• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विनोद अधिकारी
२०७९ चैत ४ शनिबार ११:०४:००
साहित्य

भोगाइहरूको दस्ताबेज

२०७९ चैत ४ शनिबार ११:०४:००
विनोद अधिकारी

केही समयअघि वरिष्ठ पत्रकार एवं प्राध्यापक पुरुषोत्तम दाहालबाट दुईवटा कृति ‘मेरो पत्रकारिता’ र ‘काला बादलमा उज्याला पाइला’ स्नेहपूर्वक प्राप्त भयो । पहिलो पुस्तक उहाँको चार दशकको राजनीतिक उतारचढावको जानकारी र सूक्ष्म विश्लेषण हो र दोस्रोचाहिँ गद्य र पद्यसहितका समसामयिक ४० वटा कविताको संग्रह हो । चार दशकअघिदेखि पत्रकारिता, राजनीतिक, सामाजिक, मानव अधिकार र साहित्य क्षेत्रमा अनवरत लागिरहने अग्रज व्यक्तित्व हुनुहुन्छ– पुरुषोत्तम दाहाल । प्रस्तुत दुई कृति उहाँका दर्जनौँ कृतिमध्ये पछिल्ला समयका कृतिहरू हुन् । जसमध्ये यस लेखमा उहाँको ‘मेरो पत्रकारिता’ पुस्तकबारे केही कुरा अभिव्यक्त गर्न खोजेको छु । 

 

‘मेरो पत्रकारिता’ २०७३ भदौमा प्रथमपटक प्रकाशन भएको हो भने द्वितीय संस्करण ०७५ फागुनमा । करिब पाँच सय पेजको यो पुस्तक (द्वितीय संस्करण) लेखककै भाषामा चार दशकको राजनीतिक उतारचढावको जानकारी र सूक्ष्म विश्लेषण हो । यो १६्र खण्डमा विभक्त छ । अनुसूचीहरू पनि राखिएका छैनन् । पुस्तकमा जीवनका आरोहअवरोह, घटना परिघटना, तीतामीठा अनुभव आदि विषयहरू सरल शैलीमा र कसिला अनुच्छेदमा प्रस्तुत गरिएका छन् । पुस्तकको प्रकाशन ‘सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेड’ले गरेको हो । 

 

पुस्तकमा प्रकाशकीयसहित होमनाथ दाहाल, किशोर नेपाल, नारायण भट्टराई, कलानिधि दाहाल, तीर्थराज अधिकारीबाट लेखकप्रति आभार र शुभकामना व्यक्त गरिएका छन् । पुस्तकका १६ खण्डले लेखकका जीवनका जिम्मेवारी र व्यक्तिगत तथा सार्वजनिक जीवनका विभिन्न मोडलाई बताएका छन् । जस्तै– पहिलो खण्ड ‘पत्रकारितामा पहिलो पाइलो’, दोस्रो खण्ड ‘सैद्धान्तिक पत्रकारिताका निम्ति राष्ट्रपुकार’, पाँचौँ ‘व्यावसायिक पत्रकारिता र देशान्तर यात्रा’, सातौँ ‘रेडियो नेपालमा कार्यक्रम घटना र विचार’, एघारौँ ‘सञ्चार सल्लाहकार अनुभव’, चौधौँ ‘यात्राः च्यानल नेपाल टेलिभिजन’ आदि आदि । 

 

नेपाली राजनीतिका शिखरपुरुष, जननायक स्वर्गीय बिपी कोइरालादेखि त्यसपछिका विभिन्न पार्टीका शीर्ष व्यक्तित्वहरूसँगको सान्निध्य तथा सहकार्य, उहाँहरूका स्वभाव, विशेषता र उहाँहरूबाट सिकेका पाठहरूलाई लेखकले सरल शैलीमा पुस्तकमा उतार्नु भएको छ । यद्यपि, सैद्धान्तिक राजनीतिक आस्थाको हिसाबले वामपन्थी र अन्य विभिन्न धारका राजनीतिक नेतृत्वपंक्तिभन्दा प्रजातान्त्रिक मूल्य–मान्यता बोकेका र अनवरत रूपमा त्यसैका लागि लड्दै आएका नेपाली कांग्रेसका नेतृत्वपंक्तिसँग लेखकको सान्निध्यता र सहकार्य धेरै रहेको कुरा पुस्तकमा स्पष्टै देखिन्छ । नेतृत्व पंक्तिहरूसँगका तिनै सान्निध्य र सहकार्यले गर्दा लेखकलाई सजिला, असजिला सबै परिवेशको सामना गर्ने आत्मशक्ति मिलेको, मिलिरहेको आभास हुन्छ । जीवन–भोगाइका सानातिनाजस्ता लाग्ने केही सन्दर्भहरू पनि पुस्तकमा कतै उल्लेख भएका छन्, जसले लेखकको कलम कुनै बनावटी कुराभन्दा पनि खुला र स्वतस्फूर्त भावनामा दौडेको देखाउँछ । 

 

जीवनका विभिन्न कालखण्डमा देशको राजनीतिक तथा सामाजिक रुपान्तरणका अभियानमा संलग्न भएर पनि समयक्रम र परिस्थितिले ओझेलमा परेका अर्थात् गुमनाम भएका थुप्रै अग्रज तथा समकालीन व्यक्तिहरूको तत्तत् समयको योगदानलाई पनि लेखकले सकेसम्म सम्झने, उजागर गरिदिने प्रयास गर्नुभएको छ । जुन विषयले ती व्यक्तिहरूको सम्मान भएको अनुभव हुन्छ । यो प्रस्तुत पुस्तकको अर्को महत्वपूर्ण पक्ष हो । 

 

पुस्तकमा जीवनका यथार्थ भोगाइहरू, जीवनदर्शन, देशको राजनीतिक घटना उल्लेख छन् । दुर्गम पहाडी परिवेशमा जन्मे–हुर्केर १२ वर्षको कलिलै उमेरमा जन्मघर र बुबा आमाको काख छोडी काठमाडौं (लेखकको भाषामा महासमुद्र)मा आएर सामान्य जीविकाका लागि भोग्न परेको कठोर परिस्थिति, आरोह–अवरोहदेखि अहिलेको सिद्धहस्त पत्रकार, प्राध्यापक, मानव अधिकारको कर्मठ अभियन्ता, एक कुशल राजनीतिक विश्लेषक अनि स्थापित साहित्यकारसम्मको संघर्षशील जीवनका भोगाइ सबै पुस्तकभित्र विभिन्न सन्दर्भमा अभिव्यक्त छन्, जुन विषय सबैका लागि पे्ररणाका स्रोत हुन् । पत्रकारिताको पक्षमा कुरा गर्दा, आफूले पत्रकारिता सुरु गर्दाको (२०३५ साल) अवस्थामा आवश्यक पूर्वाधार, जनशक्ति, वैचारिक स्वतन्त्रता, पेसा÷वृत्ति विकास आदिको दृष्टिमा पत्रकारिताको स्थिति कस्तो थियो भन्ने कुराको जीवन्त चित्रण पुस्तकमा भेटिन्छ । 

 

०३५ सालको विद्यार्थी आन्दोलनदेखि ०३६ सालको जनमतसंग्रह, ०४६ सालको जन आन्दोलन हुँदै ७० को दशकका आधाआधिसम्मका नेपालका राजनीतिक घटना, परिघटनाका बारेमा पुस्तकमा धेरै चर्चा छन् । लेखक दाहालले ती घटनामा आफ्नो प्रत्यक्ष संलग्नता रहेको र तिनको यथार्थ विवरण, विश्लेषणलाई आमनागरिकसम्म पुर्‍याउन पत्रकारको हैसियतले प्रयत्न गरेको विषयलाई राम्ररी उल्लेख गर्नुभएको छ । ती घटना र सन्दर्भहरू इतिहासकारका लागि बलिया दस्तावेज बन्न सक्दछन् ।

 

जेजस्तो परिस्थिति भए पनि दृढताका साथ कत्ति पनि विचलित नभई पत्रकारितालाई नै आफ्नो साधनाको क्षेत्र बनाउनु र बिउभित्र बोट देख्ने भनेजस्तै त्यसैभित्र भविष्य देख्नु, आफ्नो क्रियाशीलतालाई उत्तिकै गतिमा अगाडि बढाउन सक्नु उहाँको विशिष्ट क्षमतालाई पुस्तकले स्पष्ट पार्दछ । सानातिना दुःख वा असजिला र सानातिना प्राप्तिमा नै हराउनेहरूले जीवनको उचाइ छुन सक्दैनन् भन्ने कुरालाई पनि पुस्तकले पुष्टि गरेको छ । पुस्तकमा जीवनका उकाली–ओराली, सजिला अप्ठ्यारामा आफूलाई साथसहयोग दिने सबैप्रति लेखकको कृतज्ञताभाव देखिन्छ, जो हाम्रो मानवीय धर्म हो, संस्कार हो । 

 

लोकतन्त्रप्रति लेखकको अटल निष्ठा र समर्पण अभिव्यक्त छ पुस्तकमा । प्रशंसा र प्राप्तिहरूको सहज स्वीकार पनि छ र त्यसमा अहंभाव देखिँदैन । त्यही कामप्रतिको निष्ठा, कर्तव्यपरायणता र भविष्यप्रतिको भरोसाले लेखकलाई यहाँसम्म डोहोर्‍याएको तथ्य पुस्तकले स्पष्ट बताउँछ । 

 

विविध क्षेत्रमा हात हाले पनि पत्रकारिता नै जीवन संघर्षको चुरो वा मियो भएको तथ्यचाहिँ पुस्तकको शीर्षकले पुष्टि गरेको छ । पुस्तक दर्शनभन्दा घटनाप्रधान भएजस्तो देखिन्छ, तर तिनै घटनाले राजनीतिक, सामाजिक र जीवनदर्शन बताइरहेको पाइन्छ । 

 

पुस्तकमा देशका राजनीतिक सामाजिक परिवर्तनबाट सीमित मानिस बढी लाभान्वित भएको र सर्वसाधारणको जीवनमा आर्थिक, सामाजिक रुपान्तरण खासै हुन नसकेको, मुलुकमा राजनीतिक, सामाजिक संस्कार र पद्धतिको विकास हुन नसकेकोप्रति चिन्ता र असन्तुष्टि पनि व्यक्त भएको देखिन्छ । आफ्नो व्यक्तिगत लाभप्रतिको आसक्तिभन्दा पनि उच्च राष्ट्रिय स्वार्थ अर्थात् ‘सर्वे भवन्तु सुखिनः’को भाव सबैमा भइदिए देशको अवस्था फेरिने थियो भन्ने भाव पुस्तकमा व्यक्त भएका छन् । 

 

‘मेरो पत्रकारिता’ पुस्तक लेखकको जीवनको आरोह–अवरोह वा इतिवृत्त मात्र नभई जीवनको उचाइतिर लम्कन खोज्ने, संघर्षलाई नै आफ्नो जीवनको कर्तव्य वा अभीष्ट ठान्ने, निष्ठाको जीवनपद्धतिलाई स्वीकार गर्न चाहने र कुनै पनि क्षेत्रमा आफूलाई गतिमान र क्रियाशील बनाइरहन चाहनेहरूका लागि राम्रो सन्दर्भसामग्री र प्रेरणास्रोत बन्न सक्दछ । समग्रमा पुस्तक पठनीय छ, संग्रहणीय छ र देशको एउटा कालखण्डको राजनीतिक परिदृश्य र पत्रकारिताको अवस्थालाई उजागर गर्ने बलियो दस्तावेज पनि बनेको छ । अन्त्यमा लेखककोे कलम नथाकोस् र यस्तै थुप्रै सिर्जना मुलुकलाई दिइरहन सकोस्– शुभकामना !