• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पवन बराइली
२०७९ चैत ४ शनिबार १०:१३:००
संगीत

चर्चित गीत : गुमनाम गीतकार

२०७९ चैत ४ शनिबार १०:१३:००
पवन बराइली

 

नेपाली साहित्य, गीत–संगीत र चलचित्र क्षेत्रमा सक्रिय नाम हो, प्रकाश सुवेदी । रूपा गाउँपालिका–७ कास्कीमा मध्यमवर्गीय परिवारमा  जन्मिएका सुवेदीको हाईस्कुलसम्मको पठनपाठन गाउँकै विद्यालयमा भयो । ०५४ सालमा उच्च शिक्षाका लागि पोखरा झरेका प्रकाशले पृथ्वीनारायण क्याम्पसबाट स्नातक‍ोत्तरसम्मको अध्ययन गरे । 

 

०६२ सालदेखि प्रकाशले अध्ययन, साहित्य र व्यावसायलाई सँगसँगै लैजाने सोचले ‘क्रिएटिभ मनकामना फिल्मस्’ नामक कम्पनीमा प्रबन्ध निर्देशकको रूपमा काम गर्न थाले । कम्पनीले श्रव्य र दृश्य विधाका सामग्री उत्पादन र प्रसारण गर्ने गर्‍यो । ०६३ देखि उनले ‘भोलि अहिल्यै देखिँदैन’ र  ‘जिन्दगी अलवेज कम्प्रोमाइज’ नामक धारावाहिक शृंखलाको शीर्ष गीत लेखे । उनले विभिन्न टेलिचलचित्र र ठूलो पर्दाका चलचित्र ‘गुरुदक्षिणा’ र ‘सिग्नेचर’समेत निर्माण गरेका छन् । चलचित्र ‘गुरुदक्षिणा’मा उनको ‘नहटोस् स्वाभिमान नझुकोस् शिर’बोलको गीत छ, जुन चलचित्र २०६५ सालमा निर्माण भएको थियो ।

 

०६५ मा प्रकाशले स्वरुपराज आचार्यको स्वरमा ‘कसैका कुरा सुनेर हो कि’ बोलको आधुनिक गीत रेकर्ड गराएका थिए, जुन गीत विन्ध्यवासिनी म्युजिकबाट बजारमा निकालिएक‍ो ‘वरदान’ एल्बममा समाविष्ट छ । वियोगान्त शैलीमा लेखिएको सो गीतको भिडियो नबनेको भएता पनि अडियो चाहिँ रेडियो र एफएमहरूबाट श्रोतामाझ निकै रुचाइएको थियो । 

 

०७२ सालमा गायक शिवकुमार चौधरीको एकल स्वरमा प्रकाशको एकल लेखन भएको ‘भावना’ नामक एल्बम बजारमा आयो । सो एल्बममा प्रकाशका ‘नभेट्दा मन यति मिल्छ,’ ‘आँखा बन्द गरे पनि’, ‘तिमीले आँट्यौ न मैले आटेँ,’ ‘तिमीलाई यति सम्झिएछु,’ र ‘हेल्लो हाई भन्नु केबल’ गरी पाँच गीत समावेश छन् । त्यो एल्बममा समाविष्ट पाँचवटै गीत प्रेमी भावका थिए । ‘तिमीलाई यति सम्झिएछु,’ र ‘नभेट्दा त मन यति मिल्छ’ स्रोताले निकै रुचाए । 

 

गीतकार प्रकाश सुवेदीले चर्चित संगीतकारहरू सुरेश अधिकारी, वसन्त सापकोटा, हरि लम्साल, लक्ष्मण शेषलगायतसँग सहकार्य गरिरहेका छन् । उनका गीतहरू स्वरुपराज आचार्य, शिव परियार, सिडी विजय अधिकारी, कमल खत्री, अञ्जना गुरुङ, मेलिना राई, मिलन नेवार, राज सागरलगायतले गाएका छन् । 

 

०७३ सालमा प्रकाशले वरिष्ठ संगीतकार  सुरेश अधिकारी र चर्चित संगीतकार वसन्त सापकोटासँग पनि काम गरे । संगीतकारद्वयसँग उनले बालमनोविज्ञानमा आधारित गीत ‘जति माया लाग्छ मामुको’ र राष्ट्रिय भावको गीत ‘टुक्रिएको देश हैन’ बोलको गीतमा काम गरे । ‘जति माया लाग्छ मामुको’मा आमाबुबाहरू एकआपसमा झगडा गर्दा अथवा बिछोडिँदा बच्चाको कलिलो मानसपटलमा पर्न जाने असरलाई दर्साइएको छ । ‘टुक्रिएको देश हैन’ बोलको गीतमा शीर्ष दलका नेता र शासकले देशलाई संघीयताको नारा दिँदै जातीयताको आधारमा खण्डित गर्न खोजेकाले सावधान गराइएको छ । सो गीतलाई बालगायिका प्रिसा र गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् ।

 

०७३ सालमा प्रकाशको एकल एल्बम ‘प्रदीप्त’ र सामूहिक एल्बम ‘समिश्रण’ बजारमा आयो । ‘प्रदीप्त’मा गायक सिडी विजय अधिकारीको स्वर छ ।  एल्बममा ‘आऊ न सानू मिठा मिठा प्रितको बात गरम’, ‘आफ्नै गाईले आफैँलाई मारे’लगायत गीत समावेश छन् । यसबीच प्रकाशका दर्जनौँ फुटकर गीत पनि रेकर्ड भएका छन् । 

 

प्यासनलाई प्रोफेसन बनाउन सक्नुपर्छ भन्ने प्रकाशले संगीतकर्मका अतिरिक्त वैदेशिक रोजगार बोर्डको सचिवालय, स्वास्थ्य बिमा बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत सरकारी निकायका लागि सम्बन्धित निकायकै बजेटमा सन्देश र सूचनामूलक गीति भिडियो पनि तयार पारेका छन् ।  प्रकाशले वैदेशिक रोजगार बोर्डका लागि तयार पारेको गीत ‘सीप सिकौँ दक्ष बनौँ’बाट भर्खरै सम्पन्न राप्ती म्युजिक अवार्ड २०७९मा उत्कृष्ट सन्देशमूलक गीतकारको उपाधि हात पनि पारे । 

 

प्रकाशले विभिन्न धार्मिक, पौराणिक, ऐतिहासिक, पर्यटकीय तथा जैविक विविधतालगायत विषयमा स्थानीय तहकै बजेटमा परिचयात्मक गीत पनि बनाएका छन् । प्रकाशको अनुसन्धान, लेखन र निर्माणमा तयार भएका पनौती सुन्दर पनौती (पनौती नगरपालिकाको परिचयात्मक गीत) हाम्रो प्यारो रूपामा (रूपा गाउँपालिकाको परिचयात्मक गीत), संस्कृतिले भरिपूर्ण सम्पदाकी खानी (दक्षिणकाली नगरपालिकाको परिचयात्मक गीत) अहिले चर्चामा छ । 

 

प्रकाशले चर्चित संगीतकारहरू सुरेश अधिकारी, वसन्त सापकोटा, हरि लम्साल, लक्ष्मण शेषलगायतसँग सहकार्य गरिरहेका छन् । उनका गीत स्वरुपराज आचार्य, शिव परियार, सिडी विजय अधिकारी, कमल खत्री, अञ्जना गुरुङ, मेलिना राई, मिलन नेवार, राज सागरलगायतले गाएका छन् । 

 

सूक्ष्म विषयवस्तु, सरल शब्द संयोजन, गहन अनुसन्धान प्रकाशका लेखकीय विशेषता हुन् । मौलिक गीत लेख्ने गीतकार प्रकाशका गीतमा संगीत भर्न नेपाली संगीतकार लालायित हुन्छन् ।  

 

प्रकाशका ‘असारै लाग्यो दर्कियो पानी’, ‘आहा कति सुन्दर ठाउँ’, ‘सन्ततिले धिक्कार्लान् फेरि’, ‘हुन्छ हुन्छ हुन्छ भन्दा भन्दै टार्‍यौ सान्नानी’, ‘एउटै छानो एउटै मानो’ लगायत गीत चर्चामा छन् । सस्तो प्रचारप्रसारमा भन्दा स्तरीयतामा विश्वास गर्ने प्रकाशका सिर्जनामा निखारपन र बौद्धिकपन  प्रस्ट झकिल्छ ।

 

‘असारै लाग्यो दर्किय‍ो पानी’ बोलको गीतमा प्रवासी जीवन झल्किन्छ । ‘सानी कान्छी छोरी पनि अब त ठूली भैसकी होला । अब घर जाँदा नचिन्ने पो हो कि ?’ यो प्रश्न अधिकांश परदेशीको मनमा हुन्छ । परदेशीलाई परिवार मात्र हैन गाउँबेंसी, बाल्यकाल, साथीभाइ, आफन्तलगायत सिंगो परिवेशको यादले सताउँछ । परदेशीलाई आफ्नैसँग विरानो हुनुपरेको आभासले सताउँछ । 

 

गायक सिडी विजय अधिकारीको स्वर र संगीतमा रहेको ‘छ‍ोड्देऊ पद कटेसी सत्तरी’ प्रकाशले वृद्ध नेतालाई व्यंग्य गरेर लेखेका हुन् । नेपाली राजनीतिमा सत्ता र  दलको नेतृत्व जहिले पनि वृद्ध र अशक्त नेताहरूले गर्दै आएका छन् । कुर्सीमोहमा चुम्बकझैँ टाँस्सिरहने नेतृत्वलाई प्रकाशले गीतमार्फत व्यंग्य गरेका छन् । साथै गीतमार्फत नै नयाँ पिँढीलाई मार्गप्रशस्त गर्न ससम्मान अनुरोध पनि गरेका छन् । 

 

आगामी दिनमा पनि गीत लेखनलाई निरन्तरता दिइरहने बताउँदै प्रकाश भन्छन्, ‘म अरू जुनसुकै पेसा व्यवसायमा रहूँ । गीत लेखन छाड्न सक्दिनँ । गीत लेख्नु मेरो सपना हो ।’