• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
राजु स्याङ्तान
२०७९ चैत ४ शनिबार ०९:२६:००
इतिहास

मुगलकालीन वास्तुकलाको प्रतीक आमेर प्यालेस

२०७९ चैत ४ शनिबार ०९:२६:००
राजु स्याङ्तान

 

 

सन् १५८९ मा राजपुत राजा मानसिंह आमेरले यो दरबार बनाउन लगाएका थिए । उनका बुबा मुगल सम्राट् अकबरका प्रधानसेनापति थिए । मानसिंह आमेरका उत्तराधिकारीहरूले दरबारलाई विस्तार गरिरहे । सोही कारण यो दरबार बन्न १५७ वर्ष लागेको बताइन्छ ।

 

काठमाडौंबाट ११ सय ६२ किलोमिटर टाढा पर्छ, भारतको राजस्थानमा रहेको आमेर फोर्ट (आमेर किल्ला) । राजस्थानको राजधानी जयपुरको सानो पहाडमा निर्मित यो किल्लाको मुख्य आकर्षण आमेर दरबार हो । दिल्लीबाट २६० किलोमिटर पश्चिम–दक्षिणमा पर्ने यो दरबारको इतिहास करिब साढे चार सय वर्ष पुरानो छ । सन् १५८९ मा राजपुत राजा मानसिंह आमेरले यो दरबार बनाउन लगाएका थिए । उनको बुबा मुगल सम्राट अकबरका प्रधान सेनापति थिए । मानसिंह आमेरका उत्तराधिकारीहरूले दरबारलाई विस्तार गरिरहे । सोहीकारण यो दरबार बन्न १५७ वर्ष लागेको बताइन्छ । राजपुत महाराजहरूले यस ठाउँमा दरबार र किल्ला बनाउनुअघि त्यहाँ मिणा जनजातिहरू बस्ने गरेको बताइन्छ । हाल यो जातिलाई त्यहाँको पिछडा वर्गमा सामेल गरिएको छ । 

 

युनेस्कोमा सूचीकृत यो दरबार विलासिला र सुरक्षित रहनका लागि बनाउन लगाइएको थियो । दरबारभित्र सिस महलदेखि अर्को किल्लामा जाने १५ सय मिटरको गोप्य सुरुङ पनि छ । परेड मैदान, महाराज र आममानिस प्रवेश गर्ने अलगअलग द्वार, राजाले जनताको गुनासो सुन्ने स्थान, रानीले जनताको गुसानो सुन्ने झ्याल, आगुन्तकका लागि बस्ने अलग स्थान, सिंगमरमरले बनेका स्तम्भहरू, १२ महारानी बस्ने अलग–अलग हबेली, तातो र चिसो पानी आउने भव्य मार्बलले बनेको बाथरुम, दरबारका भित्तामा कुँदिएका आकर्षक चित्रकलाहरू, युद्धमा हिँडेका राजाका लागि दीप प्रज्वलन गर्ने स्थान, दरबारको माथि वाच टावर र दरबारभित्रै ठुल्ठूला आकर्षक गार्डेन यहाँका हेर्न लायक खास वस्तु हुन् । 

 

यो स्थानलाई बलिउड सिनेकर्मीहरूले पनि निकै उपयोग गरेका छन् । यही दरबारकै कथा वरिपरि घुमेको फिल्म हो, ‘जोदाह अकबर’ । ‘वीर’ ‘भुलभुलैया’ ‘मणिकर्णिका’लगायतका बलिउड फिल्महरू यही दरबारमा छायांकन गरिएको थियो । सडकदेखि पैदल करिब ३० मिनेटको दूरीमा रहेको दरबारमा पैदल, हात्तीमा र सवारी रिजर्भ गरेर जान सकिन्छ । मुगलकालीन दरबारमा त्यसवेलाका शिल्प मनग्ये हेर्न सकिन्छ । साथै, साढे चार सय वर्षअघिका राजामहाराजाहरूको जीवनशैलीसमेत दरबार हेरेर अनुमान गर्न सकिन्छ । 

 

राजस्थानको जयपुर पुग्नेहरू एकपटक यो स्थानमा पुग्दा पछुताउनुपर्दैन । दरबार पुग्नुअघि राजस्थानी संगीतको धुन बाटोमै सुन्न पाइन्छ । दरबारको इतिहासबारे थप जान्न चाहनेहरूले गाइडको सहयोग लिँदा हुन्छ । राजस्थानीहरूले यो दरबारलाई आफ्नो सान सम्झेका छन् । यही दरबार र किल्ला हेर्न दैनिक हजारौँ आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ ।