• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पवन बराइली
२०७९ चैत ११ शनिबार ०६:२५:००
फिल्म

कक्षाकोठा नबनाऔँ सिनेमा घरलाई

हामी दर्शकलाई पढाउन सिनेमा घरलाई कक्षाकोठा बनाउनतर्फ अग्रसर देखियौँ । यो अवधारणा गलत छ ।

२०७९ चैत ११ शनिबार ०६:२५:००
पवन बराइली

 

अहिले सिनेमामा तीन ‘ट्रेन्ड’ हाबी भइरहेको देखिन्छ । पहिलो, कमेडी फिल्म, दोस्रो, विदेशमा छायांकनको फिल्म र तेस्रो, सिरिजहरू । यी तीनै ट्रेन्डमा बनिरहेका सिनेमा आवरणमा आकर्षक देखिए पनि सारमा खोक्रो छ । ‘ट्रेन्ड’ एक मनोविज्ञान हो । हाम्रो मनोविज्ञान केबल आकर्षण, आदर्श र डरद्वारा सञ्चालित हुन्छ । त्यसैले कथ्य र कथाको मानकभन्दा आग्रहबाट सिनेमाकर्मी निर्देशित भएको देखिन्छ । नेपाली सिनेमाले अहिले धैर्य भएर दक्षिण भारतीय सिनेमाको आधुनिक मनोविज्ञानलाई अध्ययन गर्न जरुरी छ । त्यहाँ सीप र शिल्पको मौलिक र सिर्जशील सार्थक प्रयत्नहरू भइरहेको छ । 


कमेडी र बासी प्रेमकथाको शृंखलालार्ई बजारले आत्मसात् गर्नुको कारण हो, बजारको अस्तित्व संरचनाको चपेटामा परेको छ । त्यसरी नेपाली चलचित्रको बजार फुल्न र फक्रन सकिरहेको छैन । नेपाली सिनेमाको ज्ञानले बजारको मूल भावलाई बुझ्न सकेको छैन । यसको मूल जग अर्थशास्त्रको ज्ञानको कमी हो । जबसम्म अर्थशास्त्रले नेपाली सिनेमालाई अँगालो मारेर साथ दिँदैन, तबसम्म हामी मझधारमै रमाउँछौँ ।


सिनेमा एक समूह वा व्यक्तिहरूको उत्पादन हो । विशेषगरी निर्माता–निर्देशकको हो । यो उनीहरूको छनोटको उत्पादन हो । ज्ञान, सीप, नियत, आवश्यकता, प्रयत्न अनि संघर्ष तथा संयोजनबाट उनीहरूको उत्पादनको प्रतिफल निर्धारण हुन्छ । यो गुणस्तरको प्रतिस्पर्धा हो । त्यसकारण गुणस्तरको निर्धारकहरू नै यसको प्रमुख दोषी हुन्, पीडित पनि उनीहरू नै हुन् । 


तर गहिरिएर हेर्दा दोषी राज्य र समाज छ । सिनेमा वास्तवमा राजनीतिक, सांस्कृतिक र सामाजिक विद्वताको उत्पादन हो । यसरी प्रभाव जमाउन नसक्नुको अर्थ, हाम्रो ज्ञान, सामाथ्र्य र भूमिका कमजोर हुनु हो । नेपाली समाज कमजोर हुनु हो । एउटा सिनेमाको असफलतालाई केवल निर्माता निर्देशकको असफलताको सीमित परिधिभित्रबाट मात्रै मूल्यांकन गर्नु हुँदैन । यो त समग्र देशको असफलता हो । 


अघिल्लो दशकसम्मका सिनेमा निर्देशकले हिन्दीको अनुभवबाट काम गरे । उनीहरूमा निर्देशन पक्षको सैद्धान्तिक र मनोवैज्ञानिक विश्लेषण विधिबारे कम ज्ञान थियो । अहिले सिनेमा शिक्षा लिएका निर्देशकहरू देखा पर्न थालेका छन् । उनीहरूले सामाजिक परिवेश, संस्कृति, परम्परा, भाषा, समाजको संवेदनशीलता आदिलाई कथावस्तु बनाएर चरित्रको चारित्रिक गुणहरूको चित्रण पनि गर्न थालेका छन् । यसले गर्दा सिनेमामा समाज प्रतिबिम्बित हुन थालेको छ । 


राम्रो सिनेमा धेरै सन्तुलित आयाम र तत्वहरूको इन्जिनियरिङबाट निर्माण हुन्छ । नराम्रो सिनेमा एउटा गल्तीबाट जन्मन सक्छ । कसैले चाहँदैमा राम्रो सिनेमा बनिहाल्ने होइन । नचाहँदा–नचाहँदै नराम्रो सिनेमा बन्ने सम्भावना धेरै हुन्छ । त्यसैले राम्रो सिनेमाका लागि सतर्कता, आत्मविश्लेषण, क्रिटिकल अप्रोज र अन्वेषणको भूमिका महत्वपूर्ण रहन्छ । हाम्रो सचेतना नपुगेको कारण राम्रा सिनेमा बन्न सकिरहेका छैनन् । आधारभूत तत्वहरूको आत्मसात्, व्याकरणमाथिको नियन्त्रण र इन्जिनियरिङको कमी छ । 


निर्देशकले सिनेमा निर्माण विधि र विषयसँग जोडिने सबै पक्षमाथि पूर्ण जानकारी राख्नुपर्छ । सिनेमामा कथाको समयकाल, घटनाक्रम सुहाउने ‘सेट’ र प्रस्तुतीकरणमा ‘स्टाइल’ महत्वपूर्ण छ । कुनै पनि विषयलाई दृश्यगत रूपमा राम्रो फ्रेमिङ, कम्पोजिसन र एंगलिङ गर्न सक्नुपर्छ । निर्देशकलाई सिनेमा निर्माणमा प्रयोग हुने प्राविधिक पक्षको राम्रो ज्ञान हुनुपर्छ । जस्तो– क्यामेरा मुभमेन्टस्बारे निर्देशक जानकार हुनुपर्छ । दृश्यमा संवेदनशील अभिव्यक्तिका लागि भाषा, प्रकाश, रंग र संकेतको उपयोगमा पनि निर्देशक सिपालु हुनुपर्छ । ‘कन्टिन्युटी’ले सिनेमाको कथा प्रस्तुतीकरणलाई प्रभावकारी बनाउँछ ।

एक–दुईजना तिलस्मी व्यक्तिले सिनेमा बनाउनु मात्रै मूल उपलब्धि होइन । समग्र उद्योगले उत्कृष्ट सिर्जनातर्फ पाइला चाल्नु नै सार्थक उपलब्धि हो । वर्तमानको निराश, अन्योल, अविवेकी र सिनेमालाई नबुझ्ने राजनीतिक पुस्ताको ‘रिप्लेसमेन्ट’ हुनुपर्छ ।


गीत–संगीत, ध्वनि र संकेतहरूको उचित संयोजन तथा सम्पादनले निर्देशकको सिर्जनशीलता बढाउँछ । सिनेमा निर्माण गर्दा बिर्सिनै नहुने विषय कथाको प्राकृतिक बहाव पनि हो । यी गुणहरूको प्रयोगमा निर्देशकीय भूमिका निर्वाह गर्न सके नेपाली सिनेमाले फड्को मार्नेछ ।नेपालमा राम्रो सिनेमा नबन्नुमा सिनेमाकर्मीको चेतनास्तर र लगानीको अभाव भन्ने बहस चल्ने गर्छ । यो पनि बिर्सिन हुँदैन कि समाज वैचारिक मन्थनभन्दा दलाली मन्थनतर्फ केन्द्रित छ । राज्य कला, साहित्य र सिनेमाको विषयमा अत्यन्त गैरजिम्मेवारी छ । राज्यलाई यी पक्ष आफ्नो पहिचान, शक्ति र सम्पत्ति हुन सक्छ भन्ने नै थाहा छैन । राज्य उल्टै डराउँछ र कलालाई नियन्त्रण गर्न चाहन्छ ।


वास्तवमा सिनेमा चेतना विकास गर्न सबै किसिमको ज्ञानको विकास हुनुपर्छ । जसमा वर्षौं लगानी गर्नुपर्छ । यसतर्फको निर्णायक पक्ष इमानदार नभइदिँदा आज सिनेकर्मीको चेतनास्तर न्यून देखिन गएको छ भने बजेटको उपलब्धतामा पनि निर्भीकता हराउँदै गएको छ । व्यक्तिगत पहलमा भए पनि केही उत्साहित प्रयत्न हुँदै छ । 


सिनेमा कलाको विशिष्ट चेत हो । सिनेचेतले केवल सिनेमा मात्रै बनाउने होइन । यसले मानव समाजको इन्जिनियरिङ गर्ने प्रक्रियालाई पनि सहयोग गर्छ । अब नेपाली सिनेमाले राजनीतिको अस्तित्व, महत्व र सामथ्र्यलाई ‘क्रिटिकल’ ढंगले हेर्नुपर्छ । उसले के स्विकार्नुपर्छ भने न्यूनतम सिर्जनशीलता, उत्पादनको सम्भावनालाई आजसम्म राज्यले सीमित गरिदिएको छ । हामी पनि सामथ्र्यवान् हुन सक्छौँ, विश्वमा बलियो उपस्थिति स्थापित गर्न सक्छौँ । तर, राज्य र राजनीतिले हामीलाई महत्व दिइरहेको छैन । 


वास्तवमा अर्धउपनिवेश हुनुको परिणति नेपाली सिनेमाले भोगिरहेछ । उपनिवेशले सबैभन्दा गहिरो रूपमा दासत्व निर्माण गर्छ । जुन दिन पूर्ण स्वतन्त्रता यो राष्ट्रले बोक्छ, त्यसपछि नेपाली सिनेमाले पनि स्वतन्त्र अस्तित्व, व्यक्ति आत्मसम्मानका लागि रचनात्मक संघर्ष गर्छ । एक–दुईजना तिलस्मी व्यक्तिले सिनेमा बनाउनु मात्रै मूल उपलब्धि होइन । समग्र उद्योगले उत्कृष्ट सिर्जनातर्फ पाइला चाल्नु नै सार्थक उपलब्धि हो । वर्तमानको निराश, अन्योल, अविवेकी र सिनेमालाई नबुझ्ने राजनीतिक पुस्ताको ‘रिप्लेसमेन्ट’ हुनुपर्छ । 


हामी दर्शकलाई पढाउन सिनेमा घरलाई कक्षाकोठा बनाउनतर्फ अग्रसर देखियौँ । यो अवधारणा गलत छ । दर्शक एउटै माध्यम, शैलीमा सधैँ रमाइरहन सक्दैन । पुनरावृत्ति भइरहँदा त्यसले एउटा समयपछि आकर्षण र उत्सुकतालाई समाप्त गरिदिन्छ । त्यसैले दर्शक नयाँ सम्भावनाको खोजीमा हुन्छन् ।


स्रष्टा दर्शकभन्दा जहिल्यै पनि केही कदम अघि हुन्छ । दर्शकलाई पुनर्निर्माण गरिराख्नुपर्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सिनेमा छनोट हुँदा एउटा अर्थ राख्छ । हाम्रो सिनेमा हाम्रै दर्शकले नस्विकारिरहँदा पनि विदेशले त्यसमा सौन्दर्य देखिरहेको छ । तर, दुःखलाग्दो कुरा के हो भने हाम्रो सिनेमामापनको केवल एक माध्यम मात्र छ, सिनेमा हल । यो पक्षका कारण पनि कैयौँ सिर्जना जन्मिसकेपछि पनि खुम्चिन बाध्य छन् ।