• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तारालाल श्रेष्ठ
२०७९ चैत ४ शनिबार १०:३५:००
समाज

नेपालमा सुन्दरी प्रतियोगिताको राजनीति

२०७९ चैत ४ शनिबार १०:३५:००
तारालाल श्रेष्ठ

 

विश्वभर सुन्दरी प्रतियोगिता विवादैविवादबाट अघि बढिरहेको छ 

 

कस्ती सुन्दरी, कसकी सुन्दरी ?

 

नेपालमा सन् १९९४ देखि ‘मिस नेपाल’ सुरु भयो । पहिलोपटक काठमाडौं जेसिसले ‘सिल्भर जुब्ली’ मनाउने क्रममा ‘फेसन सो’को आयोजना गर्‍यो । त्यही ‘फेसन सो’लाई सन् १९९५ देखि ‘मिस नेपाल’ भनियो । काठमाडौं जेसिस आबद्ध दशजना व्यापारीले ‘दि हिडन ट्रेजर’ कम्पनी दर्ता गरे । मिस नेपाललाई हिडन ट्रेजरको हिस्सा बनाए । काठमाडौं जेसिस मिस नेपाल व्यापारबाट बिस्तारै बाहिरियो । हिडन ट्रेजर एक्लै मिस नेपाल, मिस अर्थ र मिस इन्टरनेसनलको उत्तराधिकारी कम्पनी बन्यो । 

 

मिस नेपालले सुरुबाटै वैचारिक नैतिक बहस मात्रै निम्त्याएन, थुप्रै हिंसात्मक सडक प्रदर्शनी पनि उत्पादन गर्‍यो । महिला संगठन तथा नागरिक समाजबाट यसलाई बन्द गर्न प्रशस्त आन्दोलन भए । तर, सुन्दरी प्रतियोगिता बन्द भएन । बरु अनेकौँ स्वरूपका सुन्दरी अस्तित्वमा आए । प्रतिरोधमा उत्रिएका महिला अभियन्ताले लामो समय सडक आन्दोलन गरे । चालीसबुँदे ज्ञापनपत्र बुझाए । आयोजकलाई ‘हिडन ट्रेजर कम्पनी सुन्दरी भन्नुस्, ‘नेपाल सुन्दरी’ नभन्नुस्’ भने । ‘एउटा निजी कम्पनीले ‘नेपाल सुन्दरी’को बोझ किन बोक्नुपर्‍यो ! यो बोझ बोक्नै परेमा नेपाल सरकारले बोकोस्’ भनियो । प्रायोजक डाबर कम्पनीको स्वागत गेट सधैँ तोडफोड भयो । तैपनि बानेश्वरमा डाबरले सधैँ स्वागत गेट बनाइरह्यो । हिडन ट्रेजरका एक सदस्यको शब्दमा, जति बढी विवाद उति व्यापक ब्रान्डिङ । अन्ततः कतिपय अभियन्ता थाके । केही अगुवाले आफ्नै छोरीहरूलाई सुन्दरी बनाए । छोरी सुन्दरी बन्न सफल भएकोमा दंग भए ।

 

नेपालले सीधा औपनिवेशिकताको अनुभव गरेन । साम्राज्यवादी शक्तिहरूको प्रभावबाट पर पनि रहेन । शासकहरू साम्राज्यवादी शक्तिसँग उठबस गरिरहे । सन् १९५१ देखि नेपालमा व्यावसायिक हवाई उडान सुरु भयो । सन् १९८५ देखि टेलिभिजन भित्रियो, अलि ढिलै । नत्र सन् १९६० को दशकबाटै सुन्दरी प्रतियोगिता नेपालमा फैलिसक्थ्यो । अझ माओवादी जनयुद्धको प्रभावले यो फस्टाउन पाएन । भारतमा सुन्दरी प्रतियोगिता १९५० को दशकबाटै सुरु भइसकेको थियो । सन् १९८५ बाट अघि बढाइएको संरचनात्मक समायोजन कार्यक्रम (स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम) नीतिको प्रभाव नेपालमा पनि पर्‍यो । मिस नेपाललगायत अनेकौँ स्वरूपका सुन्दरी प्रतियोगिताको बाढी आयो । 

 

विश्व सुन्दरी विवाद

 

विश्वभर सुन्दरी प्रतियोगिता विवादै विवादबाट अघि बढिरहेको छ । निकै हिंसात्मक घटनाहरू हुँदा पनि सुन्दरी प्रतियोगिता रोकिएको देखिन्न । सन् १८८० देखि स्कटल्यान्डमा सुन्दरी प्रतियोगिता अस्तित्वमा आयो । सन् १९३९ देखि यसलाई अमेरिकाले अपनायो । न्यू जर्जीका व्यापारीले समुद्री किनारामा पर्यटकलाई लामो समय अड्याउन सन् १९२१ देखि वर्तमान स्वरूपको सुन्दरी प्रतियोगिता आयोजना गर्न थाले । अनि अमेरिकामा मात्रै हजारौँको संख्यामा सुन्दरी प्रतियोगिता हुन थाल्यो । सन् १९५१ देखि मूलधारका टेलिभिजनले सुन्दरी प्रतियोगितालाई प्रमुखताका साथ प्रसारण गर्न थाले ।

 

बेलायतका बिंगो व्यापारीले बजारमा भर्खरै ल्याएको विकिनी वस्त्रको बिक्री बढाउन सुन्दरी प्रतियोगिता आयोजना गरियो । त्यसैलाई एकाएक विश्व सुन्दरी प्रतियोगिता भनियो । एक व्यापारीले विश्व सुन्दरीको बोझ बोक्यो । मिडियाले त्यसलाई विश्व सुन्दरी भनेर प्रसारण गरिदियो, सहजै । दुनियाँले पत्याइदियो । मिडियाले सानका साथ एक अर्धनग्न युवतीलाई विश्व सुन्दरीको रूपमा ‘सोकेसिङ’ गरिदियो । सन् १९५१ मा कथित विश्व सुन्दरी विजेतालाई विकिनी पोसाकमै सार्वजनिक समारोहमा उभ्याइदियो । विश्व सुन्दरीको ब्रान्ड बोकेकी विकिनी सुन्दरीले धार्मिक मान्यतामाथि नै धाबा बोलेको भन्दै चौतर्फी विरोध भयो । धेरै देशहरूले आगामी विश्व (विकिनी) सुन्दरी प्रतियोगितामा आफ्नो देशबाट प्रतिस्पर्धी नपठाउने घोषणा गरे । विकिनीमा कथित विश्व सुन्दरी विजेतालाई सार्वजनिक गर्न रोकिएन । विकिनी विश्व सुन्दरी हर्कतलाई नागरिक समाजलगायत पोपले पनि विरोध गरे । त्यसपछि मात्रै सन् १९५९ देखि साँझ लगाउने गाउनमा विजेता सुन्दरीलाई सार्वजनिक गर्न थालियो । 

 

डा. अरुणा उप्रेतीको शब्दमा महिलालाई अरूभन्दा बढी सुन्दरी बनाउन अभिप्रेरित गर्ने कुरा सशक्तीकरण होइन, व्यापार हो । यसले महिलालाई वस्तूकरण गर्छ, पुँजीवादी बजारमा बेच्छ ।
 

 

सन् १९६० र १९७० को दशकमा सुन्दरी प्रतियोगिता टेलिभिजनमा निकै प्रसिद्ध बनाइयो । त्यस समय टेलिभिजन बजार व्यापक बनाइँदै थियो । त्यही समय लन्डनमा सुन्दरी प्रतियोगिताको विरोधमा महिला समूहहरूले सशस्त्र सडक प्रदर्शन गरे । महिला प्रदर्शनकारीले सुन्दरी प्रतियोगिताको विरोधमा प्लोर बम, स्टिंक बम प्रहार गरे । वाटर गनमा मसी भरेर पनि प्रहार गरे । 

 

सन् १९७० मा दक्षिण अफ्रिकाले प्रतियोगितामा दुईजना पठायो, एक श्वेत र अर्की अश्वेत युवती । यसले ठूलै बहस–विवाद निम्त्यायो । आयोजकले अफ्रिकालाई प्रतियोगितामा रोक लगायो । अपार्थाइड आन्दोलन रोकिएपछि बल्ल अफ्रिका पुनः प्रतियोगितामा जोडियो । सन् १९८० देखि युरो–अमेरिकी जगत्मा सुन्दरी प्रतियोगिताप्रति नागरिकको मोह भंग हुँदै गयो । सन् १९९० देखि विश्वका मूलधारका मिडियाले सुन्दरी प्रतियोगिता प्रसारण छाड्दै गए । यद्यपि, विश्व सुन्दरीसँग एक सय बढी देश जोडिएको दाबी आयोजकको छ । यसको विरोध पनि जारी छ । सन् २००२ मा नाइजेरियामा रमदानमा प्रतियोगिता आयोजना गर्न खोज्दा कादुना सहरमा धार्मिक हिंसा भड्कियो । दुई सय बढी मानिसको ज्यानसमेत गयो । हतार–हतार प्रतियोगिता नाइजेरियाबाट बेलायत सारियो । अमेरिकी सुन्दरी प्रतियोगिताले पनि निरन्तर प्रतिरोधको सामना गरिरहेको छ । 

 

प्रतिरोधको प्रभाव

 

‘नेपाल सुन्दरी’ प्रतियोगिता बन्द गर्न महिला अभियन्ता नागरिक समाजसहित सडकमा उत्रिए । ढुंगामुढा, लाठीचार्ज, आगजनी, गिरफ्तारी भए । तर, ‘नेपाल सुन्दरी’ पूर्ण रूपमा बन्द भएन । सन् २००१ मा दरबार हत्याकाण्ड भयो । सुन्दरी प्रतियोगिता रोकियो । सन् २००८ मा माओवादी शक्ति सत्तामा आयो । नेपाल टेलिभिजनले सुन्दरी प्रतियोगिता प्रत्यक्ष प्रसारण रोक्यो । हिडन ट्रेजरका एक सदस्यका अनुसार डा. बाबुराम भट्टराईलाई भेटेर उनीहरूले अवरोध नगर्न अनुरोध गरे । डा. भट्टराईले भनेछन्, ‘हामी विरोध गरिरहन्छौँ, तपाईंहरू अघि बढिरहनुस् ।’ ती सदस्यकै शब्दमा, झम्सीखेल ललितपुरमा संस्कृतिविद् सत्यमोहन जोशी सुन्दरी प्रतियोगीलाई प्रशिक्षण दिन पुगे । तर, महिला अभियन्ताहरू पुगेर घन्टौँ प्रशिक्षण दिन थाले । जोसी कुर्दाकुर्दै थाकेर प्रशिक्षण नदिई घर फर्किए । अघिल्लो वर्ष बानेश्वरमा स्वागत गेटमा आगजनी तथा तोडफोड भएपछि जजहरूलाई जोगाएर आर्मी अफिसर क्लबमा ल्याइएको थियो । दशरथ रंगशालाभित्रबाट पर्खाल पार गरेर प्रतियोगी युवती र जजहरूलाई भित्र हुलियो । विनादर्शक ‘नेपाल सुन्दरी’ घोषणा हतारहतार गरियो । बाहिर सडक प्रदर्शनी जारी थियो, टियरग्यास, लाठीचार्ज, धरपकडसहित । एक अभियन्ताका शब्दमा त्यसवेला घाइते भएका प्रदर्शनकारीमध्ये केही समयपछि एकजनाको मृत्यु भयो । 

 

सन् २०१० पछि प्रतिरोध सेलायो । प्रतिरोधमा उत्रिएका कतिपय अभियन्ताकै छोरीहरू ‘नेपाल सुन्दरी’ बने । सन् २०२२ मध्यदेखि पुनः प्रतिरोध पुनरुत्थान भएको छ । मिस ग्लोबल इन्टरनेसनलका आयोजक मनोज पाण्डेले प्रतियोगी युवतीमाथि यौनहिंसा गरेको भिडियो बाहिरिएपछि उनी जेल भए । साहित्यकार आहुतिका अनुसार उक्त घटनापछि थाती बसेको गहन विषय पुनः उठेको छ । पर्दामै जन्मिएर पर्दामै हुर्किएर नेपाली समाज बुझ्दै नबुझी कृत्रिम संसारमा रमाइरहेका सेलिब्रिटीको पनि सीमा उजागर भएको छ । 

 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ‘नेपाल सुन्दरी’ प्रतियोगिताविरुद्ध उभिएको थियो । सयौँ नागरिक अगुवा महिला अभियन्तालाई साथ दिन प्रतिबद्ध देखिए । सन् २०१० मा उनीहरूले ‘सुन्दरी प्रतियोगिताको प्रतिरोध’ शीर्षकमा एक जर्नल प्रकाशन गरे । जयपुरी घर्तीको शब्दमा, कुनै महिला सुन्दर तब हुन्छिन्, जब उनले सामाजिक रूपान्तरणमा योगदान दिन्छिन् । छाला राम्रो बनाउँदैमा कुनै महिला ‘नेपाल सुन्दरी’ कहलाइन्न । (पृ. २) । यशोदा सुवेदीको शब्दमा प्राचीनकालमा इन्द्रले मेनुका, उर्वशी, तिलोत्तमाजस्ता परीहरूलाई दरबारमा उभ्याएर मनोरञ्जन लिएको मिथकझैँ अहिले पुँजीवादी बजारमा महिलालाई नग्न उभ्याएर पुरुषहरूले आनन्दभोग गर्दै छन् । फेसन सो, म्युजिक भिडियो, डान्सबार, मसाज सेन्टर तथा सुन्दरी प्रतियोगितामार्फत कामुक पुरुषहरू महिलाको नग्नतामा रमाइरहेका छन् । (पृ. ५) । अन्जना विसंखेको शब्दमा, गणतान्त्रिक नेपालमा कस्तो महिला रोल मोडल बन्नुपर्छ हेक्का छैन । निर्दोष युवतीलाई सपना देखाएर लठ्ठ पारिएको छ । सुन्दरी बन्ने सपनामै जन्मिएर, सपनामै हुर्किएर, सपनामै जीवन सिध्याइएको छ । (पृ. १६) । सन् २००७ मा सुन्दर कपालको तर्फबाट विजेता बनेकी नानी खड्काको शब्दमा, ‘नेपाल सुन्दरी’ आडम्बरी इडियटहरूको पैसा कमाउने नाटकबाहेक केही होइन । फुर्सदिला आडम्बरीले काठमाडौंमा वर्षको एकपटक यस नाटक मञ्चन गर्छन् (पृ. ३६) ।

 

विजेताको बुझाइ

 

सन् २०२० की ‘नेपाल सुन्दरी’ नम्रता श्रेष्ठ, उनकै शब्दमा, प्रतिस्पर्धाका लागि १९ वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेछ । उनको उमेर १९ वर्ष पुगेको थिएन । उनी त्यस वेला डाँको छाडेर रोइन् । आमाले सम्झाइन्, बुझाइन् । आमाले उमेर ढाँटेर प्रतियोगितामा आवेदन दिन लगाइन् । टप फाइभसम्म पुगेर बाहिरिइन् । त्यो पीडा सहन नसकेर करिब तीन महिनासम्म उनी रोइरहिन् । उनले भिडियोमा बोलेकी छिन्, ‘म अढाइ महिनासम्म रोएँ । छनोट नभएको पीडा सहन सक्ने सामथ्र्य उनमा थिएन ।’ कक्षा दुईमा हुँदादेखि उनी ‘नेपाल सुन्दरी’को सपना बुनेर बसेकी थिइन् । ऐश्वर्या रायको फोटो देखेर मोहित उनी सधैँ सुन्दरी प्रतियोगिता हेर्न थालिन् । भगवान्लाई धेरै पुकारिन् । चिन्ताले उनलाई मिनी हार्ट अट्याकै भएछ । अन्ततः ‘नेपाल सुन्दरी’को ताज हात पारिन् । उनको शब्दमा उनीसँग अहिले ठूलो जिम्मेवारी छ, देशलाई विश्वमा प्रतिनिधित्व गराउने । सानो कमजोरी भएमा देशलाई नराम्रो असर पर्ने डर उनलाई छ । ‘नेपाल सुन्दरी’का लागि नेपाल सरकारले विशेष बजेट विनियोजन गर्नुपर्ने उनको माग छ । यति ठूलो जिम्मेवारी बोकेको व्यक्तिलाई आलोचना गर्दा विचार पुर्‍याउनुपर्छ भन्दै उनी भन्छिन्, ‘नेपाल सुन्दरीको पनि परिवार हुन्छ । उनलाई पनि पीडा हुन्छ । हामी हाम्रो देशको झन्डा बोकेर विश्व रणमैदानमा उभिएका हुन्छौँ । हामीलाई आलोचना नगर्नुस् ।’

 

सदीक्षा श्रेष्ठ ‘नेपाल सुन्दरी’ बनेपछि सेन्ट जेभियर्स कलेज भर्ना भएकी थिइन् । उनको शिक्षक भएको नाताले उनीसँग मेरो कुरा भइरहन्थ्यो । उनले ‘नेपाल सुन्दरी’ विजेता असाधारण व्यक्ति हुन् भन्थिन् । उनीहरूले आफ्नो व्यावसायिक जीवनमा उन्नति गरेको उदाहरण दिन्थिन् । कस्तो व्यवसायमा उन्नति गरेछन् भनेर बुझ्दा ग्लामर, कस्मेटिक्स, फेसन, म्युजिक भिडियो, चलचित्र आदिको उदाहरण दिन्थिन् । सदीक्षा आफू भने प्राज्ञिक क्षेत्रमा आउने सपना सुनाउँथिन् । सुन्दरी विजेताले विशाल क्षेत्रमा योगदान गर्न सक्ने उनको दाबी थियो । सन् २०२२ ‘नेपाल सुन्दरी’ ताज विजेता प्रियङ्का रानी जोशी पनि दाबी गर्छिन्, ‘एउटी महिलाले महिलापनको शक्तिले संसार आफ्नो औँलामा अडाउन सक्छ । हरेक युवतीमा नेपाल सुन्दरी बन्ने चाहना हुन्छ । आजको दुनियाँमा सबै टिभी युट्युबबाट निर्देशित छन् । सुन्दरी संसार ग्ल्यामर मात्रै नभई ठूलो राजकीय मञ्च हो ।’

 

‘नेपाल सुन्दरी’का लागि नेपाल सरकारले विशेष बजेट विनियोजन गर्नुपर्ने एकजना नेपाल सुन्दरीको माग छ । यति ठूलो जिम्मेवारी बोकेको व्यक्तिलाई आलोचना गर्दा विचार पुर्‍याउनुपर्छ भन्दै उनी भन्छिन्, ‘हामी हाम्रो देशको झन्डा बोकेर विश्व रणमैदानमा उभिएका हुन्छौँ । हामीलाई आलोचना नगर्नुस् ।’

 

तर, लेखक बन्दना ढकाल यस्ता प्रतियोगिता महिला मुक्तिको बर्खिलापमा रहेको बताउँछिन् । पोखरा सुन्दरी प्रतियोगिताको प्रतिकार गर्न सडक आन्दोलनमा सरिक भएको उनलाई सम्झना छ । प्रहरीले लाठी चार्ज गथ्र्यो । उनीहरू लड्न छाडदैनथे । उनले सोचेकी थिइन्, यस्ता प्रतियोगिता बन्द हुनेछन्, छिट्टै । तर, अनेक स्वरूपमा अनगिन्ती सुन्दरी प्रतियोगिताहरू देखा पर्दै छन् । भन्छिन्, ‘यसभित्र गहिरो राजनीति छ ।’ 

 

सन् २०२२ मा वैज्ञानिक समाजवादी महिला संगठनले सुन्दरी प्रतियोगिताको विरोध गर्‍यो, अगुवा नेता धनकुमारी सुनारको अगुवाइमा । ‘सुन्दरी प्रतियोगिता : सशक्तीकरण कि वस्तूकरण’ शीर्षकमा १५ जुन २०२२ मा काठमाडौंमा विशेष बहस पनि चलायो । मिस टिन २००८ ताज विजेता संवृद्धि राईले कुनै एक महिलालाई राम्री, अरूलाई कमजोर मान्ने संरचना नै कुरूप रहेको बताइन् । उनले गाउँमा रहँदा यसरी कसैलाई अरूभन्दा राम्री मान्ने सोचसमेत नभएको बताइन् । उक्त बहसमा डा. अरुणा उप्रेतीको भनाइ थप सान्दर्भिक थियो । उनको शब्दमा महिलालाई अरूभन्दा बढी सुन्दरी बनाउन अभिप्रेरित गर्ने कुरा सशक्तीकरण होइन, व्यापार हो । यसले महिलालाई वस्तूकरण गर्छ, पुँजीवादी बजारमा बेच्छ ।

 

नेवाः सभ्यता र ‘नेपाल सुन्दरी’

 

‘नेपाल सुन्दरी’को आयोजक दश पुरुषमध्ये नौजना नेवार रहेछन् । उनीहरूले नेवाः सभ्यताले सौन्दर्यलाई कसरी परिभाषित गर्छ भन्ने ख्याल गरेका छन् ? उनीहरू हामीले ६ सय युवतीलाई प्रतियोगितामा सहभागी गराएर सशक्तीकरण गरिसक्यौँ भन्दै छन् । मिस नेपाल, मिस अर्थ र मिस इन्टरनेसनल भन्दै ठुल्ठूला कुरा गर्दै छन् । आफ्नै नेवाः सभ्यताले सुन्दरीको परिभाषा कसरी गरेको रहेछ भनेर हेक्का राखेका छन् ? राजनीतिकर्मी रूपा सुनारले औँल्याएझैँ सुन्दरी बन्ने दौडमा पुँजीपति पुरुषको पुतली बनेर युवतीहरू आकाशमा उडिरहेका छन् । चंगाको लट्टाई मल्टिनेसनल कम्पनीवाला पुरुषको हातमा हुन्छ । 

 

नेपाल प्रहरीको तथ्यांकले सन् २०२१ यता बलात्कार घटना २० प्रतिशतले बढेको देखाउँछ । सुन्दरीलाई यसको मतलव हुन्न । उनीहरू कस्मेटिक बजारलाई बढावा दिइरहेका हुन्छन् । ग्लोबल रिपोर्टका अनुसार अमेरिका एक्लैले सन् २०२१ मा ५११ मिलियन डलरको कस्मेटिक्स बिक्री गरेछ । नेपालले ६० मिलियन डलरको कस्मेटिक्स आयात गरेछ । सौन्दर्य चिन्तक निनु चापागाईंको शब्दमा सुन्दरी प्रतियोगिता एउटा नाटक मञ्चन मात्रै हो, यसले पीडित महिलालाई होइन, पीडक शक्तिलाई सबलीकरण गर्छ (मूल्यांकन, अंक १६३) । 

 

प्रसिद्ध लेखक तथा विश्लेषक पिको अयरका शब्दमा पराया संस्कृतिमार्फत आफैँमाथि उपनिवेश लाद्न नेपालीहरू सक्रिय छन् । प्रत्यक्ष उपनिवेशझैँ पपुलर कल्चरमार्फत अनौपचारिक किसिमले साम्राज्यवाद लाद्ने क्रम जारी छ । अयरको शब्दमा ‘ग्लोबल भिलेज’को नाममा ‘मास कल्चर’ ‘मास सुसाइड’को रूपमा देखा परेको छ । अत्याधुनिक साम्राज्यवादी शक्ति आदिवासीलाई अघि लगाएर आदिवासी सौन्दर्य सिध्याउने संस्कृतिलाई घरेलूकरण गर्न सफल देखिन्छन् । नेपालले आफ्नो मौलिक आदिवासी सौन्दर्य औपचारिक रूपमा सिध्याइरहेको छ । अयरको शब्दमा ‘ग्लोबलाइजेसन’ नरमझैँ देखिने कठोर साम्राज्यवाद हो । ‘ग्लोबल भिलेज’को नाममा नेपालले पश्चिमा संस्कृतिको पक्षपोषणमा फसेर आफ्नो मौलिक आध्यात्मिक मूल्य–मान्यता मासिरहेको छ (अयर १९८९) । 

 

नेवाः सभ्यताले सामूहिकतालाई केन्द्रमा राख्छ । सामूहिक सत्वलाई स्विकार्ने व्यक्ति सुन्दर देख्छ । गुठीमा नेवाः महिलाको भूमिकामाथि प्रश्नहरू छन् । यद्यपि, कुमारीदेखि विविध मूर्त–अमूर्त संस्कृतिले महिलाको मौलिक सौन्दर्यबारे बोध गराउँछ । नेवाः सभ्यतामा महिलालाई पुरुषले पुतलीका रूपमा प्रयोग गर्दैन । जस्तै, मिसा भोजमा पुरुषले भोजभतेर तयार गर्छ । महिलालाई खानपिन गराउँछ । जुठो टपरी प्लेट पुरुषले टिप्छ । पुरुषले बढारकुँढार, सरसफाइ, भाँडाकुँडा माझ्छ । सबै महिलालाई ढोग्छ । खोकनालगायत नेवाः बस्तीमा यस्तो रिचुअल अझै जीवित देखिन्छ । अझ महत्वपूर्ण कुरा, महिलाले सम्पत्तिमाथि समान अधिकार राख्छ । बिहेपछि नेवाः महिलालाई थांगु (श्रीमान्को) र थाचेन (जन्मेको) दुवै घरमा समान हक हुन्छ । विवाहित नेवाः महिलाले दुवै घरलाई आफ्नो घर सम्झन्छन् । दुवै घरबाट समान हक प्राप्त गर्छन् । अजिमा, अष्ठमात्रिका, गुहेश्वरी, विजेश्वरीजस्ता देवीहरूलाई क्षेत्रपालका रूपमा पुजिन्छ । नेवाः भूमि र समुदायको रक्षकका रूपमा आदर गरिन्छ । नेवाः भोजमा पनि सबैभन्दा पहिले अजिमालाई मुख्य देवीका रूपमा पुजिन्छ । अनि मात्रै जात्रा, भोज, उत्सव सुरु हुन्छ । भैरवलाई त्यसपछि पुजिन्छ । संस्कृतिविद् अशोज महर्जनका शब्दमा खोकना जात्रामा पहिले कुमारीको पूजा हुन्छ । त्यसपछि कालीको अनि मात्र भैरवको पूजा हुन्छ । देवीहरू नेवाः सभ्यतामा सबैभन्दा बढी शक्तिशाली, बुद्धिमानी र बहादुर देखिन्छन् । नेवाः समुदायको रोलमोडेल पनि महिला देखिन्छन् । कीर्तिपुरकी कीर्तिलक्ष्मीले पृथ्वीनारायण शाहको सेनासँग बहादुरीका साथ लडेकी थिइन् । उनले पुटुलाँ –अष्ठमात्रिका विम्बको आठ तुनावाला दौरा) पहिरिएर आफ्नो जनता र भूमिको रक्षार्थ लडिरहिन्, राजाको भेषमा । उनले आत्मसमर्पण गरिनन् । कदापि झुकिनन्, चुकिनन्, बिकिनन् । बरु आत्महत्याको बाटो रोजिन् (हृदयचन्द्रसिंह प्रधान, कीर्तिलक्ष्मी) । नेवाः सभ्यतामा महिला बहादुर देखिन्छन् । दक्षिणकाली देवीलाई युद्धको भगवान्का रूपमा पुजिन्छ । 

 

नेवाः सभ्यतामा वर्णका आधारमा सुन्दरी मापन हुन्न । कला सीपले सुसज्जित महिलालाई सुन्दर मानिन्छ । आफ्नो भाषा, संस्कार, संस्कृति जान्ने आफ्नो परम्परा मान्ने महिला सुन्दर ठानिन्छन् । आफन्तजन, समुदायसँग घुलमिल भई सार्वजनिक स्थलमा महिला सराबरी मिसिएर बाजा बजाउँछन् । आफ्नो पोसाकमा सजिएर गीत गाउँछन् । नाच्छन्, प्रस्तुति दिन्छन् । आफ्नो परिकारमा रमाउँछन् । पुरुषसँगै सडकमा प्रदर्शन गर्छन्, निर्धक्क । उनीहरू पुरुषभन्दा कमजोर, लजालु, फरक हुन्नन् । सामूहिक प्रदर्शनीको उनीहरू हिस्सा हुन्छन् । म नै संसार हुँ भन्दैनन्, व्यक्तिवादी अहङ्कार ओकल्दैनन् । उनको पहिचान सामूहिक हुन्छ । ......रवि महर्जनका शब्दमा, महिला–पुरुष दुवैले कली, न्याचु, छचु जस्ता उस्तै गहना लगाउँछन् । दुवैले नाक छेड्दैनन् । जङ्कुमा पनि महिला र पुरुष दुवैले उस्तै गहना पहिरिन्छन् । मछिन्द्रनाथ रथ महिला–पुरुष दुवैले तान्छन् । आदिनाथ, मछिन्द्रनाथ, जनबहाल नाला, दोलखा सबैको मछिन्द्रनाथमा दर्शन गर्दा महिला–पुरुष दुवै पूजामा समान सहभागी हुन्छन् । बच्चा जन्मिँदा छोरा होस् वा छोरी दुवैलाई उही प्वाँखालँ (हाकुपटासी भोटो) दिइन्छ, तिब्बती बौद्धमार्गीमाझैँ । यस्तो सामूहिक संस्कृति बोकेको नेवाः सभ्यताका ‘नेपाल सुन्दरी’ कसरी एक्लै अर्धनग्न विजेता बनेर आफ्नो समुदायका अगाडि उभिन सक्छन् ? आयोजक नेवाः व्यवसायीले कसरी आफ्नो समुदाय सभ्यताको संरक्षण गरेको भनेर गर्व गर्न सक्छन् ? सुन्दरी प्रतियोगिता भन्दै नेवाःमार्फत नेवाः सभ्यता सिध्याउँदै त छैनौँ हामी ? केन्याली लेखक नुगी थिङगोले भनेझैँ यसले ‘टाउकोविहीन शरीर र शरीरविहीन टाउको भएको’ नागरिक उत्पादन गर्दै छ । जसले मतिभ्रष्टलाई पवित्र मान्दछ । नेवाः सभ्यताको केन्द्रभूमिमा नेवाः सौन्दर्य सिध्याउने सुन्दरी कारखाना किन चाहियो ?