मतदाताको म्यान्डेटको अवमूल्यन ठान्ने मधेस मामिलाका जानकार चन्द्रकिशोर तीनवटा ‘स’ विशेषताका कारण रामसहायले उपराष्ट्रपतिको यात्रा तय गर्न सफल भएको बताउँछन् । त्यो हो– सादगीपन, सिद्धान्तनिष्ठ र सामाञ्जस्य । ‘उहाँ सादगीमा रमाउने नेता हो,’ विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘दोस्रो, लोकतन्त्रलाई उन्नत बनाउने सवालमा मधेसको कोणबाट समर्पित सिद्धान्तनिष्ठ नेता हुन् । तेस्रो, नेतृत्वप्रति सामाञ्जस्य स्थापित गरेर बसेका नेता हुन् । उपेन्द्र यादवको नेतृत्वलाई अँगालेपछि उहाँको पार्टीको नाम त फेरिँदै गयो, तर कार्यकर्तामाझ उहाँ आकर्षण र आदर व्यक्तित्वका रूपमा रहनुभयो । यी तीन ‘स’ नै उहाँको करिअरको उज्ज्वल पक्ष रह्यो ।’ 

 

१५ वर्षदेखि शंखमूलको डेरामा दुई छोरा र छोरीसँग सादगी जीवन बिताउँदै आएका यादव अब उपराष्ट्रपति भवन हरितगृहभित्र छिर्दै छन् । उपराष्ट्रपति निर्वाचित भएपछि उनले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन आफ्नो इमानदार भूमिका हुने बताएका छन् । ‘मुलुक समृद्ध रूपमा अघि बढोस् । शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्‍याउन पनि मेरोतर्फबाट प्रयास हुनेछ । हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हुँ । उहाँहरूसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु,’ उनले भनेका छन् । 

 

उपराष्ट्रपति पद भूमिकामाथि भइरहेको बहसबारे तपाईंको धारणा के छ भन्ने नयाँ पत्रिकाको जिज्ञासामा उनले भने, हाम्रै छिमेकी मुलुकमा उपराष्ट्रपतिले नै राष्ट्रिय सभाको नेतृत्व गर्ने व्यवस्था छ । यहाँ पनि राज्य, सरकार र संविधानले थप भूमिका दिने निर्णय गर्‍यो भने राम्रै हुन्छ । नभए पनि मुलुकको हित र संरक्षणमा मेरो सधैँ बलियो भूमिका रहन्छ ।’